कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

‘मान्छे बोक्छु, घाँस पनि बोक्छु’

हरेक दिन नेता र कार्यकर्ता उनको अटोमा ओहोरदोहोर गर्छन्, तर चुनावप्रति उतिसारो मोह छैन, उच्च शिक्षा अध्ययन गरेका र विदेशमा अनुभव हासिल गरेर फर्केका युवालाई प्राथमिकताका आधारमा अवसर दिने विषय चुनावी नारा नबनेको उनले गुनासो छ

गुल्मी — सदरमुकाम तम्घासमा चिसो बढिसकेको छ । साँझ–बिहान स्याँठ चल्छ । कचौरा आकारको गुल्मी सदरमुकाममा हिजोआज घाम एकैछिनमा हराइजान्छ । तर बढ्दो चिसो कुनै पर्वाह नगरी सन्तोष पन्थी बिहानैदेखि साँझ अबेरसम्म सहरबजार कुदिहिँड्छन् । चुनावको चहलपहलले रेसुंगा नगरपालिका–२ धागीथुमका ३८ वर्षीय पन्थीको व्यस्तता झनै बढाइदिएको छ । 

‘मान्छे बोक्छु, घाँस पनि बोक्छु’

उनी कुनै उम्मेदवार वा नेताको कार्यकर्ता होइनन् । तर राजनीतिबारे भने उनी भलिभाँती जानकार छन् । यसको कारण उनले चलाउने अटोका यात्रुहरू धेरैजसो राजनीतिकै कुरा गर्छन् । समाजशास्त्रमा स्नातकोत्तर अटोचालक पन्थी राजनीतिका कुरा सजिलै मेसो पाउँछन् । पढालिखा अटोचालकका रूपमा उनलाई जिल्लामा धेरैले चिन्छन् । अनि विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएकाले उनको परिचयको दायरा फराकिलो छ । अनेक पेसा र व्यवसायमा बेहोरेको असफलतापछि पन्थी अटोचालक बन्न आइपुगेका हुन् । अर्थशास्त्रमा स्नातक श्रीमती पार्वती खनाल र आफ्नै सर्टिफिकेट बैंकमा राखेर ऋण लिन खोज्दा पाएनन् । उनी निराश भए ।

सरकारले आर्थिक वर्ष ०७५/७६ को बजेट भाषणमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन सकिने योजना सार्वजनिक गरेको थियो । सरकारले मापदण्ड बनाएर ‘स्वरोजगार बन्न चाहने स्नातक उत्तीर्ण युवाले सर्टिफिकेट धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण ५ प्रतिशत ब्याजमा पाउने’ घोषणा गरेपछि उनी तारन्तार बैंक धाए । अनेकन सास्ती र हन्डर खेपे तर भनेजस्तो भएन । त्यसपछि उनले बाटो मोडे र अटो किनेर चलाउने निष्कर्षमा पुगे । उनले गुनासो सुनाए, ‘बैंकले अनेक प्रक्रियाको अड्को थापेर दुःख मात्रै दिए ।’

जिल्ला प्रशासन कार्यालय अगाडि नीलो रंगको अटोरिक्सामा आराम गर्दै उनले चुनावका मुखमा नेताहरू कुरा मात्रै फलाक्ने, काम नगर्ने प्रवृत्ति रहेको टिप्पणी गरे । पटक–पटक नेताबाट युवाका लागि रोजगारमूलक कार्यक्रम ल्याउने आश्वासन पाए पनि कहिल्यै पूरा नहुँदा राजनीतिप्रति आफ्नो विश्वास टुटेको बताउँदै उनले भने, ‘चुनावका बेला नेताले जे पनि हुन्छ भनिदिन्छन् । निर्वाचनपछि कोटरीका मान्छेले लाभ लिन्छन् ।’

अटो किनेपछि उनलाई स्वरोजगारको बाटोमा हिँडेको सन्तोष मिले पनि अपेक्षित कमाइ नहुँदाको दुःखले सताउन छाडेको छैन । ‘सहरबजार एक राउन्ड घुम्दा पनि टन्न मान्छे पाइँदैनन्,’ उनले आफ्नो दुःख सुनाए, ‘सडक अप्ठ्यारा छन् । जतासुकै जान सक्दैनौं ।’ पाँच वर्षदेखि अटो कुदाइरहेका उनले देशमै केही गरिखान सकिन्छ कि भनेर आफूले अहिलेसम्म राहदानी नबनाएको बताए । एक समय नेविसंघको क्षेत्रीय सभापतिसमेत बनेका उनले राजनीति गर्दा धेरैको ‘गोटी’ बन्नुपरेको विगत सम्झिँदै भने, ‘राजनीति छाडेपछि आफ्नै पेसामा रमाइलो लागिरहेको छ । कसैको झोले बन्नुपरेको छैन ।’ उनले अटो कुदाउने मात्रै गर्दैनन्, भैंसी पनि पालेका छन् ।

‘अटोमा मान्छे बोक्छु, घाँस पनि बोक्छु,’ उनले भने, ‘महिनाको २० दिन अटो चलाउँछु, अरू दिन सामाजिक काममा बिताउँछु ।’ गाउँटोलका सबैजसो काममा उनी सहभागी हुन्छन् । स्थानीय खानेपानी आयोजनाको बैठकमा सहभागी हुन्छन् । जन्त, मलामी जान्छन् । २० दिन अटो कुदाएर हुने मासिक ३० हजार हाराहारीको कमाइ र ५ रोपनीभन्दा बढी जग्गाको खेतीपातीबाट उनले आमा, श्रीमती र दुई छोरासहितको परिवारको आवश्यकता धानेका छन् ।

गुल्मीमा पछिल्लो समय तीन सयभन्दा बढी अटोरिक्सा छन् । पन्थीजस्ता धेरै युवाले यो पेसा गरेका छन् । ‘मैले अटो लिने सोच बनाएपछि अरू चार जनासँग पनि सल्लाह गरें,’ उनले भने, ‘पछि त्यो बढेर अहिले ३ सय जना अटो रिक्सा चलाएर स्वरोजगार बन्नुभएको छ ।’ उनीहरूमध्ये कैयन् केही गाह्रोसाह्रो परे पन्थीसँगै सल्लाह लिन आउँछन् ।

हरेक दिन नेता र कार्यकर्ता उनको अटोमा ओहोरदोहोर गर्छन् । तर उनलाई चुनावप्रति उतिसारो मोह छैन । नेताका तस्बिर र पोस्टरले रंगिएको सामाजिक सञ्जाल हेर्छन् तर खासै मन अड्याउँदैनन् । ‘म कुनै नेता वा समर्थकको पोस्टमा लाइक सेयर गर्दैन,’ उनले भने, ‘सिस्टमले हुने परिवर्तन हुन्छ, वर्तमान नेता र राजनीतिबाट भने परिवर्तन सम्भव देखिँदैन ।’

नेताले युवालाई लगानीको पाटो सहज बनाइदिनुपर्ने बुझाइ राख्दै उनले आर्थिक उपार्जनका तरिका सिकाउनु जरुरी भएको बताए । उच्च शिक्षा अध्ययन गरेका र विदेशमा अनुभव हासिल गरेर फर्केका युवालाई प्राथमिकताका आधारमा अवसर दिने विषय चुनावी नारा नबनेको भन्दै उनले गुनासो गरे ।

प्रकाशित : कार्तिक २६, २०७९ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?