कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

आँसु लुकाउन हाँसो बेच्दै ‘दले दाइ’

जस्तोसुकै दुःख झेलेर भए पनि आफ्नो कलाकारिताको मर्म मर्न दिनु हुन्न भन्ने सोचेर यस क्षेत्रतर्फ आकर्षित भएको बताउने सुमन कोइराला आँसु लुकाउनकै लागि हाँसो बेच्न हिँडेको कलाकारका रूपमा आफूलाई चिनाउन चाहन्छन्
‘मैले यति दुःख गरेको थिएँ, यति संघर्ष गरेको थिएँ भनेर कलाकारहरूले दिएका अन्तर्वार्ता खुब पढ्थें किनभने त्यस्तो पढेपछि मलाई पनि उसैगरी संघर्ष गर्न मन लाग्थ्यो’
‘कमेडी भनेको ‘टाइमिङ’ को कुरा हो, एक सेकेन्ड तलमाथि पर्‍यो भने जति हाँस्नुपर्ने, त्यति हाँस्दैनन्’

काठमाडौँ — कमेडी च्याम्पियन’ प्रतियोगितामा भाग लिनका लागि सुमन कोइरालाले हुँदाछँदाको जागिर छाडे । त्यसबेला कमेडी च्याम्पियनको पहिलो सिजन चलिरहेको थियो । उनी त्यसमा सहभागी भए । तर, उत्कृष्ट १० बाट माथि जान सकेनन् । प्रतिस्पर्धाबाट बाहिरिए पनि उनीसँग एउटा मौका थियो, ‘वाइल्ड कार्ड’ । ‘वाइल्ड कार्ड’बाट पुनः प्रवेश गर्नका लागि उनले जग्गा दलालको चरित्र पाए । यो चरित्र ‘कमेडी च्याम्पियन’ कै ‘मेन्टर’ हरूले दिएका थिए ।

आँसु लुकाउन हाँसो बेच्दै ‘दले दाइ’

‘वाइल्ड कार्ड’मार्फत प्रवेश गर्नका लागि उनले दले दाइका रूपमा प्रस्तुति दिए । यो चरित्र निर्माण गर्न आफूले निकै मिहिनेत गरेको उनले बताए । यस क्रममा जग्गाको दलाली गर्ने व्यक्ति कस्तो हुन्छ, उनीहरूको हाउभाउ, बोलीचाली, उनीहरू के सोच्छन् र के गर्छन् आदि अध्ययन गरे । ‘सायद चिप्लो घस्ने, नरम बोल्ने तर चुरोको कुरा गर्ने खालका हुन्छन् होला,’ उनी सुनाउँछन्, ‘किनभने लाखौं–करोडौं रुपैयाँ उम्काउन सक्ने मान्छेसँग सानोतिनो कला वा क्षमता मात्र त पक्कै हुँदैन । मोलमोलाइ गर्न सक्ने खुबी पनि भएका हुन्छन् ।’

उनले जसोतसो दले दाइको चरित्र तयार गरे । त्यसको हुलिया, हाउभाउ टिपोट गरे । ‘कन्टेन्ट’ तयार गरे । तैपनि, उनमा आत्मविश्वास थिएन । ‘यो चरित्र यति हिट हुन्छ भन्ने सोचेको थिइनँ,’ उनी भन्छन्, ‘तर, मैले अभ्यास गरेर देखाउँदा साथीहरू हाँस्थे, क्याची टोन लाग्यो भन्दै फुर्काउँथे ।’

‘दले दाइ’का रूपमा जब उनी ‘स्टेज’मा उभिए, सबैतिर वाहवाही पाए । सामाजिक सञ्जालमा उनी जताततै छाए । लगभग ९ मिनेटको भिडियोमा उनले जग्गा दलालले गर्ने चलाखी, जग्गा प्लटिङको धन्दा, आकाश छुने महँगीदेखि राजनीतिक विकृतिसम्मलाई व्यंग्य गरे । उनले फोन संवादको शैलीमा आफ्नो प्रस्तुति दिएका थिए । त्यही एउटा प्रस्तुतिले उनलाई सबैको सामुन्ने परिचित गराइदियो ।

‘टप २४ मा भिडियो आउनुअघि एकदमै नर्भस थिएँ,’ उनी सुनाउँछन्, ‘भिडियो युट्युबमा आयो । पहिलो कमेन्ट हेरेपछि मैले मोबाइल फालें । चार घण्टापछि फेरि हेर्न मन लाग्यो । मोबाइल उठाएर हेर्दा राम्रा कमेन्ट आइरहेका रहेछन् । त्यसपछि मन ढुक्क भयो ।’

दर्शक हँसाउने चरित्र

कुनै पनि चरित्र कसरी निर्माण हुन्छ त ? ‘यसको एउटा लामो प्रक्रिया हुन्छ । चरित्र निर्माण गरिरहँदा त्यसको विल्ड, पन्च र ट्यागलाइनमा ध्यान दिनुपर्छ,’ सुमन भन्छन्, ‘शब्दहरू तोडिलो वा पेचिलो हुनुपर्छ । बोल्ने शैली स्पष्ट तर हास्यरसयुक्त हुनुपर्छ । यसमा संवाद वा शब्दहरू धेरै घटबड गर्नुपर्छ । धेरै नै गृहकार्य गर्नुपर्छ ।’ उनका अनुसार शब्दको तोड, आवाजको उतारचढाव मिलाइएन भने मान्छेले स्वाद मान्दैनन् । हाँस्दैनन् । त्यसबेला आफ्नो प्रस्तुति फिका हुन पुग्छ । ‘एउटा कमेडियनका लागि यो लाजमर्दो स्थिति हो,’ उनी भन्छन्, ‘कमेडी भनेको टाइमिङको कुरा हो, एक सेकेन्ड तलमाथि पर्‍यो भने जति हाँस्नुपर्ने, त्यति हाँस्दैनन् ।’

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

सामान्य जोक भन्नु र ‘स्टेज’मा उभिएर दर्शकलाई हँसाउनु फरक कुरा भएको उनको अनुभव छ । ‘यस क्रममा कुनै पंक्ति वा सन्दर्भ बिर्सियो भने बर्बादै हुन्छ । त्यो चाहिँ अक्षम्य भूल पनि हो,’ उनी भन्छन्, ‘स्टेजमा उभिएर प्रस्तुति दिइरहँदा कुनै लाइन बिर्सियो भने अरूलाई त थाहा हुँदैन, तर आफ्नो नर्भसनेस भने पराकाष्ठामा पुग्छ ।’

‘कमेडी च्याम्पियन’को पहिलो सिजनमा सर्वाधिक ‘हिट’ भयो, दले दाइका रूपमा उनको प्रस्तुति । हाउस टुरमा घुमाउन लैजाँदा उनीसँग मान्छेहरू झुम्मिए, खुसी साटे । ‘त्यस किसिमको वेलकम पाउँदा मेरो कामले उनीहरूलाई केही न केही छोएछ भन्ने लाग्यो,’ उनी भन्छन्, ‘यति धेरै माया र हौसला पाइरहँदा म कतै मात्तिन्छु कि भन्ने डर थियो । तर मैले आफूलाई सम्हालेर अगाडि बढें ।’

हास्य कलाकार बन्ने लहड

सुमन भोजपुरको दाँवामा जन्मिएका हुन्, २०५३ सालमा । जहाँ उनी जन्मे, त्यहाँ मोटरबाटो थिएन । बिजुलीबत्ती थिएन । कक्षा ६ सम्म उनले त्यहींको विद्यालयमा पढे । विद्यालयमा सांस्कृतिक कार्यक्रम हुन्थ्यो । नाटक चल्थ्यो ।

गाउँमा एक जना दाइ थिए, जो पढाइमा निकै तगडा मानिन्थे । ‘परिवारले फलानो जस्तै हुनुपर्छ भनिरहन्थे, त्यसैकारण हामीलाई भने त्यो दाइ उति मन नपर्ने,’ सुमन सम्झन्छन्, ‘प्रायः हाम्रो उनीसँग झगडा परिरहन्थ्यो ।’ त्यसबेला ती दाइले भनेको कुरा सुमनले सम्झिए, ‘म त यो स्कुलको हास्य कलाकार हो नि फेरि !’ तर, उनको कुरा कसले पत्याउने ? ‘हुन्छस् तँ, हुनै सक्दैनस्,’ सुमनले त्यतिबेला आफूले फर्काएको जवाफ सुनाए । तर, त्यसबेला उनलाई थाहा थिएन कि हास्य कलाकार भनेको के हो भनेर । उनले ‘हास्य कलाकार’ भन्ने शब्द नै पहिलो पटक सुनेका थिए । साँझ विद्यालयबाट फर्केपछि उनले आफ्नी दिदीलाई सोधे, ‘दिदी ! त्यो दाइ हास्य कलाकार हो र ?’

दिदीले ‘हो’ भनिन् । त्यसपछि भने सुमन उनको सामुन्ने नम्र हुन थाले । ‘मलाई पनि नाटक खेलाउनूस् है’ भन्दै नजिकिन थाले । त्यसबेला उनी कक्षा ६ मा पढ्दै थिए । एक दिन विद्यालयमा नाटक सिक्नेहरू एक ठाउँ जम्मा हुन भने । सुमन दौडिएर त्यहाँ पुगे । नाटक सिक्न इच्छुकहरू गोलो घेरा लगाएर बसेका थिए । एक जना दाइ आएर भने, ‘कक्षा ८ देखि मात्र नाटक सिक्ने हो ।’ उनै दाइले सुमनलाई घेराबाट बाहिर निकाले ।

सुमन निकै रौसे थिए । उनलाई नाटक सिक्न मन थियो । उनी भोजपुर बजार जान्थे । फिल्मको पोस्टर किनेर ल्याउँथे । अनि साथीहरूलाई बेच्थे । फिल्मको कहानी सुनाउँथे । विद्यालयमा हाजिरजवाफ प्रतियोगिता भइरहन्थे । उनी त्यसमा भाग लिन्थे । किनभने, उनलाई टेलिभिजनमा बोल्ने पनि रहर थियो । त्यसबेला भर्खर भर्खर घरमा टेलिभिजन भित्रिएको थियो । त्यहाँ हास्य शृंखलाहरू प्रसारण हुन्थे । मेरी बास्सै, तीतो सत्य, जीरे खुर्सानी जस्ता शृंखला नछुटाई हेर्थे ।

पछि उनी इटहरी झरे । ‘त्यसबेला मोटरबाटो बनिसकेको थिएन,’ उनी सुनाउँछन्, ‘हामी हिँड्दै झरेका थियौं ।’ तराई झरेपछि त माहोल नै फरक भयो । मनोरञ्जनका लागि कुनै अभाव भएन । किनभने त्यहाँ फिल्म हल थियो । आफूले हरेको पहिलो नेपाली फिल्म ‘डर’ भएको सुमनले सुनाए । विराज भट्टको यस फिल्मले उनलाई बेग्लै लत लगाइदियो । अन्ततः उनी नियमितजसो फिल्म हेर्न थाले । जबकि, उनको घरमा फिल्म हेर्नु भनेको ‘गैरकानुनी काम गर्नु’ जस्तै थियो । खुलमखुला फिल्म हेर्न बन्देज थियो । फिल्म हेर्न थाल्यो भने पढाइ बिग्रन्छ, मान्छे बिग्रन्छ भन्ने मानसिकता थियो, परिवारमा । तर, खाने मुखलाई जुँगाले कहाँ छेक्छ र ? उनी पैसा चोरीचोरी घरबाट निस्कन्थे । फिल्मको टिकट काटेर सुटुक्क हलमा छिर्थे । कहिलेकाहीँ त भीडमा लुसुक्क छिरेर पनि हलभित्र पस्थे । ‘टिकट नकाटी पनि धेरै फिल्म हेरियो,’ उनले सुनाए, ‘यसरी एउटै फिल्म दुई–तीन पटक पनि हर्थें ।’

सुखसुविधा खोज्दै उनको परिवार तराई झरेको थियो । तर, त्यहाँ उनले थुप्रै असुविधा झेल्नुपर्‍यो । स्कुल पढ्न बकलौरीसम्म पुग्नुपर्ने । इटहरीबाट त्यहाँसम्म पुग्न तीन किलोमिटरको दूरी थियो । त्यतिका दूरी हिँडेरै पार गर्नुपर्थ्यो । किनभने, पहाडबाट झरेका उनलाई साइकल चलाउन आउँदैनथ्यो ।

यसरी विद्यालय आउजाउ गरिरहँदा उनको मनमा एउटा कुरा खेलिरहन्थ्यो, ‘पछि म पनि कलाकार बन्छु ।’ बेलाबखत हेर्ने फिल्म र भूषण दाहालले सञ्चालन गर्ने ‘टीभी शो’ले उनलाई यसतर्फ बढी आकर्षित गरेको थियो । ‘म त्यो फिल्मको हिरो भएको भए, मैले पनि त्यसरी नै अन्तर्वार्ता दिन पाएको भएँ भन्दै कल्पना गरिरहन्थें,’ उनी सुनाउँछन् ।

दुःख गर्ने रहर

त्यसबेला उनले सामान्य ‘क्यारिकेचर’ गर्न थालेका थिए । आफूले अरूको बोलीको नक्कल गर्दा साथीहरू हाँस्थे । उनी दंग पर्थे । ‘प्लस टु’को पढाइ पूरा गरेपछि उनलाई काठमाडौं आउने रहर जाग्यो । काठमाडौंमा जस्तोसुकै दुःख गर्छु, कष्ट झेल्छु भन्ने लाग्यो । यस्तो लाग्नुका पछाडि उनले पढ्ने कलाकारको संघर्षको कथा मुख्य स्रोत थियो ।

त्यस्ता कथामा कलाकारले भोकभोकै दिन बिताएको, पैदल हिँड्दै कति ठाउँ चक्कर लगाएको, खुला आकाशमुनि रात कटाएको प्रसंग हुन्थ्यो । ‘मैले यति दुःख गरेको थिएँ, यति संघर्ष गरेको थिएँ भनेर कलाकारहरूले दिएका अन्तर्वार्ता खुबै पढ्थें,’ उनी भन्छन्, ‘त्यस्तो पढेपछि मलाई पनि उसैगरी संघर्ष गर्न मन लाग्थ्यो । किनभने, कुनै दिन म कलाकार भएपछि मेरो अन्तर्वार्ता लिएमा संघर्षको कथा सुनाउन हुन्छ भन्ने ठान्थें ।’

काठमाडौं आएर उनी गोलभेडा फार्ममा काम गर्न गए । ‘पहिलो दिन म कोट, पाइन्ट र टाइ लगाएर काम गर्न गएको थिएँ,’ उनी सम्झन्छन्, ‘तर, त्यहाँ त छाप्रो छ । खाटमुनि मुसाले माटो थुपारेको छ ।’ यद्यपि, उनलाई ‘संघर्ष’ गर्ने भूत चढिसकेको थियो । एक महिनासम्म उनी त्यहीं दुःख गरेर बसे । त्यस अवधिमा उनले चार हजार रुपैयाँ कमाए ।

गोलभेडा फार्म काठमाडौंबाट निकै टाढा थियो । त्यहाँ लामो समयसम्म उनको मन थामिएन । ‘अब घर जान्छु... भनी त्यहाँबाट उम्किएँ,’ उनले भने, ‘हजार सपनाहरूको माया लागेर आउँछ..भन्ने गीत सुन्दै घर फर्किएको थिएँ ।’ त्यो गीत सुन्दै घर फर्कंदा असाध्यै नरमाइलो लागेको पनि उनले बताए ।

दुःख साट्नु दुःखैमा हाँसेर

काठमाडौं आएपछिका सुरुवाती दिनहरू सुखमय हुने कुरै भएन । घरबाट लिएर आएको पैसा केही दिनमै सकिन्थ्यो । विदेश पढ्न जाने साथीहरूले केही पैसा सरसापट लगेका थिए, पछि फिर्ता दिएनन् । खल्ती रित्तिँदै गयो ।

जागिर त गर्थे तर तलब आउन बाँकी थियो । उनका रुम पार्टनरको पनि तलब आएकै थिएन । चामल सकियो । अब खानका लागि केही छैन । दुवै जनालाई आफन्तकहाँ गएर पैसा माग्न मन लागेन । ‘चामल नभएपछि बिस्कुट खाएर बस्न थाल्यौं,’ उनले सुनाए ।

जस्तोसुकै दुःख झेलेर भए पनि आफ्नो कलाकारिता मर्न दिनु हुन्न भन्ने उनलाई लागिरह्यो । ‘कहिलेकाहीं म सोच्छु, म आँसु लुकाउनका लागि हाँसो बेच्न हिँडेको मान्छे हुँ जस्तो लाग्छ,’ उनी सुनाउँछन्, ‘तर मेरो सोख, सपना, जिन्दगी, बाध्यता सबैथोक मेरो परिवारको खुसी हो ।’ सुमन अहिले पूर्णकालीन कलाकारितामा होमिएका छन् । ‘गाह्रो छ नि हजुर’ नामक सिरिज आउँदैछ । दीपेन्द्र के खनाल निर्देशित ‘मेयर’ फिल्ममा पनि उनी देखिँदैछन् ।

गोलभेंडा शो र कलाकारिताको यात्रा

‘काठमाडौंबाट फर्कंदै गर्दा मैले मनमनै भनिरहेको थिएँ कि अब म इटहरीमै यति काम गर्छु कि मलाई काठमाडौंका मान्छेले चिनून्,’ उनी सुनाउँछन्, ‘यसले मन अलि हल्का भयो ।’ उनी इटहरी ओर्लिए । स्थानीय रेडियो र टेलिभिजनमा काम गर्न थाले । टेलिभिजनमा उनी हास्य मनोरञ्जनात्मक कार्यक्रम गर्थे । एउटा कमेडी कार्यक्रम ‘गोलभेंडा शो’ पनि चलाए ।

यसले बिस्तारै उनलाई मान्छेहरूमाझ पुर्‍यायो । अलि अलि कमाइ पनि हुन थाल्यो । त्यसबेला उनी पत्रकारितासँगै कार्यक्रम प्रस्तोता, व्यवस्थापनजस्ता सबै काम गर्थे । एकदिन उनको मोबाइलमा म्यासेज आयो, ‘भाइ तिम्रो गोलभेंडा शो राम्रो लाग्थ्यो ।’ त्यो ‘म्यासेज’ दीपक आचार्य ‘काकु’ को थियो, जो ‘सक्किगोनी’का कलाकार हुन् । ‘म्यासेज’ पढेर सुमनमा खुसीको सीमा रहेन ।

स्नातकोत्तर पढाइका लागि उनी फेरि काठमाडौं आए । काठमाडौं आएलगत्तै उनले दीपकलाई भेटे । भोलिपल्ट उनैसँग हास्य टेलिशृंखला ‘भद्रगोल’को सुटिङ हेर्न गए । त्यसमा उनलाई दीपकले सानो भूमिका दिए । त्यसमा उनले दसैंको टीका थापेर ‘काका नमस्ते’ भन्नुपर्ने थियो ।

यो शृंखला प्रसारण भएपछि उनलाई गाउँबाट फोन आयो । सुमन थप हौसिए । उनी स–साना भूमिकाका लागि सुटिङ स्थल धाउन थाले । उनलाई काठमाडौंमा कलाकार बन्नु थियो, साथसाथै जीवन गुजारा पनि चलाउनु थियो । एक ‘अनलाइन न्युज पोर्टल’मा काम गर्न थाले । यही क्रममा रवीन्द्र डंगोलले निर्देशन गर्ने सिरियलको एउटा ‘एपिसोड स्क्रिप्ट’ लेख्ने जिम्मा आइलाग्यो । उनले ‘स्क्रिप्ट’ लेखे । निर्धारित समयभन्दा एक दिन ढिलो बुझाए । त्यो ‘स्क्रिप्ट’ निर्देशकले मन पराए ।

उनी अनलाइनमा काम गरिरहेकै थिए । त्यही बेला ‘कमेडी च्याम्पियन’को ‘अडिसन’ खुल्यो । भरतमणि पौडेलले उनलाई भने, ‘तिमी पनि अडिसन देऊ ।’ उनले ‘अडिसन’ दिए । त्यसबेला उनीसँगै १ सय ५ जना प्रतिस्पर्धी थिए । त्यसबाट सुमन २४ जनाभित्र छानिए । उनको आत्मविश्वास हलक्कै बढ्यो । ‘एकातिर म लेख्ने काममा पनि लागिरहेकै थिएँ,’ उनी सुनाउँछन्, ‘अर्कोतिर आफ्नो इच्छाको पनि नजिक पुग्दै थिएँ ।’

उनी किसान परिवारमा जन्मिए । उब्जाउ खेतबारी थियो, खनजोत गरेर खान पुग्थ्यो । तर, इच्छाहरू बढ्दै गए । ‘रोजेर खान पाइन्नथ्यो, भनेजस्तो कपडा लगाउन सम्भव थिएन,’ उनी सुनाउँछन्, ‘तर गाउँघरमा हुर्केकाले धनी बन्नुपर्छ भन्ने दबाब थिएन, एकअर्कासँग प्रतिस्पर्धा गर्नुपर्छ भन्ने कहिल्यै आएन ।’ गाउँमा सबै जना आफ्नै परिवारजस्तो हुने, जसको भान्सामा जे पाक्छ, बाँडीचुँडी खाने र मिश्रित समुदायमा हुर्किएकाले आफ्नो बालापन रमाइलोमा बितेको उनले सुनाए ।

तर, सुख खोज्दै तराई झरेपछि भने उनले धनी र गरिबबीचको खाडल राम्ररी महसुस गर्न पाए । त्यहाँ चर्को होडबाजी थियो र चर्को विभेद पनि थियो । ‘मलाई राम्रो पढ्नुपर्छ भन्ने लागेको थियो, तर पढ्नका लागि गतिलो विद्यालय थिएन,’ उनी सुनाउँछन्, ‘पढ्न चाहेर पनि पाइनँ, त्यसपछि त नेपालको शिक्षाप्रति नै वितृष्णा जाग्यो ।’ पढाइमा जेनतेन अगाडि बढे । यद्यपि, मन कलाकारितामै थियो । उनले कलाकारितामा नै केही गर्ने प्रण गरे, जसमा उनी अहिले पनि रमाइरहेका छन् ।

प्रकाशित : असार २७, २०८१ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको मौद्रिक नीति किन रोकिएको होला ?

×