अन्तर्वार्ता

'एमालेको मात्रै नभएर युवा पुस्ताको उम्मेदवार हुँ' [भिडियो]

कान्तिपुर संवाददाता

काठमाडौँ — एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् । उनको मुख्य प्रतिस्पर्धा कांग्रेसका प्रकाशमान सिंह र राप्रपाका रवीन्द्र मिश्रसँग हुने देखिन्छ । विद्यार्थी राजनीतिपछि युवा संघमा आएका ३९ वर्षीय पौडेलसँग चुनावी तयारीका बारेमा गरिएको कुराकानी :

'एमालेको मात्रै नभएर युवा पुस्ताको उम्मेदवार हुँ' [भिडियो]

चुनावी कार्यक्रम कसरी सञ्चालन भइरहेको छ ?

पछिल्लो चरणमा विशेषगरी घरदैलो कार्यक्रममार्फत जनतामा पुगेका छौं । विभिन्न क्षेत्र र समुदायको बस्ती बस्तीमा पुगेर भेलाहरु आयोजना गरेका छौं । उहाँहरुको प्रतिक्रियाहरु लिने, चासो र सरोकारको विषयलाई निर्वाचित भएर गएपछि कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गरेका छौं । हाम्रो एजेन्डाहरुलाई लिएर बस्ती बस्तीमा पुगेका छौं ।

घरदैलो कार्यक्रममा मतदाताको चासो के रहेको छ, कस्ता प्रश्नहरु गर्ने गरेका छन् ?

मतदाताको चासो र गुनासो जितेपछि फर्किने हो कि होइन भन्ने नै छ । '५-५ वर्षमा आउँछौं यस्तो-यस्तो गर्छौं भनेर भन्छौ र जितेपछि फर्किएर आउँदैनौं' भन्ने रहेको छ । यो एक वा दुई नभई आममतदाताको गुनासो हो । निर्वाचनको समयमा मात्रै मतदाताको घरघर आउने बाँकी ५ वर्ष हराउने भन्ने छ । हामीले गरेको अध्ययनमा यो परिस्थितिको सिर्जना विगतमा निर्वाचित भएका जनप्रतिनिधिहरुले त्यस प्रकारको गल्ती भएको हो । पटक-पटक निर्वाचित हुनुभयो, मन्त्री हुनुभयो र उपप्रधानमन्त्री पनि बन्नुभयो तर मतदातालाई बिर्सनुभयो । प्रत्येक घरमा पुग्न असम्भव होला तर टोलमा पुग्न सकिन्छ वा प्रत्यक्ष वा अप्रत्यक्ष माध्यमको प्रयोग गरेर गुनासो र चासो लिन सकिन्छ । त्यो मुद्दाहरु उठाउने र समस्या हल गर्न पहलकदमी लिन सकिन्छ ।

समस्या समाधानका लागि पहलकदमी गर्ने हो, सिंहदरबार यही क्षेत्रमा छ । त्यतातर्फ कसैको चासो गएको छैन । त्यसैले मतदाताबाट यो प्रकारको गुनासो आउनु स्वाभाविक हो । त्यसैले हाम्रो प्रतिबद्धता पत्रको पहिलो बुँदा लेख्यौं 'घरदैलो चुनावपछि सुरु हुन्छ' । औपचारिक हिसाबले विधि पूरा गर्नका लागि अहिले हो । २४ घण्टा यही स्थानीय समस्या समाधान गर्न केन्द्रित नभए पनि प्रत्येक दिन टोलटोलमा २ घण्टा पुग्नेछौं । गुनासो, चासो र समस्याबारे समाधान खोज्ने र सल्लाह तथा सुझाव लिनेछौं । यो क्षेत्रका धेरै मतदाता सल्लाह र सुझाव दिने हैसियतको हुनुहुन्छ ।

अर्को समस्या भने खानेपानीको न्यायोचित वितरण छैन । कुनै टोलमा पानी आउँछ कुनैमा आउँदैन । सिंहदरबारको सय मिटर पर प्रत्येक वर्ष डुबानमा पर्ने गरेको छ । सडकमै खोला बग्छ । फोहोरले उत्पादन गर्ने विशाक्त पदार्थहरुलाई बगाएको पानी प्रत्येक घरको भान्सासम्म पुग्ने गरेको छ ।

यो पुरै सहरी क्षेत्र मात्रै भएको निर्वाचन क्षेत्र हो । यसमा अन्य स्थानभन्दा फरक छ । यस क्षेत्रमा उम्मेदवार हुँदै गर्दा प्राथमिकता के के विषय रहेका छन् ?

सदनमा विधेयकले उठाउने प्रमुख विषय भनेको नीति निर्माण नै हो । कानुन र विधि निर्माण गर्ने विषयमा बढी केन्द्रित गरिरहेका हुन्छौं । त्यो नीति बनाइरहँदा पनि मेरो क्षेत्रका बासिन्दाले कसरी लाभ लिन सक्छन्, सरोकारका मुद्दाहरुको सम्बोधन कसरी गर्न सकिन्छ भन्ने विषयमा मुलरुपमा केन्द्रित हुन्छौं । हाम्रो निर्वाचन क्षेत्र काठमाडौं ४ वटा वडा पर्छ । यहाँको बिजुलीको पोल सार्नुपर्‍यो वा बिग्रेको ढल बनाउन पर्‍यो, समुदायिक विद्यालयको स्तरवृद्धि गर्नुपर्‍यो भने चाहेर पनि महानगरले सक्दैन । कानुनी अस्पष्टता र प्रशासनिक जटिलताको कारणले महानगरले चाहेर पनि केही गर्न सक्ने अवस्था छैन । यसले हरेक क्षेत्रको विकासमा बाधा पुगेको छ । जुनसुकै तहमा निर्वाचित जनप्रतिनिधि भए पनि उनीहरुको आवाज लिएर हामी सदनमा जाने हो ।

अर्को विषय भनेको देशको आर्थिक वृद्धिका लागि आफ्नो भिजनलाई स्पष्ट रुपमा उठाउने र निर्णायक तहमा पुर्‍याउने हो । अन्य उम्मेदवारको तुलनामा मलाई के फाइदा छ भने मेरो पार्टी सबैभन्दा ठूलो पार्टी हो । मैले बोल्ने कुरा सञ्चारमाध्यममा टीआरपी बढाउनमात्रै हुँदैन र त्यसलाई सार्थक निष्कर्षमा पुर्‍याउन सक्छु । धेरै सांसदको समर्थन जुटाउने आधार मसँग छ ।

यस बाहेक स्थानीयस्तरमा खानेपानी, जनस्वास्थ्य, ढलको समस्या छ समाधान गर्नका लागि नीतिगत रुप भएको समस्यालाई फुकाउने काम हुन्छ । नीति निर्माण गर्नेदेखि बजेट विनियोजन गराउन पनि हाम्रो भूमिका हुन्छ । एउटा सांसदले चाह्यो भने धेरै कुरा गर्न सक्छ भन्ने विभिन्न जिल्लाका संसदको भूमिकाबाट हामीले देखेका छौं । यहाँ दशकैमा पनि सामान्य पनि परिवर्तन भएको छैन र समस्या जस्ताको त्यस्तै छ । जित्ने प्रतिनिधि केबल ५ वर्षमा एकपटक चुनावमा आउने गर्नुभएको छ । यहाँबाट जितेर व्यक्तिगत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पहुँच बढ्यो होला तर त्यो पहुँच र प्रभावले यहाँको जनतालाई केही छुन सकेन ।

पहिले विद्यार्थी र त्यसपछि युवा संघमा राजनीति गर्नुभयो । पार्टीमा आन्तरिक प्रतिस्पर्धा गर्नुभयो होला तर पहिलो पटक संसदको चुनाव लड्दै हुनुहुन्छ ? पार्टीको चुनाव र जनतामा जाने चुनावमा कति अन्तर हुने रहेछ ? जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?

म आज एमाले पार्टीको टिकटमा सूर्य चिह्न लिएर आएको छु तर निर्वाचित भएको दिनदेखि म आमजनताको मान्छे हुन्छु । सबै राजनीतिक दलमा आस्था राख्ने जनसमुदायको साझा व्यक्ति हुनेछु । चुनावी अभियानमा मलाई साथ दिन मानिस आफ्नो पार्टीको भन्दा बाहिरको बढी हुनुहुन्छ । तटस्थ रहेको साथीहरु मेरो पक्षमा लाग्नुभएको छ । एमालेमात्रै नभई हाम्रो जेनेरेसनको प्रतिनिधि हो भन्ने बुझाई छ । त्यो यथार्थ हो । हाम्रो पुस्ताको प्रतिनिधित्व खोजिरहेको पुस्ता हो अहिले ।

यो निर्वाचन क्षेत्र देशको महत्त्वपूर्ण ठाउँमा यो उमेर समूहको उम्मेदवारलाई टिकट जुनसुकै दलले दिए पनि त्यो सकारात्मक विषय हो । नयाँ दलबाट पाउनु गैरदलीय उम्मेदवारहरु आउनु सानातिना दलहरुले दिनु त्यो ठूला कुरा होइन । त्यसमा थोरै मानिस हुन्छन् जसले पनि टिकट पाउन सक्छन् । तर एमाले र कांग्रेस भनेको देशका ठूला पार्टी हुन् । टिकटका लागि धेरै प्रकारको प्रतिस्पर्धा हुन्छ । त्यस्तो ठाउँबाट मेरो पुस्तालाई उम्मेदवार दिनु भनेको मेरो लागिमात्रै होइन, आमयुवा पुस्तालाई हो भन्ने मतदाताको बुझाई छ ।

देशको सबैभन्दा ठूलो युवा संगठन जसमा लाखौं सदस्य छन् उनीहरुको नेतृत्व गरिरहेको छु । बहालवाला अध्यक्ष हुँ । युवाको उमेर समूहभित्र पर्ने धेरै उम्मेदवार हुनुहुन्छ तर म परिभाषित हिसाबले युवा राजनीतिक प्रतिनिधित्व गर्ने उम्मेदवार हुँ । त्यसैले मलाई असहज होइन सहज नै छ । म लामो रेसको घोडा हुँ, धेरै परसम्म पुग्नु छ । यो डेब्युमै बिगारें भने खत्तम हुन्छ ।

तपाईंको क्षेत्रमा युवा उम्मेदवार धेरै हुनुहुन्छ ?

भनिसकें धेरै हुनुहुन्छ, सबैलाई स्वागत गर्छु । दुई दशकदेखि विद्यार्थी र युवाकै क्षेत्रमा काम गर्दै आएको हो । मैले जे जति मुद्दाहरु उठाएँ युवा आन्दोलनभित्र रहेर युवाहरुको कुरा उठाएँ र सकेको राम्रो गरें । धेरै गरें भनेको छैन जे जति गरें, राम्रो गरें । मेरो क्षमता जे जति छ त्यसअनुसार गर्न नसेको हुँला तर तुलनात्मक रुपमा हेर्ने हो भने यो क्षेत्र मात्रै नभएर देशभरका मेरो प्रतिस्पर्धी जो हुनुहुन्छ त्यस जेनेरेसनका आधिकारिक रुपमा अनेक उतारचढाव सामना गर्दै, जीवनको सुन्दर र रंगीन सपनाहरुलाई त्याग गर्दै युवाहरुको नेतृत्व गरेर यो अवस्थासम्म आइपुगेको हो । म र अन्य उम्मेदवारबीचमा त्यो फरक छ ।

कुनै साथीहरुले एउटा क्षेत्रमा पुरै जीवन बेतित गर्नुभयो र बाँकी भएको रिटायर्ड लाइफ अब राजनीतिमा जाने पद लिन भनेर स्पेस लिन आउनुभएको छ । लोकतन्त्र हो सबैलाई स्वागत गर्छौं, सबैको सोच देश बनाउँछु केही गर्छु भन्ने छ, हामी धेरै बाधा व्यवधान र उल्झन सहँदै आयौं, यो अवस्थामा पुग्यौं । उहाँहरु अकस्मात आएर उम्मेदवार बन्दै हुनुहुन्छ ।

सोच सबैको राम्रो छ तर, त्यसलाई कार्यान्वयन गर्ने कसरी हो भन्ने विषयमा मात्रै मतभिन्नता हो । हिजो लोकतान्त्रिक हक अधिकारका लागि संघर्ष गरेका थियौं । यसबीचमा भएको काम कारवाहीले उपलब्ध सफलता अनुसार सन्तोषजनक र चित्त बुझ्दो छैन । यसमा कुन पार्टी कति दोषी छ हिसाब गर्ने हो । तुलनात्मक रुपमा को कम दोषी छ भनेर छान्ने हो । त्यो रेसमा जहाँ पनि म र मेरो लिगेसी खराब अवस्था छ भन्ने लाग्दैन ।

चाहे पनि नचाहे पनि देश बनाउने राजनीतिबाटै हो । राजनीतिभित्र गलत प्रवृत्तिहरु हावी छन् त्यसको अन्त्य र त्यसविरुद्ध लड्ने पनि हाम्रै पुस्ता हो । एमालेले जस्तै अन्य दलहरुले पनि यो कुरा बुझेका छन् र युवा पुस्तालाई प्राथमिकता दिएका छन् । हामी यहीँ भित्र जुन प्रणाली छ त्यसैभित्र बसेर लड्ने हो । मूल बाटो छ भने डाइभर्सन खोजेेर जान आवश्यकता छैन ।

जितको दाबी गर्दैगर्दा यस क्षेत्रमा अहिलेसम्म एमालेका लागि स्थानीय र संसदीय दुवै चुनाव खासै उपलब्धीपूर्ण देखिँदैन । ६ महिनाअघि भएको स्थानीय तह चुनावमा एउटा वडा बाहेक अन्यमा खासै प्रदर्शन हुनसकेन । तपाईंको जीतको आधार के हो ?

हिजोको चुनावमा के भयो त्यसतर्फ नजाउँ । हिजो हामी थिएनौं हाम्रो पुस्ता थिएन । आज हामी छौं हाम्रो पुस्ता छ । पार्टी मात्रै नभएर बाहिरको युवा पुस्ताको समर्थन मलाई छ । देशविदेश सबैतिरबाट युवा धेरै छन् । लामो दौडको घोडा हो यो भन्ने छ । धेरै आरोह अवरोह पार गरेर आएको युवा हुँ । कुनै ठाउँ कुनै पार्टी विशेषको हुँदैन । मदन भण्डारीले मेरो उमेरमा यही ठाँउमा बहालवाला प्रधानमन्त्रीलाई हराएको होइन?

पछिल्लो स्थानीय तहको चुनावी परिणाम हेर्ने हो भने कांग्रेसको मत र हाम्रो बराबरी हो । अन्यको निश्चित जनाधार छैन । मेरो स्थीर जनाधार छ । साथै, मलाई आफ्नो पार्टी बाहिर पनि समर्थन भैरहेको छ ।

प्रकाशित : कार्तिक २५, २०७९ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?