३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

आन्दोलनकारी आमा

शेखरकी आमा नोनाले आन्दोलनकै नाममा जीवन उत्सर्ग गरिन् । त्यही गोरेटो हिँडिन्– निःस्वार्थी भाव र आत्मविश्वासले भरिएर । आन्दोलन र क्रान्तिको बाटो अनेकौं पटक हिँडे– शेखर कोइराला पनि । सम्भवतः आमाले हिँडेको बाटोको सबैभन्दा बढी साक्षी भए उनी । 
दीपक सापकोटा

जिन्दगीमै स्थायी बसोबास भएन, नोना कोइरालाको । आन्दोलनको बाटो हिँडेकी उनको थातबास भन्नु नै जेल, प्रवास र कोइराला निवास– विराटनगर । आन्दोलन र क्रान्तिको बाटो अनेकौँपटक हिँडे– शेखर कोइराला पनि । सम्भवतः त्यही बाटोको सबैभन्दा बढी साक्षी भए उनी । किनभने शेखरकी आमा नोनाले आन्दोलनकै नाममा जीवन उत्सर्ग गरिन् । त्यही गोरेटो हिँडिन्– निःस्वार्थी भावले, आत्मविश्वासले भरिएर । त्यसैले आन्दोलन शेखर हिँडेको सर्वाधिक स्मरणीय बाटो हो । 

आन्दोलनकारी आमा

घुर्मैला साँझहरूमा टोल्हाइबस्दा सूर्यझैं मुस्कुराइरहने गोरो अनुहार, निधारको कालो टीका, मृदुभाषी, शान्त र मिलनसार आमा नोनाको विम्ब ओहोरदोहोर गर्छ, शेखरको मस्तिष्कमा । त्यो विम्बले शेखरलाई सम्झनाका गहिरा सागरमा बेलाबेला सयर गराउँछ । जिन्दगीमा केही सपना देखेका थिए, शेखरले । दूरदूरसम्म हेरिरहेका शेखरका आँखामा सपना खाँदाखाँद भरिदिएकी थिइन्, आमा नोनाले । शेखरलाई शान्त र स्वप्नदर्शी हुन सिकायो, नोनाकै संघर्षले । शेखर र शेखरहरूको स्कुल अनि पुस्तकालय थिइन्– नोना । उनी थिइन्– सम्पूर्ण कांग्रेसकी आमा ।

शेखर निर्वाचित सांसद छन् र कांग्रेसका केन्द्रीय सदस्य पनि । एक समय कोशी अञ्चल अस्पतालका इन्चार्ज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति थिए । शेखरको डाक्टरी र राजनीतिक जीवनको आधारभूमि, सिकाइ, सिर्जनात्मकता, बुझाइ र निष्कर्षहरूको एक भव्य मुहान कोही थिइन् भने उनकी आमा नोना थिइन् । शेखर आफ्नो बाल्यकाल र हिँडिआएको बाटोतिर फर्किहेर्छन् । त्यहाँ देखिन्छ– एक अत्यन्तै शान्त र धीरतासाथ छोरालाई जिन्दगी, आन्दोलन र क्रान्तिको कथा सुनाइरहेकी एक आमाको चित्र ।

असलमा राजनीतिकी ‘नोना भाउजू’ र ‘नोना आमा’ को खास नाम रहेछ– सुधा । उनका पिताले एउटा रुसी फिल्म हेरेछन् । फिल्ममा ‘नोना’ नामकी जुझारु र संघर्षशील नारी पात्र थिइन्, जो निडर, स्पष्ट र साहसी पनि थिइन् । त्यसपछि पिताले सुधाको नाम राखिदिए– नोना । भने, ‘त्यस्तै साहसी र निडर बन्नु है छोरी ।’ दुःख र दुनियाँका आँसुले विस्मित थिइन्– नोना । नेपाली समाजको पिँध पढेकी उनमा थियो, आफू बाँचिरहेको साम्राज्यमाथिको आक्रोश । नोनाको जिन्दगीको उकाली–ओरालीमा उनीसँगै यात्रा गर्दा थाहा लाग्छ– एक राजनीतिक आमाको भयंकर संघर्ष । जीवन बाँच्ने महाभाष्य वा हिँड्ने बाटो केवल संघर्ष र सेवा बनाइन्– नोनाले । र, राजनीतिकै आकाशमा रमाइन्, जहाँ थिए– जेल–नेल, मसाल जुलुस, धर्ना–हड्ताल...।

***

जब त्यो दिन र ती दिन सम्झिन्छन् शेखर, एकनासको स्मृतिले छोप्न थाल्छ, मानौं त्यो उनको निर्वासन थियो । शब्दविहीन टोल्हाइरहेका थिए शेखर, त्यो दिन अस्पतालमा । १० वर्षका शेखर शान्त भवन अस्पताल (हाल पाटन अस्पताल) भर्ना भएका थिए । उनको घाँटीको अप्रेसन भएको थियो । रातोदिन छोराको स्याहारमा थिइन्– आमा नोना । अप्रेसनको भोलिपल्ट तत्कालीन प्रधानमन्त्री बीपी कोइराला आए अस्पतालमा । नोनासँग सोधे– कस्तो छ शेखरलाई ? उनले भनिन्– ठीकै छ सान्दाजु । लामो निश्वाससँगै बीपीले भने, ‘नोना, आज केही गडबड हुन्छ होला, सायद समात्छन् होला महेन्द्रले । शेखरको ख्याल राख्नु ।’

नोनालाई यत्ति भनेर शान्त भवनबाट निस्केका बीपी त्यही दिन पक्राउ परे– तरुण दलको कार्यक्रममा । अप्रेसन र त्यसपछिको लामो सन्नाटा ∕ होसमा आउँदा शेखरसँग अस्पतालमा बहिनी कल्पना मात्रै थिइन् । शेखरकी आमा नोनाले सन्देश छोडेकी थिइन्– ‘बाबु तँ ठीक भइहाल्छस् अब । तर, देश ठीक छैन बुझिस् ∕ सान्दाजु आज समातिनुभयो, म जान्छु आन्दोलनमा ।’ अप्रेसनले भर्खरै बौरिँदै गरेको सानो बिरामी छोरा अस्पतालमै छाडेर आन्दोलनमा हिँडिसकेकी थिइन्, नोना । अचेत थिए शेखर– चेतनाशून्य । आमा हिँडेपछि चारैतिर अँध्यारो देखे उनले । मनमा विचार आउजाउ गर्थे– म बिरानो अस्पतालमा घाइते छु, आमा मलाई छाडी हिँड्नुभएको छ ।

‘वास्तवमा मलाई सधैं खट्किने विषय हो यो– छोराको अप्रेसन भएको छ, आमा आन्दोलनमा हुनुहुन्छ । मलाई बेहोस् छोडेर जाने मेरी आमा कस्तो होला भनेर साह्रै नराम्रो लागेको थियो,’ शेखर इतिहासको त्यो विरक्तिलो दिन सम्झिन्छन्, ‘तर पछि बुझें– मेरी आमा घर–परिवारभन्दा प्रजातन्त्र र राष्ट्रलाई बढी माया गर्नुहुँदो रहेछ । र, प्रजातन्त्रका लागि आमाले महान् काम गर्नुभएछ ।’ धेरैपटक शेखरले आमा नोनासँग आफूलाई अस्पतालमा छाडिहिँडेको त्यो घटना सम्झाए । ‘तपाईं मलाई माया गर्नुहुँदोरैनछ नि,’ भनेर जिस्क्याइरहे । नोनाले हाँस्दै जवाफ फर्काइरहिन्– कति भन्छस् हँ एउटै कुरा ?’

तर, त्यो दिनपछिका लामा वर्षहरू शेखरका लागि साँच्चै बेरसिलो भने । आमाबिनाको बाल्यकाल कहाँ रसिलो हुन्छ र ? अब आमाबिनाका शेखरका ती दिनका स्मृतिमा पसिहेरौं । आफैंले प्रत्यक्ष शासन चलाउने मोहमा राजा महेन्द्रले २०१७ साल पुस–१ मा जननिर्वाचित सरकार अपदस्थ गरी राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाए । र, एकतन्त्रीय शासन चलाए । बीपी पक्राउ परेको त्यही दिन थियो, आमाले शेखरलाई छोडी हिँडेको पनि त्यही दिन ।

त्यसपछि के भयो ? ‘जेल जर्नल’ मा बीपीले लेखेका छन्, ‘आजको सैनिक शासनमा जब कसैलाई चुँइक्क बोल्ने साहस छैन, नोना र अरुहरूले मिलेर वर्तमान व्यवस्थाको खिलाफ आवाज उठाउँछन् र जुलुस झिक्छन् । जे होस् मलाई रातभरि नोना र कुन्दनहरूको सम्झना भो । दुवै दुब्ली, कमजोर लड्की, उनीहरूमाथि के कस्तो अत्याचार भयो होला ?’ ०१७ को महेन्द्र–‘कु’ पछि अस्पतालबाट हिँडेको साँझ नोना भूमिगत भइन् । पुलिसले उनको व्यापक खोजी गरिरहेको थियो ।

नोना अचानक फागुन १२ मा सडकमा प्रकट भइन् । कुन्दन शर्मा, शैलजा आचार्य, नोनाहरूको नेतृत्वमा महेन्द्रको ‘कु’ विरुद्ध सडक–आन्दोलन भयो । नोनालाई सडकमै क्रूर ढंगले पक्राउ गरियो । आन्दोलनमा ७० जना महिला थिए । ‘इन्कलाब–जिन्दावाद’ नारा लगाउँदै इन्द्रचोकबाट नयाँसडक पुग्दा पुलिसले नोनामाथि भयानक लाठी वर्षायो । जुलुसलाई पुलिस–आर्मीले घेराउ गर्‍यो । त्यसपछि नोना र कुन्दनलाई लछार्दै–पछार्दै, काँडा भएको बुटले पिट्दै, तातो कालोपत्रे सडकमा घिसार्दै वसन्तपुर थाना लगियो । शेखरलाई आफ्नो संस्मरण सुनाएकी थिइन् नोनाले, ‘थाना पुर्‍याएपछि पुलिसले खकारेर मुखमा थुकिदिएको थियो । भुइँमा पनि बस्न दिएन ।’

नोनालाई मानसिक सन्तुलन बिग्रिएका र हत्या अभियोगमा जेल परेका कैदीसँगै राखियो हिरासतमा, जहाँ पिउने पानी पनि दिइएन । उनी बस्ने कोठाअघि थियो– दिसापिसाबको आहाल । ०१८ सालमा ५ सय रुपैयाँ जरिवानासहित जेलबाट छुटेपछि विराटनगर पुग्दा नोना एयरपोर्टबाटै पुनः पक्राउ परिन् । फेरि उनलाई जनाना जेलमा राखियो । अभियोग थियो– आन्दोलनकारीको सहयोगार्थ बम ओसारेको । कारागारका ओसिला पर्खालबीच नोनाको स्वास्थ्य बिग्रियो– क्षयरोगले समात्यो । त्यसपछि उनलाई जेलबाटै अस्पताल लगियो, २०२० सालमा । नोना त्यसपछि २०२१ मा जेलबाट छुटिन् । जेलमा शेखर आमा नोना भेट्न बरोबर पुगिरहन्थे ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा समर्पित योद्धा नोना कोइरालाको माथि भनिएको आन्दोलन, जेल र फेरि पनि जेलको संघर्ष–कथाले त्यो पञ्चायत र यातनाका लामो शृंखला वर्णन गर्छ । प्रजातन्त्र स्थापनार्थ प्रत्येक आन्दोलनको अग्रमोर्चामा उभिइन् नोना, मजदुरका दुःखका साक्षी बनिन् । उनको जीवनको एउटै अभीष्ट थियो– केवल जनताको मुक्ति । नोनाको अतीत–कथामा देखिन्छ– संघर्ष, जेल, प्रवास, पम्प्लेट, झन्डा, नारा अनि घाँटीको नशा फुलाउँदै सडकमा चिच्याइरहेको एउटा जुझारु अनुहार । उनको जिन्दगीले साँच्चै प्रेरणा–गाथा गाउँछ । त्यसैले केवल शेखरको होइन, ‘सम्पूर्ण कांग्रेसकै आमा’ भन्दा सायद उनी बाँचेको राजनीतिक जीवनलाई न्याय हुन्छ ।

***

तनहुँबाट सुन्दर जिन्दगीको खोजीमा बनारस पुगेर व्यापार गरिबसेका ईश्वरीप्रसाद उपाध्याय पौडेल र इन्दिराकी छोरी हुन्– नोना कोइराला (१९८५–२०६३) । नदीतटमा उभिएर घाम अस्ताउँदै गरेका बनारसका दिन, आरती, पूजा–पाठ, खानपिन, गल्ली ∕ ती थिए जसले नोनालाई अल्मल्याउँथे त्यो सहरमा । सहरको भीड, मान्छेका सोखबारे उनी शेखरसँग कुरा गरिबस्थिन् । साँझ–साँझ दशाश्वमेध घाट घुम्न पुग्थिन् । शेखरलाई पछिसम्मै भन्थिन् नोना, ‘सम्पन्न परिवारका बंगाली महिला सुन्दर साडी लगाएर, चुरामा सजिएर साँझ घाटमा घुमेको दृश्य सधैं सम्झिन्छु ।’

नोना ७ वर्षकै छँदा उनकी आमा बितिन्, २७ वर्षको उमेरमा– ६ छोराछोरी जन्म दिएर । आमा बितेको त्यो कालो दिनको एउटा संस्मरण सुनाइरहन्थिन् रे नोना । र, बालक शेखर सुनिबस्थे– आमाको निधनपछि म आकुल थिएँ । घरको माथिल्लो तलाबाट झर्दै गर्दा सिँढीमा लडेँ र मेरो कान्छी औंला मर्कियो । मलाई डाक्टरकहाँ जाउ भन्ने सल्लाह दिए मान्छेहरूले । तर, मैले भनेकी थिएँ– आमाको स्मृतिमा यो औंला बाङ्गै राख्छु ।

सन् १९४० मा नोना बनारस हिन्दु गर्ल्स होस्टलमा ७ कक्षा पढ्दा महात्मा गान्धी आएका थिए । स्कुलले उनको भव्य स्वागत गरेको थियो । गान्धीलाई फूलमालाले स्वागत गर्ने बालिकामा एक थिइन्– नोना ।

१५ वर्षको उमेरमा (विसं २०००) नोनाको विवाह भयो– कृष्णप्रसाद कोइरालाका साइँला छोरा केवशप्रसाद कोइरालासँग । त्यसबेला जोगवनी भन्नु केवल घना जंगल थियो । त्यहाँ एउटा जुट मिल थियो । दैनिक एकपटक कटिहारबाट रेल आउँथ्यो । बनारसबाट जोगवनी हुँदै पहिलोपटक विराटनगर प्रवेश गरेकी थिइन् नोना– टिनको रातो छाना, हरियो रङले सजिएको काठको त्यो लामो कोइराला निवासमा । दुलही घर पस्दा पनि पुलिसले सबै सामान जाँच गरेका थिए । ढोकाको दुईतिर दुई घैला थिए, घैलासँगै उभिएका दुई पुलिस !

नोनाका ससुरा कृष्णप्रसाद र सान्दाजु (बीपी) जेलमा थिए । कृष्णप्रसादले भरियाहरूका थोत्रा कपडाको बन्डल श्री ३ महाराज चन्द्रशमशेरलाई पठाइदिएका थिए । उनीसँग नोनाको भेट जेलमै भयो । कृष्णप्रसादले भनेका थिए– तिमी बुहारी होइन, छोरी भयौ । ००७ को राणाविरुद्ध आन्दोलनमा भाग लिएका नोनाका श्रीमान् केशवप्रसाद ०१७ सालमा विराटनगरको पहिलो निर्वाचित मेयर भए । छोराहरू (मातृका, बीपी, केशव, तारिणी, गिरिजा) ००७ को राणाविरोधी आन्दोलनमा होमिएपछि सासू दिव्या कोइरालाले बुहारीहरूलाई भेला पारेर भनिन्, ‘मेरा सबै छोरा लडाइँमा जाँदै छन् र याद राख्नु– ती मर्न पनि सक्छन् । तर, तिमीहरूले एक थोपा पनि आँसु चुहाउन पाउने छैनौ ।’

नोनाको राजनीतिक जीवनग्राफमा देखिन्छ– एक योद्धाको दुःखद र अन्धकारमय भोगाइ । अप्रिलको एक साँझ विशालनगरमा आमा नोनाको तस्बिरतिर फर्केर शेखरले आफ्नै अन्दाजमा भनेका थिए, ‘मेरी आमाको जीवन–कथा सम्भवतः धेरै नेपाली महिलाको प्रेरणा–स्रोत हो ।’ नोना जीवनमा थुप्रै पटक विद्रोही बनिन् र आत्माको आवाजलाई शब्दमा कुँदेर सत्ताविरुद्ध सडकमा नारा लगाइरहिन् । २००३ सालको मजदुर आन्दोलनमा विशेष भूमिका खेलिन् । त्यो थियो विराटनगर मिल्स एरियाको आन्दोलन । २००३ मा कलकत्ताको भवानीपुरमा सम्पन्न कांग्रेसको पहिलो अधिवेशनमा पनि भाग लिएकी थिइन् ।

००७ मा क्रान्तिका लागि भारतबाट ल्याइएका हातहतियार कोइराला निवासमा लुकाइन्थ्यो । तिनको हिफाजत गर्थिन् नोना– सबै मानिस निदाइसकेपछि राति ती हतियारमा तेल लगाउँथिन् । त्यो काममा खटिएका थिए नोना, केशव, तारिणी, गिरिजा, कालिकाप्रसाद गुप्ता र भीमराज नौलखा ।

२०२४ मा बीपी प्रवासमा जाँदा नोना पनि सँगै गइन् । प्रवासमा उनीहरू फारबिसगन्ज, पटना र बनारस बसे– २०३७ वैशाखसम्मै । र, १३ वर्षपछि नेपाल फर्किइन् नोना । नेपाली आन्दोलनमा २०३१ पुस– १ को टिम्बुरबोटे काण्डको विषेश कथा छ । आन्दोलनको उद्देश्य थियो– ओखलढुंगालाई आधारक्षेत्र बनाएर पूरै नेपाल कब्जा गर्ने । सोलुखुम्बुको तिङ्गला गाउँको टिम्बुरबोटे जंगलमा घटेको घटना हो यो । त्यो सरकारी दमनमा नेपाली कांग्रेसका १३ जना स्वतन्त्र सेनानी मारिएका थिए । बीपी नेतृत्वमा पञ्चायती व्यवस्थाविरुद्ध सशस्त्र क्रान्ति थियो त्यो । तर, त्यो आन्दोलन असफल भयो । नोना भन्थिन्, ‘त्यो योजनामा साथीहरूबाट धोका भयो, घूसपैठ पनि ।’

टिम्बुरबोटे काण्डमा भारतबाट निर्देशन दिएका थिए लडाकुहरूलाई– नोना, बीपीहरूले । त्यो काण्डमा हतियार संकलनमा नोनाको भूमिका थियो । नोना आफ्नो शरीरमै लुकाएर हतियार ओर्साथिन् ।

शेखर नोनाको एउटा घटनाका साक्षी हुन् । २५ थान रिभल्भर र पेस्तोल तिघ्रा र छातीमा बाँधेर/टाँसेर सिलुगुडीबाट फारबिसगन्ज पुर्‍याएकी थिइन् उनले । ‘आमाको शरीरमा ठूलो घाउ देखेको थिएँ । ती दिन सकसपूर्ण थिए आमाका,’ शेखर भन्छन् । गिरिजाप्रसाद कोइरालाको आत्मकथा ‘आफ्नै कुरा’ मा पनि यो प्रसंग उल्लेख छ । फारबिसगन्जबाट सिरक–डस्नाभित्र मोरेर नोनाले पठाएको बमसहित लीला दाहाल, ठगीराज दाहाल, खगेन्द्र दाहाल र गोकर्ण कार्की काठमाडौंमा समातिए र जेल सार्ने नाममा ०३१ मा मारिए । त्यो घटनाबाट नोना आहत भइन् र मारिएका तिनका सन्तानलाई आफ्नै सन्तानसरह भरणपोषण गरिन्, पढाइन् र बिहे गराइदिइन् ।

***

२०३० सालको ‘विराटनगर विमान अपहरण’ का हिरो थिए– गिरिजाप्रसाद कोइराला । त्यो अपहरणको उद्देश्य थियो– नेपाल राष्ट्र बैंकले विराटनगरबाट काठमाडौं ल्याउँदै गरेको पैसा लुट्ने र त्यो पैसाले प्रजातन्त्र पुनर्स्थापनाका लागि सशस्त्र क्रान्ति गर्ने । त्यस योजनामा गिरिजालाई नोनाको सरसल्लाह थियो भन्छन् शेखर । ‘आमाले नै गिरिजालाई भन्नुभएको थियो– एकपटक सान्दाजुसँग सल्लाह गर्नुस्,’ शेखर भन्छन् । नोनाको जेल र विद्रोह यात्रा यत्तिमै टुंगिँदैन । २०४२ को सत्याग्रहमा अरू नेतासँगै उनी पनि पक्राउ परिन्, ७ महिना हनुमानढोका थानामा बसिन् ।

नोना जेल छँदा केशव प्रवासमा, केशव जेल छँदा नोना प्रवासमा ∕ यसरी उनीहरूको भेटबिनै दशकभन्दा बढी समय बिते । श्रीमान् क्यान्सरले पीडित भई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा छँदा सेवामा नोना एक्लै थिइन् । एक समय घरमा निकै दुःख भएपछि नोनाले केही टेम्पो किनेर, केही ड्राइभर राखेर व्यवसाय गरिन् । प्रवासमै छँदा जिन्स–सप खोलिन् । ‘मेरो बाल्यकालमा म आमासँग बस्न पाइनँ, न बुबासँगै बस्न पाएँ । त्यसैले आमाका संघर्षका धेरै सम्झना मसँग छैनन् । मलाई हजुरआमाले हुर्काउनुभयो,’ शेखर पुराना दिन स्मरण गर्छन्, ‘घरमा गाह्रो अवस्था थियो । किताब किन्ने पैसा पनि हुँदैनथ्यो ।’

***

िनेपाली कांग्रेस केन्द्रीय सदस्य र महिला विभाग प्रमुखबाहेक नोनाले अरू कुनै पद लिइनन् । सधैं भनिरहन्थिन्, ‘सांसद–मन्त्री हुन राजनीतिमा आएको होइन म ।’ २०१५ मा बीपीले सोधे नोनालाई, ‘अब चुनाव हुन्छ, नोनालाई कहाँबाट टिकट दिने ?’ नोनाले भनिन्, ‘मलाई चाहिँदैन सान्दाजु । मलाई काममा विश्वास छ, टिकटमा होइन ।’ कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा नोनालाई सोधे, ‘भोलि राजा भेट्न जाँदै छु । मन्त्रीमा तपाईंको नाम राखेको छु । कुन मन्त्रालय लिने ?’ नोनाले भनिन्, ‘म मन्त्री बन्दिनँ ।’ किशुनजीले सोधे, ‘त्यसो भए संन्यास लिनुहुन्छ त ?’ नोनाले भनिन्, ‘होइन, एक थोपा रगत हुन्जेल पार्टीमा काम गर्छु, तर मन्त्री–सांसद हुन्न ।’

‘राजनीतिमा नोनाको एउटै सिद्धान्त थियो– मनमा शुद्धता र कर्ममा विश्वास,’ शेखर भन्छन्, ‘आमा राजनीतिक झगडाको मिलापत्र पनि गरिदिनुहुन्थ्यो, जस्तो धेरैपटक गिरिजा र किशुनजीको झगडा मिलाउनुभएको छ ।’ आफ्नो राजनीतिको खास श्रेय बीपीलाई दिन्थिन् नोना । भन्थिन्– म उहाँको भाइबुहारी भए पनि हामी दाजु–बहिनी भयौं । पछि हाम्रो नाता नेता–कार्यकर्ताजस्तो भयो ।

***

नोनाका तीन (राजनीतिक, सामाजिक र परिवार सञ्चालन) पक्षलाई विशेष मान्नुपर्छ भन्छन् शेखर, ‘आफूलाई पछि राखेर राष्ट्र र प्रजातन्त्रलाई अघि बढाउनुभयो आमाले । जेल, लाठी, यातनापछि पनि कुनै पद खोज्नुभएन ।’ शेखरको विचारमा नोनाको राजनीतिक जीवन प्रेरणाको एक पुञ्ज हो, महिला जागृतिको झिल्को हो । विवाहपछि गिरिजाले नोनालाई सोधेका थिए– तपाईंले किन हाम्रै घरमा विवाह गर्नुभयो ? त्यसबेला नोनाले भनेकी थिइन्, ‘म त्यस्तो घरमा विवाह गर्न चाहन्थेँ, जहाँ महिलालाई स्वतन्त्रता होस् । त्यसैले यही घर रोजेँ ।’ (नेपाली राजनीतिमा नोना कोइराला, इन्दिरा प्रसाईं ढकाल) ।

नोना सहिद परिवारका छोराहरूलाई आफ्ना छोराछोरीझैं माया र स्नेह गर्थिन् । बेलाबेला भन्थिन् रे, ‘हेर शेखर म निरु (नोनाको जेठा छोरा निरञ्जन) र तँलाई जस्तै उनीहरूलाई पनि स्नेह गर्छु ।’ त्यस्तो बेला शेखरसँग केही बहस पनि पर्थ्यो नोनाको । नोना असहाय कार्यकर्ताका छोराछोरीको विवाह गराउँथिन् । शेखरले आमाबाट सिके– जुझारु स्वभाव र आँट । ‘त्यो आँट र क्षमता, त्यो साहसले मलाई प्रेरणा दिन्छ’, शेखर भन्छन् ।

शेखरको सम्झनामा ७८ वर्षको उमेरमा पनि कहिल्यै थाकिनन् नोना, घरपरिवार र पाहुनासँग गफगाफ गरिरहन्थिन् । जीवनको अन्तिम क्षणतिर पनि किताब पढिरहन्थिन् नोना । साना नानीहरूलाई किताब उपहार दिन्थिन् । भन्थिन्, ‘पढ्नुपर्छ है ।’ बिहेपछि मेट्रिक पास गरेकी नोना ‘रामायण’, ‘महाभारत’ पाठ गर्थिन्, बिहान–बेलुका । फिल्म हेर्न सिनेमा हल पुगिरहन्थिन् । घर आएर २ घण्टाको फिल्मलाई ३ घण्टासम्म वर्णन गर्थिन् । ‘आमाको वाचन कला भव्य थियो, जुनै बेला कथा सुनिरहुँ लाग्ने,’ शेखर भन्छन् ।

नोना चाहन्थिन्– शेखर डाक्टर बनोस् । त्यो चाहना पूरा भएकोमा डाक्टर छोरासँग खुसी थिइन् उनी । नोनाको अर्को रहर थियो– शेखर सांसद भएको हेर्ने, त्यो उनको जीवनकालमा पूरा भएन । तर, त्यो इच्छा उनले गिरिजासमक्ष जाहेर गरेकी थिइन् । नोनाको निधनपछि गिरिजाप्रसादले भनेका थिए, ‘कोइराला निवासको एउटा बत्ती निभ्यो । त्यो रिक्तता अब कसले पूरा गर्ला ?’ उनको निधनले महिला आन्दोलनमै पनि रिक्तता अनुभव भएको छ कि ?

प्रकाशित : वैशाख १८, २०८१ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?