कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७
मेड इन नेपाल

४९ वर्षदेखि भोटो सिलाइरहेको आड नेपाल

‘भोटु : इन्दिरा समाज कल्याण संस्था’ दर्ता गरेर त्यसैमार्फत तयारी पोसाक उत्पादन गरिरहेकी इन्दिरा सापकोटा आफ्ना घरेलु उत्पादनलाई ‘आड नेपाल तयारी पोसाक’ को ‘ब्रान्ड’ मा बेचिरहेकी छन् । यस्तो नाम राख्नुका पछाडि उनको आफ्नै तर्क छ, ‘यस उद्योगले धेरै महिलालाई आडभरोसा दिन्छ, त्यसैले यसको नाम नै ‘आड’ छनोट गरेकी हुँ ।’

काठमाडौँ — छोराछोरीलाई सहज रूपमा उच्च शिक्षा पढाउन र घरखर्च चलाउन सकिने अवस्था हुँदो हो त इन्दिरा सापकोटा घर–व्यवहारमै रुमल्लिन्थिन् होला । त्यतिबेला उनका श्रीमान्को मासिक आम्दानी ५ सय थियो । दिनहुँ बाँसबारी छालाजुत्ता कारखानामा काम गरेर उनले त्यति रकम पारिश्रमिक पाउँथे । त्यसबाहेक अन्य आयस्रोत केही थिएन । 

४९ वर्षदेखि भोटो सिलाइरहेको आड नेपाल

‘छोराछोरी कसरी पढाउने र घरखर्च कसरी चलाउने भन्ने अवस्थामा थियौं हामी,’ इन्दिराले भनिन्, ‘छोराछोरीलाई हुर्काउन र पढाउन सकस नै थियो ।’ यसपछि आम्दानीको बाटो खोज्न थालिन् इन्दिराले । स्विटर बुन्ने सीप माइतीमै सिकेर आएकी थिइन् । कपडा सिलाउन पनि जान्ने थिइन् । साथीको ‘चिल्ड्रेन कर्नर’ नाम गरेको पसल थियो, जहाँ बच्चाहरूका कपडा बिक्री हुन्थ्यो ।

पुतलीसडकस्थित त्यही पसलमा पुगेर एकदिन उनले बच्चाको भोटो सिलाउने प्रयास गरिन् । बजारबाट १८ रुपैयाँमा कपडा किनेर ल्याएकी थिइन् । त्यसलाई सिलाएर बजारमा लगेर बेच्दा त्यसको मूल्य ३६ रुपैयाँ पाइन् । किनेको कपडाभन्दा दोब्बरमा बिक्री गर्दा उनी मात्र होइन, घर–परिवारका सदस्य पनि छक्क परे । यही घटनापछि उनले यस पेसालाई व्यावसायिक रूपमै अँगाल्न थालेको बताइन् ।

यसरी सुरु भएको इन्दिराले बच्चाका लागि भोटो सिलाउने काम अद्यापि निरन्तर छ । ‘परिवारमा आर्थिक संकट नभएको भए सायद ममा उद्यमको सोच पलाउने थिएन होला,’ उनले भनिन्, ‘उद्यमको यात्रा सुरु गरेपछि छोराछोरीको कलेज फि तिर्न र परिवारको आर्थिक समस्या टार्न समस्यै भएन ।’

घरको कोठाभित्र बसेर बच्चाका भोटोहरू सिलाई उनले परिवारको आर्थिक संकटलाई टार्न थालिन् । त्यसबेला महिलाले लुगा सिलाउने र घरबाहिर निस्केर काम गर्नु चुनौती नै थियो, तर उनलाई श्रीमान्ले साथ दिए । हाते मेसिन किनेर ल्याइदिए । घरमै बसेर उनले मनग्य आम्दानी गर्न थालिन् । ‘श्रीमान्को पनि साथ पाएँ । साथ नदिए कि छोराछोरीलाई पढाउन बन्द गर्नुपर्थ्यो कि त खाना बन्द हुन्थ्यो, त्यसकारण उहाँले पनि मेरो काममा हात बढाउनुभयो ।’

कोठामा बस्थिन्, लुगा सिलाउँथिन् र न्युरोड/असन लगेर पसलहरूमा बेच्थिन् । मेसिनको बिस्तार हुँदै गए पनि उनले पाइडलवाल सिलाइ मेसिन चलाउन भने पाइनन् । त्यसबेला महिला कुर्सीमा बस्न हुँदैन भन्ने सोचाइ थियो, जसले गर्दा सासू–ससुराका अगाडि त्यो मेसिन चलाउने आँटै गर्न नसकेको उनको अनुभव छ ।

वि.सं. १९९४ मा काठमाडौंको महाबौद्धमा जन्मिएकी हुन्, इन्दिरा । गोपालप्रसाद उपाध्याय र योगकुमारी उपाध्यायका १० सन्तानमध्ये जेठो सन्तान उनलाई काकाले घरमै अक्षर चिनाएका थिए । त्यसपछि उनी विद्यालयमा ३ कक्षामा भर्ना भइन् । सरकारी जागिरे बुवाको महोत्तरीमा सरुवा भयो, उनले ९ कक्षासम्म त्यहीं पढिन् । उमेरले १३ औं वसन्त पार गर्दै गर्दा उनकी हजुरआमाले विवाहका लागि ताकेता गर्न थालिन् । ‘मैले पढ्छु, बिहे गर्दिनँ भनेर सुख पाइनँ,’ उनले भनिन्, ‘घट्टेकुलोका १८ वर्षीय भोटुराज सापकोटासँग विवाह गरिदिए ।’

यसरी पढ्ने सपना माइतीमै छोडेर श्रीमान्को घरमा आएको उनले सुनाइन् । यसपछि बिस्तारै घर–परिवार र बच्चाको जिम्मेवारीले थिच्न थाल्यो । २१ वर्षमा टेक्दै गर्दा उनले ३ छोरा र १ छोरीलाई जन्म दिइन् ।

छोराछोरीले एसएलसी दिइसकेपछि २०३२ सालतिर आफूले उद्यमको यात्रा सुरु गरेको इन्दिराले बताइन् । ‘घरबाट सुरु गरेको उद्यमलाई थप विस्तार गर्ने पैसा थिएन,’ उनले भनिन्, ‘आफ्ना गहना ५० हजारमा बेचेर र डिल्लीबजारमा घर भाडामा लिएर व्यवसाय सुरु गरेकी हुँ ।’ सुरुमै ‘अर्डर’ अनुसार सामान पुर्‍याउन भ्याइनभ्याई हुने गरेको उनले सुनाइन् ।

भोटोबाट सुरु भएको उनको यात्रा सुतीका चोलो, जामा, सुरुवाल, ‘ब्ल्याङ्केट’सम्म फैलियो । श्रीमान् र आफ्ना नाममा ‘भोटु : इन्दिरा समाज कल्याण संस्था’ दर्ता गरेर त्यसैमार्फत तयारी पोसाक उत्पादन गरिरहेकी छन् । आफ्ना घरेलु उत्पादनलाई ‘आड नेपाल तयारी पोसाक’ को ‘ब्रान्ड’ मा बेचिरहेको उनले बताइन् । ‘आड’ नाम राख्नुका पछाडि इन्दिराको आफ्नै तर्क छ । ‘यस उद्योगले धेरै महिलालाई आडभरोसा दिन्छ भनेरै आड नेपाल तयारी पोसाक नाम छनोट गरेकी हुँ,’ उनले भनिन् ।

उनी आफू त घरबाट बाहिर निस्किसकेकी थिइन्, काम गर्नका लागि अन्य महिलालाई पनि आत्मनिर्भर बनाउने अभियान चलाइन् । उनले सिलाइसँगसँगै अचार उद्योग पनि सञ्चालन गरिन् । सहारा खाद्य उद्योग, विश्वास अचार तथा मसला उद्योग दर्ता गरेर थुप्रै महिलालाई तालिम दिन थालिन् । आफैं पनि अचार र तितौरादेखि धुप बनाउन सिकिन् । अन्नपूर्ण, हायात, द्वारिकाज होटलसम्म उनका खाद्यान्नका सामान पुग्थे ।

महिलाहरू आर्थिक रूपमा सम्पन्न भए परिवारसँगसँगै श्रीमान्लाई पनि सहयोग हुने उनी बताउँछिन् । तर त्यतिबेलाको समय आफूले सोचेजस्तो नरहेको उनले सुनाइन् । ‘मेरो उद्यमबारे नेपाल टेलिभिजनले विशेष ‘रिपोर्ट’ बनाएर देखाएको थियो । त्यो भिडियो मसँगसँगै काम गर्ने महिलाका परिवारले पनि देखे,’ उनले भनिन्, ‘त्यसपछि त उनीहरूले भक्कुमार कुटाइ खाएछन् । काम गर्न गएको कि टीभीमा देखिन गएको भनेर उनीहरूले कुटाइ खाएका रहेछन् ।’

२०४४ सालतिर आफूले प्रसूतिगृहमा स्टल नै राखेर बच्चाहरूका कपडा बिक्री गर्न थालेको उनले बताइन् । ‘यससँगै व्यापारले थप उचाइ लियो,’ उनले भनिन्, ‘२०५० सालतिर त ३ सयमा बच्चाका कपडाको सेट (टोपी, फुलबाउले भोटो र सुरुवाल) बिक्री हुन्थ्यो ।’ बच्चाको नापो लिएर त्यहीअनुसारका विभिन्न साइज उनले सिलाउन थालिन् । १० वर्ष यसरी प्रसूतिगृहमा स्टल राखेर बिक्री गरेको उनले सुनाइन् । प्रसूतिगृहमा बिरामी बच्चालाई गर्ने व्यवहारले चित्त नबुझ्दा धेरै पटक उनले प्रश्न पनि उठाइन् । ‘तर खासै सुनुवाइ भएन,’ उनले भनिन्, ‘आवाज उठाउन भने छोडिनँ ।’

त्यतिबेला उनी बच्चाका कपडा खोज्न न्युरोड, असन पुग्थिन् । हेटौंडा कपडा कारखाना, विभिन्न घरबुना कपडा उनले प्रयोग गर्थिन् । आफूले उत्पादन गरेका भोटो सर्वसाधारणदेखि राजदरबारसम्म पनि पुगेको उनले बताइन् । ‘अहिले त विभिन्न कपडा उद्योगदेखि घरबुना उद्यम सबै बन्द भएका छन्, गुणस्तरीय कपडाको ज्यादै अभाव छ,’ उनले भनिन्, ‘अहिले सुती कपडामा पनि पोलिस्टर मिसाएर बिक्री भइरहेको छ ।’ पहिला जस्तो अहिले बच्चाका कपडामा गुणस्तर नपाइने उनी बताउँछिन् ।

नवजात शिशुका कपडा सिलाएर काठमाडौंमा बेच्ने आफू पहिलो व्यक्ति भएको इन्दिराको दाबी छ । ‘लामो समय बजारमा मेरो एकछत्र राज रह्यो,’ उनले भनिन्, ‘पछिल्लो समय त यस्ता धेरै उद्योग सञ्चालनमा आइसकेका छन् । आफूले सिकाएका धेरै महिलाले अहिले यस पेसालाई निरन्तरता दिइरहेका छन् ।’ आफूले सीप सिकाएका महिलालाई यस पेसामा देख्दा गर्व र खुसी मिल्ने पनि उनले सुनाइन् । उनले बच्चाका पहिरन मात्र नभई स्विटर पनि बुनेर बिक्री गर्न गर्थिन् । आमाबाबुविहीन दुई छोरी र दुई एकल महिलालाई साथ लिएर स्विटर बुन्न सुरु गरेको उनले बताइन् ।

त्यसपछि त २ सय ५० जनासम्म महिला राखेर उद्यम सञ्चालन गरेको उनी बताउँछिन् । ‘२०४५ सालतिर त ऊनीका स्विटर ६ सय ५० रुपैयाँमा बिक्री हुन्थ्यो । यहाँबाट अमेरिकासम्म निर्यात गरें,’ उनले भनिन्, ‘खाली समयमा स्विटर बुनेर धेरै विद्यार्थीले कलेज खर्च पनि चलाउँथे ।’ उनका अनुसार जाडोयाममा काठमाडौंमा स्विटरको माग यति बढी हुन्थ्यो कि अर्डर पुर्‍याउनै हम्मेहम्मे पर्थ्यो । माओवादी आन्दोलन सुरु भएसँगै आफ्नो व्यापारमा कामदारको अभाव हुन थालेको उनले बताइन् । ‘श्रमिक वर्गका हकहितका कुरा उठाउँदै धेरैले काम छोडे,’ उनले भनिन् ।

उद्योगमा बाहिरी देशबाट भित्रिने कपडाले पनि चुनौती थपिदिएको उनको अनुभव छ । अहिले बजारमा ४ सयमै बच्चाका कपडा पाइन्छन् तर नेपाली पोसाक कम्तीमा ८ सयमा बेच्दा पनि फाइदा एकदमै कम हुने उनको भनाइ छ । ‘मानिसहरू सस्तो खोज्छन्, गुणस्तर खोज्दैनन् । विदेशी सामानले नेपाली उद्योगलाई नराम्रोसँग प्रभाव पारेको छ,’ उनले भनिन्, ‘जसले गर्दा नेपाली उद्योग धराशायी हुन थालेका छन् ।’ ग्राहकलाई भगवान् नै मान्छिन् उनी । ग्राहकलाई प्राथमिकता दिन सकेमात्र व्यवसाय सफल हुने उनको धारणा छ । उनका ग्राहक अमेरिका, अस्ट्रेलियासम्मका छन् । सीप सिकाइदिनुपर्‍यो, अस्ट्रेलियामा ‘ब्रान्ड’ स्थापित गर्छौं भनेर धेरै प्रस्ताव आए पनि आफूले स्वीकार नगरेको उनले बताइन् । ‘बरु आफ्नै देशका नागरिकलाई सीप सिकाउँछु भनेर लागेकी छु,’ उनले भनिन्, ‘केही कुरा सिके यहींका नागरिकले काम पाउँछन्, केही आम्दानी गर्छन् । त्यसैले विदेशीको प्रस्ताव स्वीकार गर्न सकिनँ ।’

उनले आफ्नो सीप कारागारका महिलासम्म पनि फैलाएकी छन् । काठमाडौंदेखि देशका मुख्य कारागारमा रहेका महिलालाई यो सीप बाँडेकी हुन् । अचार बनाउने, मस्यौरा बनाउनेदेखि लुगा सिलाउनेसम्मका सीप प्रदान गरेको उनले बताइन् । सीपसँगै उनीहरूको उत्पादनलाई आफैं बजारसम्म पुर्‍याइन् । कारागारमा सीप सिकाउन पनि उनले धेरै दुःख गरिन् । ‘अरूले खानेकुरा र कपडा बाँड्थे, थुनुवाहरूको पनि त्यही अपेक्षा हुन्थ्यो,’ उनले भनिन्, ‘सीप त सिक्नै नमान्ने । थुनुवा महिला अक्सर अरूको जस्तो हामीलाई पनि खानेकुरा र लुगाफाटो दिनु भन्थे । तर, म खानेकुरा खाएर सकिन्छ, कपडा फाट्छ तर सीप सिक्यौ भने त्यो कहिल्यै मर्दैन भन्थें ।’ महिलामाथि विभेद हुनुको एउटा कारण आर्थिक रूपमा सबल नहुनु पनि भएको उनले बताइन् । त्यसकारण पनि महिलालाई स्वरोजगारमा जोड दिएको उनी बताउँछिन् ।

व्यवसायसँगसँगै इन्दिरा सापकोटा विद्यालय सुधार कार्यक्रममा पनि सक्रिय छन् । गोकर्णेश्वर–३ स्थित ‘ग्राम सुधार आधारभूत विद्यालय’ बन्द हुने अवस्थामा पुगेको थियो । विद्यालय सञ्चालन गर्न नसकेर बन्द हुने अवस्थामा पुगेको सूचना टाँसिएको थियो, त्यो पनि सरकारी विद्यालय । राजधानीको विद्यालय यस्तो अवस्थामा पुग्दा उनको मन विचलित भयो । अभिभावकहरूले फि तिर्न नसकेर विद्यार्थीहरू विद्यालय जान छोडेका रहेछन् । निःशुल्क पढाउने लक्ष्य लिएर उनले ३ कक्षासम्म सञ्चालनमा ल्याइन् । यसका लागि उनले थुप्रै संघसंस्थासँग सहयोग मागिन् । व्यवस्थापन समितिमा बसेर लामो समय काम गरिन् । उनको पहलमा भारतीय दूतावासले भवन निर्माण गरेसँगै विद्यालयको पुनर्जन्म भयो । अहिले आधारभूत तहसम्म पढाइ हुन्छ । ‘यो स्कुलमा माध्यमिक तहसम्म पढाइ भएको हेर्ने ठूलो रहर छ,’ उनले भनिन्, ‘आफूले पुनर्जन्म दिएको विद्यालयको प्रगति होस्, माथि माथि पढाइ होस् भन्ने हुँदो रहेछ ।’

उमरले इन्दिरा ८७ वर्षकी भइन् । २०४२ सालमा श्रीमान्को मृत्युपश्चात् एकल रूपमा व्यवसाय सञ्चालन गरिरहेकी छन् । उद्यमका लागि भवन निर्माण गर्न पनि उनी जुटेकी थिइन् । भारतीय दूतावासले निर्माण गरिदिने वाचा गरे पनि नेपाल सरकारबाट जग्गा पाइनन् । आफूले जन्माएको उद्योग नमरोस् भन्ने इच्छा पूरा हुन नसकेको उनले बताइन् । ‘भवन बनाउन आफूसँग जग्गा छैन, अरूको सहयोगमा बनाउँछु भन्दा पनि नेपाल सरकारले जग्गा नदिँदा सारै दुःख लागेको छ ।’ उनका छोराछोरी उनको व्यवसायमा जोडिएका छैनन् । आफूपछि छोराछोरीले हेरून् भने उनको इच्छा थियो तर छोराछोरी आफ्नै कर्ममा लागेको उनले सुनाइन् । ‘छोराछोरीले आफ्नै तरिकाले गरिखान्छौं भनेकाले मैले पनि कर गर्न सकेकी छैन,’ उनले भनिन्, ‘व्यवसायमा मात्रै होइन, पारिवारिक रूपमा पनि मलाई छोराछोरीको साथ छैन ।’

एकल जीवन बिताए पनि आफ्नो श्रम र सीपले यो उमेरसम्म ऊर्जा भरिदिएको उनी बताउँछिन् । ‘म सधैं आफ्नो सीप र कमाइमा रमाएँ, यो उमेरसम्म कसैसँग हात फैलाएर माग्नु परेको छैन,’ उनले भनिन्, ‘सायद एक्लै रमाउने बानी नै परिसकेको छ ।’ अहिले पनि अफिस र घर गरिरहने उनी बुढेसकालमा कहाँ जाऊँ भन्ने चिन्ता नभएको बताउँछिन् । ‘पछिल्लो समय समाजमा ज्येष्ठ नागरिकलाई संरक्षण र परिवारको माया कम हुन थालेको अनुभव हुन्छ,’ उनले भनिन्, ‘आमाबुबाले छोराछोरीप्रतिको कर्तव्य पूरा गरेझैं छोराछोरीलाई पनि आफ्नो कर्तव्य पूरा गराउन बाध्यकारी कानुन आवश्यक परेको हो कि !’

उनी ज्येष्ठ नागरिकको हकहितका लागि पनि आवाज उठाइरहन्छिन् । वृद्धवृद्धा शब्द प्रयोग नगरी ज्येष्ठ नागरिक शब्द चयनमा आफ्नो पहल रहेको उनी बताउँछिन् । ‘वृद्धवृद्धा भन्ने शब्दले अलि अपमानित गरेजस्तो लाग्यो,’ उनले भनिन्, ‘त्यसैले ज्येष्ठ नागरिक शब्द प्रयोग गर्नुपर्छ भनेर अभियान नै चलाएँ ।’ अहिले ज्येष्ठ नागरिक शब्दले मान्यता पाएकामा खुसी लागेको पनि उनले सुनाइन् ।

व्यवसायमा आफ्नो उत्तराधिकारी नभएको र कानुनअनुसार आफ्नो शेषपछि उद्योग हस्तान्तरण गर्न नमिल्ने भएकाले कर्मचारीलाई नै उद्योग हस्तान्तरण गरिसकेको उनले बताइन् । ‘बाँचुन्जेल आफूलाई हेर्ने अनि मृत्युपश्चात् उद्योगलाई निरन्तरता दिने सर्तमा कर्मचारीलाई नै उद्योग हस्तान्तरण गरेकी छु,’ उनले भनिन्, ‘मेरो योगदान मेरो शेषपछि पनि समाजमा रहिरहोस् भन्ने चाहनाले यस्तो गरेकी हुँ ।’

प्रकाशित : असार २३, २०८१ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×