कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कर्मा पछ्याउँदै कुन्दन

हात समाएर गुरुकुल लैजाने दाइ कर्मा सँगसँगै अभिनय गर्ने भइसके, कुन्दन । उनलाई त अभिनय आफूहरूको रगतमै रहेको आभास हुन्छ । पछिल्लो समय भने दुवै दाजुभाइ काँधमा काँध मिलाएर एउटै फ्रेममा अभिनय गरिरहेका भेटिन्छन् । यी दुईको अभिनयको सहयात्रा, अभिनयप्रतिको भोक र लगाव हेर्दा लाग्छ, कर्मा र कुन्दनको कर्ममै अभिनय लेखिएको छ । 
रीना मोक्तान

काठमाडौँ — भाइ कुन्दनलाई सानै हुँदादेखि हात समाउँदै गुरुकुल डुलाउँथे, कर्मा । कति नाटकका संवाद कुन्दनलाई कण्ठै हुने । नाटक चलिरहँदा संवाद दोहोर्‍याएरै हल्ला गरिदिन्थे, भाइलाई चुप गराउनै मुस्किल हुन्थ्यो कर्मालाई । कर्माले कुन्दनलाई आफ्नो डेब्यु फिल्म ‘सानो संसार’मा पनि यसरी नै डोर्‍याएका हुन् ।

कर्मा पछ्याउँदै कुन्दन

निर्देशक आलोक नेम्वाङ फिल्मको अन्तिम दृश्यका लागि बालबालिकाको खोजीमा थिए । छुट्टीमा घर आएका कुन्दन संयोगले दाइको पहिलो फिल्ममा देखिन पाए । ‘सानो संसार’ मा बास्केटबल कोर्टमा कर्मा र नम्रता श्रेष्ठ अँगालोमा बाँधिरहँदाको एउटा दृश्य छ, केही बालबालिका उनीहरूलाई जिस्काउन आइपुग्छन् । त्यही भीडमा थिए, कुन्दन ।

आफ्नो पहिलो फिल्ममा झट्ट देखिएका ८ वर्षे भाइले कुनै दिन आफ्नो पथ पछ्याउलान् भन्ने कर्माले कहिल्यै सोचेनन् । कर्मा र कुन्दनबीच १२ वर्षको उमेर अन्तर छ । ‘सानो संसार’सम्म त उनी आफैं पनि फिल्मको करिअरलाई लिएर निश्चिन्त थिएनन् । जग जाहेर छ, डेब्यु फिल्मबाट कर्माले चुमेको सफलता र चर्चा । दाइको फिल्ममा अभिनय गरेर पाँच सय कमाएका कुन्दनले भने ‘सानो संसार’ पछि नै अभिनयको संसारतर्फ पाइला चाले । अभिनयमै भविष्य देखेको कक्षा ७/८ तिरै हो । ‘म भविष्यमा कलाकार बन्न चाहन्छु,’ अभिभावक दिवसमा कुन्दनले आफ्नो भविष्यबारे बोल्दै गरेको भिडियो बज्यो । भाइको निर्णयमा कर्मा तीन छक । ‘दुई–दुई जना कलाकार एउटै घरमा ? अलि गाह्रो होला कि भन्ने भएको थियो । भाइले त आफ्नो रहर त्यो भिडियोमा पोखेको थियो । तर, मलाई चाहिँ मनमा लाग्यो, साँच्चै भाइ तिमी अभिनय नै गर्न चाहन्छौ ?’ कर्माले उतिबेलाको कुरा सम्झन्छन् ।

कुन्दनलाई अभिनयको प्रेरणा कर्माबाटै मिलेको हो । बाल्यकालमा कर्माको कोठामा गएर दाइसँगै फिल्म हेरेर बिताउँथे । ‘सानो संसार’ बाट जसरी कर्माको चर्चा चल्यो, त्यसको प्रभाव कुन्दनसम्म आइपुग्थ्यो । विद्यालयका नाटक हुँदै कुन्दनले थिएटरमा नाटक गर्न थाले । दुई दाजुभाइ नै अभिनयतिर लागेपछि बुवाले भनेका थिए, ‘एउटै घरमा दुई कलाकार ?’

कर्मालाई लागेको थियो, उमेरसँगै कुन्दनको रहर फेरिँदै जाला । तर, कुन्दनको रहर त्यही भिडियोमा कहाँ सीमित हुन्थ्यो, त्यसपछि उनी विद्यालयको नाटकमा देखिन थाले । कक्षा ९ मा हुँदा ‘मटिल्डा’मा छोटो चरित्रमा अभिनय गरे । कक्षा १० हुँदा अडिसन दिएरै ‘लायन किङ’ गरे । अभिनयको प्रेरणा कुन्दनलाई कर्माबाटै मिलेको हो । बाल्यकालमा कर्माको कोठामा गएर दाइसँगै फिल्म हेरेर बिताउँथे । ‘सानो संसार’ बाट जसरी कर्माको चर्चा चल्यो, त्यसको प्रभाव कुन्दनसम्म आइपुग्थ्यो । ‘तिम्रो दाइ त सानो संसारको हिरो होइन ?’ साथीहरूले सोध्दा उनी निर्धक्क ‘हो’ भनिदिन्थे । एक पटक कर्मालाई कुन्दनको विद्यालय मल्पीमा प्रमुख अतिथिकै रूपमा स्वागत गरियो । दाइको यस्तो ख्याति देख्दा कुन्दन खुसी हुन्थे, उत्साहित बन्थे । अभिनयकै बाटो रोज्न हौसिन्थे । विद्यालयका नाटक हुँदै कुन्दनले थिएटरमा नै नाटक गर्न थाले । दुई दाजुभाइ नै अभिनयतिर लागेपछि बुवाले भनेका थिए, ‘एउटै घरमा दुई कलाकार ?’

भाइको अभिनयप्रतिको लगाव दाइ कर्माले नबुझ्ने कुरै भएन । ‘उसले अभिनय गर्छु है भन्दा म पनि खुसी भएको थिएँ । तर मलाई पनि अभिनय नै किन ? निर्देशन छ, सिनिमेटोग्राफी छ भन्ने लागेको थियो । तर, उसले अभिनयमा यस्तो रहर देखायो कि, हामीलाई पनि उसको रुचि अभिनय नै हो भन्ने लाग्दै आयो,’ छेउमा बसेका कुन्दनतर्फ हेर्दै कर्माले भने । अहिले त कर्मा, कुन्दनको अभिनयलाई लिएर निकै गर्व गर्छन् । भाइको नाटक मञ्चन हुँदा उनी बढी दौडधुप गरिरहन्छन् । दर्शकलाई स्वागत गर्नेदेखि मञ्चमा भएको भाइलाई सहयोग गर्न उनलाई भ्याइनभ्याइ हुन्छ । आँखैअघि हुर्केको भाइलाई अभिनयमा हुर्कँदै गरेको देख्नु कम्ता खुसीको विषय होइन ।

यसअघि दाइ मञ्चमा हुँदा कुन्दन सक्दो खटिन्थे । सन् २०१६ तिर दाइलाई मद्दत गर्ने क्रममै कुन्दनले नाटक ‘लिटल प्रिन्स’मा अडिसनको मौका पाएका हुन् । नाटकमा यी दाजुभाइ एउटै मञ्चमा देखिएका थिए । त्यही नाटक हेरेपछि बुवा पनि कुन्दनको अभिनय करिअरलाई गम्भीर भएर हेर्न थाल्नुभयो । ‘लिटल प्रिन्स’मा कर्मा ‘प्रिन्स’ बनेका थिए । नाटकमा सलिल सुवेदीदेखि रेमन दास पनि थिए । विद्यालयमा नाटक गर्दै हुर्केका कुन्दन दाजुको रिहर्ल्सल नछुटाई हेर्थे । रिहर्सलमा पुग्दा धेरै पटक स्क्रिप्ट स्मरण गराउन दाजुलाई सहयोग गर्थे । चिया/खाजा मगाउनुपर्दा त्यसमै पनि सघाइदिन्थे ।

दाजु मञ्चमा हुँदा उनी दर्शकदीर्घामा बसेर स्क्रिप्ट हेरिदिन्थे । त्यहीबेला म्याडम सविना लेमनले एउटा हाँगा दिएर, त्यही प्रप्सको प्रयोगमा कुन्दनलाई सर्प बन्न लगाए । सर्पजस्तै बस्न लगाए, अनि सर्पकै शैलीमा जिब्रो चलाउन लगाए । कुन्दनले त्यही गरिदिए, अनि उनी सर्प चरित्रका लागि छनोट भए । सर्प चरित्रमा कुन्दनले गरेको अभिनय देखेपछि नै हो, कर्मालाई भाइको अभिनय क्षमतामाथि विश्वास लागेको । ‘नाटक मञ्चनको पहिलो दिन नै कुन्दनले वाहवाही पायो । मलाई लागेको थियो, मेरो भाइ फुच्चे देखेर मन पराइयो होला । तर, त्यसपछि अधिकांश नाटक समीक्षाहरूमा उसको अभिनयको तारिफ नै तारिफ, म दंग । तर सर्प बन्न उसले धेरै मिहिनेत गरेको थियो,’ कर्मा भाइसँग एउटै मञ्चमा काम गर्दाको अनुभव सुनाउँछन् ।

‘लिटल प्रिन्स’ लगत्तै यी दुई अर्को नाटक ‘आर्ट’मा देखिए । नाटकमा कर्माको चरित्र, व्यवसायी । कुन्दन डिजे, रेमन डेन्टिस्ट । डेन्टिस्ट पात्रले एक दिन एउटा चित्रकला किन्छ, सेतो रंग मात्रै पोतिएको सामान्य लाग्ने त्यो चित्रकलाको मूल्य लाखौं । त्यही चित्रकलामाथि यी पात्रहरू छलफल गरिरहन्छन्, घोत्लिरहन्छन् । यो नाटकमा पनि डिजे चरित्रबाट कुन्दनले धेरै चर्चा पाए । ‘लिटल प्रिन्स’पछि कुन्दनले ‘वान वर्ल्ड थिएटर’को ‘गोल्डेन ब्वोइ’ र ‘द थ्री सिस्टर्स’मा पनि अभिनय तिखार्दै ल्याए । ‘आर्ट’सम्म आइपुग्दा कुन्दनको तिखारिएको अभिनय हेर्दा कर्मा पनि अवाक् । ‘दह्रो चुनौती दिइरहेको छ केटोले भन्ने पनि लाग्यो । नाटकमा संवाद लामा–लामा थिए ।

‘आर्ट’ सम्म आइपुग्दा उसले आफूलाई प्रमाणित गर्‍यो,’ कर्मा सुनाउँछन् । केही समयअगाडि कुन्दनले गरेको एकल प्रस्तुतिमा कर्मा गर्विलो अनुभव गर्छन् । ‘रेड पिटर’ शीर्षकको यो नाटकमा कुन्दनले सोचेभन्दा राम्रो अभिनय गरेको प्रतिक्रिया दिन्छन्, कर्मा । खासमा यो नाटक १० वर्ष अघिदेखि नै गर्ने कुरा थियो । एउटा कलाकारलाई यस किसिमको चरित्रमा अभिनय गर्ने लोभ हुन्छ नै, कर्मा यो नाटक गर्न चाहन्थे । तर, अन्तमा कुन्दनको भागमा पर्‍यो ।

कुन्दन र कर्माका अभिनयका आ–आफ्नो शैली छन् । कर्मा, आफू र भाइको अभिनयमा कुनै समानता भेट्दैनन् । कुन्दनलाई भने कहिलेकाहीं आफूले नजानिँदो ढंगले दाइकै ‘म्यानरिज्म’लाई समातिरहे झैं लाग्ने रहेछ । संवाद सम्झने पक्षमा भने कुन्दनले आफूलाई उछिनिसकेको स्वीकार्छन्, कर्मा । कर्मालाई लामा संवाद कण्ठ गर्न समय लाग्छ, कुन्दन संवादलाई तुरुन्तै सम्झिदिन्छन् । थिएटरमा हुर्कंदै आएका अहिलेका कलाकारलाई पर्दामा देखिन हतारो देखिन्छ । तर, कर्माले त्यो हतारो कुन्दनमा देखेका छैनन् ।

थिएटर हुँदै फिल्ममा पाइला चालिसकेका कुन्दनलाई कुनै समय सामाजिक सञ्जालको चर्चाले एकाएक फिल्म गरेको देख्दा खिन्न बनाउँथ्यो । दुई महिना रिहर्सलमा समय खर्चेर नाटक गर्ने, कुन्दन । तर, बिनासंघर्ष रातारात फिल्म गरेर, चर्चा कमाउँथे अरू । त्यस्ता व्यक्तिहरू चर्चामा पुगेको देख्दा उनलाई आफूले गरेको संघर्ष खेर गइरहेको त छैन ? भन्ने लाग्थ्यो । तर, विस्तारै लामो साधनाले ल्याउने नतिजा सम्झँदै उनले आफ्नो मन बुझाए । कर्माले ‘शाम्बाला’मा गरेको अभिनयले उनलाई बर्लिन फिल्म फेस्टिभल पुर्‍यायो । क्षणिक रमाइलो र पैसा कमाउनका लागि भन्दा पनि अभिनयमा परिपक्व बन्न कसरत गरे भविष्यमा यस्तो उपलब्धिले आफूलाई पर्खनेमा उनी विश्वस्त छन् ।

कर्मा पनि ‘अभिनयमा धैर्यता चाहिन्छ’ भन्दै भाइलाई सम्झाइरहन्छन् । उनी करिअरको ‘अप्स एन्ड डाउन’तिर टाउको दुखाउनुको साटो अभिनय कला तिर्खानमै कलाकारले अभ्यास गर्नुपर्ने सल्लाह दिन्छन् । ‘आफ्नो कला पस्किरहनुपर्‍यो । यदि तिमी सधैं आफ्नो अभिनय कलामै तिखार्ने कोसिसमा छौ भने दायाँबायाँ हेरिरहनुपर्दैन । कुन बेला माथि पुगिन्छ, कुन बेला तल झरिन्छ भनेर चिन्ता लिनुपर्दैन, त्यो त दर्शक र मिडियामै भर पर्ने कुरा हो । तर, आफूले सक्दो बेस्ट दिइरहनुपर्‍यो,’ कर्माले कुन्दनको ढाँड थपथपाउँदै भने । ‘सायद सिँढीहरू चढ्नु पनि राम्रै हो,’ कुन्दनले दाइतर्फ हेर्दै भने । कर्माको भन्दा अब्बल अभिनय गर्नुपर्छ भन्ने तनाव लिएनन् उनले ।

अभिनयमा उनले आफ्नो शैली पक्रिसके । ‘दाइले भन्दा राम्रो गर्नुपर्छ भन्ने तनावमा अभिनय गर्ने भन्दा पनि आफूले सक्दो राम्रो अभिनय गर्नुपर्छ भन्ने लाग्छ,’ कुन्दन भन्छन् । उनलाई लाग्छ, फिल्म क्षेत्रमा सबै जना प्रतिस्पर्धा गर्न नै आइरहेका छन्, यो क्षेत्रमा टिक्न चतुर तरिकाले काम गर्दै अगाडि बढ्नुपर्छ । ‘फिल्म क्षेत्र नै तपाईंको सबैथोक हो भनेर हिँड्नु पर्दैनजस्तो लाग्छ,’ उनी भन्छन्, ‘स्वच्छ मनले कला नै गर्छु भन्ने हो ।’ कर्मा र कुन्दनका हजुरबुवा ल्हासाका व्यापारी, बुवा होटल व्यवसायी । तर, यी दुईको मन व्यवसायतिर कहिल्यै ढल्केन । विद्यालय छुट्टी हुँदा ‘मोमो किङ’को क्यास काउन्टरमा बस्थे, कर्मा । त्यहाँ आइरहने ग्राहकसँग गफिन कर्मालाई असाध्यै मनपर्ने । ग्राहकले दिने पैसातिर कहिल्यै चासो देखाएनन् । उतिबेलैदेखि व्यवसाय उनको रोजाइ बनेको थिएन भन्ने लाग्छ, कर्मालाई ।

अब, दुई छोराले अभिनय नछाड्ने देखेपछि व्यवसायी बुवा नै फिल्मतिरको लगानीमा ढल्किएका छन् । बुवाले छोराका लागि केही लघु फिल्महरूमा लगानी सुरु गरिदिएका छन् । नयाँ बन्ने ‘रेसम फिलिली’ देखि केही नाम चलेका फिल्महरूमा लगानीको हात अगाडि बढाइसके । बुवाको यही साथले आफू अब निर्माताका रूपमा देखिने बताउँछन् कर्मा । ‘भविष्यमा हामी अभिनयमा मात्रै देखिरहँदैनौं होला । कुन्दन लेखनमा र मलाई निर्देशनमा पनि देख्न सक्नुहुन्छ । या त निर्माणमा पनि देख्न सक्नुहुन्छ । मेरो पत्नी पनि कलामै हुनुहुन्छ । अब परिवार नै यो क्षेत्रमा हुन्छौं,’ हाँस्दै कर्माले सुनाए ।

कुन्दनलाई त अभिनय आफूहरूको रगतमै रहेको आभास हुन्छ । ‘सानो संसारदेखि लुटसम्म आइपुग्दा दाइको करिअर शिखरतर्फ लम्किरह्यो । त्यतिबेला मलाई अभिनय त हाम्रो रगतमै छ कि ? भन्ने लागिसकेको थियो,’ छेउमा बसेका कर्मातर्फ हेर्दै कुन्दन मुस्कुराए । हात समाएर गुरुकुल लैजाने दाइसँगसँगै अभिनय गर्ने भइसके, कुन्दन । घरकै कलाकारले उनलाई कलाकारितामा डोर्‍याए । अहिले काँधमा काँध मिलाएर एउटै फ्रेममा यी दुई अभिनय गरिरहेका भेटिन्छन् । यी दुईको अभिनयको सहयात्रा, अभिनयप्रतिको भोक र लगाव हेर्दा लाग्छ, कर्मा र कुन्दनको कर्ममै अभिनय लेखिएको थियो ।

प्रकाशित : जेष्ठ २४, २०८१ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x