३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

समकालीन कान्छी कलाकार शुपला

समकालीन फिल्मकी कान्छी कलाकार शुपला सापकोटालाई उनका शिक्षकहरू अहिले ‘जुनु’ भनेर सम्बोधन गर्छन् । साथीहरू पनि कानमा सुटुक्क ‘ओइ जुनु, आइज खेल्न जाउँ ’ भन्छन् र खेल–मैदानतिर दौडिन्छन् । उनलाई यो परिचय भने ‘बोक्सीको घर’ फिल्मले दिएको हो । 
दीपक सापकोटा

काठमाडौँ — त्यसपछि जुनु भइन्– शुपला । समकालीन फिल्मकी कान्छी कलाकार शुपला सापकोटालाई उनका शिक्षकहरू अहिले ‘जुनु’ सम्बोधन गर्छन् । साथीहरू पनि कानमा सुटुक्क भन्छन्, ‘ओइ जुनु ! आइज खेल्न जाउँ ।’ र, ती खेल–मैदानतिर दौडिन्छन् । 

समकालीन कान्छी कलाकार शुपला

‘बोक्सीको घर’ मा आफ्नो जुनु–अवतार हेरिरहँदा शुपलालाई लाग्यो– फेरि जाउँ त्यो बूढो पीपलबोटमा र उसैगरी खेलिबसौं रोटेपिङ । फिल्ममा आफ्नै विवाह भइरहेको, रुँदै–रुँदै आमासँग बिदा हुनुपरेको दृश्यले शुपलालाई काभ्रे–रोशीको त्यही गाउँ पुर्‍यायो, जहाँ उनले बालापनका केही स्वर्णिम समय बिताएकी थिइन् । फिल्ममा शुपलाको भूमिका छ– सानी दुलहीको । ९ वर्षकै छँदा जुँगामुठे मानिससँग विवाह गर्नु, बुहारी बन्नुले उनको जीवनलाई एक कोणबाट अर्को कोणमा पुर्‍याइदिएको छ । तर, उनलाई बोध छैन– विवाह हुनुको अर्थ र त्यसका सामाजिक बुहार्तन । सानी छोरीलाई आफ्नै काखमा राख्न चाहने आमाको रहरमा पहिरो गएको छ । उनी पीडाको गहिरो तालमा पौडिइरहेकी छन् ।

विवाहपछि दुलहीको ‘जुँगे–दाइ’ जुनुलाई श्रीमतीझैं व्यवहार गर्छ । त्यसपछि उनको मनमा प्रश्न उठेको छ, ‘मलाई किन जुँगे दाइले माया नै गर्दैन ?’ उनकी आमा भन्छिन्, ‘अब तँलाई उसले सधैं त्यसैगरी माया गर्छ ।’ फेरि जुनुको प्रश्न छ, ‘बाबाले पनि तपाईंलाई त्यसैगरी माया गर्नुहुन्छ ?’

विवाहपछि स्कुल छुट्छ, आकाशे सर्ट र नीलो फ्रक छुट्छ, साथीहरू छुट्छन्, लुकीडुम छुट्छ, खर्ल्याङखुट्टी, कापी–किताब–कमल सबै छुट्छ । एक बालिका अचानक घर–व्यवहारमा पसेपछि असलमा उसको एउटा सिंगै बालापन छुट्छ । पत्रकार बन्ने उनको रुमानी सपना कतै टाढा पुग्छ, आमासँगका सुन्दर साँझ–रात छुट्छन् ।

जुनुको जिन्दगीको कथा बदलिन्छ, जीवनमा प्रवेश गर्छ– आदिम दुःखहरू, ठूलो डोको–गाग्री, रातो धोती, तिलहरी, चुरा–पोतो र ‘जुँगे–दाइ’ को यातना । तर, शुपलालाई जुनु–जीवनको लोभ छ किनभने फिल्ममा उनले जे भूमिकामा अभिनय गरिन्, त्यो उनका लागि केवल एउटा ‘रोल’ थियो । सुटिङका ती दिन उनलाई उही पहिलेका रमाइला र स्कुलमा प्रिय साथीहरूसँग खेलेका दिनझैं लाग्छ । उनले त्यसअघि कहिल्यै नसिकेका कुरा त्यो फिल्मको सुटिङमा सिकिन्– जस्तो कि, क्यामरा फेस, टेक, कट, एक्सन इत्यादि ! मातातीर्थ औंसीको दिन निधारमा रातो टिको लगाएकी शुपला सुटिङका ती दिन सम्झिन्छिन्, ‘गाउँमा मैले नयाँ आफन्त भेटें, नयाँ साथीहरू भेटें ।’

तर, समय त पाङ्ग्रा हो, चाहेरै पनि सुटिङ–समय अर्थात् ३ वर्षअघिका ती दिनमा उनी फर्किन सक्दिनन् ।

दुई दिनअघि मात्रै शुपलाले १३ औं वर्ष प्रवेशको बर्थ–डे मनाइन् । मानिसका शुभकामनाले हर्षित उनको हिजो–अस्ति र ‘बोक्सीको घर’ रिलिज पछिका दिन पूरै फेरिएका छन् । जस्तो फिल्म रिलिज हुनुअघि उनी स्कुल जान्थिन्, घर फर्किन्थिन् । र, त्यही दैनिकी दोहोरिन्थ्यो । अहिले स्कुल–घर मात्रै होइन, पोडकास्ट र टेलिभिजनमा अन्तर्वार्ता दिन पनि पुगिरहेकी हुन्छिन् । धापासी बस्ने उनको स्कुल–बाटोमा फ्यानहरू भेटिन्छन् । भन्छन्, ‘आम्मै कत्ति राम्रो अभिनय गरिछौ नि शुपला ।’ उनकी सखी प्रितीले ‘बोक्सीको घर’ को शीर्ष–गीत ‘बुझिन मैले, बुझाइदेऊ कसैले’ मा डान्स नै गरिन् कक्षामा । फिल्म हेरेर रोए साथीहरू । तिनको प्रतिक्रिया थियो, ‘सँगै बेञ्चमा बस्ने साथी कसरी यस्तो अभिनय गर्ने भइन् ?’

शुपला पढ्ने जेबी स्कुल, बुढानीलकण्ठबाट प्रिन्सिपल र सबै साथीहरू उनको पहिलो फिल्म हेर्न सिनेमा–घर पुगेका थिए । उनी ८ कक्षा पढ्छिन् । शिक्षक–साथीहरूले भने– ‘एकदम राम्रो छ, अझै राम्रो गर्नु ।’ यसरी अचानक मानिसहरूले आफूलाई ‘रेस्पोन्स’ र प्रशंसा गरिरहँदा शुपलामा अभिनयप्रतिको आत्मविश्वास वृद्धि भएको छ ।


‘बोक्सीको घर’ प्रिमियर हुनु महिना दिनअघि नै अति उत्साहित उनी दिनगन्ती औंला भाँचिरहेकी थिइन् । प्रिमियरको अघिल्लो रात उनको सपनामा उही गाउँ आयो । र, आयो त्यो जुनु–निवास अर्थात् पीपलको बोट, जहाँ शुपलाले एक महिनासम्म क्यामराअघि अभिनय गरेकी थिइन् । शुपलाको सपनामा फिल्ममा देखाइने रातो–सेतो साडी बाँधिएको, एकान्तको त्यो एक्लो पीपल बोटअघि चियापसल खुलेको थियो । उनको सपनामा मान्छेहरू पीपल–चौतारी वरिपरि बसेर चिया खाइरहेका थिए । ‘निकै लामो समय बित्यो, त्यो पीपल–बोट उस्तै छैन भन्ने कतै लागेर त्यस्तो सपना आयो कि ?,’ शुपला भन्छिन् । र, प्रिमियर–सो हेरिरहँदा उनलाई प्रत्येक सिनमा ‘त्यो जुनु म होइन कि’ भन्ने लागिरह्यो । ‘मेरो उमेर बढेर त्यस्तो लागेको हो कि ?,’ परिपक्व सुनिइन् शुपला ।


कक्षा ४ मा पढिरहँदा, ३ वर्षअघि एक महिना स्कुल बिदा लिएर सुटिङमा पुगेको त्यो समयको साह्रै मसिना स्मृति पनि दुरुस्तै सुरक्षित छन् शुपलासँग । सुटिङको पहिलो दिन कस्तो हुने हो ? डाइरेक्टरले के भन्ने हुन् ? कति टेक खाइने हो ? फिल्मका बालसखा को–को होलान् ? यस्ता जिज्ञासा थिए ती बालिकासँग । ती दिन खुब याद आउँछन् उनलाई– सुटिङ स्थलमा शुपला एक्टिङ गर्थिन्, नाच्थिन्, गाउँघरतिर सुनिने भूतका कथा सुन्थिन् ।

पीपलबोटमा एउटा रोटेपिङ छ, जहाँ जुनु सेतो–रातो साडीमा बसेकी हुन्छिन् । त्यो दृश्यको सुटिङमा एक रात पूरै खर्च भएको थियो । साँझ ७ बाट सुरु भएको सुटिङ बिहान ७ बजेसम्मै लम्बियो । त्यो दृश्यमा जुनुको शरीरमा पानी खन्याउनुपर्ने थियो । जाडो भएपछि सुटिङ–अवधिमै उनी एकछिन छेउमै बालिएको आगोनेर ढल्किएकी थिइन् । त्यो सिनमा उनलाई किन पनि गाह्रो भयो भने दिउँसो एउटा अग्लो आली चढ्न नसकेर ‘घाँस समाएँ भन्दा सिस्नो समाउँदा’ हात पोलेको थियो । तर, अहिले सम्झिँदा त्यो उनका लागि अभिनय–आनन्द थियो ।

सुटिङअघि उनले कहिल्यै साडी लगाएकी थिइनन् । त्यसबेला ‘बेहुली’ बन्दा खुब रमाइलो लागेछ । भन्छिन्, ‘साडी लगाउँदा त त्यहीँ नाचिदिउँजस्तो लागेको थियो ।’ फिल्ममा वर्षौंपछि गाउँ फर्किरहेको बालसखा रविलाई जुनु भन्छिन्, ‘म जिन्दगी पढ्दै छु । जीवनमा पीडाहरू मात्रै होइन, मिठा पीडाहरू पनि हुँदारहेछन् । तँसँग भेट नभएको भए जाती हुने, भेट भइहाल्यो, आज फेरि नयाँ कुरा पढें ।’

जुनुले बोल्ने अर्को भव्य संवाद छ, ‘मलाई रातसँग डर लाग्दैन, तर ती मस्तिष्कहरूसँग डर लाग्छ, जो रातसँग ब्युँतिने राक्षसहरूसँगै ब्युँतिन्छन् ।’ यो संवादको ‘मस्तिष्क’ शब्दमा शुपला कति अल्मलिइन् भने त्यो शब्द सही उच्चारण गर्नै उनले ३ दिन मिहिनेत गर्नुपर्‍यो । गाउँमा भेटिएका अन्य बालकलाकारसँग बसेर शुपलाले रिहर्सल गरिन् । ‘त्यो रिहर्सलले ती नयाँ साथीसँग नजिक बनायो, खुब रमाइलो भएको थियो,’ शुपला भन्छिन् ।

शुपलाको बुझाइमा अभिनय भनेको हाम्रो दैनिक क्रियाकलापजस्तै हो । ‘जेजस्ता काम–क्रियाकलाप हामी दिनदिनै गर्छौं, त्यो जस्ताको तस्तै क्यामराअघि प्रस्तुत गर्नु रैछ अभिनय,’ उनी भन्छिन्, ‘मान्छे जसरी बाँच्छ, त्यस्तै गर्नु अभिनय हो ।’

यो फिल्म खेलेपछि उनको मस्तिष्कबाट केही अन्धविश्वास हटेको छ । उनले थाहा पाइन्– बोक्सी भन्ने हुँदैन र मान्छेले आफ्नो गल्ती लुकाउन कोही महिलालाई बोक्सी भनिदिन्छन् । उनले समाजको अर्को पक्ष पनि थाहा पाइन्– यो समाज एकदमै अन्धविश्वासी छ । ‘जनचेनता फैलाउने फिल्म बनाउने र कविता लेख्ने हो भने त्यो अन्धविश्वास हटाउन सकिन्छ,’ शुपला भन्छिन् ।


शुपलाका बुबा हुन्– फिल्म र नाटकका नामी कलाकार भोलाराज सापकोटा । छोरीलाई नाटक हेर्न थिएटर लैजान्थे, फिल्म–सुटिङमा पनि लिएर गइरहन्थे । शुपलाले पहिल्यै एउटा म्युजिक भिडियोमा अभिनय गरेकी थिइन्– ओइलियो फूलको थुङ्गो । ‘सायद सानैदेखि छोरीलाई नाटक–फिल्म हेर्ने बानी लागेकाले अभिनयमा उनको रुचि बढ्यो,’ छोरीको बानी र इच्छाबारे भोलाराज भन्छन्, ‘ऊ इमानदार छ, कसैले पैसा दिए पनि नलिने स्वभावकी । अभिनय भनेपछि मरिहत्ते गर्ने । जस्तो कि ज्वरोले ओछ्यानमा सुतिरहँदा पनि स्कुलको अभिभावक दिवसमा नाटक देखाउनुपर्ने छ भने उठेर स्कुल गइहाल्थिन् । सोझी छ, हरेक काम हामीलाई सोधेर गर्छिन् ।’

‘स्कुलमा नाटक हुँदै छ’ भनेपछि नोटबुकमा के–के कोरिरहन्थिन्– सिन लेख्नु, त्यसैमाथि सोच्नु शुपलाको स्वभाव हो । शुपलालाई बुबाले खेलेको ‘हेम्लेट’, ‘हिउँभन्दा चिसो’ नाटक खुब मनपर्छ । ‘हिउँभन्दा चिसो’ को संवाद कर्णाली–लबजसहित कण्ठ थियो उनलाई ।

शुपलालाई गीत गाउन रुचि छ, डान्समा पनि । स्कुलको डान्स कम्पिटिसनमा बरोबर भाग लिन्छिन् । घरमा एक्लै हुँदा ऐना हेर्छिन्, साडी लगाउँछिन् र अनेक हाउभाउसहित संवाद बोलिरहन्छिन् ।

भोलाराजको बुझाइमा अभिनय राम्रो गरेर मात्रै हुँदैन, यसमा दुःख छ र कमाइ पनि छैन । भन्छन्, ‘त्यसैले छोरी अभिनयमा नआइदिए हुन्थ्यो भन्ने लाग्थ्यो, तर यो फिल्म हेरेपछि अब त लाग्छ– उसको रुचि नै ठूलो सपना हो हाम्रा लागि ।’

‘बोक्सीको घर’ को अडिसनमा शुपलाले कक्षा–पुस्तकमा पढेको एउटा कविता वाचन गरेकी थिइन्–

जूनभन्दा राम्री छिन्, फूलभन्दा राम्री

सबैभन्दा राम्री त यिनै आमा हाम्री

दूध खुवाइ तेते लगाइ बनायौ है ठूलो

यिनीभित्र छैन कुनै छलछामको दुलो

आमालाई खुसी पार्न गरौं राम्रो काम

गुच्चा–तास नखेलेर अब पढ्न जाम

कविता सुनाएपछि फिल्ममा छनोट भएकी शुपलालाई फिल्म खेल्नुअघि ‘भविष्यमा डाक्टर बन्छु’ भन्ने थियो । तर, अबको उनको छनोट हो– अभिनय ।

शुपलाको अर्थ हुन्छ– शुभ पल । नदीको कञ्चन पानी जत्तिकै सङ्लो हृदय हुन्छ बालबालिकासँग । ‘एसईईपछि एक्टिङ पढ्छु । नाटक र फिल्ममै अघि बढ्नेछु,’ उनी भन्छिन् ।

प्रकाशित : वैशाख २७, २०८१ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?