कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९
लोक सेवा

स्वास्थ्यकर्मी हुँदै कर अधिकृत

पढाइमा सधैं प्रथम हुँदै आएकी प्रेरणा क्याप्छाकी मगर लोक सेवामा शाखा अधिकृतका लागि जााच दिने हजारौंमा उत्कृष्ट दोस्रो भइन्, पढाइ र अनुभव दुवैले स्वास्थ्य क्षेत्रमा स्थान बनाएकी उनले अन्ततः जागिर भने कर अधिकृतको रोजेकी छन्
घनश्याम खड्का

काठमाडौँ — नाम र कामको माने सबको जीवनमा मिल्न सम्भव हुँदैन । त्यसो भयो भने त मुक्तिरामहरू कहिल्यै बन्धनमा पर्दैनथे । बुद्धिप्रसादहरू आफ्नो मूर्खतामा कहिल्यै रुनु पर्दैनथ्यो र धनकुमारीहरूले कंगाल जीवन कहिल्यै भोग्नु पर्दैनथ्यो । तर, अक्सर नाम र काममा एक किसिमको विपरीत दूरी देख्न पाइन्छ । त्यसै हुनाले नेपालीमा मात्रै होइन, अंग्रेजी, हिन्दी र अरू भाषामा पनि ‘नाममा के नै छ र ?’ भन्ने भावको पदावली चल्तीमा छ ।

स्वास्थ्यकर्मी हुँदै कर अधिकृत

सेक्सपियरले त रोमियो र जुलियट लेख्दा भनेकै छन्, ‘नाममा त्यस्तो के छ र ? गुलाबलाई अरू नै केही भने पनि त्यसबाट उत्तिकै सुवास आइहाल्छ, जसरी रोमियोलाई अरू कुनै नामले बोलाए पनि उसको स्वभाव उही भइहाल्छ ।’ र पनि, कसैको जीवनमा नामअनुसारको काम हुन गएछ भने अंग्रेजहरू एक पदावलीको प्रयोग गर्छन्, ‘टू लिभ अप टू हिज/हर नेम’ । यो हामीले ‘जस्तो नाम उस्तै काम’ भनेजस्तै हो ।

नर्सरीदेखि दुई–दुई पटक स्नातकोत्तर गर्दा पनि सधैं प्रथम हुने, १७ वर्षकै उमेरमा सोलुखुम्बुको हिमाली बस्तीमा गएर ‘गाउँघर क्लिनिक’ चलाउने अनि २५ वर्ष नपुग्दै लोक सेवाको तीन फरक–फरक समूहमा लगातार नाम निकाल्ने उनको काम र नाम सुन्दा मान्छेहरू अक्सर भन्ने गर्छन्, जस्तो नाम उस्तै काम । आफ्नो प्रशंसामा यस्तो सुन्दा प्रेरणा क्याप्छाकी मगर थप उत्प्रेरित हुन्छिन् र धन्यवाद भनेजसरी सधैं मन्द मुस्कुराउँछिन् ।

तस्बिरहरू : सुकार्यलाल श्रेष्ठ

गत वर्षको माघदेखि तनहुँको सदरमुकाम दमौलीस्थित आन्तरिक राजस्व कार्यालयमा कर अधिकृतको भूमिका निर्वाह गर्दै आइरहेकी प्रेरणा सामाजिक न्याय र सांस्कृतिक उन्नयनका क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । मगरहरूको भाषा लोप हुन दिन हुन्न भनेर उनी कहिले यससम्बन्धी पुस्तक प्रकाशनमा रकम संकलन गर्ने अभियानमा संलग्न हुन्छिन् भने कहिले चाहिँ ‘कौरा र रोधीको रमाइलोमा मात्रै अल्झेर हुँदैन है साथीहरू’ भन्दै मगर समुदायका युवालाई पढ्न उत्प्रेरित गर्ने काम गर्छिन् ।

‘हामी मगरहरू जनसंख्याका हिसाबले देशको तेस्रो ठूलो जात रहेछौं तर पढाइलेखाइमा अगाडि नहुनाले प्रशासनिक र राजनीतिक क्षेत्रमा चाहिँ धेरै पछाडि छौं,’ उनी भन्छिन्, ‘अझ, प्रशासन संयन्त्रमा मगर समुदायका महिला उच्च तहमा पुगेकै छैनन् भन्दा पनि हुने अवस्था छ, म यो स्थितिलाई बदल्न चाहन्छु ।’स्पष्ट विचार र निर्दिष्ट मार्गचित्रसहित अघि बढिरहेकी प्रेरणाले कम्तीमा सचिवसम्म बन्ने अठोट बोकेकी छन् ।

आफ्नो उमेरका साथीसँगी सब ‘यो देशमा केही छैन’ भनेर अस्ट्रेलिया र अमेरिकातिर जाने लर्को लागेका बेला उनलाई चाहिँ यही देशमा गरिखाने प्रेरणा कहाँबाट आयो त ? २७ वर्षअघि बिजुली र बाटो दुवै नभएको तिनताकको अनकन्टार गाउँ काभ्रेको रजोबासमा जन्मिएकी प्रेरणाले यति कम समयमा यतिका पढाइ, जागिर र सामाजिक कामको अनुभव कसरी बटुल्न सकिन् ?

पढाइमा सधैं प्रथम हुँदै आएकी उनी लोक सेवामा शाखा अधिकृतका लागि जाँच दिने हजारौंमा उत्कृष्ट दोस्रो कसरी भइन् ? दमौलीबाट छोटो समयका लागि हालै काठमाडौं आएकी प्रेरणाले कुराकानीमा यस्ता अनेकन प्रश्नको सीधा र स्पष्ट जवाफ दिइन् । पढाइ र अनुभव दुवैले स्वास्थ्य क्षेत्रमा स्थान बनाएकी उनले कर अधिकृतको जागिर किन रोजिन् त भन्ने प्रश्नको जवाफमा मन्द मुस्कुराइन् । लामो सास तानिन् र गर्दै जाँदा यी सब उपलब्धि हात परेका हुन् भन्दै प्लस टु सक्दा नसक्दै सुरु भएको जागिरे जीवन र सामाजिक संलग्नताहरूको फेहरिस्त पेस गरिन् ।

१५ वर्षमै २०६८ सालमा एसएलसी गरेपछि प्रेरणाले अनमी र प्लस टुको पढाइलाई साथसाथै अघि बढाइन् । र, दुवैमा उनी प्रथम भइन् । ‘स्वास्थ्य सेवाको पढाइ प्राविधिक भएकाले जागिर छिटो पाइने रहेछ,’ प्रेरणा भन्छिन्, ‘अनमी सकिनेबित्तिकै मलाई सोलुखुम्बुमा गएर काम गर्ने मौका मिल्यो ।’ त्यतिबेला उनको उमेर मात्र १७ वर्षको थियो । सानै भएकाले उनका बुबा धनबहादुर र आमा कृष्णकुमारीले उति पर हिमालमा प्रेरणालाई एक्लै पठाउन मानेनन् । तर उनका दाजु विश्वराजले बाआमालाई सम्झाए अनि ‘आएको मौका छाड्न हुन्न’ भन्दै बहिनीको प्रगतिलाई रोक्न दिएनन् ।

सोलुखुम्बुमा गाउँघर क्लिनिकमा स्वास्थ्य सेवा दिने मात्रै होइन, त्यहाँ गठन भएको आमा समूहका महिलालाई कसरी निरोगी रहने र रोग लागे के कस्तो कदम चाल्ने भनेर सामाजिक सचेतनाका कार्यक्रम पनि चलाउने भूमिका थियो प्रेरणाको । त्यसै सिलसिलामा एउटा सामाजिक छलफलका लागि उनको कार्यालय भएको देउसा गाउँभन्दा पर दुई घण्टा जंगलको बाटो हिँडेर पुगिने अर्को बस्तीमा उनी गएकी थिइन् एक दिन । बस्तीका साना कच्ची घरमध्ये एउटामा महिलाहरूसँग छलफल सकेर बाहिर निस्केकी के थिइन्, प्रेरणाले टेकेको जमिन बेस्सरी हल्लियो ।

‘के भयो के भयो भनेको त भुइँचालो आएको पो रहेछ,’ जीवनमा कहिल्यै नभोगेको त्रासदीको प्रथम अनुभवबारे प्रेरणा भन्छिन्, ‘मलाई त के गर्ने, कसो गर्ने भयो त्यसबेला ।’ आमाहरू नाम्लो लगाएर बच्चालाई कोक्रोमा बोक्थे । हतारमा निक्लँदा ती ढोकामा अड्किएको पल उनको मस्तिष्कमा नमेटिने गरी कैद भएको छ चित्रात्मक रूपमा । फर्किंदा घरमा के कसो भयो होला भन्ने डरले उनको हातखुट्टा काँपिरहेका थिए । अलिक पर चौतारो थियो । त्यहाँ सुस्ताएर यताउति फोन गरेर घर र आफन्तजनको हालखबर बुझ्न खोजिन् उनले । ‘त्यसै बेला मैले धरहरा ढल्यो भन्ने खबर सुनें, एकदम नरमाइलो लाग्यो,’ उनी भन्छिन्, ‘एक दिन चढौंला भन्ने मनमा थियो, चढ्न नपाउँदै त्यो ढलेछ ।’

तुलनात्मक रूपले सोलुखुम्बुमा भुइँचालोले ज्यादा क्षति नभएकाले एक स्वास्थ्य सेवा प्रदायकका हिसाबले अन्यत्रजस्तो ज्यादा कठिनाइ भोग्न नपरेकामा प्रेरणालाई केही राहत भने भयो । घर–परिवारको खबर सब ठीकठाक छ भन्ने थाहा पाएपछि उनको मन झनै हलुंगो भयो ।

केही समयपछि उनी फर्केर गाउँ आइन् । तर, सोलुखुम्बुको सम्झना भने उनलाई हुन गएको एक स्वास्थ्य समस्याले दिलाइ नै रह्यो । भएछ के भने, सोलुखुम्बुको सल्लेरीमा बस्दा उनलाई त्यहाँको चिसोले बेस्सरी समातेछ । जागिर खान जानेबित्तिकै उनलाई समातेको रुघा निको हुन निकै समय लाग्यो । धेरै पछि रुघा त निको भयो तर नाकको गन्ध नै हरायो । औषधि खायो भने उनलाई गन्ध र दुर्गन्धको बोध हुन्छ । नत्र थाहै हुँदैन । यस हिसाबले सोलुखुम्बुको चिरस्मरण रहन गयो उनको जीवनमा ।

सोलुखुम्बुबाट फर्केलगत्तै प्रेरणाले मण्डन देउपुर नगरपालिकाको एक परियोजनामा जागिर खाएकी थिइन् र अनमीका लागि लोक सेवा आयोगको परीक्षा पनि दिएकी थिइन् । जागिर खाएको केही महिना पनि पुगेको थिएन, लोक सेवामा उनको नाम निस्कियो । अनि, २०७३ मा उनी तनहुँ पुगिन् रिसिङको स्वास्थ्य चौकीमा । ‘तिमी पनि रिसिङको हामी पनि रिसिङको, लाइदेऊ माया एकै किसिमको’ भन्ने कालजयी लोकगीत जन्मेको त्यस गाउँमा पुगेपछि उनले मगर समुदायको कौरा नाच पनि यहीँबाट हुर्केर सबतिर फैलिएको रहेछ भन्ने थाहा पाइन् ।

काभ्रेको मंगलटारमा भएको तीन दर्जनजति मगर परिवार कसैलाई पनि आफ्नो भाषा नआउने हुनाले प्रेरणाले मातृभाषा सिक्न पाएकी थिइनन् । रिसिङमा भने मगर बहुल बस्ती र जीवन्त भाषा संस्कृति थियो । त्यहाँ उनले मगर भाषा पनि केही सिक्न पाइन् । यस उपक्रममा रिसिङका गर्भवती महिलासँगको उनको प्यारो र स्नेही सम्बन्ध बस्न गएको थियो । उमेरले सानी भए पनि ग्रामीण महिलाका लागि डाक्टर, नर्स, अस्पताल सबथोक भएकी थिइन् उनी । सम्बन्ध कति प्रिय थियो भने, जागिर छाडेर हिँडेपछि पनि उनीहरू प्रेरणालाई फोन गर्थे र आफ्नो व्यथा सुनाएर के गर्ने होला बहिनी भनी सल्लाह माग्थे ।

प्रेरणा ग्रामीण महिलालाई आफ्नै आमाजस्ता ठान्छिन् । त्यसो किन पनि भने, उनी जन्मँदाको एउटा घटनाले महिलाको स्वास्थ्यका बारेमा उनलाई सधैं संवेदनशील बनाइरह्यो । २०५३ असोजको अन्तिम साता उनी जन्मेकी थिइन् । मकै र धान भित्र्याउने सिजन थियो त्यो । कामका बेलामा बच्चा जन्माएको भनेर उनकी हजुरआमाले आमालाई बेस्सरी गाली गरिछन् । ‘तँ जन्मेको बेलामा मैले सुत्केरी भएको तीन दिनदेखि नै बारीमा काम गर्नुपर्‍यो भन्नुहुन्थ्यो आमाले,’ प्रेरणाले अनुहार अमिलो पारिन्, ‘त्यो सम्झिँदाचाहिँ मलाई ज्यादै दुःख लाग्छ ।’

आमाको यही पीरले होला, उनी स्वास्थ्य कार्यकर्ता भएर गाउँहरूमा जाँदा गर्भवती महिलालाई प्रशस्त आराम गर्न किन आवश्यक छ भनेर विशेष जोड दिएर सम्झाउने गर्थिन् । उनको यही शैलीले ग्रामीण महिलाहरू प्रेरणालाई साह्रै माया गर्थे । र, गाउँ छाडेर गइसकेपछि पनि फोन गरेर सम्झन्थे ।

रिसिङमा एउटा गाउँ छ, धरमपानी । त्यहाँ एक पसले थिए जो ग्राहकबाहेक कसैको वास्ता गर्दैनथे । गाउँमा स्वास्थ्य कार्यकर्तालाई ठूलो मनितो हुन्छ । र, बाटामा भेट्दा भलाकुसारी अनि हालचाल सोधनी लगभग सबसँग हुन्थ्यो उनको । तर, ती पसले बाटामा भेट्दा पनि चिने नचिनेझैं गरी तर्किन्थे । एक पटक हावाहुरी चल्दा जस्तापाता उडाएर उनको टाउको काटेछ नराम्रोसँग । साँझ काम सकेर घर जान लागेका बेला उनी टुप्लुक्क आइपुगे रगत चुहाउँदै । सामान्य उपकरणको सहारामा प्रेरणाले १० टाँका जति लगाइदिइन् र मल्हमपट्टी गरिदिइन् । नियमित रूपमा फलोअपमा आउन लगाएर घाउको राम्रो उपचार हुन पुग्यो र ती पछि निको भए ।

‘त्यसपछि त उहाँले जहाँ भेटे पनि नमस्कार गर्न थाल्नुभयो,’ प्रेरणाले भनिन्, ‘धरमपानीतिर जाँदा चिया–खाजा खाऊँ आउनूस् भनेर बोलाउन थाल्नुभयो ।’ यसरी, स्वास्थ्य सेवाका कारण चिसो व्यवहार भएको मानिसमा पनि बदलाव आएको देखेपछि प्रेरणालाई लाग्यो, पेसा त एकदम राम्रो हो यो । रिसिङमा उनी जाँदा सँगै उनले एउटा पुस्तक लगेकी थिइन् लोक सेवाको । एक जना अधिकृत रक्तचाप जँचाउन आउँदा टेबलमा उनको पुस्तक देखेछन् । अनि सोधे, ‘के लोक सेवाको जाँच दिन लागेको हो ?’ उनी यसबारेमा ज्यादा अनुभवी रहेछन् । त्यसपछि त प्रेरणाका लागि उनका अनुभवहरू प्रेरणा नै बने । लोक सेवा तयारी गर्ने ठूलै जमातसँग उनको संगत हुन गयो । पढ्ने तरिकाहरू उनले जानिन् । र, तीन साताजसो बिदा लिएर काठमाडौंमा आई तयारी कक्षामा पनि सामेल भइन् उनी ।

लगत्तै, सरुवा भएर फेरि काभ्रेको एक स्वास्थ्य चौकीमा पुगिन् उनी तनहुँबाट । स्वास्थ्यको जुन क्षेत्रमा उनी थिइन्, त्यसमा ठूलो फैलावटको गुञ्जायस थिएन । बढुवा भएर माथि पुग्ने अवस्था पनि उनले देखिनन् । ‘त्यसैले मैले सेवा समूह परिवर्तन गर्ने विचार गरें,’ उनी भन्छिन्, ‘अनि लोक सेवाको तयारीलाई बढी सघन पारें ।’

यता, स्वास्थ्य शिक्षामा स्नातक तहको पढाइ सकिसकेको थियो उनको । त्यतिबेला अनलाइनबाटै फर्म भर्न मिल्ने सुविधा आइसकेको थियो लोक सेवाको । रिसिङमा हुँदै उनका साथीहरूले फर्म भरिदिएछन्, सुब्बा तहका लागि । पहिलो पटकमै उनको नाम निक्लियो । जनप्रशासन र राजनीतिकशास्त्र दुवैमा उनले स्नातकोत्तर पनि गरिसकेकी थिइन् यसबीचमा । गत वर्ष वैशाखमा सुब्बामा नाम निस्केपछि उनी गोरखा पुगिन्, जिल्ला कारागारको प्रशासनिक काम सम्हाल्न ।

कैदी भन्नेबित्तिकै उनको मनमा खुंखार हत्याराहरू होलान् भन्ने भावले डर उत्पन्न गर्थ्यो । तर, दैनन्दिनको प्रशासनिक कामले उनीहरूसँगको हेलमेल बढ्दै जाँदा उनको त्यो मनोभावमा बदलाव आयो । कैदीहरू पनि अरूजस्तै सामान्य मनोभावका हुने रहेछन् भन्ने देख्दा उनी छक्कै परिन् । महिला र पुरुषको अलग्गै जेल थियो त्यहाँ । सीपमूलक तालिमहरू बेलाबेलामा आयोजना गरिन्थ्यो कैदीहरूका लागि ।

जेलमा परेका केही मानिस अनेकन परिबन्दले त्यहाँ आइपुगेको देखेपछि प्रेरणालाई अचेल उनीहरूप्रति सहानुभूति जाग्न थालेको छ । र, लाग्न थालेको छ, ‘परिबन्दले पनि निर्दोषहरू जेल पर्ने रहेछन्, त्यसैले अपराध साबित भयो भन्दैमा दोषी नै हुन् भनेर हेला गर्दा झनै अन्याय हुँदो रहेछ ।’

पहाडी जिल्ला भएकाले गोरखा कारागारमा ज्यादा चाप थिएन । त्यसले गर्दा उनलाई पढ्नका लागि मनग्यै समय मिल्यो । ‘कतिपय कारागारमा अधिकृत नहुनाले सुब्बाले नै कार्यालय चलाउनुपर्थ्यो,’ प्रेरणा भन्छिन्, ‘तर, त्यहाँ अधिकृत भएको हुनाले मलाई धेरै खट्न परेन ।’

गोरखा जागिर खाइरहेकै बेला उनले अधिकृतका लागि परीक्षा दिइन् । परीक्षा र अन्तर्वार्ताका सबै चरण पार गरेर उनी परीक्षा दिने ५ हजार ६ सय ४६ प्रतिस्पर्धीमध्ये दोस्रो हुन पुगिन् । परीक्षाहरूमा जीवनभर पहिलो भइरहेकी प्रेरणालाई दोस्रो भएको दुःख र जागिर पाएको सुखको मिसमास अनुभूतिले यस पटक अनौठो अनुभव गरायो । पहिलो र दोस्रो हुनेहरू सबले राजस्व शाखा रोज्दा रहेछन्, प्रेरणाले पनि त्यही गरिन् । ‘तर यो एकदम प्राविधिक विषय रहेछ,’ उनी भन्छिन्, ‘मलाई राजस्वको फराकिलो आयामका सबै पक्षबारे बुझ्न धेरै समय लाग्यो ।’ अधिकृतमा नाम निस्केपछि ६ महिनाको तालिम भयो । र, उनी गत वर्ष माघदेखि दमौलीमा सरुवा भइन्, आन्तरिक राजस्व कार्यालयमा ।

दमौली गर्मी ठाउँ हुनाले उनलाई निकै गाह्रो भयो सुरुमा । त्यसमाथि यस्तो प्राविधिक काम । उनलाई सुरुवाती दिनहरू हत्तुहैरान पार्ने खालका भएर प्रकट भए । पछि, सुब्बाहरूसँग उनले सोधिन् र काम सिकिन् । कार्यालय प्रमुख उपसचिव हुने हुनाले नबुझेका कुरामा उनले परिपक्व निर्देशन पनि पाइन् ।

राजस्व उठाउने निर्दिष्ट कामबाहेक करका सेवाग्राहीसँग जोडिने धेरै कुरा उनी बुझाउने काममा पनि खटिन्छिन् । ‘राजस्वका बारेमा उद्यमी व्यवसायीलाई धेरै कुरा थाहा नै रहेनछ,’ उनी भन्छिन्, ‘जानकारीको अभावमा कर छली भइरहेको छ, जो कसुरजन्य काम हो, कसुर गरेपछि एकै पटक कारबाही गर्नुभन्दा त्यो गर्न नदिनका लागि करदातालाई तालिम दिन र नियम, कानुन अनि प्रक्रिया बताउन एकदम जरुरी देख्छु ।’

प्रकाशित : चैत्र २६, २०८० ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?