Highlights
- २५ वर्षको उमेरमा नापी अधिकृत भएका स्याङ्जाको फेदीखोलाका मौसम सुनाम (परियार) २०७८ मा उनी प्यूठानको जसपुरस्थित नापी कार्यालयको प्रमुख भएर खटिए । दुई वर्षको प्यूठान बसाइपछि बागलुङ सरुवा भएका उनी हाल जिल्ला नापी कार्यालय बागलुङको प्रमुख छन् । दोस्रो कार्यालयको प्रमुख भइसक्दा मौसम भर्खरै २८ वर्ष टेकेका छन् ।
बागलुङ — पातलो शरीर, भर्खर २८ वर्ष लागेकाले दाह्री–जुँगा पनि बढ्दै छन् । सरकारी पोसाकमा कार्यालय छिर्दा कतिपय सेवाग्राहीले ‘कार्यालय प्रमुख मै हुँ’ भन्दा पनि झट्ट पत्याउँदैनन् । सुरु–सुरुमा कार्यालयकै कर्मचारी पनि अलमलमा पर्थे । २५ वर्षको उमेरमा नापी अधिकृत नियुक्त भएका स्याङ्जा फेदीखोलाका मौसम सुनाम (परियार) तीन वर्षदेखि कार्यालय प्रमुख छन् ।
जिल्ला प्रशासन कार्यालयमा मासिक रूपमा सञ्चालन हुने कार्यालय प्रमुख बैठकमा पुग्दा नयाँ आएका ‘हाकिम’ अझै पनि अलमल पर्छन् । गत वर्षको भदौमा बागलुङ नापी कार्यालयको प्रमुख भएर आएपछि असोज महिनाको कार्यालय प्रमुख बैठकमा पुग्दा सबैको कतिले त मुखामुख गरे, कसैले अर्कै काममा आएर हुन् कि भन्ने शंका गरे । इन्जिनियरिङको पढाइ सकिनासाथ २०७६ मै पहिलो पटक अधिकृतको परीक्षामा सफल भए ।
बाबु राजु परियार वैदेशिक रोजगारीमा खाडी गएका थिए । आमा माया नेपालीले लुगा सिलाएर दुई छोरा पढाइन् । दलित परिवार भएकाले समाजमा विभेद सहनुपर्थ्यो । आमाले त आफ्नो जमानामा धेरै विभेद सहिन् । त्यसैले छोराहरूले त्यस्तो विभेद सहनु नपरोस् भनेर मायाले आफू काममा जोतिएर भए पनि छोराहरू पढाउने योजना बनाएकी थिइन् । विदेशमा भएका पतिले पैसा पठाउन ढिला भए पनि उनले छोरालाई पैसा नभएकाले पढ्न–लेख्नमा कुनै अप्ठ्यारो पारिनन् ।
मौसमले पनि आमाको पीडा बुझेर विद्यालय पढ्दा फजुल खर्च केही गरेनन् । घरबाटै खाना खाएर गएपछि घरमै आएर खाजा खान्थे । विद्यालयमा किनेर खाने उनले चाहना राखेनन् । समाजका अन्य दलित परिवारले दुःख गरेर पढेको उनले देखेका थिए । त्यसैले आफ्नो परिवारमा पनि समस्या छ भन्ने सानैमा बुझ्ने मौका पाएको उनी बताउँछन् । ‘हाम्रो परिवारमा पनि आमा र बुबाले दुःख नगरेको भए आर्थिक अवस्था कमजोर हुन सक्थ्यो,’ उनले भने, ‘बुबाको दुःखमा मात्र आमा रमाउनुभएन, आफैं काम गरेर घर व्यवहार चलाउनुभयो ।’ आमाले कपडा सिलाएर कमाएको पैसाले घर खर्च र पढाइ सम्भव भएको उनले बताए । बाबुले कमाएको पैसाले उच्च शिक्षामा साथ मिलेको उनी बताउँछन् ।
स्याङ्जाको फेदीखोला गाउँपालिकास्थित स्वाभिमान माविबाट २०६९ मा एसएलसी दिए उनले । एसएलसीमा राम्रो अंक ल्याएपछि मौसम पोखराको कालिका माविमा विज्ञान संकायमा पढ्न थाले । पश्चिमाञ्चल क्याम्पसबाट २०७६ सालमा ‘बीई जियोम्याटिक्स’ उत्तीर्ण गरे । छिमेकीले उनलाई अब शिक्षक भएर पढाउनुपर्छ भनेर सल्लाह पनि दिएका थिए । मौसमले पनि केही गर्न सकिन्छ भन्ने आँट बटुले । त्यति नै बेला बनेको राष्ट्रिय भूमि आयोगले करारमा सर्भेयर मागेको थियो । ६ महिना उनले आयोगको प्रारम्भिक चरणको काम गर्ने मौका पाए । त्यसले उनलाई सरकारी जागिरप्रति मोह जगायो । विदेश जाने लहर चलेका बेला उनलाई सरकारी जागिरले लोभ्यायो । उनको परिवार र चिने–जानेकामा कोही पनि सरकारी जागिरे छैनन् ।
लोक सेवा पास गर्ने काम सजिलो छैन भन्ने थियो । सबैले शिक्षक हुने वा वैदेशिक रोजगारीमा जाने सल्लाह दिइरहन्थे । तर, आयोगमा काम गर्दा एक जना साथीले लोक सेवा आयोगले नापी अधिकृत खुलाएको सुनाए । लहैलहैमा उनले फर्म भरे । परीक्षा दिए । भर्खर पास भएर आएको फ्रेस इन्जिनियरका लागि त्यो परीक्षा सहजै भयो । उनको नाम निस्क्यो । बरु कोरोना संक्रमणका कारण परीक्षाको अन्तिम नतिजा आउन एक वर्ष लाग्यो । २०७८ मा उनी प्यूठानको जसपुरस्थित नापी कार्यालयको प्रमुख भएर खटिए ।
उमेर २५ वर्ष पुग्दा कार्यालय प्रमुख भएर सरकारी सेवा प्रवेश गर्दा उनी त खुसी थिए नै, झनै खुसी थिए आमाबुबा । ‘आमाले कपडा सिलाएर पढाएको दुःख अब सकिए भन्ने लाग्यो,’ उनले भने, ‘अब त समाजमा केही गरेर देखाउन सकिन्छ भन्ने लागेको छ ।’ उनले आफ्नो खानदानमै पहिलो निजामती जागिरे बन्न पाएकामा औधी खुसी लागेको बताए । वैदेशिक रोजगारी, अमेरिका र अस्ट्रेलिया जाने सपना पनि उनले त्यागेका छन् । बरु अब यो क्षेत्रमै अगाडि बढ्ने योजना बनाएको सुनाए ।
दुई वर्षको प्यूठान बसाइपछि उनी बागलुङस्थित जिल्ला नापी कार्यालय सरुवा भए । उनी हाल कार्यालय प्रमुखमा कार्यरत छन् । दोस्रो कार्यालयको प्रमुख हुँदा मौसम भर्खरै २८ वर्ष टेकेका छन् । कामविशेषले कतिपय मानिस कार्यालय प्रमुख लेखेको कक्षमा प्रवेश गर्छन् । त्यसपछि कतिपयले सोध्छन्– हाकिम खोइ ? उनी भन्छन्– ‘म नै हो, भन्नुहोस्, के सेवा गरौं ।’ तर, सेवाग्राहीले हतपती पत्याउँदैनन् । हाकिम भन्ने बित्तिकै टोपी लगाएको, पाको उमेरको वा पेट ठूलो भएको मोटोघाटो भन्ने सोचाइ छ । तर, उनी त्यस्ता छैनन् । बरु कलिलो उमेर, शरीर पनि सानै । भर्खर दाह्री पलाएको ।
युवा प्रमुख हुँदा कामले पनि चुस्तता पाएको कार्यालयका सूचना अधिकारी बालाराम खत्री बताउँछन् । काम सहजै गरिदिने र फिल्ड पनि सहजै निस्कने बानीले सेवाग्राहीले पनि समयमै काम हुने गरेको बताए । पछिल्लो समय नापी कार्यालयले सबै नक्सालाई डिजिटल बनाउने काम गरिरहेको छ । पुराना नक्साबाट कित्ता उतार्नु परे घाममा दुई/तीन घण्टा सुकाउनुपर्छ । झरी परेको दिन नक्सा नै बन्दैनथ्यो । डिजिटल विधिले सेवाग्राहीलाई धेरै सुविधा मिलेको छ ।
यहाँको गलकोट र बागलुङ नगरपालिकामा केही समस्या छ । पुरानो नापीका नक्सा झुत्रो भएर कित्ता नम्बर र फिल्डको जमिन फरक पर्ने गरेको छ । ती नक्सा पनि सकेसम्म डिजिटल बनाउने प्रयासमा लागेको मौसमले बताए । केही स्थानमा भने पूरै नापी गर्नुपर्ने अवस्था छ । तर पनि फिल्ड हेरेर आएपछि डिजिटल विधिमा फरक नपर्ने गरी नक्सा बनाइदिएको उनले बताए । १ सय ४२ किमि पश्चिमबाट नापी कार्यालयमा काम लिएर आउनेहरू धेरै हुन्छन् ।
समयमा काम नहुने हो भने सेवाग्राहीले दुई/तीन दिनसम्म होटलमा बस्नुपर्ने बाध्यता छ । त्यसैले सबै काम डिजिटल रूपमा गर्न सक्ने बनाउन लागेको उनले बताए । ‘मेरो कित्ता भन्ने नयाँ प्रणाली सुरु भएको छ, त्यसबाट छिटो सेवा दिन सकिन्छ,’ उनले भने, ‘अनलाइनबाट पनि राजस्व तिर्ने र नक्सा प्रिन्ट गर्ने पद्धति प्रयोग गरेमा सेवाग्राहीले कार्यालय आउने समय पनि खर्चनु पर्दैन ।’ उक्त पद्धतिबारे पालिका तहमा पुगेर साक्षरता कक्षा सञ्चालन गर्ने योजना उनले सुनाए । सेवाग्राहीलाई जानकारी दिने काम सुरु भइसकेको छ ।
नापी कार्यालय बागलुङको बोर्डमा दर्जन बढी मधेस समुदायका कार्यालय प्रमुखको नाम छ । पहाडी मूलका दुई/चार जना छन् । दलित समुदायको प्रमुख त मौसम पहिलो नै हुन् । ‘नापीसम्बन्धी पढाइ हुने क्याम्पस तराईमा बढी छन्, त्यसैले पहाडका कर्मचारी कम भेटिन्छन्,’ मौसमले भने, ‘अब यो क्षेत्रमा पनि आकर्षण थपिएको छ ।’ इन्जिनियर नै चाहिने भएपछि युवाहरू आउने सम्भावना बढी भएको हो । मौसमले दलित भएका कारण सानोमा धेरै विभेद र असमानता भोगेका छन् । ‘धारोमा पानी लिन जाँदा अर्को साथीको गाग्री भरिएको हुन्थ्यो, झिकेर थाप्न पाइने थिएन,’ उनले भने, ‘छोइछिटोले हामीले चाहेर पनि आफ्नो काम समयमा गर्न पाउने थिएनौं ।’ सामाजिक काम, विवाह, व्रतबन्धजस्ता समारोहमा पनि उनले धेरै विभेद भोगेको तीतो अनुभव सँगालेका छन् ।
कार्यालय प्रमुख भएर आउँदा भने उनले फरक महसुस गरे । ठूलो सानो, धनी गरिब र जातबारे सोधखोज पनि नभएको उनले बताए । सामाजिक काममा केही विभेद त अझै छ तर कार्यालयमा यो देख्नुपरेन । त्यो राम्रो भयो । नापी कार्यालय राजनीतिक दबाब नआउने कार्यालय परेकामा पनि उनी खुसी छन् । त्यसो त उनीहरू जब पोखरा झरे, त्यसपछि विभेद महसुस गर्न परेन । पोखरामा निजी धारा, घरभित्रै बस्ने, खाने, क्याम्पस पनि धेरै जिल्लाका विद्यार्थी पढ्ने भएकाले सामाजिक विभेद थिएन । पोखरा पर्यटकीय क्षेत्र भएकाले परम्परागत र रूढिवादी संस्कार घटेको उनले अनुभव बताए । प्राविधिक पढाइ हुने क्याम्पस भएकाले उनले त्यो महसुस गर्नु नपरेको हो । बरु उनले केही छात्रवृत्ति पाएर पढ्ने अवसर मिल्दा आमाबाबुलाई थप सहज भयो ।मिहिनेत गर्ने र अर्काको कुरा नकाट्ने कुरा पनि आमाबाट सिकेको बताउँछन् मौसम । अहिले कार्यालयमा आएपछि उनले हाकिमजस्तो व्यवहार देखाउँदैनन् । बरु बेलाबेला तल्लो तलामा रहेको
नक्सा फाँटमा गएर मातहतका कर्मचारीसँग छलफल गर्छन् । कतिपय काम त्यहाँबाट सिक्न खोज्छन् । ‘पढाइले पो मैले पास गरेर आएको हो, नक्सा र फिल्ड भिडाउने काममा त लामो समय काम गरेका दाइहरू सिपालु हुनुहुन्छ,’ उनले भने, ‘प्रशासनिक काम र प्राविधिक कामभन्दा पनि फिल्डमा भएका जटिलता मेटाउने काम महत्त्वपूर्ण हुन्छ ।’ उनले शाखाका सबै तहका कर्मचारीलाई काममा खटाउने काम गर्दा उनीहरूले दिएको सुझाव र ल्याएको परिणाम पनि सिकाइ हुने बताए ।
भाइ निकेश पनि बीएस्सी आईटी पढ्दै छन् । बाबुले पनि आजकल खाडीको जागिर छाडेर युरोपमा पानीजहाजमा काम गर्छन् । त्यसैले उनीहरूको परिवारलाई हेर्ने दृष्टिकोण पनि फरक भइसकेको छ । प्राविधिक पढाइ, सरकारी जागिरे र सम्मानले विभेदको खाडल पुर्दै लगेको उनको अनुभव छ । उनका केही साथी विदेश गएका छन् । अनुसन्धान गर्ने पढाइ भएकाले विदेशमा पनि इन्जिनियरको माग बढी नै छ । तर मौसमले अब भने विदेश जाने सोच बदलेका छन् । उनले यहीँ बसेर काम गर्ने, नापी, मालपोतजस्ता अत्यावश्यक कार्यालयमा रहेको पुरानो मान्यता, परम्परागत काम गर्ने शैली परिवर्तन गर्ने योजना उनले सुनाए ।
प्रकाशित : श्रावण २१, २०८१ ०९:४६