मेरो गठबन्धन जनतासँग भएको छ : महेश बर्तौला

कान्तिपुर संवाददाता

हेटौंडा — मकवानपुर प्रतिनिधिसभा क्षेत्र–२ मा भइरहेको चुनावी प्रतिस्पर्धाको चर्चा देशभर नै छ । कारण हो, चारपटकका विजेता विरोध खतिवडा एमालेका युवा उम्मेदवार तथा विद्यार्थी नेता महेश बर्तौलासँग प्रतिस्पर्धा गर्दैछन् । एमाले वाग्मती प्रदेश कमिटीको उपसचिव रहेका बर्तौलाको यो संसदीय निर्वाचन पहिलो अनुभव हो ।

मेरो गठबन्धन जनतासँग भएको छ : महेश बर्तौला

एमालेको विद्यार्थी राजनीतिबाट उदाएका अनेरास्ववियुको केन्द्रीय उपाध्यक्षसम्म भएका बर्तौलाले विद्यार्थी राजनीतिबाट अलग्गिएको एक वर्षभित्रै संसदको टिकट हात पार्न सफल भएका हुन् । मुख्य प्रतिस्पर्धी खतिवडाको मताधिकार क्षेत्र नम्बर–१ बाट रहेको विषयलाई उचालेर उनलाई ‘टुरिस्ट’ उम्मेदवार भन्दै बर्तौलाले कटाक्ष गरिरहेका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको विषयमा प्रताप विष्टसुवास विडारीले गरेको कुराकानीको अंश :

तपाईं घरदैलो कार्यक्रममा व्यस्त भइरहँदा जनताबाट कस्तो प्रतिक्रिया प्राप्त गरिरहनुभएको छ ?

निर्वाचनमा उम्मेदवार भएपछि घरदैलोमा व्यस्त हुनु स्वभाविक हो । घरदैलोको क्रममा मैले महत्त्वपूर्ण शिक्षा पनि प्राप्त गरिरहेको छु । मेरो प्रतिद्वन्द्वीका रुपमा रहेका नेकपा (एस)का उम्मेदवार विरोध खतिवडालाई यसक्षेत्रका बासिन्दाले २० वर्षसम्म जिताएका थिए । तर, हाम्रो समस्या, वेदनालाई कम गर्न कहिल्यै पनि फर्केर गाउँ आउनुभएन । हाम्रो क्षेत्रको विकास र समृद्धिलाई पूर्णरुपमा वेवास्ता गर्नुभयो । मैले पनि जितेपछि त्यस्तै पो गर्ने हो कि भन्ने प्रश्न घरदैलोको क्रममा सोधिने गरिएको छ । नागरिकमा राजनीतिप्रति धेरै वितृष्णा फैलिएको र प्रश्नैप्रश्न भएको देखिन्छ । यो हाम्रो राजनीतिक भविष्यका लागि विडम्बनापूर्ण कुरा हो । एउटा व्यक्ति सधैं पद र अवसरका लागि केन्द्रीत भइरहँदा यस्तो अवस्था भएको हो भन्ने मैले बुझेको छु ।

पाँच दल बीच गठबन्धन भए पनि मकवानपुरमा मैले टिकट पाएपछि युवाले अवसर प्राप्त गरेको छ । हामीले जिताउनुपर्छ भन्ने पनि प्रतिक्रिया मतदाताको रहेको छ । मकवानपुरबाट राष्ट्रिय राजनीतिमा युवालाई जोड्ने यो महत्त्वपूर्ण अवसर पनि हो र यसका लागि हामी सकारात्मक छौं भन्ने प्रतिक्रिया मैले प्राप्त गरेको छु ।

म एमालेबाट उम्मेदवार बनेपनि जिल्लाका युवाहरुको साझा भावनाको प्रतिनिधित्व मैले गर्ने नै भएँ । मैले अवसर प्राप्त गर्दा काम गर्न सक्छु भनेर प्रमाणित गर्ने चुनौती समेत रहेको छ । कांग्रेस, माओवादी र नेकपा (एस)मा आवद्ध युवाहरुबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छु । समग्रमा भन्नुपर्दा जिततर्फ अग्रसर भइरहेको प्रतिक्रिया मैले प्राप्त गरेको छु ।

तपाईंले मुख्य प्रतिद्वन्द्वीको रुपमा चित्रण गर्नुभएको विरोध खतिवडा चारपटक यसै निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको छ । यस्तो अवस्थामा तपाईं विजयी हुन कसरी सहज हुन्छ?

हामीले राजतन्त्रका विरुद्धमा लडेर गणतन्त्र किन ल्यायौं ? पहिला यो बुझ्न जरुरी छ । एउटा व्यक्तिको हातमा सिंगो राजनीतिक अधिकार केन्द्रीत थियो । त्यसविरुद्ध हामीले जनताको शासन र जनताको छोरो शासनमा पुग्ने कल्पना गरेर गणतन्त्र ल्याएका हौं । उहाँले म विभिन्न राजनीतिक परिवर्तनमा लडेको व्यक्ति हुँ भनेर भनिरहनुभएको छ । तर, अहिले उहाँ आफैं छोटे राजा बन्ने कसरतमा हुनुहन्छ । २० औं वर्ष उहाँ र उहाँको परिवारका लागि मात्र अवसर दिन सकिन्छ ? उहाँको पत्नी पनि सांसद हुनुभयो । एउटै घरभित्र सबै राजनीतिक अवसर ? हो, जनताले अब यो बुझेका छन् । उहाँले थकाइ कहिले मार्ने, आराम कहिले गर्ने ? त्यसकारण जनताले यसपटक मकवानपुरका छोटे राजालाई पराजित गर्नका लागि आममतदाता एकजुट हुनेछन् ।

अर्को कुरा उहाँ धेरैपटक सांसद हुँदा मकवानपुरमा एउटा पनि गतिलो गौरवको आयोजना ल्याउन सक्नुभएन । उहाँ मन्त्री पनि बन्नुभयो । तर, सम्झन लायक काम केही गर्नुभएन । त्यसकारण हामीले केका लागि उहाँलाई बारम्बार मतदान गर्ने ? यस क्षेत्रका मतदाताले उहाँलाई किन मतदान गर्ने ? यसक्षेत्रबाट उहाँले मतदान समेत गर्न पाउनुहुन्न । अर्को क्षेत्रमा भोट हाल्न जानुहुन्छ । भोट लिन यसक्षेत्रमा आउनुहुन्छ । यसक्षेत्रबाट पाहुनालाई जिताउँदा जनताले धेरै दुःख पाए । मात्रै सांसद विकास कोषको बजेट कनिका छरे जसरी छरियो । १०/२० लाखको योजना मात्र यसक्षेत्रमा ल्याइएको छ । अहिलेसम्म उहाँले कुन गौरवको आयोजना ल्याउनुभयो ? हेटौंडाको स्वास्थ्य अवस्था सुधार गर्न के काम गर्नुभयो ? प्रश्न गर्ने बेला आएको छ । प्रदेशको राजधानीमा भौतिक पूर्वाधार निर्माण गर्न के योगदान गर्नुभयो ? जनताले अब उहाँलाई बिदा गर्नुहुन्छ भन्ने मैले बुझेको छु ।

तपाईंले आफ्नो प्रतिद्वन्द्वीलाई बिदाई गर्नुपर्छ भनिरहँदा स्थानीय तहमा सत्तारुढ गठबन्धनले प्राप्त गरेको मत र तपाईंको दलले पाएको मत बीच धेरै ठूलो फरक छ । अनि कसरी तपाईंले उहाँलाई पराजित गर्नुहुन्छ?

कुरा ठिकै हो । स्थानीय तहको निर्वाचन र यो फरक विषय हो । उहाँले म २० हजारभन्दा बढी मतले विजयी हुन्छु भन्दै हिँडिरहनुभएको छ । म ३९ वर्षको युवा राष्ट्रिय राजनीति जोडिने सुनौलो अवसर लिएर जनतामाझ पुगिरहेको छु । गठबन्धन शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालको बीचमा माथि भएको हो । तर, यस क्षेत्रका जनताले सबै बुझेका छन् । मकवानपुरे जनतासँग मेरो गठबन्धन भएका कारण म सहजै चुनाव जित्छु भन्नेमा ढुक्क छु । यहाँको मतदातासँग मेरो समन्वय र सम्पर्क भइरहेको छ । यसक्षेत्रको विकास र समृद्धिका लागि मात्रै नभएर केन्द्रीय नीति निर्माण गर्ने थलोमा मकवानपुरको पहिचान झल्कने गरी सक्रिय भूमिका सदनमा निर्वाह गर्ने विश्वास मतदातालाई मैले दिलाएको छु । इमान्दार र लगनशीलता मसँग रहेको छ । उहाँ अन्तिमपटक उम्मेदवार बन्छु भनिरहनुभएको छ । त्यसकारण अब उहाँले जनताको काम गर्नुहुँदैन । आफ्ना लागि गर्नुहुन्छ भन्ने बुझ्न जरुरी छ ।

तपाईंले आफूलाई युवा भएका कारण जनताले मतदान गर्छन् भनेर दाबी गरिरहँदा सोही अनुसारको माहोल भने देखिएको छैन नि?

होइन । माहोल भनेको फरक विषय हो । राजनीतिमा ध्रुविकरण हुने हुँदा आ-आफ्नो तरिकाबाट अगाडि बढ्नुपर्ने बाध्यता पनि हुन्छ । मकवानपुरमा युवालाई भूमिका दिनुपर्छ भन्ने मनोविज्ञान र मत रहेको छ । अहिले एमालेका युवाहरु स्वभाविकरुपमा मलाई जिताउन मैदानमा हुनुहुन्छ । कांग्रेस, माओवादीका युवाहरु बन्देजमा छन् । उहाँहरुलाई युवाको नाममा बोलेको खण्डमा पार्टीबाट निकाल्नेसम्मको चेतावनी दिने काम भइरहेको छ । नेतृत्वमा अब युवा ल्याउनुपर्छ भनेर सबै पार्टीमा आवाज उठिरहेको छ । एउटै व्यक्तिले पञ्चायतकालदेखि गणतन्त्रसम्म अवसर पाइरहने हो भने युवाले कहिले पालो पाउने ? देश विकासमा हामीले कहिले योगदान गर्ने ? तरुण र वाईसिएलका नेताहरुले पार्टीबाट टिकट ल्याउन नसकेपनि अब मलाई मतदान गर्नुहुन्छ भन्नेमा ढुक्क रहेको छु । किन भने उहाँहरु पनि युवाले राजनीतिक नेतृत्व गर्नुपर्छ भनेर लबिङ गरिरहनुभएको छ ।

तपाईंलाई जनताले किन मतदान गर्ने ? मुख्य एजेन्डा के-के छन् ?

मेरो निर्वाचन क्षेत्रमा गरिबी, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य सुविधाको अवस्था दयनीय छ । जनताले मलाई जिताएर पठाएपश्चात् सडक सञ्जालको विकास र स्तरीकरण मेरो पहिलो प्राथमिकतामा पर्नेछन् । खानेपानी, बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउन भूमिका खेल्नेछु । म विद्यार्थी राजनीतिबाट यहाँसम्म आइपुगेका कारण देशका ७५३ वटै स्थानीय तहमा आवासीय विद्यालय निर्माण गरेर आफ्नै पालिकामा दुई सयजना विद्यार्थी अट्ने छात्रावास निर्माण गरी सहजै उच्च शिक्षा पढ्न पाउने प्रबन्ध मिलाउनेछु ।

हाम्रो जिल्लामा स्वास्थ्य क्षेत्र असाध्यै कमजोर छ । स्वास्थ्य क्षेत्रको स्तरोन्नतिका लागि केन्द्रीय नीति निर्माण गरी काम गर्नेछु । कृषि क्षेत्रमा युवा परिचालन गर्न वीमा, उत्पादनमा आधारित अनुदानको व्यवस्थाका लागि पहल गर्ने योजना बनाएको छु । सुशासन र भ्रष्टाचारलाई अन्त्य गर्ने योजना मसँग रहेको छ । हेटौंडा औद्योगिक नगरी हो, यसलाई थप व्यवस्थित गर्न प्रयत्न गर्नेछु ।

प्रकाशित : कार्तिक २६, २०७९ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?