यो चुनाव संविधान जोगाउने र मास्नेबीचको जनमत संग्रह हो : दाहाल- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यो चुनाव संविधान जोगाउने र मास्नेबीचको जनमत संग्रह हो : दाहाल

देवनारायण साह

मोरङ — नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यसपटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन संविधान जोगाउने र मास्नेबीचको जनमत संग्रह भएको बताएका छन् । 

मोरङ क्षेत्र नं ६ (१) को गछियाचोकमा आयोजित लोकतान्त्रिक वाम गठबन्धनको बृहत आमसभामा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । यस क्रममा उनले देशमा प्रतिगमनविरुद्ध फेरि आन्दोलन गर्नु नपारेस् भन्ने सम्झेरै यसपटक मतदान गर्न सबैलाई आह्वान गरेका थिए।

मुलुकमा जनताले पहिलोपटक अधिकार पाएको संविधानको रक्षा, स्थिरता र आर्थिक विकासका लागि लोकतान्त्रिक वाम गठबन्धन बनेको भन्दै उनले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट हालेर जिताउन आग्रह गरेका थिए । ‘देशमा जनताको खुन, पसिनाले लेखिएको संविधानको रक्षा र स्थिरता ठूलो अपेक्षा छ,’ उनले भने, ‘यसको लागि लोकतान्त्रिक वाम गठबन्धनले नै मुलुकमा आवश्यक समग्र आर्थिक विकास गर्छ ।’

संविधानको रक्षा, स्थिरता र समृद्धिलाई लोकतान्त्रिक वाम गठबन्धनले मूल नारा बनाएर अघि बढेको दाहालले बताए । ‘देशमा राजनीतिक परिवर्तन र घोषणा त धेरै भए तर जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्ने गरी आर्थिक विकास र समृद्धिको गति त्यही रुपमा लिन सकेन । त्यसकारण आर्थिक क्रान्ति नहुँदा राजनीतिक परिवर्तन दिगो हुने गरेको छैन । त्यसैले यसपटक चुनावपछि बन्ने गठबन्धनको सरकारको मुख्य उद्देश्य आर्थिक विकास नै हुनेछ ।’

देशैभर सत्ता गठबन्धनको लहर आइसकेको र गठबन्धनको विजय सुनिश्चित रहेको दाहालले दाबी गरेका थिए । ‘गठबन्धन विकास र समृद्धिको लागि धेरै वर्षसम्म रहनेछ । गठबन्धनको पक्षमा जति ठूलो जनमत हुन्छ त्यसरी नै देशको विकास र सुशासन हुने विश्वास व्यक्त गर्न चाहान्छु,’ दाहालले भने ।

यस्तै उनले कांग्रेस र कम्युनिस्ट मिलेको बेला देशमा ठूला परिवर्तन भएको स्मरण गराउँदै कांग्रेस र माओवादी मिलेपछि नै देशमा शान्तिको सुरुवात भएकोले यो गठबन्धन भएको दाहालले बताए ।

यसैबीच, प्रदेश १ राजनीतिक चेतना र आर्थिक विकास, उद्योगधन्दा, कलकारखाना र मजदुर आन्दोलनको दृष्टिकोणले अग्रणी भएकोले ठूलो अपेक्षा रहेको दाहालको भनाइ थियो । ‘कर्णालीबाट पूर्वतिर हेर्दा जनताले बडो साकारात्मक ढंगले हेर्छन् त्यसैले पूर्वका जनताको जिम्मेवारी पनि ठूलो छ,’ उनले भने, ‘त्यसैले देशलाई प्रतिगमनतिर फर्किन नदिन पूर्वले यो चुनावमा भूमिका निर्वाह गर्नेमा आशावादी छु ।’


प्रकाशित : कार्तिक ३०, २०७९ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्

भैंसीको भन्दा गाईको दूध उत्पादन दोब्बर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा भैंसीको भन्दा गाईको दूध उत्पादन बढी हुने गरेको एक सरकारी तथ्याङ्कले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागले सयुक्त रूपमा गरेको सर्वेक्षणमा यस्तो देखिएको हो । मध्यम र ठूला पशुपालन व्यवसायीमा गरिएको सो सर्वेक्षणमा सन्दर्भ अवधि (१० वर्ष) को एक हप्ताभित्र ८ लाख ८१ हजार ५ सय ५९ लिटर गाईको दुध बिक्री हुने गरेकोमा भैंसीको दूध ४ लाख ९६ हजार ४ सय ६६ लिटर बिक्री भएको उल्लेख छ ।

किसानले आफ्नै उपभोगको लागि पनि दुध राख्ने गरेका छन् । एक हप्तामा गाईको दुध ४९ हजार ९ सय ४९ लिटर र भैंसीको दुध ५० हजार २ सय ५३ लिटर आफैले उपभोग गरेको सर्वेक्षणमा उल्लेख छ । मंगलबार सार्वजनिक भएको सर्वेक्षणअनुसार सन्दर्भ अवधिमा मध्यम तथा ठूला किसानले पालेको दुहुनो गाईको संख्या १५ हजार ३ सय ८० रहेको छ । जसमध्ये स्थानीय गाई २ हजार ९८, जर्सी/जर्सी क्रसब्रिड ५ हजार ९ सय ५४, होलिस्टिन/होलिस्टिन क्रसब्रिड ६ हजार ९ सय ९ र अन्य उन्नत जात गाई ५ सय १९ वटा पालेको उल्लेख छ ।

त्यस्तै, भैंसीको हकमा १० हजार ८ सय ४१ पालेका छन् । जसमध्ये स्थानीय जातको २ हजार ६ सय ५८, मुर्रा ४ हजार ८ सय ३९, मुर्रा क्रस २ हजार ९ सय ७८ र अन्य जातको ३ सय ६६ रहेको सर्वेक्षणमा उल्लेख छ । बिमा नगर्ने व्यावसायिक किसान ४३.२ प्रतिशत छन् । ती किसानले बिमा शुल्क महँगो भएर, उचित क्षतिपूर्ति नपाएर, कम्पनीले सेवा नदिएर र पहुँच नभएर पशु बिमा नगरेको सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित : कार्तिक ३०, २०७९ १५:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×