‘भोट माग्न आउँछन्, राख्ने तरिका सिकाउँदैनन्’- प्रतिनिधि / प्रदेशसभा निर्वाचन २०७९ - कान्तिपुर समाचार

‘भोट माग्न आउँछन्, राख्ने तरिका सिकाउँदैनन्’

तुलाराम पाण्डे

कालीकोट — आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मनोनयन दर्तापछि घरदैलो र चुनावी सभा गर्दै प्रचारमा जुटिरहेका छन् । तर, मतदाताहरू भने कस्तो र कतिवटा मतपत्रमा मत हाल्ने भन्नेबारेमै जानकार छैनन् । ‘दिनदिनै हाम्मा पार्टीउँदो बोट (भोट) हाल्नु भनिकन (भनेर) टोलीका टोली आउँदाछन्,’ खाडाचक्र–३ ताडीकी ६७ वर्षीया लक्षिमा पाण्डेले भनिन्, ‘काउदो कसरी हाल्न्या भनेर सिकायाका नाइ (केमा कसरी हाल्ने भनेर सिकाएका छैनन्) ।’

उनले आफ्नो गाउँमा सत्ता गठबन्धनका कांग्रेस र माओवादी तथा अन्य दलहरू एमाले, राप्रपा, नेमकिपा र स्वतन्त्र उम्मेदवारको टोलीसमेत भोट माग्दै पुगेको तर भोट राख्ने प्रक्रियाबारे जानकारीनदिएको सुनाइन् ।

माइकिङ र साउन्ड बक्स बजाएर चुनावी गीतमार्फत भोट दिनु भन्ने प्रचार सुने पनि मतपत्र ल्याएर सिकाउन कोही नआएको खाडाचक्र–४ चिउरेलाकी नामसरा नेपालीले बताइन् । ‘रूख, बेल (सूर्य), आसी हतौडा (गोलाकारभित्र हँसिया हतौडा), हलो, मादल, पुतली, सूर्यमुखी फूल चिह्न भन्ने सुनेकी छु,’ ५१ वर्षीया नेपालीले भनिन्, ‘कसलाई कसरी भोट हाल्ने भन्ने थाहा छैन ।’ गाउँमा चुनाव प्रचार गर्दै दलका कार्यकर्ता आएपछि दुई/तीन वटा पार्टी मिलेर चुनाव लडेकोबारे भने थाहा भएको तर उम्मेदवार र चिह्नबारे थाहा नपाएको सुनाइन् ।

विगतका चुनावमा निर्वाचन कार्यालयले मतदाता शिक्षा दिन स्थानीय शिक्षक, सामाजिक संघसंस्थाका कर्मचारी र बाल विकास केन्द्रका सहयोगी कार्यकर्ता खटाउने गरेको थियो । यस पटक महिला स्वास्थ्य स्वयंसेविकालाई तालिम दिएर फिल्डमा खटाइसकेको कालीकोटका मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताए । ‘सबै वडामा मतदाता शिक्षा दिन स्वयंसेवक खटाइसकेका छौं,’ उनले भने, ‘मंसिर १ गतेसम्म सबै ठाउँमा मतदाता शिक्षा दिइसक्ने लक्ष्य छ ।’

उनले कालीकोटका ८२ वटै वडामा मतदाता शिक्षा सामग्रीसहित स्वयंसेविका खटाइएको जानकारी दिए । जिल्ला निर्वाचन अधिकारी नन्दराम चौलागाईंले मतदाता शिक्षाका लागि ९ वटै स्थानीय तहका एक/एक जना सम्पर्क व्यक्तिलाई तालिम दिएर स्वयंसेविका परिचालनको जिम्मा दिइएको बताए ।

स्वस्थ दलीय प्रतिस्पर्धा हुँदा एकै लहरमा भोट हाल्न सहज हुने भए पनि दलहरूबीच गठबन्धन र तालमेल भएकाले मतदाता शिक्षाबिनै मतदान गर्दा धेरैजसो मत बदर हुने अवस्था रहेको नागरिक समाजका अगुवा दमनराज बमले बताए । ‘उम्मेदवार नै तलमाथि छ्यासमिसे भएर प्रतिस्पर्धामा छन्,’ जिल्ला बारका पूर्वअध्यक्षसमेत रहेका बमले भने, ‘निरक्षर मतदाता भएको ठाउँमा धेरै मत बदर हुन्छ ।’ उनले दलका नेता, कार्यकर्ता र उम्मेदवारले पनि राम्रोसँग मतदान गर्ने तरिका सिकाउन सके मतको सदुपयोगहुने बताए ।

दलित समुदायका अधिकांश बस्तीमा अझै मतदाता शिक्षा पुग्न सकेको छैन । ‘नगर र वडाका सरकार चुन्या (चुन्ने) भन्ने सुनेका छौं, कसरी हो केही था’नाइ (थाहा छैन),’ शुभकालिका–४ सुनारवाडाका सर्जन विकले भनिन्, ‘मेरा घर त भोट हाल्नु भनिकन कोही आयाका नाइ ।’

विगतमा पनि मतदाता शिक्षा प्रभावकारी नभएकाले धेरै मत बदर भएको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का सहसंयोजक दीपा खत्रीले अनुभव सुनाइन् । उनका अनुसार गत वैशाख ३० को स्थानीय निर्वाचनमा कालीकोटमा १८ प्रतिशत मत बदर भएको थियो । ३ नगरपालिका र ६ गाउँपालिका गरी ९ स्थानीय तह रहेको कालीकोटमा १ प्रतिनिधिसभाका लागि दुई स्वतन्त्रसहित ७, प्रदेशसभा–१ मा ४ र प्रदेशसभा–२ मा एक स्वतन्त्रसहित ६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । एक अस्थायीसहित १ सय २४ मतदान केन्द्र रहेको कालीकोटमा ३८ हजार ५ सय ५ महिला र ४२ हजार २ सय २८ पुरुष गरी जम्मा ८० हजार ७ सय ३३ मतदाता छन् ।

यसैबीच, निर्वाचन आचारसंहिता पालना, चुनाव प्रचार, मतदान तथा मतगणना र शान्ति सुरक्षामा सरोकारवालाको सहयोग जुटाउन जिल्ला प्रशासनमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ । प्रजिअ रामहरि शर्माको अध्यक्षतामा आयोजित बैठकमा दलका नेता/कार्यकर्ताले निर्वाचन आचारसंहिता पालना गर्न प्रतिबद्ध रहेको बताए ।

कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले जनताको अभिमत सबैले स्विकार्न स्वस्थ प्रतिस्पर्धा गर्ने कांग्रेस जिल्ला सभापति अम्बबहादुर शाहीले बताए । एमाले अध्यक्ष जसीप्रसाद पाण्डेले गठबन्धनको नाममा केही ठाउँमा फरक पार्टीका नेता/कार्यकर्तालाई प्रचारमा अवरोध गर्ने कोसिस गरिएको दाबी गर्दै आचारसंहिता पालना गर्न आफ्नो दल भने प्रतिबद्ध रहेको बताए । माओवादी केन्द्रका जिल्ला संयोजक लक्ष्मीप्रसाद चौलागाईंले मतदानमा खटिने कर्मचारी पनि निष्पक्ष हुनुपर्नेमत राखे ।

बैठकले दलका चुनावी सभा र जुलुस एकआपसमा नजुध्ने गरी सञ्चालन गर्ने, आचारसंहिता पालना गर्ने, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई सहयोग गर्ने, निर्वाचनलाई असर पुग्ने गरी प्रचार नगर्नेलगायतका निर्णय गरिएको जिल्ला सुरक्षा समितिका सदस्य डीएसपी जयश्वर रिमालले बताए ।

प्रकाशित : कार्तिक २५, २०७९ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्

भातपानी मुद्दा खेपेका धरणीप्रसाद भन्छन्- ‘पहिलेजस्तो चुनावी रौनक भएन’

राजकुमार कार्की

सिन्धुली — बिहानीपख घरमा पुग्दा उनी वेदका ऋचा फड्कारिरहेका थिए । चश्माको सहाराले आफ्नै सुरमा लय हालेर पाठ गरिरहेका उनलाई को आयो, को गयो भन्ने हेक्का थिएन । औपचारिकता पूरा गरेर ‘बा’ नमस्कार भनेपछि बल्ल उनले वेदको किताब पट्याएर राखे । जेठो छोराले दाह्री बनाइदिने भनेपछि उनले त्यसको सुरसार गरे । एकैछिनमा सफाचट भएर थोते दाँत देखाउँदै उनी मुसुक्क मुस्कुराए ।

तीनपाटन गाउँपालिका ९ को आम्बोटेमा इतिहासका ज्युँदा साक्षी बनेर बसेका ८८ वर्षीया वृद्ध धरणीप्रसाद घिमिरेले शब्दमार्फत आफ्नो पोको फुकाए । ‘२०१५ सालमा भएको आमनिर्वाचनमा मैले मतदान गरेको हुँ । त्यतिबेला आम्बोटेलाई त्रिभुवन आम्बोटे भनिन्थ्यो । लठ्ठी लिएका केही सुरक्षाकर्मीसहित मतदान गराउन अञ्चलाधीश कार्यालयबाट जिल्ला हुँदै कर्मचारीहरू आएका थिए । लाइनमा बसेर मतदान गरेपछि त्यसलाई पोको बनाएर कर्मचारीहरूले लिएर जान्थे । जीतबहादुर कार्कीलाई मतदान गरेको हुँ । उनले चुनाव जिते ।’

विकास लिएर गाउँमा आउने वाचा बाँधेका जीतबहादुरले पूरा कार्यकाल सांसद हुन नपाएकाले भनेजस्तो गर्न नसकेको भन्दै घिमिरेले बचाउ गरे । उनले भने, ‘पञ्चायत आइगयो त्यसपछि त्यतै लागियो । पञ्चायतको चुनाव पनि बडो रोचक हुन्थ्यो । बाजागाजा बजाएर उम्मेदवारसँगै हिंडेर चुनाव प्रचार हुन्थ्यो । बहुदल आएपछि पनि चुनावी रौनक थियो । सबै ठाउँमा बाटो नहुँदा महिनौँ हिँडेर प्रचार हुन्थ्यो । अहिले त उम्मेदवारहरू हुरुर्र गाडीका लस्कर लिएर कार्यकर्तासहित आउँछन् । आफ्ना कुरा भनेपछि फर्किएर जान्छन् । त्यसपछि भेट हुने अर्को चुनावमा नै हो । यो गर्दिन्छु र त्यो गर्दिन्छु भन्छन्, गर्ने केही होइन ।’

गाउँमा विकास नै नभएको भने होइन, मौसमी मोटरबाटो छ, विद्युत् भर्खरै आएको छ । टेलिफोन छ । तर, जनताको आयस्तर नबढेकोमा धरणीप्रसाद खिन्न छन् । भएको यहि जमिन हो । पुस्तान्तरण हुँदै जाँदा बिघा हुने कठ्ठामा झरे, कठ्ठा हुने धुरमा झरे अनि झन् झन् गरिबी बढ्दै गयो, धरणीप्रसादको बुझाइ थियो । पञ्चायतकालमा गाउँ पञ्चायतको चुनाव हुँदा भक्तिमाया घले प्रधानपञ्च र त्रिभुवन आम्बोटेका ९ वटै वडामा महिला वडाध्यक्ष चुनिएर चलाएको पनि धरणीप्रसादले सम्झिए । बडो दानी र क्षमतावान् महिला थिइन्, भक्तिमाया घले,’ उनले भने, ‘त्यो बेलामा महिलाको समूहले गाउँ पञ्चायत चलाउनु चानचुने कुरा थिएन । हामी सन्तुष्ट थियौं ।’ भक्तिमाया भद्रा घलेकी आमा थिइन् । पञ्चायतदेखि बहुदल हुँदै गणतन्त्रसम्मका सबै निर्वाचनमा धरणीप्रसादले मतदान गरेका छन् । विकासका वाचा गर्ने र पूरा नगर्नेप्रति उनलाई खेद छ ।

‘आफ्नै जग्गाको उब्जाउले खान नपुगेर जनता झन् गरिव बनेका छन्,’ उनले भने, ‘नेताले नीति बनाएर समयमा मल, बीउ दिने, काम खोज्नेलाई जागिर दिने । कृषि पशुका प्राविधिक, गाउँमै राखिदिने व्यवस्था भए राम्रो हुन्थ्यो ।’ धरणीप्रसादका चार भाई छोरा र चार छोरी छन् । जेठा छोरा नारायणप्रसादको साथमा रहेका उनका अन्य छोराहरू सुनसरी जिल्लातिर झरेका छन् ।

२०१६ सालमा भातपानी मुद्दा खेपेका धरणीप्रसादले मुद्दा लडेर जितेको सुनाए । त्यतिखेर स्थानीय माधवप्रसाद काफ्लेको घरमा दलित पसेको र त्यो घरमा पूजा लगाएर चोख्याइदिँदा धरणीप्रसादलाई भातपानी मुद्दा लागेको थियो । तिल्पुङ मौजाको न्यायनिसाफ ओखलढुङ्गाको अदालतबाट हुन्थो । पल्लोगाउँको कृष्णलाल जैसीले दलित पसेको घरमा पूजापाठ गरेर चोख्याएको भन्दै उनका विरुद्ध ‘भातपानी मुद्दा’ दायर गरेका थिए । त्यतिखेर दानबहादुर कार्की वकिललाई लेख्न लगाएर प्रतिवादी गर्दा एक वर्षभित्रमै जितेको थिए, धरणीप्रसादले सम्झिए । गाउँमा अप्ठ्यारो पर्दा उनी यजमानी गरेर फुकाइदिन्थे ।

पाँच वर्षअघि जीवनसंगिनी सितादेवीले छाडेर परलोक भएको भन्दै धरणीप्रसाद पुराना दिन सम्झिएर भक्कानिए । म ९ वर्षको थिएँ, उनी ७ वर्षकी,’ उनले भने, ‘यतिका छोराछोरीलाई जन्म दिइन् । जीउ खिरिलो र सानी थिइन् । माया बसेपछि उनले नसक्ने काम पनि म आफैं गरिदिन्थेँ । दैवको लिलाको अघि को पछि हुने केही थाहा नहुने ।’ जेठो छोरा–बुहारीले आफूलाई स्याहार सम्भारमा कन्जुस्याइँ नगरेको भन्दै उनी अन्य छोराछोरी भेट्न भने गएका छैनन् । सिटामोलसमेत नखाएका उनलाई एकपटक भने एपेन्डिक्स भएछ । धरान गएर घाउसुकाइदिने सुइ लगाएका उनले अप्रेसन भने गरेनन् ।

उमेरमा कौडा खेलका सौखिन धरणीप्रसादले तिलङ्गे, मैनीलगायत गाउँमा लाग्ने मेला छुटाएका छैनन् । जुवा खेलबाट कसैलाई फलिफाप नहुने भन्दै त्यो लत राम्रो हैन भन्दै त्यता नलाग्न उनी सुझाउँछन् । आफू २८ वर्षको हुँदा मेनी मेलामा जुवा खेलबाट उनले घोडा जितेका थिए । बराह खेलेका उनले आफ्नो साथीसँग पैसा लिएर घोडा दिए । घोडालाई त्यतिबेला पनि ७ सयभन्दा बढी पर्ने गरेको उनी सम्झिन्छन् । २०२८ सालमा गाउँका कसैले पनि उचाल्न नसकेको ढुङ्गा उचालेर उनले पाँच रुपैयाँ बाजी जितेका रहेछन् । यतिखेर वेतबाँसको लौरो साथमा लिएर हिँड्ने धरणीप्रसाद हिँडेरै गाउँ डुल्ने गर्छन् ।

प्रकाशित : कार्तिक २५, २०७९ १०:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×