२०४८ र ०५६ : कांग्रेसले सम्हाल्न नसकेको आफ्नै बहुमत- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२०४८ र ०५६ : कांग्रेसले सम्हाल्न नसकेको आफ्नै बहुमत

तीनवटै संसदीय निर्वाचनमा एमाले, कांग्रेसलगायतका दलहरुले प्रमुखरुपमा राष्ट्रियताको मुद्दा उठाएसँगै आमनागरिकलाई पिरोल्ने महँगी, शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने वाचा पनि गरे ।
ध्रुव सिम्खडा

काठमाडौँ — लोकतन्त्र पुनर्स्थापनापछि पहिलो संसदीय निर्वाचन हुँदै थियो- २०४८ वैशाख २९ गते । प्रतिनिधिसभाको २ सय ५ स्थानका लागि भएको निर्वाचनमा काठमाडौं–१ बाट तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई एमालेका महासचिव मदनकुमार भण्डारीले पराजित गरे ।

भण्डारी एकाएक चर्चाको चुलीमा पुगे भने भट्टराईको पराजयसँगै कांग्रेसभित्र ‘अन्तर्घात’ को बीजारोपण भयो ।

त्यसबेलाको चुनावी प्रचार–प्रसारमा कांग्रेस र एमाले आमने–सामने थिए । गाउँ/देहाततिर कांग्रेसका कार्यकर्ताहरु भन्थे, ‘कम्युनिस्टले जित्यो भने मान्छे मार्छ । धर्म मान्न दिँदैन । आफ्नो सम्पत्ति राख्न पनि पाइँदैन ।’

कम्युनिस्ट कार्यकर्ताहरु आरोप लगाउँथे, ‘कांग्रेस भारतीय र अमेरिकी साम्राज्यवादीहरुको दलाल हो । पुँजीवादीहरुको पार्टी हो । उसले जित्यो भने गरिब, किसान, मजदूरहरुले केही पनि पाउँदैनन् ।’ तिनका यस्ता आरोप पनि आज ३० हिउँद पार गर्दा सबै सतहमा छताछुल्ल भए । त्यसबखत ज–जसले जे–जे आरोप लगाए पनि चुनावका बेला दलहरु जनजिवीकाका कुरालाई बढी जोडतोडले उठाउँथे । तर आजभोलिका चुनावी प्रचार–प्रचारमा महंगी, कालोबजारी, भ्रष्टाचार जस्ता जनतालाई आहात पारिरहेका समस्या दलका चुनावी एजेण्डा बनिरहेका छैनन् ।

‘त्यसबेला गाउँघरतिर मर्दाको मलामी र जिउँदाको जन्तीसमेत बार्न पुगेका कांग्रेस–कम्युनिस्ट आज एकैजस्ता भए’ धादिङका एकजना पाका स्थानीय मतदाता बलबहादुर रानाले बताए, ‘कांग्रेस, कम्युनिस्ट सरिबरी भए ।’

२०४८ को चुनावमा माओवादीको चहलपहल थिएन । तर संयुक्त जनमोर्चाको नाउँमा त्यस समूहका नौ जना प्रतिनिधिसभामा प्रवेश गरेका थिए । र, संसद्को तेस्रो ठूलो दलको रुपमा स्थापित भएको थियो ।

३० वर्षसम्म कहिले उदारवादी र कहिले अनुदारवादी खेमामा लागेर राजाको निगाहमा राजनीति गरेका पूर्वपञ्चहरु २०४६ सालको जनआन्दोलन लगत्तै संगठित भए । तर तिनीहरु एक हुन सकेनन् । त्यसैले ०४७ जेठमा तिनीहरुले लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाको नेतृत्वमा दुई अलग–अलग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गठन गरे । चुनावमा भने चार सिटभन्दा जित्न सकेनन् ।

त्यो चुनाव निकै प्रस्तिपर्धात्मक थियो । किनकि, त्यसबेला ‘पहिलो हुने निर्वाचित हुने’ (फस्ट पास्ट द पोस्ट) पद्धतिअनुसार निर्वाचन हुने गर्‍थ्यो ।

नेतासँगै कार्यकर्ताहरु ‘लाउड स्पिकर’ बोकेर चुनाव प्रचार–प्रसारमा जुटेको दृश्य सायद तीन दशकपछि विरलै देख्न पाइन्छ । ठूल्ठूला सभाहरु भएका थिए । नेताहरुप्रति आममानिसले निकै आशा र भरोसा राखेका थिए ।

कांग्रेस ३० वर्षअघि नै संसद्मा दुई तिहाइ सिटसाथ स्थापित दल थियो भने कम्युनिस्टका विभिन्न घटकमध्ये को स्थापित हुने ०४८ को चुनावका बेला त्यति अनुमान थिएन । चुनावी परिणामले देखाइदियो–एमालेको चमत्कार । ‘पूर्वबाट एमाले उदायो’ यो भनाई त्यसबखत प्रायःका मुखबाट निस्कन्थ्यो । राजधानी उपत्यकाका आठ सिटमध्ये कांग्रेसले दुई सिटमात्र हात पार्न सफल भयो भने एमाले एक्लैले ६ सिटमा विजय हासिल गर्‍यो । कांग्रेसको अव्यवस्थित प्रचार–प्रसार र ‘अन्तर्घात’ नै मूलकारण थियो । एमालेको प्रचार–प्रसार निकै व्यवस्थित र आकर्षक देखिन्थ्यो । एमाले व्यवस्थित ढंगले पार्टीको आन्तरिक सुदृढीकरणसँगै संसदीय फाँटमा उदायो ।

त्यस निर्वाचनमा ७ हजार ३ सय ९१ मतदान केन्द्र र ६ हजार ६ सय ३० उपकेन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले तयार पारेको निर्वाचन इतिहास पुस्तकमा उल्लेख छ । आयोगमा दर्ता भएका ४४ राजनीतिक दलमध्ये २० वटाले मात्र निर्वाचनमा भाग लिए । नेपाली कांग्रेस (११०), एमाले (६९), संयुक्त जनमोर्चा (९), नेपाल सद्भावना पार्टी (६) र राप्रपा (चन्द) (३) ले मात्र राष्ट्रिय दलको मान्यता पाएका थिए । नेपाल मजदूर किसान पार्टी (२), नेकपा (प्र) (२), राप्रपा (थापा) (१) र स्वतन्त्र ३ जनाले जितेका थिए ।

१ करोड ११ लाख ९१ हजार ७ सय ७७ मतदाता रहेकोमा ७२ लाख ९१ हजार ८४ जना (६५.१५ प्रतिशत) ले मतदान गरेका थिए । ६९ लाख ६९ हजार ६१ मत (९५.५८ प्रतिशत) सदर भएको निर्वाचन आयोगद्वारा प्रकाशित निर्वाचन इतिहास पुस्तकमा उल्लेख छ । दलहरुले ६६ लाख ६५ हाजर ३ सय ३८ (९५.८३ प्रतिशत) पाएका थिए भने स्वतन्त्रले ३ लाख ३ हजार ७ सय २३ (४.१७ प्रतिशत) । ८१ जना महिलाले उम्मेदवारी दिएकोमा ७ जनाले जितेका थिए ।

हठी सत्ता र आक्रामक प्रतिपक्षबीच सदनदेखि सडकसम्म घम्साघम्सी चलिरहेको बेला (२०५० जेठ ३) एमाले महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित सवार गाडी चितवनको दासढुंगामा दुर्घटनाग्रस्त भएको खबरले सर्बत्र सन्नाटा छायो । दुर्घटनामा दुवै नेताको निधन हुनपुग्यो भने गाडी चालक अमर लामा जिवितै रहे । २०६० साउन ११ गते चालक लामाको कीर्तिपुरमा हत्या भयो ।

भण्डारीले काठमाडौं–१ बाट चुनाव जितेका थिए । उक्त क्षेत्रमा सोही माघ २५ मा सम्पन्न उपनिर्वाचनमा फेरि कांग्रेस सभापति भट्टराई र मदन पत्नि विद्या भण्डारी उम्मेदवार बनिन् । त्यसबेला एउटा चुनावी सभामा सम्बोधन गर्दै गणेशमान सिंहले भनेका थिए, ‘हेभी वेट’ र ‘फेदर वेट’ बीचको फाइटमा किसुनजीको विजय निश्चित छ ।’ तर परिणाम भने गणेशमानले भनेजस्तो भएन । जीत भण्डारीले निकालिन् । सहानुभूतिको भोट उनका लागि जित्न काफी भयो ।

त्यो बेला चुनाव प्रचार–प्रसारमा प्रतिपक्षी एमाले एकताबद्ध भएर होमिएको थियो । तर, सत्ताधारी कांग्रेस भने सभापति भट्टराई र प्रधानमन्त्री कोइराला खेमामा विभाजित हुनपुग्यो । कोइराला समूहबाट भट्टराईलाई हराउन सरकारी सञ्चारमाध्यममा वक्तव्यसमेत आयो । भट्टराई हारेसँगै कांग्रेसभित्र ‘अन्तर्घाती’ को आरोप चुलियो । भट्टराई खेमाका उत्तेजितहरुले प्रधानमन्त्री कोइरालाको तस्बिरमा जुत्ताको माला लगाएर सहर घुमेका उदेकलाग्दा दृश्यहरु पनि देखिए ।

त्यसको अर्को वर्ष पुसमा प्रधानमन्त्री कोइरालाले पार्टीका ६ जना वरिष्ठ मन्त्रीहरुलाई हटाएपछि त्यो विवाद बढ्दै गएर २०५१ असार २६ गते सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम असफल हुनपुग्यो । कांग्रेसकै ३६ जना सांसद् अनुपस्थित भएर आफ्नै सरकार ढाले । अनि कांग्रेसमा ‘छत्तिसे’ र ‘चौहत्तरे’ समूहको जन्म हुनपुग्यो । सत्ताधारीकै कारण बहुमतको सरकार ढल्यो र मुलुक मध्यावधिमा होमियो । संसदीय राजनीतिमा विकृति र विसंगतिको अर्को अध्याय सुरु भयो ।

मध्यावधिको बोझ

कांग्रेस भित्रको कलहले मुलुकलाई अनाहकमा मध्यावधि (२०५१ कात्तिक २९) मा पुर्‍यायो । गिरिजाप्रसाद कोइरालाले बहुमतको पार्टीलाई प्रतिपक्षमा पुर्‍याए ।

चुनाव प्रचार–प्रसारमा एकातिर कांग्रेस–एमालेबीच छिनाझपटी र तनाव देखिन्थ्यो भने अर्कोतिर कांग्रेसभित्रै गणेशमान सिंहको जनजागरण अभियान थियो । घडी चिन्ह लिएर चुनावमा होमिएका गणेशमानका बागीहरु र सत्ताधारी कांग्रेसका उम्मेदवारहरुबीच केही स्थानमा झडपसमेत भए ।

नदीका दुई किनारजस्ता कहिल्यै नमिल्ने कांग्रेस–कम्युनिस्ट र कांग्रेसी कलहबाट वाक्कदिक्क बनेका मतदाताले तीन वर्षअघि ४ सिटमा सीमित राप्रपालाई २० सिटमा जिताएर ‘त्रिशंकु संसद्’ गठन गरिदिए । अनि, सत्ताको चाबी राप्रपाको हातमा पुग्यो ।

त्यसपछि संसद्मा ठूलो दल एमाले अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा पहिलो निर्वाचित वामपन्थी सरकार गठन भयो । त्यसबेला एमालेले ८८ सिट जितेको थियो । तर अल्पमतको त्यो सरकार नौ महिनाभन्दा टिकेन । उनले आफ्नो सरकार ढल्ने भएपछि मध्यावधि सिफारिस गरे । सर्वोच्च अदालतले ०५२ भदौ १२ गते संसद् पुनर्स्थापनाको फैसला गरिदियो । एमाले पंक्ति तत्कालीन प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायको विरोधमा सडकमा ओर्लियो ।

त्यसलगत्तै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बने । किनकी, पार्टीले बहुमत गुमाएपछि गिरिजाप्रसादले संसदीय दलको नेतामा आफ्नो दाबी दर्ज गरेनन् । कांग्रेसले ८३ सिटमात्र जितेको भए पनि मिलिजुली सरकार टिकाउन देउवाले ५० सदस्यीय ‘जम्बो’ मन्त्रीपरिषद् गठन पनि त्यसैबेला गरे, सांसद्लाई भन्सार सहुलियतमा पजेरो र प्राडो गाडी सुविधा पनि त्यसैबेला दिए । २०५३ फागुन २३ गते संसद्सामु विश्वासको मत मागेका देउवालाई आफ्नै दलका दुईजना सांसद अनुपस्थित भएर असहयोग गरेपछि डेढ वर्षमै उनको सरकार गिर्‍यो ।

अनि, एमालेले राप्रपा नेता लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री मानेर सत्तारोहण गर्‍यो । कांग्रेसले पनि राप्रापका अर्का नेता सूर्यबहादुर थापासित मिलेर चन्द–एमाले सरकारलाई ढालेर थापालाई सत्ताको चाबी सुम्पँदै आफू पनि सरकारमा गयो । त्यो सरकारलाई पनि ढालेर ०५५ सालमा गिरिजाप्रसाद कोइराला दोस्रोपटक प्रधानमन्त्री बने ।

मध्यावधि निर्वाचनमा ७ हजार ४ सय १० मतदान केन्द्र र ८ हजार १ सय ९२ उपकेन्द्र थिए । ६५ दल दर्ता भएकोमा २४ दलले चुनावमा भाग लिए । तीमध्ये एमाले (८८), कांग्रेस (८३), राप्रपा (२०) र नेमकिपा (४) ले राष्ट्रिय मान्यता पाए भने नेपाल सद्भावना पार्टीले ३ र स्वतन्त्र उम्मेदवार ७ जनाले जितेका थिए । त्यसबेला १ करोड २३ लाख २७ हजार ३ सय २९ मतदाता थिए । ७६ लाख २५ हजार ३ सय ४८ (६१.८६ प्रतिशत) मत खसेकोमा ७३ लाख ८४ हाजर २ सय ७७ (९६.८४ प्रतिशत) मत सदर भएको निर्वाचनको इतिहास किताबमा उल्लेख गरिएको छ । राजनीतिक दलहरुले ६९ लाख १२ हजार ९ सय ५३ (९३.९२ प्रतिशत) मत पाए भने स्वतन्त्रको पक्षमा ४ लाख ७१ हजार ३ सय २४ (६.०८ प्रतिशत) मत गएको थियो । ८६ जना महिला उठेकामा ७ जनाले मात्र जीत निकालेका थिए ।

दोस्रोपटक कांग्रेसलाई बहुमत

गिरिजाप्रसादले विकृति र विसंगतिको कारक बनेको संसद् विघटन गरेर ०५६ सालमा तेस्रो संसद्को आवधिक चुनाव घोषणा गरे ।

यो चुनावअघि नै उपप्रधान तथा गृहमन्त्री भएर सत्ताको स्वाद चाखिसकेका बामदेव गौतमले एमाले फुटाएर नेकपा माले पुनर्गठन गरे । चुनावमा होमिए तर एकसिट पनि जित्न नसकेपछि आफू त रनाहामा परे नै, एमालेलाई समेत बहुमत आउनबाट रोकिदिए । कांग्रेस, एमाले दुवै एजेण्डाविहीन भएर त्यो चुनावमा होमिएका थिए । उता गिरिजाप्रसादले आफू अलोकप्रिय भएको आकलनसहित किसुनजीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर पर्साबाट चुनाव उठाउने तानाबाना बुने । प्रचार–प्रसारका क्रममा आममानिसको बुझाइ यस्तो थियो, ‘गिरिजाले किसुनजीलाई ६ महिना पनि प्रधानमन्त्रीमा रहन दिँदैनन् ।’ ६ महिना त होइन गिरिजाप्रसादले किसुनजीलाई नौ महिनाचाहिँ प्रधानमन्त्री बन्न दिए । त्यो चुनाव माओवादी द्वन्द्व चर्केको बेला वैशाख २० र जेठ ३ गते दुई चरणमा भएको थियो ।

उक्त चुनावमा कांग्रेसले बहुमत ल्याए पनि यही चुनावी जनमतलाई कांग्रेसले जोगाउन सकेन । आन्तरिक किचलोका कारण कांग्रेस विभाजित भयो । संसद्को कार्यकाल नसकिँदै तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरे । २०५९ सालमा देउवाले चुनाव गर्न नसकेपछि तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ असोज १८ मा प्रतिमनको सुरुवात गरे । यो समयमा पनि कांग्रेसले आफैँले पाएको बहुमत जोगाउन सकेन ।

त्यसबखत निर्वाचन आयोगमा एक सय दल दर्ता भएकामा ३९ दलले मात्र चुनावी प्रक्रियामा सहभागिता जनाएका थिए । अन्य दर्ता भए, त्यसै हराए । कांग्रेस (१११), एमाले (७१), राप्रपा (११), नेपाल सद्भावना पार्टी (५), संयुक्त जनमोर्चा (५), नेमकिपा (१) र राजमो (१) संसद्भित्र पुगे । त्यो चुनावमा स्वतन्त्र उम्मेदवार एकजनाले पनि जितेनन् । १ सय ४३ जना महिला उम्मेदवारमध्ये १२ जनाले जीत हासिल गरे । मनाङबाट कांग्रेसका पाल्देन गुरुङ निर्विरोध निर्वाचित भएको आयोगद्वारा प्रकाशित निर्वाचन इतिहासमा उल्लेख गरिएको छ ।

२०४०–०५६ सालमा सम्पन्न तीनवटा संसदीय निर्वाचनमा कांग्रेसले दुईटामा एकल बहुमत र एउटामा ठूलो दलको हैसियत प्राप्त गर्‍यो भने एमाले एकचोटी ठूलो दल र दुईपटक प्रमुख प्रतिपक्षको भूमिकामा रहृयो ।

तीनवटै संसदीय निर्वाचनमा एमाले, कांग्रेसलगायतका दलहरुले प्रमुखरुपमा राष्ट्रियताको मुद्दा उठाएसँगै आमनागरिकलाई पिरोल्ने महंगी, शिक्षा, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने वाचा पनि गरे ।

प्रकाशित : कार्तिक २६, २०७९ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्

‘समानुपातिक सिट सिंहदरबारको मुखै देख्न नपाएकाहरुका लागि हो’ 

‘पार्टीमा शीर्ष नेतृत्वको तदर्थवादी हैकम चलेको छ’
ध्रुव सिम्खडा

काठमाडौँ — सन् १९५० बस्तीपुर, सिरहामा जन्मेकी मञ्जुला गिरिले बनारस हिन्दू विश्वविद्यालयबाट १९७२ मा राजनीतिशास्त्रमा मास्टर्स गरिन् । प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलनसँगै महिला सशक्तिकरणका लागि सक्रिय उनले ‘विमन्स पार्टिसिपेसन इन् १९९० प्रो–डिमोक्रेटिक मुभमेन्ट’ मा १९९६ मा सिटी युनिभर्सिटी अफ न्युयोर्क, अमेरिकाबाट विद्यावारिधि गरेकी छन् ।

सन् १९८४ मा रविन मोर्गनद्वारा सम्पादित प्रसिद्ध किताब ‘सिस्टरहुड इज ग्लोबल’ मा नेपालकी महिला नेतृ मंगलादेवी सिंह र उनले महिला मुक्तिका लागि खेलेको भूमिकाबारे अनुसन्धानमूलक लेख प्रकाशित गरेकी गिरि गार्गी मासिकको संस्थापक सम्पादक तथा प्रकाशकसमेत बनिसकेकी छन् । ६ वर्षभन्दा बढी राष्ट्रिय समाचार समितिमा काम गरेकी उनले भारतकी पूर्वप्रधानमन्त्री इन्दिरा गान्धी र पोर्चुगलकी पूर्वप्रधानमन्त्री मारिया डे लर्डिस पिन्टासिगोसितको भेटपछि समाचार प्रकाशित गरेकी थिइन् ।

हाल सिरहामा फुलबारी एफएम रेडियो सञ्चालन गरिरहेकी गिरिसँग इकान्तिपुरका ध्रुव सिम्खडाले समसामयिक राजनीतिबारे गरेको कुराकानीको सम्पादित अंश ।

राजनीतिशास्त्रको विद्यार्थीका नाताले अहिले नेपालमा भइरहेको राजनीतिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

अहिले नेताहरु खालि सत्ताकै लागि राजनीति गर्दैछन् । आफू सत्तामा पुग्न उनीहरुले राजनीतिक सिद्धान्त र संस्कार सबै भुल्दै छन् । अहिलेका चुनावी गठबन्धनहरु पनि सबै सत्ता प्राप्तिको उद्देश्यले मात्र बनेका हुन् । नेताहरुले चुनावमा उम्मेदवार कसरी चयन गर्नुपर्छ भन्ने लोकतान्त्रिक परिपाटीको कुनै ख्याल गरेका छैनन् । काठमाडौंबाट एउटा गठबन्धनमा चुनाव उठ्न भनी हिँडेका उम्मेदवार क्षेत्रमा नपुग्दै बीच बाटोमै त्यो गठबन्धन त्यागेर अर्को गठबन्धनबाट उम्मेदवारी दर्ता गराएको देख्दा यो के भइरहेछ भन्ने लाग्छ । यस्तो पनि राजनीति हुन्छ ? लोकतन्त्रका नाउँमा सत्ता प्राप्तिका लागि नेताहरु अलोकतान्त्रिक तरिकाले अगाडि बढ्दैछन् ।

नेताका यस्ता कार्यले राजनीतिक दलहरु कमजोर बन्दैनन् त ?

निश्चित रुपमा नेतृत्वका यस्ता अलोकतान्त्रिक शैलीले दलहरु कमजोर हुन्छन् । दलहरु कमजोर हुनु भनेको लोकतन्त्र नै कमजोर हुनु हो । लोकतन्त्रलाई मजबूत बनाउने प्रमुख संस्था भनेकै दलहरु हुन् । त्यसैले पार्टीभित्र हुर्किरहेका नराम्रा प्रवृत्तिहरु हटाएर सुधार गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।

पार्टीहरुलाई सुधार (रिफर्म) कसरी गर्ने ?

एउटा पार्टीले हारेर अर्कोले जित्यो भनेमात्र ‘रिफर्म’ हुने पो कि ! हरेक पार्टीका विधान हुन्छन् । तिनले आ–आफ्ना विधान बनाएका छन् । पार्टीमा आन्तरिक लोकतन्त्र कायम होस् भनेर नै त्यस्ता विधानहरु बनाइन्छ । तर कुनैपनि दलले आफ्नो विधानलाई मानेका छैनन् । पार्टीभित्र शीर्ष नेतृत्वको तदर्थवादी हैकम चलेको छ । जसले सिद्धान्त छाडिसके भने तिनलाई कसरी सुधार गर्न सकिएला ? सिद्धान्तविना कसरी पार्टी चल्छ ? २१ औँ शताब्दीमा यो चुनौती हाम्रा सामुन्ने आएको छ अहिले ।

तपाईंले पञ्चायती व्यवस्था पनि देख्नुभयो । बहुदलीय संसदीय व्यवस्था पनि देख्नुभयो । अहिले गणतान्त्रिक प्रणाली छ । यी तीनथरी शासन प्रणालीमा भिन्नता पाउनुभयो कि ?

यी तीनथरी शासन व्यवस्थामा गणतान्त्रिक शासन पद्धति धेरै राम्रो हो । संविधान, ऐन, कानुनहरु पनि राम्रा बनेका छन् । सबै प्रकारका स्वतन्त्रता प्राप्त भएका छन् । तर यसका सञ्चालकहरुमा लोकतान्त्रिक चरित्रको अभाव भयो । नेताहरुले आफूलाई जनताको सेवकभन्दा पनि शासकका रुपमा मात्र बुझे, त्यसैअनुरुप व्यवहार गर्दैछन् । यसले उत्कृष्ट ठानिएको गणतान्त्रिक व्यवस्थामाथि नै चुनौती थपिएको छ । जनताका कारण गणतन्त्रमा चुनौती आएको होइन, नेताका कारण चुनौती देखिएको छ ।

यो चुनावमा प्रमुख राजनीतिक दलहरुले प्रत्यक्षमा महिला उम्मेदवारलाई प्राथमिकतामा राखेको पाइएन, यसबारे के भन्नुहुन्छ ?

२० प्रतिशत पनि महिलालाई प्रत्यक्ष निर्वाचनमा नउठाउनु नेताहरुको पुरातनवादी सोचको परिणाम हो । समाज झन्झन् प्रगतिशील हुँदैछ, बढी समावेशी हुन खोजिरहेको छ तर, हाम्रा नेताहरु भने पुरानै सोच र शैलीबाट अगाडि बढ्ने जमर्को गर्दैछन् । अहिले संसद्मा उठ्ने महिलाहरुको संख्या २०४८ सालमा भन्दा पनि कम हुनु दुःखको कुरा हो ।

यति धेरै महिला सशक्तिकरण भएको छ, शिक्षित बनेका छन्, स्थानीय तहका विभिन्न पदमा निर्वाचित भएर सफलतापूर्वक कार्यसम्पादन गरिसकेका छन् तैपनि नेताहरुले किन उनीहरुलाई संसद्मा उठाएनन् ? महिलाहरुलाई अन्याय भएको छ । १ सय ६५ जना प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्यमध्ये ४० जना पनि महिला नहुनु आधा मतदाताको अपमान हो । नेताहरुले सधै समानुपातिकबाट मात्र महिलाको कोटा पुरा गर्ने सोच राख्नु हुँदैन । प्रत्यक्ष चुनाव उठ्न चाहने सबै महिलालाई जुनसुकै पार्टीले पनि उम्मेदवार बनाउनुपर्थ्यो । कमजोर छ भनेर चुनावै उठ्न नदिएपछि कसरी हुन्छ महिला सशक्तिकरण ?

यसपालि नेपाली कांग्रेसले १ सय ६५ जना प्रत्यक्षतर्फ ५ जना महिलालाई मात्र टिकट दिएको छ । यसलाई के भन्नुहुन्छ ?

यो त ‘रिग्रेसिभ’ भयो । नेताहरु गणतन्त्रको झ्याली पिट्छन् तर व्यवहारचाहीँ ३० वर्षअघिकै दोहोर्‍याउँछन् । योभन्दा बढी त त्यतिबेलै कांग्रेसले महिलाहरुलाई टिकट दिएर संसद्मा पुर्‍याएको थियो । गठबन्धन भित्रका दललाई खुशी पार्न नेताहरुले बलमिच्याइँ गरेर महिलालाई प्रत्यक्ष उम्मेदवार बन्न वञ्चित गरेका छन् ।

अहिलेको चुनावमा उठेका केही उम्मेदवारहरु गणतन्त्र उल्टाउने, संघीयता खारेज गर्ने, धर्मनिरपेक्षता हटाउने जस्ता कुरा गरिरहेका छन् । यसबारे तपाईंको धारणा के छ ?

झन् अगाडि बढ्नुपर्ने बेला कहाँ पञ्चायतको जस्तो परिपाटीमा फर्काउने, यो मान्य कुरा होइन । गणतन्त्र जनताका लागि राम्रो व्यवस्था हो । यसैमा आममानिसले बढी स्वतन्त्रता र समानता उपभोग गर्न पाउँछन् । ‘एक्टर’ खराब भए भन्दैमा यो व्यवस्था नै खारेज गर्ने मागलाई जायज मान्न सकिँदैन । राम्रा नेताहरु पनि छन् नि । उनीहरुलाई चुनावमा मतदान गरेर यही व्यवस्थालाई समृद्ध बनाएर अगाडि बढ्नु नै सबैको हितमा हुन्छ ।

अमेरिका, भारत, नेपाललगायत विश्वका जति पनि लोकतान्त्रिक मुलुकहरु छन् ती मुलुकका लोकतन्त्रमाथि चुनौती आएको हो ?

हो, पछिल्लो समय अमेरिकादेखि नेपालसम्म केही नेताका अलोकतान्त्रिक व्यवहारका कारण चुनौती थपिएका छन् । लोकतन्त्रको मुख्य चुनौती भनेकै सँधैभरि उही नेता शक्तिमा टाँसिइरहने सोच हो । नेताहरुले सिद्धान्त त्यागेर जसरी हुन्छ सत्तामा पुग्ने सोच बनाएपछि लोकतन्त्र कमजोर हुनपुग्छ । पछिल्लो समय सत्ताको लागि सिद्धान्त पनि त्याग्ने नेता र लोकप्रियतावादलाई बढी मनपराउने मतदाताहरु पनि लोकतन्त्रका चुनौती हुन् ।

मतदाताहरुले पनि कसले लोकतन्त्रलाई बलियो बनाउने यथार्थ कुरा गरेको छ तिनलाई छान्न सक्नुपर्‍यो । जसले जे भन्छ त्यसैको पछि कुद्नु भएन । यतिधेरै अधिकार प्राप्त भएका छन् अब यसलाई बचाएर झन् समृद्ध बनाउनतिर लाग्नुपर्छ । नेताहरुले पनि आफूलाई शक्तिसाली बनाउने भन्दा जनतालाई शक्तिसाली बनाउने हो ।

हाम्रा नेताहरुको राजनीतिक संस्कार लोकतन्त्रका लागि हितकर देख्नुहुन्छ ?

गठबन्धनका नाममा सत्ता प्राप्तिका लागि नेताहरु जे गर्दै छन् त्यो पार्टी प्रणाली अनुरुपको लोकतान्त्रिक संस्कार होइन ।

समावेशी संविधान, ऐन, कानुनहरु बनेका छन् । राज्यको मूलप्रवाहमा पुग्न नसकेका वर्ग र समुदायलाई सशक्तिकरण गर्ने भनिएको छ । हामी समावेशी लोकतान्त्रिक प्रणाली अपनाउँदै छौँ नि होइन ?

संवैधानिक रुपमा यो साँचो हो तर हाम्रा नेताहरुले शक्तिमा पुग्नका लागि यी अधिकारहरु खोस्दैछन् । जो पटक–पटक मन्त्री, उपप्रधानमन्त्री भइसकेका छन् उनीहरु कसरी समानुपातिक कोटामा सांसद् बन्न सुहाउँछ ? त्यो त सिंहदरबारको मुखै देख्न नपाएकाहरुका लागि व्यवस्था गरिएको संवैधानिक प्रावधान हो ।

महिला, दलित, जनजाति, मधेसी जो जो पिछडिएका छन् तिनको लागि व्यवस्था गरिएको हो । तर हाम्रा नेताहरुले संविधानको यो मर्मलाई बुझेनन्, आफू सत्तामा पुग्नका लागि यसको दुरुपयोग गर्दैछन् । जुनसुकै पार्टीमा पनि नियम मिच्ने काम भइरहेका छन् । नेताहरुलाई जे गरेर, जोसित मिलेर भए पनि सत्ता चाहिएको छ ।

तपाईं त मधेसमा बस्नुहुन्छ, बस्तीपुरतिर अहिले चुनावी सरगर्मी कस्तो छ ?

गठबन्धनकै कुरा धेरै भइरहेको सुनेको छु । यसअघिका चुनावहरुमा मधेसमा पहाडी र मधेस मूलका राजनीतिकर्मीहरुबीच प्रतिस्पर्धा बढी देखिन्थ्यो भने पछिल्लो समय मधेसी–मधेसीबीच प्रतिस्पर्धा भइरहेको छ । यसमा यादव, झा, चौधरी, महतो, साहहरुबीच नै चुनावी प्रतिस्पर्धा हुँदैछ । उनीहरु नै राजनीतिमा हावी हुँदैछन् ।

दलित, महिलाजस्ता पछाडि परेकाहरुलाई चुनावी प्रतिस्पर्धामा पछि पारिँदैछ भन्न खोज्नुभएको हो ?

हो, उनीहरुलाई बेवास्ता गरिँदैछ । मधेसमा यतिधेरै दलितहरु छन्, खै पार्टीहरुले कतिजनालाई टिकट दिए ? मधेसमा कतिजना महिलाले टिकट पाए ? मधेसभित्रको आन्तरिक समावेशिता कमजोर हुँदैछ । मधेसमा चित्रलेखा यादव, जुलीकुमारी महतोलगायत दुईचार जनालाई प्रतिनिधिसभाको टिकट दिइएको छ भने प्रदेशसभामा पनि दलहरुले महिलालाई टिकट दिन कन्जुस्याइँ गरेका छन् । कमसेकम एक तिहाई महिलाले प्रत्यक्षमा टिकट पाउनु पर्थ्यो । दलहरुले दलितहरुलाई त प्रत्यक्षमा चुनावै उठाउन चाहेको देखिएन । राजनीतिमा सक्रिय र सशक्त अनुहार जो प्रत्यक्ष चुनाव उठ्न र प्रतिस्पर्धा गर्न सक्ने हैसियतका छन् त्यस्ता दलितहरुलाई पनि टिकट नदिनु अन्याय हो । त्यसैले यो समावेशी सिद्धान्तमा भइरहेको असमावेशी चुनाव हो ।

प्रकाशित : कार्तिक २, २०७९ १७:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×