२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११
अन्तर्वार्ता

'जनता बँधुवा होइनन् सार्वभौम हुन्, अधिकार प्रयोगमा विवेक देखाउँछन्'

‘घरदैलोमा जाँदा मतदाताहरुले एमाले उमेद्वार को हो भनेर सोध्ने अवस्था छ । मैले एमाले उमेद्वारको परिचय गइदिनु परेको छ । त्यसैले पनि कसैसँग प्रतिस्पर्धा हुने नै देखेको छैन ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं क्षेत्र नम्बर ८ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसहित १९ जना उमदेवार प्रतिनिधिसभामा चुनावी प्रतिस्पर्धा गर्दैछन् । उनले २०७४ को निर्वाचन जितेको पार्टी एमालेसँग नै यसपाली प्रतिस्पर्धा हुने भएको छ ।

'जनता बँधुवा होइनन् सार्वभौम हुन्, अधिकार प्रयोगमा विवेक देखाउँछन्'

चुनावी अभियानमा व्यस्त श्रेष्ठसँग कान्तिपुरका सुदीप कैनीले गरेको कुराकानी :

मतदातासम्म के एजेण्डा लिएर जानुभएको छ ? उनीहरु के भन्छन् र चुनावी दौडधुप कस्तो छ?

म घरदैलोमा छु । मतदाताको कुरा सुन्ने र आफ्नो कुरा सुनाउने क्रम प्राथमिकतामा छ । म २०७४ देखि नै यस क्षेत्रको सांसद हुँ । संसदमा रहँदाको मेरो भूमिका देखेर उहाँहरु सन्तुष्ट नै रहेको पाएको छु । आफ्ना समस्याहरु स्थानीयले मलाई सुनाउनुभएको छ । खानेपानी, टोल डुबान, सडक कालोपत्रे गर्नुपर्ने, सम्पदा, संस्कृति र सार्वजनिक जग्गाको संरक्षण लगायतका समस्या राख्नुभएको छ । यी कतिपय समाधान हुने क्रममा र कतिपय बाँकी छन् । यी बाँकी रहेको कुरा पुरा गर्नु नै मेरो मुख्य प्राथमिकता रहेको छ । यो क्षेत्र देशकै सांस्कृतिक राजधानी पनि हो । हनुमानढोका र स्वयम्भुको संरक्षणमा निरन्तर लाग्ने बाचा गरेको छु । यसलाई जोडेर सम्पदा मार्ग बनाउने योजना अघि सारेको छु । गुरुयोजना बनाएर कार्यान्वयनमा चरणमा काम प्रारम्भ हुँदैछ । पर्यटकीय केन्द्रको रुपमा अघि सार्ने अवधारणा ल्याएको छु । त्यो गर्दा यस क्षेत्रका युवालाई स्थानीय रुपमा नै रोजगारी पनि दिन सकिन्छ । भौगोलिक, सांस्कृतिक र सामाजिक विविधतालाई केन्द्रीत गरेर पर्यटकीय विकास गर्ने हो । युवाहरुका लागि पर्यटक गाइड र होमस्टेको तालिमको सुरुवात भइसकेको छ । भोली पर्यटकीय केन्द्र हुँदा आवश्यक जनशक्ति पनि यहि क्षेत्रबाट तयार पार्ने मेरो उद्देश्य छ । जनमुखी ऐन कानुन बनाउन सक्रिय भूमिका खेल्ने प्रतिवद्धता गरेको छु । पहिलो कार्यकालमा समाधान गर्न नसकेका कामहरु निरन्तर गर्नेछु । संकट र अप्ठायारो बेलामा पनि स्थानीय सँगसँगै हुने बाचा गरेको छु । घर दैलोमा गएपछि झनै आत्मविश्वास बढेर गएको छ ।

२०७४ मा आफैं निर्वाचित पार्टी एमाले विरुद्ध चुनाव लड्दै हुनुहुन्छ । प्रतिस्पर्धा कस्तो होला ?

हामीले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी बनाइसकेका छौं । कम्युनिस्ट आन्दोलनलाई रक्षा गर्न विद्रोह गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण असन्तुष्ट जनमत ठूलो छ । एमाले कम्युनिस्टको विचार, नीति सिद्धान्तअनुसार चल्न छाडेको छ । त्यसैले सबैको सहयोग मैले नै पाउने ठानेको छु । घरदैलोमा जाँदा मतदाताहरुले एमाले उम्मेदवार को हो भनेर सोध्ने अवस्था छ । मैले एमाले उम्मेदवारको परिचय गराइदिनुपरेको छ । त्यसैले पनि कसैसँग प्रतिस्पर्धा हुने नै देखेको छैन ।

स्थानीय तहको मतपरिणाम हेर्दा पनि एमालेको जनआधार राम्रो भएको क्षेत्र हो नि ?

जनता भनेको कसैको पेवा होइन । उनीहरु स्वतन्त्र हुन्छन् । उनीहरुले परिस्थितिअनुसार आफ्नो मत दिन्छन । जनता बँधुवा पनि होइनन् । उनीहरु सार्वभौम हुन् । त्यो अधिकारमा उनीहरुले विवेक प्रयोग गर्छन् । एमालेलाई जिताएर भोलि फेरि संसद विघट्न गरे के गर्ने ? पहिले दुईदुई पटक संसद विघट्न गरेको हो । एमालेले अहिलेसम्म संसद विघट्न गलत थियो भनेको छैन । अदालतले गलत भयो भनेर पुन:स्थापना गरिदिएको हो । एमालेलाई किन भोट दिने भनेर प्रश्न गरिराखेका छन् ।

अहिले ‘नो नट अगेन’ को आवाज पनि उठेको छ । स्वतन्त्र उमेदवार पनि छन्, चुनौति हुँदैन ?

'नो नट अगेन', स्वतन्त्र भन्ने कुरा परिणाम पछि छर्लङ हुन्छ । 'नो नट अगेन' भनेको जसले जितेर पनि जनताको पक्षमा काम गरेको छैन त्यसको विरुद्ध हो । जसले बदमासी गरेको छ । खराब छ उसको लागि हो । जनताले मन पराएको, राम्रो काम गरेको अनुभवीहरु त संसदमा आउनु अनिवार्य हुन्छ । जनताले विवेकपूर्ण तरिकाले मत दिन्छन् । अहिलेसम्मको सबै परिस्थितिलाई हेर्दा वाम लोकतान्त्रिक गठबन्धन नै विजय हुनेछ । लोकतन्त्र बलियो बनाउने, सुशासन कायम गर्ने र जनआकांक्षा पुरा गर्ने उद्देश्यले गठबन्धन भएको हो । यसमा जनता आशावादी छन् । आमरुपमा समर्थन प्राप्त भइरहेको छ । गठबन्धनकै पक्षमा अत्याधिक मतदानसहित जित पनि हुन्छ ।

प्रकाशित : कार्तिक २५, २०७९ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?