३० वर्षसम्म भारी बोकेरै संसारका ८ हजार मिटरमाथिका १४ हिमाल आरोहण
Highlights
- ताम्टिङ शेर्पाको चौंरी गोठदेखि हिमालसम्मको यात्रा
दोलखा — बाल्यकालमा चौंरी गोठमा गोठालो भएर बिताएको समय ताम्टिङ शेर्पाको मनमा अझै ताजै छ । ती स्मरणहरू चाहेर पनि आफूले भुल्न नसक्ने उनी बताउँछन् ।उनै शेर्पाले सपनाको उडान भरेजसरी ३० वर्ष भारी बोक्दा बोक्दै संसारका ८ हजार मिटरमाथिका सबै १४ हिमाल आरोहणको कीर्तिमान पनि बनाएका छन् ।
जिल्लाकै अति दुर्गम बेदिङमा जन्मेहुर्केका उनले अभाव र गरिबी झेल्दै झन्डै डेढ दशक चौंरी गोठालो भएरै बिताए । १६ वर्षको उमेरदेखि बेदिङ हुँदै अत्यन्तै कठिन टासिलाप्चा पास काटेर सोलुखुम्बुको थामेसम्म पदयात्रामा आएका पर्यटकको भारी बोके । उमेरले ५० वसन्त टेक्नै लागेकाले अब भने हिमाल आरोहणबाट विश्राम लिने मनस्थितिमा पुगेको उनले सुनाए । चौंरी गोठाला हुँदै संसारभरका अग्ला हिमाल चढ्न आफूले निकै कष्ट र संघर्ष गरेको उनकाे अनुभव छ । उनका परिवारका सबै दाजुभाइ हिमाल आरोही हुन् ।
सन् १९९४ मा हिमाल आरोहणका क्रममा भारी बोकेर गएका उनका जेठो दाइ ङावाङ टाप्चे शेर्पा एकाएक स्वास्थ्यमा आएको खराबीले मृत्युवरण गर्न पुगे । त्यतिबेला उनी बेदिङमा चौंरी गोठाला थिए । चार दाजुभाइमध्ये उनी कान्छा हुन् । सिजनका बेला भारी बोक्ने र अन्य समय चौंरी गोठमा बस्ने उनी त्यसबेला दिनको १ सय ५० रुपैयाँ लिएर टासिलाप्चाबाट थामेसम्म भारी बोक्ने गरेको सुनाउँछन् ।
५ हजार ७ सय ५० मिटर उचाइको टासिलाप्चा काटेर उनले ५ वर्ष भारी बोकेरै गुजारा चलाए । बेदिङबाट थामेसम्म भारी बोक्दा बोक्दै उनले पहिलो पटक सन् १९९६ मा २१ वर्षको उमेरमा सोलुखुम्बुको ६ हजार ३ सय मिटर उचाइको कुसम कंगरु हिमाल आरोहण गरेका थिए । जापानी टोलीको भारी बोकेर त्यतिबेला आफूले हिमाल आरोहण गरेको उनले सुनाए ।
त्यहींबाट उनको हिमाल आरोहणको यात्रा सुरु भएको थियो । उनले त्यतिबेला हिमाल आरोहणको तालिम लिएका थिएनन् । भारी बोक्दा आरोहण दलका विदेशी सदस्यले उपलब्ध गराएका सामग्री प्रयोग गरेरै आरोहण गर्थे । हिमालमा विदेशी पर्यटकको भारी बोक्दा बोक्दै उनी आरोही बनेका हुन् ।
बेदिङ गाउँ हिमाल आरोहीको गाउँले परिचित छ । तर त्यतिबेला पर्यटकको भरियाका गाउँका रूपमा परिचित थियो । चौंरी गोठ र आलुखेती मात्रै हुने बेदिङको परिचय अहिले फेरिएको छ । ‘अभाव र गरिबीले चौंरी गोठमा गोठालो बस्नुपर्थ्यो, आलुखेती मात्रै हुन्थ्यो, लाउन खान पनि निकै कठिन थियो,’ उनले भने, ‘दाजुहरू भारी बोक्न जान्थे, गाउँमा हामी घर र गोठ कुरेर बस्थ्यौं, दाजुहरूले भारी बोकेको पैसा घरखर्च चलाउनै ठिक्क हुन्थ्यो ।’
अहिलेको जस्तो त्यतिखेर हिमाल चढ्न तालिम हुँदैनथ्यो । पहिलोपटक जापानी टोलीले पाकिस्तानको ८ हजार ६ सय ११ मिटर उचाइको काराकोरम (केटु) हिमालमा भारी बोक्न लगेको उनले सुनाए । ‘सन् १९९७ मा भारी बोकेर हाम्रो टोली केटु चढ्यो,’ उनले भने, ‘मलाई भने ८ हजार १ सय मिटरमा पुगेपछि तेरो उमेरले मिल्दैन भनेर फर्काइयो, अझै पनि मलाई किन फर्काए भनेर सोच्छु ।’
यसरी केटु आरोहण गर्न नपाए पनि सन् १९९८ मा सगरमाथामा पाइला टेक्न भने सफल भएको बताए । ‘त्यो दिन खुसीको सीमै थिएन,’ उनले भने, ‘भारतको टाटा मोटरका लगानीकर्तासहितको भारी बोकेर सगरमाथाको आरोहण गरेको थिएँ ।’ त्यहाँदेखि अहिलेसम्म सगरमाथा ११ पटक आरोहण गरिसकेको उनले बताए ।
पहिलो पटक सगरमाथा चढेको २६ वर्षमा ८ हजार मिटरमाथिका संसारका सबै हिमाल आरोहण गर्न सफल भएको उनले बताए । सन् २०२२ मा पहिलो पटक केटु हिमालको सफल आरोहण गरेको उनले बताए । ‘हिमाल आरोहण अहिलेजस्तो विगतमा सहज थिएन,’ उनले भने, ‘स्रोत साधनको अभाव, तालिम हुँदैनथ्यो, त्यसमाथि हिम पहिरोको जोखिम उत्तिकै हुन्थ्यो ।’
सन् २०२३ मा तिब्बतको सिसापाङ हिमाल आरोहणका क्रममा दुई शेर्पा र दुई जना अमेरिकन महिला हिमपहिरोमा परेको उनले बताए । ‘हिमाल आरोहणका क्रममा थियौं, अचानक माथिबाट हिमपहिरो आयो,’ उनले भने, ‘आरोहणमा सहभागी भएका साथीहरूमध्ये एक जना भेट्न सकेनौं, अर्का साथीलाई भने घाइते अवस्थामा उद्धार गरियो, म भने बोकेको भारीमुनि परेर जोगिएँ ।’
आफू हिमाल आरोहणमा मात्रै सीमित नरहेर हिमालमा फसेका आरोहीको उद्धारमा पनि सक्रिय बनेको उनले बताए । सन् २०१४ मा सगरमाथामा आरोहणका क्रममा हिम पहिरोमा परेर १६ जनाको मृत्यु भएको थियो ।
‘उक्त घटनाको म प्रत्यक्षदर्शी नै हुँ,’ उनले भने । ‘बिहानको ५ बजेको थियो, माथिल्लो क्षेत्रबाट पहिरो झर्दै गरेको देखें,’ उनले भने, ‘सबै जनालाई पहिरो आयो भागौं, सुरक्षित ठाउँ जाउँ भनें । भाग्दा भाग्दै धेरैलाई पहिरोले पुर्यो, आफ्नै साथी पनि बित्यो, आफू भने भागेर केही पर घोप्टो परेर मुख थुनेर बसें ।’
पहिरोमा पुरिएकाहरूमध्ये एक जनालाई साबेलले खनेर पुरिएको ठाउँबाट जीवितै उद्धार गरेको पनि उनले बताए ।
आउँदो वर्ष तिब्बतको सिसापाङमा हिमाल आरोहणपछि आरोहण यात्राबाट विश्राम लिने सोच बनाएको उनले बताए । ‘करिब ३० वर्ष भारी बोकेरै हिमाल आरोहण गरें, अब विश्राम लिने दिन आयो,’ उनले भने, ‘तर हिमाल चढ्नेलाई तालिम दिने र उद्धारमा भने निरन्तर लाग्ने नै छु ।’
हिमाल आरोहण यात्रा
सगरमाथा : सन् १९९८, २०००, २००३, २००४, २००८, २०१२, २०१३, २०१६, २०१७, २०१८ र २०१९
केटु : सन् २०२२ र २०२३
कंचनजंघा : सन् २०२२
लोत्से : सन् २०१८, २०१९ र २०२३
मकालु : सन् २०२२
चोयु : सन् १९९९, २००१, २००२, २००३, २००४ र २००५
धौलागिरी : सन् २०२२
मनास्लु : सन् २०१६, २०१७, २०१८, २०१९, २०२१ र २०२३
नागा पर्वत : सन् २०२३
अन्नपूर्ण : सन् २०२१ र २०२३
ब्रोड पिक : सन् २०१८ र २०२२
जी १ : सन् २०२३
जी २ : सन् २०१९
सिसापाङमा : सन् १९९९ र २०११
प्रकाशित : श्रावण १९, २०८१ १३:१८