२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

मतदाता फकाउँदै पूर्वएसएसपीदेखि क्रिकेटर

मनोज पौडेल

कपिलवस्तु — पूर्वएसएसपी विक्रमसिंह थापा बिहानै घरदैलोमा निस्किए । उनी अहिले दलबलसहित मतदाता फकाउन घरघर पुगिरहेका छन् । साँझ घर फर्केपछि भोलीपल्टको योजना बनाउँछन् । क्षेत्र नं. २ (१) का प्रदेशसभा सदस्य उम्मेदवार थापा सुरक्षा कमान्डपछि राजनीतिको कमान्ड सम्हाल्न मैदानमा आएका हुन् ।

मतदाता फकाउँदै पूर्वएसएसपीदेखि क्रिकेटर

उनीजस्तै क्रिकेटर फैजल खाँ पनि मतदातालाई आफूतिर आकर्षित गर्न व्यस्त छन् । उनी पनि बिहानदेखि साँझसम्म घरदैलो गर्दै मतदाता फकाइरहेका छन् । क्षेत्र नं. १ (२) मा प्रदेशसभा सदस्य उम्मेदवार उनी क्रिकेटको साइनो छाडेर राजनीतिक इनिङ सुरु गर्दै छन् ।

जिल्लाको प्रदेशसभा सदस्य निर्वाचनमा प्रहरीका पूर्व उच्च अधिकारीदेखि अन्तर्राष्ट्रिय खेलाडीसम्म चुनावी मैदानमा होमिएका छन् । कहलिएका पूर्वएसएसपी थापादेखि पूर्व क्रिकेटर खाँसम्मले राजनीतिक इनिङ सुरु गरेका छन् । शान्ति सुरक्षा र अपराध अनुसन्धानमा अब्बल काम गरेका थापा र मुलुकका लागि देश/विदेशमा समेत खेलेर नाम राखेका क्रिकेटर खाँ जनताबाट अनुमोदित हुन आएका हुन् । ‘पहिले क्षमता, सीप र टेक्निकले काम गरेर अब्बल ठहरियौं,’ खाँले भने, ‘अब जनताका बीचमा बसेर सेवा गर्न मन लाग्यो । त्यही भएर जनताका माझ गइरहेका हौं ।’ फरक पृष्ठभूमिबाट आएका दुवैलाई राजनीति भने नौलो बनेको छ । १३ जना प्रतिस्पर्धी रहेको क्षेत्र नं. २ (१) मा सत्ता गठबन्धनबाट कांग्रेसका थापाले उम्मेदवारी दिएका हुन् । १८ जना प्रतिस्पर्धी रहेको क्षेत्र नं. १ (२) मा नेकपा एकीकृत समाजवादीबाट २९ वर्षे खाँ चुनावी मैदानमा छन् ।

दुवै राजनीतिमा भविष्य खोज्दै आएका हुन् । दुवै प्रतिस्पर्धी जित निकाल्न मतदाता फकाउन व्यस्त छन् । उनीहरू घर–आँगनदेखि खेत खलिहान पुगिरहेका छन् । मतदाताको आशीर्वाद लिइरहेका छन् । ‘कतिपय ठाउँमा सहज हुन्छ,’ थापाले भने, ‘कतिपय ठाउँमा गुनासो सुन्नुपर्छ ।’ थापाका प्रतिस्पर्धी एमालेका नवराज लामिछानेले आफू जनतासँग राम्ररी भिजेकाले चुनाव जित्ने आधार भएको बताए । ‘लामो समयदेखि राजनीति गरें,’ उनले भने, ‘त्यसमाथि यो क्षेत्रमा पार्टीको राम्रो जनाधार छ ।’ पूर्वक्रिकेटर खाँले वैदेशिक रोजगारीका नाममा भइरहेको युवा पलायन रोक्ने पहिलो काम गर्ने बताए । खाँका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार सहसराम यादवले आफू प्रदेशमन्त्री भएर यो क्षेत्रमा धेरै विकासका काम गरेकाले जित निश्चित भएको बताए ।

काठमाडौं, ललितपुर र रूपन्देहीलगायत तराईका धेरै जिल्लाको सुरक्षा कमान्ड सफलतापूर्वक सम्हालेर चर्चा कमाएका थापाले प्रहरीको सबैभन्दा ठूलो पूर्णशान्ति पुरस्कारसमेत पाएका छन् । थापा कपिलवस्तुमा प्रहरी प्रमुख उपरीक्षक हुँदा राम्रो काम गरेर लोकप्रिय भएका थिए । ‘प्रहरीमा जस्तै राजनीतिमा पनि अब्बल काम गरेर देखाउन आएको छु,’ उनले भने । २०३५ सालमा नेपाल विद्यार्थी संघको राजनीति थालेका उनी सेवा निवृत्तपछि चार वर्षअघि कांग्रेस प्रवेश गरेर राजनीति सुरु गरेका हुन् । ‘पहाडको मान्छे मधेसको मतले जित्छु,’ उनले भने, ‘अब पहाड र मधेस जोड्ने काम गर्छु ।’

यसैगरी पूर्वक्रिकेटर खाँ ६ वर्षअघि एमाले प्रवेश गरेका थिए । खाँ यू–१९ का अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनी सन् २०११ देखि २०१६ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थाइल्यान्ड, मलेसिया र अस्ट्रेलियालगायत मुलुक पुगेका थिए । क्रिकेट खेलेर जसरी चिनिए, त्यसरी नै राजनीति गरेर नाम राख्न चाहन्छन् । ‘मधेसको समाज बेलाबेला विभाजित हुन्छ,’ उनले भने, ‘नेतृत्व गर्ने मौका पाए सबैभन्दा पहिला त्यसलाई जोड्ने काम गर्छु ।’ साम्प्रदायिक सद्भाव कसिलो बनाउने उनले सुनाए । विभिन्न जातजाति सम्प्रदाय कसरी मिलेर बसेका छन् भनेर उदाहरण देखाउँछु । सन् २०१० देखि क्रिकेटसँग जोडिएका उनी २०१२ मा थाइल्यान्डमा सम्पन्न यू–१९ विश्वकपमा नेपालका तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रकाशित : कार्तिक २७, २०७९ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?