मानव–बाघ द्वन्द्वको संक्रमणकाल
Highlights
- मानव–वन्यजन्तु सम्बन्ध प्रतिद्वन्द्वीका रूपमा व्याख्या गर्ने गरिन्छ । यी दुई पक्षबीच व्यावहारिक रूपमा पनि प्रतिद्वन्द्विता देखिन्छ । मानव–बाघ सम्बन्ध पनि त्यही रूपमा विकसित हुँदै आएको हो । तर पृथ्वीमा आ–आफ्नो अस्तित्व जोगाउन यी दुई पक्षबीच सहअस्तित्वको विकास हुन आवश्यक छ । जुन पृथ्वीको पारिस्थितिक प्रणाली (इकोसिस्टम) का लागि पनि अपरिहार्य छ ।
बर्दिया — ‘यो बाघ देख्नुभएको छ कि नाई ? देख्नुभएको भए ठीक छ । देख्नुभएको छैन भने पनि केही छैन । म आज यहाँ तपाईंहरूसामु बाघ र मानव जाति कसरी मिलेर बस्न सम्भव छ भन्ने कुरा गर्न लागिरहेको छु,’ सन् २०२१ को नोभेम्बरदेखि बर्दियामा सुरु भएको ‘बिहेबियर चेन्ज क्याम्पेन’ (व्यवहार परिवर्तन अभियान) का एक युवा संरक्षक कमल खड्काले बारबर्दिया नगरपालिका–८ औरीका जनतालाई बाघको फोटो देखाएर पढाउँदै थिए ।
बर्दियामा व्यवहार परिवर्तन अभियान चलाउने १९ युवा छन् । जसमध्ये एउटा हुन्, ३५ वर्षीय खड्का । औरीस्थित सोमपुर जंगलको ‘बफरजोन’ क्षेत्रमा भेला भएका ५० जनाभन्दा बढी स्थानीयहरू (बच्चाबच्चीदेखि वृद्धसम्म) लाई बाघको फोटो देखाउँदै थपे, ‘हेर्नुस्, हाम्रो जीवन जंगलसँग जोडिएको छ । हामी जंगलबिना दैनिक गुजारा चलाउन सक्दैनौं । जंगलमा रहेका यी बाघदेखि अन्य जनावरहरू मान्छेजस्ता हुँदैनन् । उनीहरूले आफ्नो शैली परिवर्तन गर्दैनन् । त्यसैले हामी मानव जातिले नै आफ्नो दैनिक क्रियाकलापलाई बदल्नुपर्छ । र, बाघसहित अन्य जनावरसँग द्वन्द्व गर्ने होइन, सहअस्तित्वमा मिलेर बस्नुपर्छ । हामीले आफूलाई त्यही शैलीमा विकास गर्न आवश्यक हुन्छ । हामीले आफ्नो व्यवहारलाई परिवर्तन गर्न आवश्यक छ ।’
बर्दिया र बाँकेमा बाघको आक्रमणबाट मान्छे मर्ने क्रम जारी भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले सन् २०२१ देखि बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा खाता संरक्षित क्षेत्र तथा यस वरपरका बफरजोनका बासिन्दालाई सचेतना दिनका लागि व्यवहार परिवर्तन अभियान सुरु गरेको हो । बाँकेको अभियानमा ९ जना स्थानीय युवा सक्रिय छन् । उनीहरूले स्थानीयलाई नै मानव–बाघ सहअस्तित्व र व्यवहार परिवर्तनबारे प्रशिक्षण दिइरहेका छन् । यस्तै, बर्दियाको खाता संरक्षित क्षेत्रमा पनि ५ युवाले अभियान सञ्चालन गरिरहेका छन् । ती युवाका काम र क्रियाकलाप फेसबुकको ‘बिहेबियर चेन्ज क्याम्पेन’ मा पनि देख्न सकिन्छ ।
एनटीएनसीका बर्दिया राष्ट्रिय निकुञ्जका प्राकृतिक स्रोत संरक्षक सहायक उमेश पौडेल व्यवहार परिवर्तन अभियान सुरुआत गर्नुको कारण बाघबाट हुन सक्ने आक्रमणबाट बच्नु रहेको बताउँछन् । ‘तपाईंले तथ्यांक हेर्नुहुन्छ भने बाँके र बर्दियामा २०१९ मा (कोभिड–१९ पछि) बाघको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो । त्यो वर्ष ९ जनाको मृत्यु भयो भने ३ जना घाइते भए । सन् २०२० मा ६ जनाको मृत्यु र ८ जना घाइते भए । २०२१ मा १३ जनाको मृत्यु र एक जना घाइते भए । यसले के देखायो भने कोभिड महामारीमा काम गर्न अन्यत्र वा विदेश गएका स्थानीय घर फर्किए । जंगल जाने क्रम बढ्यो र बाघको आक्रमणबाट मर्ने र घाइते हुनेको संख्या पनि बढ्यो,’ उनले भने ।
संरक्षक सहायक पौडेल ती घटनालाई मध्यनजर गरेर आफूहरूले स्थानीय युवाहरूकै साथ र सहयोगमा व्यवहार परिवर्तन अभियान थालेको र त्यो प्रभावकारी रूपमा अघि बढेको मान्छन् । विगत करिब ४ वर्षमा सयौं स्थानीयलाई अभियानमार्फत बाघलगायत जनावरसँग सहअस्तित्वमा बस्नका लागि प्रशिक्षण दिइसकेको उनले बताए । सन् २०२२ मा बाघको आक्रमणबाट ९ जनाको मृत्यु र १४ जना घाइते, २०२३ मा ५ जनाको मृत्यु र २०२४ मा एक जनाको मात्र मृत्यु भएको तथ्यांक उल्लेख गरे ।
पौडेलले भने, ‘बाघको आक्रमणबाट मर्नेको संख्या पूरै रोकिएको छ भन्नेचाहिँ होइन तर घटना कम गर्न हामीले थालेको व्यवहार परिवर्तन अभियान प्रभावकारी भइरहेको छ । यसले बाघ–मानव सहअस्तित्वमा बस्नुपर्छ भन्ने सन्देश दिएको छ ।’ अभियानले बाँके र बर्दिया क्षेत्र तथा वरपर बाघ र मान्छेबीचको सहअस्तित्वका साथै बाघले मान्छेलाई कुन बेलामा कसरी आक्रमण गर्छ, बाघबाट कसरी बच्न सकिन्छ, जंगलमा कसरी जाने, बाघ भेटेमा कस्तो व्यवहार गर्नेलगायतका विषयमा जानकारी दिँदै आइरहेको छ ।
मुलुकभरकै पछिल्लो ६ आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने बाघबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक वर्ष ०८०/८१ मा बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ । यस्तै, बाघको आक्रमणबाट आव ०७९/८० मा १२ जना, ०७८/७९ मा २१ जना, ०७७/७८ मा १३ जना, ०७६/७७ मा ८ र ०७५/७६ मा ४ जनाको मृत्यु भएको हो ।
बाघको आक्रमणबाट मर्नेको संख्या बढेपछि यसको व्यवस्थापन पनि मुख्य चुनौती बनेको छ । केन्द्रीय तथ्यांक हेर्दा डरलाग्दो देखिन्छ । तर, बाँके र बर्दिया क्षेत्रमा जनतालाई सचेत बनाएर घटना कम गर्ने काम भइरहेको बताउँछन्, बर्दिया संरक्षण कार्यक्रममा संरक्षण अधिकृत अजित तुम्बाहाङ्फे । ‘व्यवहार परिवर्तन अभियान कार्यक्रम धेरै प्रभावकारी भइरहेको छ । कोभिड–१९ पछि बाघ र मान्छे सहअस्तित्वमा बाँच्नुपर्छ भनेर कार्यक्रम अघि बढाइएको र अहिलेसम्म १० हजारभन्दा बढी स्थानीय बासिन्दाले यसको लाभ लिइसकेका छन्,’ उनले भने ।
नेपालमा बाघको संख्या बढेसँगै यसको जोखिम पनि उत्तिकै छ । एकातिर बाघ बढेको उत्साह राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमै छ भने अर्कोतर्फ बाघको आक्रमणबाट मान्छे मर्ने क्रम पनि जारी नै छ । यसलाई रोक्न व्यवहार परिवर्तन अभियानलाई महत्त्वपूर्ण सेतुका रूपमा हेर्न सकिन्छ । २०६४ सालदेखि सुरु भएको स्थानीय चोरी सिकारी नियन्त्रण युवा परिचालन अभियानमा बर्दिया र त्यसपछि बाँकेमा सञ्चालन हुँदै आएको छ । अभियानमा राम्रो काम गर्ने युवालाई व्यवहार परिवर्तन अभियानमा पनि सामेल गरिएको हो । त्यसैमध्येका एक हुन् युवा संरक्षक खड्का ।
खड्काले स्थानीयसँग गरेको अन्तरक्रियापछि ७६ वर्षीय प्रदीपकुमार केसीले यस्तो अभियानले समुदायलाई धेरै लाभ पुगेको प्रतिक्रिया दिए । उनले आफूसँगै युवा पुस्तालाई यसरी ज्ञान दिँदा भविष्यमा हुन सक्ने दुर्घटनाबाट बच्न मद्दत पुग्ने प्रस्ट पारे । ‘हाम्रोमा एक्लै जंगल जाने, जंगलमा छिर्दा संयमता नअपनाउने तथा आफूखुसी गर्ने बानी छ । यो अन्तरक्रिया कार्यक्रमले बाघसहित जंगलमा जनावर र हामी कसरी मिलेर बस्न सकिन्छ भन्ने ज्ञान दिएको छ ।’ कार्यक्रममा सहभागीमध्येकी एक हुन्, सीता रानी । उनी पनि बाघपीडित नै हुन् । उनको घरबाट दुई बाख्रा र दुई बंगुरलाई बाघले मारेको थियो । कार्यक्रमपछि उनले कमल सरको अन्तरक्रिया फलदायी रहेको भन्दै नयाँ–नयाँ कुरा थाहा पाएको बताइन् । ‘अब जंगल जाँदा वा बाघ देख्दा के गर्ने भन्ने थाहा पाएँ,’ उनले भनिन् ।
नेपालमा पछिल्लो पटक २०२२ मा बाघको गणना गरिएको थियो । जसमध्ये पर्सा राष्ट्रिय निकुञ्जमा ४१, बाँके राष्ट्रिय निकुञ्जमा २५, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र चितवन राष्ट्रिय निकुञ्जमा १२८ छन् । नेपालमा राष्ट्रिय तहमा बाघको गणना भने १९९५ बाट सुरु भएको हो । त्यस बेला ९८ रहेको बाघको संख्या अहिले आएर ३५५ पुगिसकेको छ । बाघको संख्या बढेसँगै उनीहरूलाई चाहिने आहार पनि बढी चाहिन्छ । जंगलभित्रै आहार र पानी भएन भने बाघलाई बाहिर समुदायमा निस्कनुपर्ने बाध्यता हुन्छ । त्यसैले बाघलाई आवश्यक पर्ने आहारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषले विभिन्न स्थानमा ग्रासल्यान्ड (घाँसे–मैदान) निर्माण गर्ने र पानी नभएका केही स्थानमा सोलारमार्फत पानी निकाल्ने काम गरिरहेको छ ।
बाघ गणना कार्यक्रममा समेत भूमिका निर्वाह गरेका प्राकृतिक स्रोत संरक्षण सहायक उमेश पौडेलले जंगलका सुक्खा क्षेत्रमा सोलारबाट पानी निकाल्ने र प्राकृतिकजस्तै लाग्ने गरी बाँके राष्ट्रिय निकुञ्जमा घाँसे मैदान तयार पारिएको देखाए । यो घाँसे मैदानसँग घाँस नै नखाने बाघको सम्बन्ध के छ त ? उनी भन्छन्, ‘बाघको संख्या बढाउन आहार चाहिन्छ । उदाहरणका लागि एक वर्षमा ५० देखि ७० वटा चित्तलजस्तो आहार प्रजाति चाहिन्छ । त्यो प्रजाति बढाउनका लागि घाँसे मैदान बनाउनुपर्यो । छोटो घाँस भएन भने चित्तललगायतका अन्य जनावरहरू चर्दैनन् । उनीहरूलाई पोसिलो घाँस मन पर्छ । त्यो जंगलभित्रै उपलब्ध भए जनावरहरू समुदायमा आहार खान जानु पर्दैन । बाघले पनि जंगलमै आहार पाएपछि समुदायमा छिर्दैन ।’ उनले घाँसै मैदान निर्माण, जनावरलाई मन पर्ने विभिन्न प्रजातिका घाँस र त्यसलाई काटेर सार्ने विषयमा कर्मचारीलाई प्रशिक्षण पनि दिने गरिएको बताए ।
त्यस्तै, बाँके र बर्दिया निकुञ्जमा विभिन्न स्थानमा सरेका बाघलाई होल्डिङ सेन्टर तथा पुनःस्थापना केन्द्रमा ल्याएर राख्ने काम पनि भइरहेको छ । बाँकेमा रहेको एउटा होल्डिङ सेन्टरमा सल्यानमा मान्छे मारेको बाघ राखिएको छ भने बर्दियाको पुनःस्थापना केन्द्रमा चार वटा बाघ छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का सदस्य–सचिव डा. नरेश सुवेदी बाघलाई आवश्यक र मनपर्ने प्रजाति आरक्षण र निकुञ्ज क्षेत्रमा उपलब्ध भएमा मान्छे र बाघबीचको द्वन्द्व घटाउन सकिने ठान्छन् । त्यसो भए, सबै निकै कम बाघ मात्र द्वन्द्वमा आउने उनको दाबी छ । ‘द्वन्द्वमा आउन सक्ने बाघलाई पहिले नै ‘प्रोएक्टिभ मोनिटोरिङ सिस्टम’ बाट नै व्यवस्थापन गर्न राष्ट्रिय प्राकृतिक संरक्षण कोषले सहयोग गर्छ,’ उनले भने, ‘हाम्रो योजना भनेको नेपालमा विज्ञानमा आधारित संरक्षण हुनुपर्छ भन्ने हो । अहिले जसरी बाघ र मान्छेबीचमा द्वन्द्व देखिएको छ, त्यसलाई सहअस्तित्वमा कसरी बदल्ने भन्ने हो ।’
मान्छे र बाघबीच सहअस्तित्व सम्भव भएकाले तत्कालका लागि समुदायको व्यवहार परिवर्तन गर्ने र बाघको आहारा जंगलभित्रै बढाइदिन आवश्यक भएको उनको भनाइ छ । मानव–वन्यजन्तु सम्बन्ध प्रतिद्वन्द्वीका रूपमा व्याख्या गर्ने गरिन्छ । यी दुई पक्षबीच व्यावहारिक रूपमा पनि प्रतिद्वन्द्विता देखिन्छ । मानव–बाघ सम्बन्ध पनि त्यही रूपमा विकसित हुँदै आएको हो । तर, पृथ्वीमा आ–आफ्नो अस्तित्व जोगाउन यी दुई पक्षबीच सहअस्तित्वको विकास हुन आवश्यक छ । जुन पृथ्वीको पारिस्थितिक प्रणाली (इको सिस्टम) का लागि पनि अपरिहार्य छ ।
प्रकाशित : श्रावण १२, २०८१ ०७:१०