कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आधार क्षेत्रमै दबाबमा मधेसी नेता

जनकपुर, राजविराज र काठमाडौं — मनोनयनयता जसपा अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुर आ–आफ्ना निर्वाचन क्षेत्रमा सक्रिय छन् । मधेसका यी दुई शीर्ष नेता आफ्नै दलका अन्य उम्मेदवारको चुनावी अभियानमा समेत निस्कन भ्याएका छैनन् ।

आधार क्षेत्रमै दबाबमा मधेसी नेता

संविधान जारी हुँदाको असन्तुष्टिकै रापतापमा ०७४ मा भएको निर्वाचनमा यादवले सप्तरी–२ र ठाकुरले महोत्तरी–३ बाट फराकिलो मतान्तरले जितेका थिए । त्यतिबेला यादव नेतृत्वको संघीय समाजवादी फोरम र ठाकुर नेतृत्वको राजपा मिलेर चुनाव लडेका थिए भने यी दुवै नेतालाई कांग्रेसको साथ थियो । यी दुई नेता अहिले पनि पुरानै क्षेत्रबाट प्रतिस्पर्धामा छन् । यसपटक यादवलाई एमालेको साथ छ, ठाकुरलाई सत्ता गठबन्धनको ।

ठाकुर र यादव दुवैले आ–आफ्नो क्षेत्रमा मतदाताको चर्को गुनासो सुन्नुपरेको छ । मतदाता फकाउन यी दुवै नेता संघर्षरत छन् । मतदाता रिझाउनकै लागि ठाकुरले लोसपाको घोषणापत्र गत साता आफ्नै क्षेत्र जलेश्वरमा सार्वजनिक गरेका थिए । ‘क्षेत्रमा उहाँको माग बढी रहेकाले घोषणापत्र जलेश्वरमै सार्वजनिक गर्नुपर्‍यो,’ ठाकुरका स्वकीय सचिव प्रदीप पाठकले भने, ‘घोषणापत्र सार्वजनिक गरेलगत्तै हामी फेरि घरदैलोमै व्यस्त भयौं ।’

जसपा अध्यक्ष यादव पनि गत साता पार्टीको घोषणापत्र सार्वजनिक गर्न एक दिन काठमाडौं बसेर सप्तरी फर्किए । मधेसकेन्द्रित दुवै दलका मुख्य नेताहरू आफ्नो क्षेत्रमा रूमल्लिँदा अन्य क्षेत्रका उम्मेदवार आफ्नै बलबुतामा प्रचारमा जुट्न बाध्य छन् । शीर्ष नेता नै ‘डेन्जर जोन’ मा रहेकाले अन्य उम्मेदवारले आफ्ना क्षेत्रमा चुनावी कार्यक्रमका लागि यादव र ठाकुरलाई आग्रह गरेका पनि छैनन् ।

यादव र ठाकुरजस्तै दबाबमा छन्, लोसपाका अर्का नेता राजेन्द्र महतो र उनका प्रतिस्पर्धी महिन्द्र राय यादव । दुवै नेताको मुद्दा मिले पनि चुनावमा मन मिलेको छैन । सर्लाही–२ बाट लडेका महतो र राय मतदाता रिझाउन व्यस्त छन् । ‘उम्मेदवार भएकाले आफ्नो क्षेत्रमा बढी समय दिनु स्वाभाविक हो,’ जसपा प्रवक्ता मनीष सुमनले कान्तिपुरसँग भने, ‘चुनाव प्रचार नै ढिलो सुरु भयो, अब बिस्तारै अध्यक्षज्यूले अन्य क्षेत्रमा पनि समय दिनु हुनेछ ।’

लोसपा नेता केशव झाका अनुसार सबैजसो उम्मेदवार आ–आफ्नै क्षेत्रमा व्यस्त रहेको बताए । ‘सबै क्षेत्रमा टफ कम्पिटिसन छ, उम्मेदवारहरू आ–आफ्नै क्षेत्रमा मिहिनेत गरिरहनुभएको छ,’ झाले भने, ‘नेताहरूलाई आफ्नै क्षेत्रमा लाग्न भनिएको छ । क्याम्पेनिङको कुनै अलग–अलग कार्यक्रम छैन ।’ मधेसमा लोसपाले राम्रो सिट जित्ने उनको दाबी छ । ‘सर्लाही, महोत्तरी र धनुषामा लोसपाका उम्मेदवार मजबुत स्थितिमा छन्,’ उनले भने, ‘सप्तरी र बारामा टफ कम्पिटिसन छ ।’

मधेस आन्दोलनको जगमा चुनाव जित्दै, राज्य सत्तामा पहुँच बनाउँदै आएका मधेसी नेतालाई साख जोगाउन कठिनाइ देखिन्छ । पटक–पटक जिते पनि मधेसका मुद्दा र मागको लडाइँ बाँकी नै रहेकाले मधेसी मतदातामा निराशा पनि छ । मधेस मामिलाका जानकार विजय मिश्रका अनुसार मधेसकेन्द्रित दलका चाहना राम्रो भए पनि काम गर्न नसकेकाले असन्तुष्टि बढेको हो । ‘मधेसको अधिकार र सम्मानका लागि उनीहरूले काम गर्न खोजेका हुन् तर कानुन बनाउने र संविधानमा आफ्ना मुद्दा समेट्ने अवसर पाएनन्,’ मिश्रले भने, ‘यादव र ठाकुरको दल पटक–पटक सरकारमा पुगे तर सत्तामा पुग्न सकेनन् ।’

मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि १ हजार ५ सय ९८ उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा ८ सय ४९ जना अर्थात् ५२ प्रतिशत स्वतन्त्र छन् । २०७४ मा मधेसकेन्द्रित दल मिलेर प्रदेशमा सरकार बनाएका थिए, अहिले आफूबीचमै चर्को प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरूलाई सीके राउतको दल जनमत पार्टीले पनि चुनौती थपिदिएको छ तर स्थानीय तह निर्वाचनमा उत्साहजनक नतिजा नपाएको जनमत पार्टीले अहिले ‘चमत्कार’ गर्ने संकेत देखिएको छैन । जनमतले उठाएका भ्रष्टाचार, ढिलासुस्ती, सुशासन, राजनीतिक स्वायत्तता, जनता राज्यलगायतको एजेन्डामा नागरिकको झुकाव देखिन्छ ।

निर्वाचन पद्धतिमा पहिलोपटक अनुभव बटुल्न थालेका राउत धेरै पटक केन्द्रीय सत्ताको स्वाद चाखेका यादवसँग भिड्दै छन् । उपेन्द्रको टाउको दुखाइमा राउतसँगै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका लोसपा नेता जयप्रकाश ठाकुर हुन् । यी दुई प्रतिस्पर्धीका कारण एमालेसँग गठबन्धन गरेका यादवलाई जित हासिल गर्न पहिलेजस्तो सजिलो नरहेको राजनीतिक विश्लेषक बताउँछन् । राजनीतिक विश्लेषक एवं लेखक चन्द्रकिशोरका अनुसार मधेसका नेता संविधानसभा चुनावमा एकमत बनाएर सत्तामा पुगेका थिए तर अब त्यो स्थिति रहँदैन । ‘यादवजीलाई यो पटकको निर्वाचन त्यति सहज छैन,’ उनले भने, ‘सिकेको नौलो अनुहार र सत्ता गठबन्धनका ठाकुरको प्रभाव भारी पर्न सक्छ ।’

जसपा प्रवक्ता सुमन भने अध्यक्ष यादव आफ्नो क्षेत्रमा ‘सेफ’ रहेको दाबी गर्छन् । ‘म पनि उहाँकै क्षेत्रमा खटिइरहेको छु, मतदाताको राम्रो रेस्पोन्स र झुकाव देखिएको छ,’ उनले भने, ‘उहाँले आरामले चुनाव जित्नु हुन्छ ।’ ०७४ मा तत्कालीन राजपासँग गठबन्धन गरेका यादवले २१ हजार ६ सय २० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी वाम गठबन्धनबाट माओवादीका उम्मेदवार उमेशकुमार यादवले ११ हजार ५ सय ८० मत पाएका थिए । त्यस्तै, राजपाबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका ठाकुरले ९ हजार ४ सय ५९ मत ल्याएर तेस्रो मत स्थान पाएका थिए ।

लोसपा अध्यक्ष ठाकुर ०७४ मा महोत्तरी–३ बाट १८ हजार १ सय ६९ मतको फराकिलो अन्तरले निर्वाचित भएका थिए । २६ हजार ८ सय ४५ मत ल्याएर उनी निर्वाचित हँुदा प्रतिस्पर्धी एमालेका विजयकुमार चौधरीले ८ हजार ६ सय ७६ मत पाएका थिए । उनलाई यसपटक जसपाका तर्फबाट पूर्वकृषिमन्त्री हरिनारायण यादव, एमालेबाट बागी उम्मेदवारी दिएका रामधार कापर र तमलोपाका अध्यक्ष वृषेशचन्द्र लालले चुनौती दिएका छन् । पाँच पालिका रहेको महोत्तरी–३ मा स्थानीय तह निर्वाचनमा पाएको मतअनुसार जसपा बलियो देखिएको छ । लोसपाले एक पालिका मात्रै जितेको छ ।

सर्लाही–२ मा लोसपाबाट राजेन्द्र महतो र सत्ता गठबन्धनबाट महिन्द्र राय यादव उम्मेदवार छन् । नेपाल समाजवादी पार्टीका नेता यादवले माओवादीको चुनाव चिह्न लिएर उम्मेदवारी दर्ता गराएका हुन् । २०७० मा तत्कालीन तराई मधेस सद्भावना पार्टीका अध्यक्ष यादवले सद्भावना पार्टीका अध्यक्ष महतोलाई पराजित गरेका थिए ।

मधेस प्रदेशबाट प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सांसद निर्वाचित हुनेछन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन राजपा र संघीय समाजवादी फोरम मिल्दा ३२ क्षेत्रमध्ये १९ मा जित पाएका थिए । राजपाले १० र फोरमले ९ क्षेत्र जितेका थिए । कांग्रेसले ६, माओवादीले ५ र एमालेले २ क्षेत्रमा मात्रै जितेको थियो ।

विश्लेषक तुलानारायाण साह मधेसको निर्वाचन परिवेश बदलिएकाले उनीहरूले अधिकतम जित्ने सम्भावना कम रहेको दाबी गर्छन् । उनका अनुसार मधेसकेन्द्रित जसपा र लोसपाले कम सिट ल्याउँछन् । मधेस प्रदेशमा कांग्रेसले अधिक मतले सिट जित्ने सम्भावना रहेको उनको निर्वाचन विश्लेषण छ । ‘पहिला मधेसी नेतामा एकरूपता थियो, त्यहाँ संविधान संशोधनको मुद्दा थियो,’ उनले भने, ‘अबका नतिजा फरक आउँछ । मधेसी नेता विभाजित छन् । उनीहरू एकजुट हुने मुद्दा छैन । वाम गठबन्धन पनि नभएकाले मधेस प्रदेशमा कांग्रेसलाई बढी लाभ हुन सक्छ ।’

राजनीति आरोह–अवरोह

विराटनगरमा शिक्षण पेसामा रहँदा उपेन्द्र यादव कम्युनिस्ट विचारधाराबाट प्रभावित थिए । ०४८ को निर्वाचनमा यादवलाई एमालेले सुनसरी–४ मा उम्मेदवार बनाएको थियो तर पराजित भए । त्यसपछि ‘राजनीतिबाट हराएका’ यादव ०६३/०६४ मा अन्तरिम संविधान बनेपछि एकाएक चर्चामा आए । ‘राजनीतिबाट हराएका’ भनिएको अवधिमा पनि उनी माओवादीको भूमिगत अभियानमा ‘सरिक’ रहेको देखिन्छ । ०६२/६३ मा राजाविरुद्ध आन्दोलन चर्किनुअघि उनी मधेसी जनअधिकार फोरम नामको एनजीओ खोलेर राजनीतिक गतिविधिमा सक्रिय बनेका थिए ।

संघीयता, समावेशिता र विभेदको मुद्दालाई समेटेर यादवकै नेतृत्वमा ०६३ माघमा काठमाडौंको माइतीघर मण्डलमा अन्तरिम संविधान जलाइयो । त्यसको असर भने मधेसमा देखियो । कुनै दल वा आवरणमा सहभागी नभई राज्यविरुद्ध मधेसी जनताले एकैसाथ विद्रोह गरे । मधेस आन्दोलनको रापताप यतिबिघ्न बढ्यो कि गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकार संविधानमा संघीयता र समावेशिता समावेश गर्न बाध्य भयो । त्यसपछि उपेन्द्रलाई ‘मधेसको मसिहा’ भन्न थालियो । मधेस आन्दोलनले राजनीतिलाई कतिसम्म गिजोल्यो भने कांग्रेस र एमालेका मधेसकेन्द्रित नेताहरू धमाधम पार्टी छाड्न थाले ।

त्यसमध्ये धेरैलाई समेटेर उपेन्द्रले मधेसी जनअधिकार फोरमलाई दल बनाए । लगत्तै कांग्रेसका केन्द्रीय कोषाध्यक्ष महन्थ ठाकुरले विद्रोह गरी तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बनाए र उपेन्द्रकै मुद्दा बोकेर ०६४ मा फेरि मधेस आन्दोलन चर्काए । त्यो मोर्चामा उपेन्द्र र महन्थ सँगै थिए । मधेस विद्रोहको माग संविधानसभाबाट सम्बोधन गर्ने सहमतिपछि यादव र ठाकुरले निर्वाचनमा भाग लिए । संविधानसभाको पहिलो निर्वाचनमा यादवको दल फोरम प्रत्यक्षतर्फ ३० र समानुपातिकमा २२ गरी ५२ सिट जितेर ठूलो शक्ति बन्यो । ठाकुर नेतृत्वको तमलोपाले प्रत्यक्षमा ९ र समानुपातिकमा ११ गरी २० सिट जित्यो ।

राजनीतिक खिचातानीका कारण पहिलो संविधानसभाले संविधान बनाउन सकेन तर उपेन्द्रको दल त्यस अवधिमा बनेको धेरैजसो सरकारका हिस्सा बन्यो । सरकारमै जान फोरम धेरै टुक्रामा विभाजित भयो । ठाकुरको पार्टी पनि टुक्रियो । दल छिन्नभिन्न रहेकै अवस्थामा भएको दोस्रो संविधानसभा चुनावमा उपेन्द्रको पार्टीले प्रत्यक्षतर्फ २ र समानुपातिकमा ८ गरी १० सिट मात्रै जित्यो भने ठाकुरको पार्टीले प्रत्यक्षमा ४ र समानुपातिकमा ७ सिट जित्न सक्यो ।

संविधानसभामा मधेसकेन्द्रित दलको कमजोर उपस्थितिकै बीच नयाँ संविधान जारी भयो । मधेस फेरि अशान्त बन्यो । ०७२ मा असार ३० देखि माघ २० सम्म तेस्रो मधेस आन्दोलनको अगुवाइ फेरि मधेसकेन्द्रित दलले नै गरे । त्यसपछि ०७४ को निर्वाचनमा उपेन्द्रको दलबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० र समानुपातिकमा ६ जना निर्वाचित भए भने ठाकुरको दलले प्रत्यक्षतर्फ ११ र समानुपातिकमा ६ सिट हात पार्‍यो । यादवको संघीय समाजवादी फोरमले मधेस प्रदेशमा २९, प्रदेश १ मा ३ र लुम्बिनीमा ५ सिट जितेको थियो । ठाकुर नेतृत्वको राजपाले मधेस प्रदेशमा २५, लुम्बिनीमा १ र सुदूरपश्चिममा २ सिट जित्यो ।

२०४८ को चुनावमा एमालेबाट उम्मेदवार बनेका यादव अहिले त्यही पार्टीसँगको तालमेलमा छन् भने लामो राजनीतिक जीवन कांग्रेसमा बिताएका ठाकुर आसन्न निर्वाचनमा कांग्रेस नेतृत्वकै गठबन्धनको भरमा छन् ।

‘मधेसमा जसपाको जनाधार बढ्दै गएको छ’ : उपेन्द्र यादव, अध्यक्ष, जनता समाजवादी पार्टी

क्षेत्रमा मतदाताको कस्तो रेस्पोन्स पाउनुभएको छ ?

मतदाताको राम्रो रेस्पोन्स छ । जनताले सप्तरीमा विकासको लहर आएको देखेका छन् । राजनीतिक अधिकार प्राप्तिको संघर्ष देखेका छन् । जनताले २५ वर्षदेखि यहाँका जनप्रतिनिधिलाई पनि देखेका छन् तर तुलनात्मक रूपमा अहिले विकास र अधिकारको कुरा अघि बढेको छ । जनताले परिवर्तनको अनुभूति गरेका छन् । त्यसैले म जहाँ जान्छु, त्यहाँ जनताको व्यापक श्रद्धा, सद्भाव र उत्साह छ ।

जसपाले कति सिट जित्ने आकलन छ ?

हामी अहिलेभन्दा दोब्बर–तेब्बर सिट जित्नेतिर छौं । आगामी संसद्मा हाम्रो महत्त्वपूर्ण भूमिका रहन्छ । यति नै संख्या भनेर यकिन गर्न त ज्योतिषीले पनि सक्दैन होला ।

एमालेसँग गठबन्धन गर्दा जसपाकै नेता–कार्यकर्ता रुष्ट देखिन्छन्, त्यसको असर पर्दैन ?

गठबन्धनभन्दा नि एमालेसँग तालमेल गरिएको हो । हामीले केही सिटमा तालमेल गरेका छौं, बाँकीमा एक्लै लडेका छौं । हामी देशैभरि एक्लै चुनाव लड्ने भनेर सत्ता गठबन्धनबाट बाहिरिएका हौं तर पछि केही सिटमा एमालेसँग तालमेल भयो । यसमा के नराम्रो भो त ? उतिबेलाका ज्यानी दुश्मन माओवादीको टाउकामा चढेर कांग्रेस नेताहरू अगाडि बढ्दै छन् भने हामीले त फरक विचार राख्दै केही सिटमा तालमेल गरेका त हौं नि । आफ्ना अवधारणालाई यथावत् राखेर तालमेल गर्नु अचम्मको कुरा होइन ।

जसपाको जनाधार मधेसमा खस्किँदै गएको हो ?

खस्केको होइन, बढ्दै गएको छ । मधेसमा मात्र होइन, देशैभरि बढिरहेको छ । जसपा पहिला मधेसका केही जिल्लाबाट सुरुवात गर्दै ७७ वटै जिल्लामा पुगेको छ । आज हामी १ सय ४५ वटा प्रदेशसभा सिटमा चुनाव लडेका छौं । ८१ वटा प्रतिनिधिसभा सिटमा उम्मेदवार उठाएका छौं । विगतको तुलनामा जसपा अगाडि बढ्दै गएको छ ।

प्रकाशित : कार्तिक २५, २०७९ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?