मलाई स्वतन्त्र उम्मेदवारको चुनौती छैन : भुसाल

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले आफूलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती नभएको बताएकी छन् । प्रतिनिधिसभा सदस्यका लागि ललितपुर क्षेत्र नम्बर ३ बाट गठबन्धनको साझा उम्मेदवार बनेकी मन्त्री भुसालले बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै आफूलाई स्वतन्त्र उम्मेदवारहरुको चुनौती नभएको बताएकी हुन् ।

उनले आफू जनताको आँखामा परीक्षण भइसकेको भन्दै विगतको दुई कार्यकालमा गरेका कामहरु हेरेर जनताले मत दिने बताइन् ।
जनताले कुनै पनि काम नगरेकाहरुलाई मत नदिने उनको भनाइ थियो । मन्त्री भुसालले राजनीति परिवर्तनको आन्दोलनमा पसिना नबगाएकाहरुलाई जनताले मत नदिने उल्लेख गरिन् । उनले देशमा दलीय राजनीति बलियो भएको बताइन् । सबै राजनीतिक दलहरुको पार्टी संरचना स्थानीय तहसम्म पुगेको भन्दै उनले जनताले पार्टी हेरेर भोट दिने आश व्यक्त गरिन् ।
उनले युवाहरु राजनीतिमा आउँदा विचार, चिन्तन र समग्र राष्ट्र हाँक्ने योजनासहित आउनुपर्ने बताइन् । अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको
जोशले मात्रै राजनीतिले गति लिने उनको भनाइ छ ।
प्रकाशित : कार्तिक ३०, २०७९ १७:५३