वर्षात्को पानी जोहो गर्दै‚ प्यास मेट्दै
धनकुटा — धनकुटा र मोरङ जिल्लाको सीमावर्ती थामडाँडा गाउँमा पुग्दा स्थानीयको घर–आँगनमा दुर्लभ दृष्य देखिन्छ । पेय पदार्थको बोटलमा वर्षात्को पानी जोहो गरेर राखिने चलन छ । खाली बोतलमा राखिएको बोटल घर आँगनको सजावटका लागि राखिएको भने होइन । खानेपानीको चरम समस्या भएपछि वर्षात्को पानी जोहो गर्न स्थानीयले उपाय निकालेका हुन् ।
धनकुटाको साँगुरीगढी– ५ र मोरङको केराबारी– १ सीमावर्ती थामडाँडाका अढाई सय परिवारले खानेपानीको चरम समस्या भोग्दै आएका छन् । पानीको समस्याग्रस्त स्थानको अधिकांश क्षेत्र मोरङ जिल्लामा पर्दछ । त्यसको वैकल्पिक उपायको रुपमा स्थानीयवासीले जम्बो पेय पदार्थको बोतलमा पानी जोहो गर्दै आएका छन् । घरबाट तीन घण्टा टाढा जुकेपानी मुहानबाट बोकेर पानी ल्याउनु पर्ने बाध्यता रहेको स्थानीय मोहन राई बताउँछन् । टाढाको जरुवाबाट पानी ल्याउनुभन्दा वर्षात्को पानीलाई बोतलमा राखेर हिउँदभरि उपभोग गर्दै आएको उनको भनाइ छ । ‘वर्षौंसम्म हामी काकाकूलजस्तै अवस्थामा छौं‚’ राईले भने, ‘चुनावमा आउने नेताको आश्वासन मात्र पाइन्छ, समस्या समाधान कहिल्यै नभएपछि यसो गर्दै पानीको जोहो गर्दै आएका छौं ।’
छानाबाट आएको पानीलाई वर्षायाममा ती बोटललाई भरिने गरिएको छ । स्थानीयका सबैजसो घर आँगनमा झट्ट नियाल्दा सजावटका लागि राखिएको झैं देखिन्छ । तर, त्यसरी राखिएको खानेपानीले हिउँदयामको कम्तीमा ८ महिना खानेपानीको जगेडा गरिने स्थानीय नवीन राई बताउँछन् । त्यसरी पानी राख्न प्रयोग गरिने खाली बोतल प्रतिगोडा दुई रुपैयाँको दरले केराबारी र डाँडाबजारबाट स्थानीयले किनेर ल्याउने गरेको बताए । त्यसमा भरेर राखिएको पानी पिउन र सागसब्जीमा सिँचाइका लागि पनि प्रयोग गर्दै आएका छन् ।
आठ वर्षपहिले सुरुमा मोहनले यस्तो उपाय निकालेका थिए । वर्षौंदेखि आफूहरूले भोग्दै आएको समस्या गाउँमा आउने नेतालाई सुनाउँदै आए पनि सुनुवाइ नभएको स्थानीय सृजन राई बताउँछन् । आफूहरूको माग चुनावताका आउने राजनीतिक दलका नेतालाई सुनाउने गरे पनि आश्वासन मात्र हात परेको उनको गुनासो छ ।
त्यस क्षेत्रका २ सय ४० परिवारले खानेपानीको चरम समस्या भोगेका छन् । पछिल्लो समय टुनीबोट मुहानबाट पानी ल्याएर जम्मा गर्ने ट्यांकी निर्माण गर्ने भनिए पनि ढिलाइ भएको स्थानीयको भनाइ छ । स्थानीय ओखरघेरो र टुनीबोट मुहानको पानी जम्मा गरेर व्यवस्थित गरिने भनिए पनि उक्त योजना पूरा भएको छैन ।

बिहान सबेरैदेखि पानीको बन्दोबस्त गर्न आफूहरूलाई चिन्ता लाग्ने स्थानीय विमला मगर बताउँछिन् । ‘बोतलमा जम्मा गरेको पानीले हिउँदमा कम्तीमा ३ महिना जेनतेन फारु गरेर काम चलाउँछौं’, मगरले भनिन्, ‘अरु समय सास्ती खेप्नुपर्छ ।’ स्थानीय शान्ति राईका अनुसार पानीको स्रोत सुक्ने क्रम बढेपछि समस्या बढेको हो । उनले पनि विगत १० वर्षदेखि भोट माग्न आउने नेतालाई खानेपानीको एउटै माग राख्दै आएको सुनाइन् । हरेकजसो चुनावमा यही क्रम दोहोरिने, तर समस्या समाधान नभए पनि आफूहरू चिन्तित रहेको बताइन् । त्यस क्षेत्रमा मोरङ प्रतिनिधिसभा निर्वाचनमा एमालेका घनश्याम खतिवडा र सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका डिकबहादुर लिम्बु उम्मेदवार छन् ।
यस्तै, प्रदेशसभा २ मा एमालेबाट खड्गबहादुर बस्नेत र एकीकृत समाजवादीका उपेन्द्र घिमिरेलगायत उम्मेदवार छन् । तर, उनीहरू हालसम्म त्यहाँ घरदैलो अभियानका क्रममा नपुगेको स्थानीयले बताए । विगतमा आएर जितेकाहरू फेरि उम्मेदवार बने पनि माग पूरा गर्न नसकेको प्रमिला राई गुनासो गर्छिन् । जोहो गरेर राखिएको वर्षात्को पानी सकिएपछि स्थानीयले ट्याक्टरमा पानी बोकेर प्रतिलिटर १ रुपैयाँको दरले किन्ने गरेको बताए । बारीमा सागसब्जी र अन्न उब्जाउ गर्न पनि जगडा गरिएको पानीकै भर परेको राई बताउँछिन् । केहि वर्ष पहिले कच्ची सडक पुगे पनि खानेपानीको समाधान नभएपछि कयौं घर–परिवार अन्यत्र बसाइँ सरेर गएका छन् ।
केहि वर्षअघि डाँडाबजार क्षेत्रको ओख्रेका घर–घरमा पनि ठूलो घैलामा वर्षात्को पानी जोहो गरिने चलन थियो । यसै वर्षदेखि त्यहाँ भने पर्डेप नेपाल नामको संस्थाले लिफ्टिङ प्रणालीबाट खानेपानी योजना सञ्चालनमा ल्याएको संस्थाका कार्यकारी निर्देशक नरेशप्रसाद श्रेष्ठले बताए ।
प्रकाशित : कार्तिक २७, २०७९ ११:०४