१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८
आमनिर्वाचन २०७९

‘जसलाई जिताए पनि दु:ख हट्ने होइन’

मधु शाही

काठमाडौँ — चुनावताका खुबै आश्वासन देखाएर भोट माग्ने उम्मेदवारको प्रवृत्तिप्रति सिन्धुलीका नारायण थापा जानकार नै छन् । उनले २० वर्षदेखि मत खसाल्दै आएका छन् । स्थानीय तहको होस् या प्रतिनिधिसभाको निर्वाचनमा उनलाई थुप्रै लोभ देखाएर मत खसाल्न काठमाडौंदेखि सिन्धुली पुर्‍याउने उम्मेदवार आउँछन् । तर, यो पटक भने उनले नेताको कुनै पनि भनाइमा विश्वास नगर्ने भएका छन् । 

‘जसलाई जिताए पनि दु:ख हट्ने होइन’

ज्यामी काम गर्दै आएका ५९ वर्षीय नारायाणको मन २०७४ सालको प्रतिनिधिसभाको चुनावमा भाँचिएको हो । उम्मेदवार जिताउन उनी गएको चुनावमा कामै छोडेर घर पुगे । चुनावभरि खान दिए । छोरीलाई जागिर खुवाउने आश्वासन दिएका नेताले जितेपछि एक पटक न फोन गरे न भेट्न आए ।

चार सन्तानका बुबा नारायणले जेठी छोरीलाई जागिर खुवाउन पाए मजदुरी गरेर बुढो ज्यानले सुख पाउला भन्ने थियो । स्नातक तह पढेकी छोरीले बेरोजगार भएको देखेर नारायण खिन्न छन् । उनी बेरोजगार छोरीकै रोजगारका लागि धेरै नेताकोमा धाएको बताउँछन् । स्थानीय तहको निर्वाचनमा पनि उनले छोरीको रोजगार माग गरेका थिए । उनी भन्छन्,‘सबै नेताले हुन्छ भन्छन्, चुनाव जितेपछि चिन्दैनन् ।’

रामेछापका धिमे बुढाथोकीलाई मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चासो छैन । भारी नबोकी उनको परिवार बाँच्न मुस्किल छ । ‘चुनावका बेला नेताहरुले चामलका बोरासमेत ल्याएर फकाउँछन्,’ उनी भन्छन्,‘दुई महिना खाएर पुग्दैन, वर्षभरी दुखै छ ।’

सुर्खेत घर भएका विर्खेबहादुर कामीको १५ वर्ष बागबजारस्थित सडकमा भारी बोक्दैमा बित्यो । तीन जना छोरा भारतमा होटलमा काम गर्छन् । उनी भने पत्नी र आफू पालिन काठमाडौंमा मजदुरी गर्न आएका छन् । भारी बोक्दा बोक्दै उम्मेदवारले चुनावी घोषणापत्रका पर्चा थमाउँछन् । पढ्न जान्दैनन् । उनी भन्छन्,‘हामी अनपढलाई पर्चा दिएर के काम ?’ जति नेता जिताए पनि पाखुरा खियाउने नियतिले छोडेन उनलाई । भोट हाल्नकै लागि विभिन्न पार्टीका उम्मेदवारले टिकट काटेर सुर्खेत लैजाने प्रस्ताव आएको छ । तर, उनले भने यो पाली मत खसाल्न नजाने मनसाय बनाएका छन् ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बिर्खेबहादुर उम्मेदवार जिताउन पार्टीको गाडीमा पुगे । मत खसालेपछि उनलाई काठमाडौं आउन सास्ती पर्‍यो । एक रुपैयाँ भाडा नभएको बताउँदै उनले काठमाडौं फर्किने बेला ऋण गरेर आएको अनुभव सुनाए । ‘जाँदा बसमा मासुभात खुवाउँदै लैजान्छन्, भोट खसालेपछि फर्किने बेला वास्ता गर्दैनन्’, उनी भन्छन्,‘स्वार्थी नेताहरु देखेर दिक्क लागेको छ, यो पटक जादिनँ ।’

बागबजारमै पीपलको रुखमुनि २० वर्षदेखि भारी बोक्ने अवसर कुर्दै आएका सल्यानका सेतु सार्की जुनसुकै निर्वाचन जनता झुक्याउने पर्व भएको ठान्छन् । ६० वर्ष उमेर पुगेका उनी कर्ममा विश्वास गर्छन् । नेताहरुले सधैं झुटो बोल्ने गरेको देखेर उनी निर्वाचनप्रति वितृष्णा जागेको बताउँछन् । ‘भोट हाल्न गए पेट पाल्न गाह्रो पर्छ’, उनी भन्छन्,‘जसलाई जिताए पनि दु:ख हट्ने होइन ।’

बर्दियाको घरमा तालै लगाएर बैना थारु काठमाडौंमा ज्याला मजदुरी गर्न आइन् । एक वर्षदेखि उनी यहीं संघर्ष गरिरहेकी छन् । ज्यामी काम गर्दागर्दै श्रीमान्‌को देब्रे खुट्टा भाँचिएपछि ४० वर्षीया बैनाको आयआर्जन रोकियो । उनी स्कुल पढ्न छाडेका दुई छोरालाई समेत ज्यामी काममा लगाउन बाध्य भइन् । घरमा चुलो बाल्ने आधार गुमाउँदै जानु परेको बैनाजस्ता जनताको पीडा समेट्ने उम्मेदवारका नीति छैनन् । उनी भन्छिन्,‘नेताको पछि लागेर पेट भरिँदैन ।’

नेपाल भारवाहक(भारी बोक्ने) मजदुर संघका अध्यक्ष भक्तबहादुर लामाका अनुसार काठमाडौंमा मात्रै २० हजारभन्दा बढी भारी बोकेर जीविकोपार्जन गर्ने मजदुर छन् । उनीहरुमध्ये धेरैजसोको निर्वाचन, उम्मेदवार र पार्टीका घोषणापत्र प्रतिको विश्वास हराउँदै गएको छ । कपितय मजदुरलाई त भोट भन्दा पनि भोकसँग सरोकार छ ।

संघमा मात्रै आबद्ध भएका ५ हजार मजदुर नेताको कुरामा विश्वास गर्न छाडेर काठमाडौंसम्म पुग्न इच्छुक नदेखिएको बताउँछन् ।

हरेक पटकको चुनावमा भारी बोक्ने मजदुरको समस्या सम्बोधन नगरिएको उनले गुनासो गरे । भरियाको सबैभन्दा ठूलो चुनौति नै स्वास्थ्य र आर्थिक सुरक्षा हो । लामाका अनुसार धेरै भरियाले मजदुरी गर्दा गर्दै घाइते भएको, हात खुट्टा भाँचिएको, भनेको बेलामा ज्याला नपाएको, पूरा ज्याला नपाएको, सामाजिक सुरक्षा नपाएकोलगायत समस्या झेल्दै आएका छन् । उनीहरुको घाउ कुनै पनि उम्मेदवारले महसुस गर्न नसकेको उनले बताए । ‘भरियाको दु:ख घोषणा पत्रमा समेटिएन’, उनी भन्छन् ।

प्रकाशित : कार्तिक २७, २०७९ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?