कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चुनावी चहलपहल कम, मतदाता निराश

मधेस ब्युरो

जनकपुर — अघिल्ला निर्वाचनमा उम्मेदवारले गरेको वाचा पूरा नभएको र मधेसका एजेन्डा ओझेलमा परेको भन्दै मतदाता निराश हुँदा यसपालि मधेसमा चुनावी चहलपहल कम छ । राजनीतिक दल र उम्मेदवारले मनोमानी गठबन्धन गरेका कारण पनि निर्वाचनप्रति मतदातामा उत्साह छैन ।

चुनावी चहलपहल कम, मतदाता निराश

सिरहाका सहरी र ग्रामीण क्षेत्रमा चुनावी रौनक छैन । लहान नगरपालिका–१० का ८३ वर्षीय शतिसचन्द्र यादवले उम्मेदवारलाई मतदान गर्नेबारे कमै छलफल भएको बताए । उनले उम्मेदवारसमेत आफूसँग भोट माग्न नआएको गुनासो पोखे । सर्लाहीका उम्मेदवारहरूले प्रचारप्रसारसहित चुनावी कार्यक्रम गरिरहे पनि मतदाता भने उत्साहित छैनन् । कतै मुद्दा सम्बोधन नभएको त कतै भ्रष्टाचार मौलाएको भन्दै मतदाता निराश भएका हुन् । विगतमा मधेसका मुद्दा लिएर निर्वाचित सांसदले केही गर्न नसकेको र फेरि तिनै उम्मेदवार बनेको स्थानीय बताउँछन् ।

सर्लाहीमा अधिकांश धान भित्र्याउने चटारोमा छन् । मल, बीउ र मूल्यको जहिल्यै समस्या खेप्दै आएका किसान आफ्नो समस्या समाधान नगरेकाले निर्वाचनप्रति चासो नरहेको बताउँछन् । ‘यो पटक मतदान गर्न जान मन लागेको छैन,’ सिरसियाका उपेन्द्र रायले भने, ‘मल, बीउ र मूल्यका लागि जहिल्यै संघर्ष गर्दै आएका छौं, तर प्रतिनिधिले समाधान गर्न सकेका छैनन् ।’ दलहरूको मनलाग्दी गठबन्धनले पनि मतदाता निराश भएका छन् । एक दलको पकड बलियो भएको क्षेत्रमा गठबन्धनका नाममा अर्को दलका नेता उम्मेदवार बन्दा कार्यकर्ता तथा मतदातामा उत्साह हराएको हो । कतिपय दलमा बाहिरका व्यक्ति एकै पटक राजनीतिमा होमिँदा पनि उत्साह घटेको कार्यकर्ताको भनाइ छ ।

२०१५ सालदेखि निर्वाचन हेर्दै आएका ७६ वर्षका पूर्वशिक्षक गोकुल शर्मा यसपटकको निर्वाचनमा उत्साह नभएको बताउँछन् । ‘यस्तो सुनसान कुनै निर्वाचन थिएन,’ उनले भने । राजनीतिक दल र उम्मेदवारले मनोमानी गठबन्धन गरेका कारण जनतामा उत्साह नदेखिएको शर्माको अनुमान छ । ‘जनताको भोट दिने इच्छा एकातिर हुन्छ, नेताले अर्को दल, अर्को उम्मेदवारलाई भोट हाल भनिरहेका छन्,’ शर्माले भने । महोत्तरी–१ बाट प्रतिनिधिसभा उम्मेदवार गिरिराजमणि पोखरेल पनि निर्वाचनको माहोल सेलाएको स्वीकार्छन् । माहोल सेलाउनुको कारण भने गठबन्धन र निर्वाचन प्रणाली भएको उनले बताए । स्थानीय मुद्दा र स्थानीय सरकारसँग जनता प्रत्यक्ष जोडिएको तर केन्द्रसँग सिधा नजोडिएकाले पालिका निर्वाचनमा भन्दा यस निर्वाचनमा माहोल सेलाएको उनको भनाइ छ ।

२०५१ सालदेखि मतदान गर्दै आएका सिम्रौनगढ नगरपालिका–८ का ५० वर्षीय शिव राय यादव सोमबार बारीमा आलु रोप्दै भेटिए । उनलाई कचोर्वा बजारमा आइतबार र सोमबार भएको चुनावीसभाको मतलब थिएएन । ‘किन भाषण र प्रचारमा जाने ?,’ उनले भने, ‘एकैचोटि मतदानको दिन मनपर्ने उम्मेदवारलाई भोट दिन्छौं । किन समय खेर फाल्ने ? चुनाव आउने जाने भइरहन्छ । उम्मेदवारले भोट मागिरहन्छन् ।’

धान काट्ने सिजनमा उम्मेदवारहरू घरदैलौ र्गा अधिकांश घरमा मानिस भेटिँदैनन् । केही उम्मेदवार त खेत पनि चहारिरहेका छन् । उम्मेदवार र मतदाताबीच लामो समयसम्मको सम्पर्क नहुनुले पनि चुनावी रौनक छैन । मतदानको मिति नजिकिँदै जाँदा विस्तारै बस्तीमा भोजभतेरको आयोजना हुन थालेपछि कार्यकर्तास्तरमा चुनावी चहलपहल भने बढेको छ । उम्मेदवारका एजेन्डा विकास र राजनीतिसँग जोडिए पनि दैनिक जनजीविकासँग नजोडिएको सप्तरी तोपाका रुपेशकुमार झाले बताए ।

पर्साका गाउँघरमा विगतको निर्वाचनको बेला देखिने उत्साह यसपालि छैन । ‘उम्मेदवारले गर्ने घरदैलोबाहेक वडामा कुनै चुनावी चहलपहल देखिएको छैन,’ वीरगन्ज–२५ का रमेश पटेल भन्छन्, ‘पहिलाको चुनावजस्तो सरगर्मी देखिएको छैन ।’ पर्साको पोखरिया निवासी राजेन्द्र सिंहका अनुसार ठूला दलहरूले माथिबाटै गठबन्धन गरी उम्मेदवार तय गरेकाले मतादातामाझ चुनावी चर्चा हुन सकेको छैन । ‘उम्मेदवार नभएका पार्टीका नेता र कार्यकर्तालाई चुनाव लागेको छैन,’ उनी भन्छन्, ‘गठबन्धनका उम्मेदवारले बोलाएको बेला टिकट नपाएका दलका नेता तथा कार्यकर्ता जानेबाहेकका गतिविधि खासै गरेका छैनन् ।’

हाल धेरैजसो उम्मेदवार कुनै न कुनै गठबन्धनबाट चुनावमा उठेका छन्, जसले गर्दा टिकट नपाउने दलका संगठित कार्यकर्ताले खासै चासो दिएका छैनन् । ‘एकल प्रतिस्पर्धा भएको भए सबै दलका उम्मेदवार हुन्थे, आफ्ना उम्मेदवार र पार्टीलाई जिताउन कार्यकर्ता परिचालित हुन्थे,’ सिंह भन्छन्, ‘यसपालि त गठबन्धन गरेर मतदाता र कार्यकर्तालाई जबर्जस्ती अर्को दलको उम्मेदवारलाई मत हाल्ने वातावरण मिलाइएको छ ।’ पर्साकै महुवनका प्रमोद यादवका अनुसार गठबन्धनका कारण अधिकांश क्षेत्रमा दुई ‘हेभिवेट’ उम्मेदवार छन् । त्यसमा अधिकांश उम्मेदवार पटकपटक ‘टेस्टेड’ भइसकेका छन् । ‘जितेर जाने उम्मेदवारले पनि केही विकास गर्न सक्दैन भन्ने जनतालाई थाहा छ, त्यही भएर पनि चुनावप्रति उति उत्साह छैन,’ उनले भने ।

रौतहट दुर्गाभगवती गाउँपालिका ५ बडहर्वाका देवनाथ सहनीले चुनावलाई उत्सवको रूपमा लिँदै आएका नेता, उम्मेदवारहरूका लागि ठूलो झट्का भएको सुनाए । ‘चुनावको यत्रो माहोल छ । तर अहिले नेताको अघिपछि कार्यकर्ताहरू एकदम कम छन्,’ उनले भने, ‘विस्तारै नेताप्रति मतदाताको भरोसा कम हुँदै गएको छ । चुनावमा वाचा गरेर पूरा नगर्ने र झूटो आश्वासन दिने शैलीमा परिवर्तन नआएकाले चुनावमा भीडभाड हुन छाडेको छ ।’

अवधेशकुमार झा (सप्तरी), भरतजर्घा मगर (सिरहा), सन्तोष सिंह (धनुषा), सुनिता बराल (महोत्तरी), ओमप्रकाश ठाकुर (सर्लाही), शिव पुरी (रौतहट) लक्ष्मी साह (बारा) र भूषण यादव (वीरगन्ज)

प्रकाशित : कार्तिक ३०, २०७९ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?