कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९
मेड इन नेपाल

कृषि विकास बैंक ६ दशकदेखि किसानको भरोसा

कृषि, उद्योग, व्यापार, वाणिज्य र घरायसी क्षेत्रमा लगानी गर्दै आएको कृषि विकास बैंकले १२ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ र हाल बैंकको कुल कर्जा प्रवाहमध्ये ३३ प्रतिशत कृषि क्षेत्रमा छ
यज्ञ बञ्जाडे

काठमाडौँ — प्रसंग करिब ६ दशकअघिको हो । माघको महिना थियो । तत्कालीन राजा महेन्द्रले काठमाडौं भूगोलपार्कमा एउटा बैंकको उद्घाटन गरे । नाम थियो– कृषि विकास बैंक ।राजा महेन्द्रबाट वि.सं. २०१७ मा प्रजातन्त्रको अपहरण भयो । दुईतिहाइको जननिर्वाचित सरकार अपदस्थ गरेर उनले एकदलीय व्यवस्था लागू गरे ।

कृषि विकास बैंक ६ दशकदेखि किसानको भरोसा

‘नेपालमा अब चीन हावी हुन सक्छ, हामीले नेपाललाई जोगाउनुपर्छ’ भनेर अमेरिकाले क्विन्ट लिन्ड्से, डेभिडलगायत केही व्यक्तिलाई नेपाल पठायो ।

तिनैमध्येका एक डेभिडले नेपालको विकास कसरी गर्न सकिन्छ भनेर एउटा पुस्तक नै लेखे । त्यही पुस्तकको उपज थियो– तत्कालीन सहकारी बैंक । वि.सं. २०२० मा जन्मेको सहकारी बैंक (भूमि सुधार बचत संस्थानबाट बनेको) लाई २०२४ माघ ७ मा कृषि विकास बैंकमा रूपान्तरण गरिएको हो । नेपालमा कृषि क्षेत्रको विकासका लागि छुट्टै बैंक चाहिन्छ भनेर सुझाव दिने विज्ञहरू अमेरिकी नागरिक क्विन्ट, डेभिड, नेपालका कुलशेखर शर्मा, भेषबहादुर थापा, मोहनमान सैंजू हुन् । उनीहरूकै सोचको उपज बैंक स्थापना भएको हो भन्दा फरक पर्दैन ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

‘शतप्रतिशत जनता कृषिमा निर्भर छन् । यहाँको कृषि पद्धतिलाई नयाँ मोड दिन, कृषकलाई नयाँ पद्धति, बीउ र मलको प्रयोग उपलब्धता बढाउन अब जरुरी छ,’ बैंक उद्घाटन कार्यक्रममा तत्कालीन भूमिसुधार, खाद्य तथा कृषिमन्त्री राजेश्वर देवकोटाले भनेका थिए, ‘कृषि उत्पादन बढ्दै जाँदा बजार र गोदामको अभाव महसुस गर्न थालिएकाले किसानका सबै समस्या समाधान गर्न कृषि विकास बैंक खोलिएको हो । बैंकले कृषि ऋणमात्र दिने छैन, लगानी गर्न खोज्नेलाई प्राविधिक सल्लाह पनि उपलब्ध गराउनेछ ।’

वि.सं. २०२७ देखि २०३५ सम्म कृषि विकास बैंक सञ्चालक समितिको अध्यक्ष एवं महाप्रबन्धक बनेका थिए, दीर्घराज कोइराला । ‘सुरुदेखि नै नेपालका गाउँगाउँमा बैंकिङ सेवा पुर्‍याउने, साना किसान परियोजनाअन्तर्गत किसान समूह बनाउने, समूहका सदस्यलाई धितो बेगर ऋण दिने, प्रौढ शिक्षा र बाल शिक्षा सञ्चालन गर्ने, धूवाँरहित चुलो, शौचालय, ट्युबबेल, सिँचाइका लागि कुलो, मल, बीउ, औषधिसमेत दिन्थ्यो,’ कृषि विकास बैंकका पूर्वकार्यकारी अध्यक्ष श्रीकृष्ण उपाध्यायले भने, ‘दुहुना गाई, भैंसी, गोरु, बाख्रापाठा, कुखुरा, माछापालनलगायत क्षेत्रमा साना किसान सेवा पुगेको थियो ।’

जनचेतना अभिवृद्धि, आर्थिक उपार्जनमा वृद्धि, गाउँघरमा सफाइ, वृक्षरोपणदेखि सामूहिक भावनाको विकास गराउनेसमेत काममा साना किसान आयोजनाको योगदान रहेको उनले बताए । त्यतिबेला बैंकले नागरिकबाट निक्षेप संकलन गर्दैनथ्यो, राष्ट्र बैंकबाट पुनर्कर्जा र विभिन्न २७ वटा दाता राष्ट्रबाट सहुलियत दरको ऋण तथा अनुदानमार्फत स्रोत संकलन गर्थ्यो । त्यो रकम कृषि कर्जाका रूपमा कृषकलाई प्रवाह गरिन्थ्यो । नेपाली अर्थतन्त्रमा कृषि क्षेत्रको महत्त्व धेरै रहेको बुझेर तत्कालीन सरकारले किसानका लागि छुट्टै बैंक स्थापना गरेको थियो ।

वि.सं. २०३४ पुस २५ मा तत्कालीन राजा वीरेन्द्रबाट हाल कृषि विकास बैंकको मुख्य कार्यालय रहेको रामशाहपथस्थित नवनिर्मित भवनको उद्घाटन भएको थियो । त्यसपछि कृषि विकास बैंकका सबै कार्यक्रम त्यही कार्यालयबाट सञ्चालन हुन थाले । मुलुकमा आएको राजनीतिक परिवर्तनसँगै कृषि विकास बैंकको करिब ६ दशकको यात्रामा पनि निकै आरोह/अवरोह आएका छन् । ती सबै उतारचढावलाई पार गर्दै कृषि विकास बैंकले जसोतसो अन्य बैंक तथा वित्तीय संस्थासँग प्रतिस्पर्धा गर्दै अघि बढिरहेको छ ।

कृषि विकास बैंकलाई २०२० देखि २०४७ सम्म प्रारम्भिक, २०४७ देखि २०६३ सम्म दोस्रो र २०६३ देखि हालसम्म तेस्रो अर्थात् पूर्ण बैंकिङ कारोबारमा परिणत भएको समय भनेर वर्गीकरण गरिएको पाइन्छ । पछिल्लो झन्डै डेढ दशकयता यो बैंक अरू वाणिज्य बैंकहरूजस्तै पूर्ण वाणिज्य बैंकका रूपमा काम गरिरहेको छ ।

यद्यपि, अहिले पनि यो बैंकको कुल कर्जा प्रवाहमध्ये एक चौथाइभन्दा बढी पोर्टफोलियो कृषि क्षेत्रमै छ । राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले २०८४ असार मसान्तसम्म आफ्नो कुल कर्जाको कम्तीमा १५ प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था छ । तर, कृषि विकास बैंकले कुल कर्जा प्रवाहको ३३ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गरेको छ । ‘कैलाली, बर्दिया, पाल्पा, झापा, काठमाडौं, चितवनलगायत ७ स्थानबाट सुरुमा बैंकले नमुनाका रूपमा काम सुरु गरेको थियो । पछि बिस्तारै मुलुकभर फैलिएको हो,’ कृषि विकास बैंकका पूर्वकार्यकारी अध्यक्ष उपाध्यायले भने, ‘सुरुमा पूर्ण रूपमा अमेरिकी सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो बैंक स्थापना भएको थियो । बैंकको ऐनको ड्राफ्ट त्यतिबेला नेपाल आएका अमेरिकी नागरिकले गरेका थिए ।’

‘२०४० सालतिर कृषि विकास बैंकलाई विभिन्न २७ वटा दाताले ऋण तथा अनुदान उपलब्ध गराउँदै आएका थिए । दाताले दिने सहयोग तथा अनुदानमा धेरै सर्त र झन्झट हुने गरेको थियो भने राष्ट्र बैंकले पनि अनुदान रकम घटाएको थियो । ‘बैंकलाई दातामाथिको निर्भरता कम गर्दै आफ्नै स्रोतमा बाँच्ने बनाउनुपर्छ भन्ने उद्देश्यले २०४३ सालमा कमर्सियल अपरेसन सुरु गरेका हौं,’ उपाध्यायले भने, ‘त्यतिबेला गाउँमा २६ वटा र सहरमा १० वटा शाखामार्फत नागरिकबाट बचत संकलन सुरु गरेका थियौं ।’ त्यसपछि भने कृषि विकास बैंकले अरू वाणिज्य बैंकसरह नै कमर्सियल कारोबार सुरु गरेको उनले बताए ।

नेपालमा आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास अत्यावश्यक छ भन्नेमा न हिजो दुईमत थियो, न त आज नै छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान सबैभन्दा धेरै २४.१२ प्रतिशत छ । नेपालको कुल जनसंख्यामध्ये ५०.१ प्रतिशत कृषिमा संलग्न छन् । यसले पनि अर्थतन्त्रमा कृषि क्षेत्रको महत्त्व पुष्टि गर्छ ।

अर्थतन्त्रको मियोका रूपमा रहेको कृषि क्षेत्रले विकास र विस्तारका लागि राज्यबाट प्राथमिकता पाएको छैन । चिकित्सकको सल्लाहअनुसार तोकिएको समयमा औषधि सेवन नगर्दा बिरामीको हालत जस्तो हुन्छ, अहिले कृषि क्षेत्रको अवस्था ठ्याक्कै त्यस्तै छ । कृषिको विकासबिना आर्थिक समृद्धि सम्भव छैन भन्नेमा राज्य जानकारमात्र होइन, विश्वस्त पनि छ । विकासको बाटो पनि थाहा छ तर राज्य गैरजिम्मेवार बन्दा यो क्षेत्रले काँचुली फेर्न नपाएको अर्थविद्हरू बताउँछन् ।

नाम अनुसारको काम भनेजस्तै कृषि विकास बैंक पूर्ण रूपमा वाणिज्य बैंक भए पनि उसले आफ्नो काम छाडेको छैन । गत फागुन महिनासम्म सबै बैंक तथा वित्तीय संस्थाले ४ खर्ब १५ अर्ब रुपैयाँ कृषि कर्जामा प्रवाह गरेका छन् । यो सोही अवधिमा प्रवाह भएको कुल कर्जाको ८ प्रतिशतभन्दा केही बढी हो । राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंकहरूले २०८१ असारसम्म कुल कर्जाको ११, २०७२ सम्म १२, २०८३ सम्म १३ र २०८४ सम्म १५ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने छ । यद्यपि, हाल कृषि विकास बैंकले कुल कर्जाको ३३ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गरेको छ । आर्थिक वर्ष २०६३/६४ मा यो अनुपात कुल कर्जाको २९ प्रतिशत थियो ।

देशको कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न, संस्थागत कर्जा उपलब्ध गराउन एडीबीएन ऐनको मुख्य उद्देश्यबमोजिम तत्कालीन सहकारी बैंकको उत्तराधिकारीका रूपमा कृषि विकास बैंकले निरन्तर काम गर्दै आएको कृषि विकास बैंकका पूर्वकार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको दाबी छ । ‘उक्त ऐनमा भएका पछिल्ला संशोधनले बैंकलाई सामूहिक दायित्वअन्तर्गत साना किसानलाई कर्जा प्रदान गर्न र घरेलु उद्योगलाई प्रवर्द्धन गर्न दायरा विस्तार गर्ने अधिकार दिएको हो,’ उनले भने, ‘परिमार्जनले बैंकलाई स्वदेशी स्रोत परिचालनका लागि वाणिज्य बैंकिङ गतिविधिमा संलग्न हुन पनि अनुमति दिएको थियो ।’

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) ले सबै बैंक तथा वित्तीय संस्थालाई आफ्नो छातामुनि लिएको छ र एडीबीएन ऐन, सन् १९६७ लगायत बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित सबै ऐन खारेज गरेको छ । हाल कृषि विकास बैंक लिमिटेड, पब्लिक लिमिटेड कम्पनीका रूपमा कम्पनी ऐन, २००६ अन्तर्गत दर्ता भएको र नेपाल राष्ट्र बैंकबाट २००६ देखि ‘क वर्ग वित्तीय संस्था’ को इजाजतपत्र प्राप्त संस्थाका रूपमा सञ्चालन हुँदै आएको छ ।

स्थापनाकालदेखि नै कृषि विकास बैंकले मुलुकका प्रमुख ग्रामीण क्षेत्रमा ऋण प्रवाह गर्ने संस्थाका रूपमा काम गर्दै आएको छ । ५७ वर्ष लामो गौरवशाली इतिहास बोकेको यो बैंक देशकै अग्रणी वाणिज्य बैंकमध्येको एक हो । कृषि, उद्योग, व्यापार, वाणिज्य र घरायसी क्षेत्रमा लगानी गर्दै आएको यस बैंकले १२ लाखभन्दा बढी ग्राहकलाई वित्तीय सेवा दिँदै आएको छ । हाल यस बैंकले प्रवाह गरेको कुल कर्जामध्ये १ खर्ब ९५ अर्ब रुपैयाँ कृषि कर्जाका रूपमा लगानी भएको छ ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ ।

समय क्रममा कमर्सियल बैंकिङ गतिविधि सञ्चालनमा तीव्रता आए पनि हालसम्म यस बैंकको प्राथमिकता कृषि क्षेत्र र यसको विकास नै रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको दाबी छ । कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय कोषसँगको साझेदारीमा ‘भ्यालु चेन फर इन्क्लुसिभ ट्रान्सफरमेसन अफ एग्रिकल्चर–भिटा’ परियोजना र विश्व बैंकसँगको साझेदारीमा समृद्धिका लागि वन परियोजना कार्यक्रम पनि बैंकले सञ्चालन गर्दै आएको उनले बताए ।

यद्यपि, पछिल्ला त्रैमासहरूमा अन्य बैंकसरह यो बैंकको पनि खराब कर्जा बढेको छ भने नाफा पनि दबाबमा छ । बैंकमा कर्मचारी संगठनहरू आवश्यकभन्दा बढी सक्रिय छन् । कतिपय अवस्थामा बैंकको कार्य प्रगतिमा ती पनि बाधकका रूपमा देखिन्छन् ।

गत फागुनसम्म बैंकको कुल कर्जामध्ये दोस्रोमा व्यवसाय र तेस्रोमा उपभोग्य वस्तुमा प्रवाह भएको छ । सोही अवधिमा प्रवाह भएको कुल कृषि कर्जामध्ये सबैभन्दा बढी ४६.३५ प्रतिशत खाद्यान्न बाली तथा सेवा, १५.२२ प्रतिशत तरकारी उत्पादन, ९.५० प्रतिशत पशुपालन लगायतमा लगानी भएको छ ।

यस्तै, बैंकले विगत ३ वर्षदेखि किसान कार्ड वितरण गरिरहेको छ । किसानले यो कार्डबाट आफूलाई आवश्यक पर्ने बीउबिजन, मल तथा अन्य आवश्यक वस्तु खरिद गर्न सक्छन् । किसानको कर्जा खातासँग यो जोडिएकाले नगद नै आवश्यक पर्दैन । कृषिसम्बन्धी जानकारी तथा अनलाइन भुक्तानीका लागि किसान एप पनि बैंकले सञ्चालनमा ल्याएको छ ।

‘प्राथमिकता कृषि कर्जामै’

गोविन्द गुरुङ

प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंक

किसानलाई कृषि कर्जा दिनकै लागि स्थापित बैंकको झन्डै ६ दशक लामो यात्रालाई कसरी सम्झिनुहुन्छ ?

कृषिको उत्पादन एवं उत्पादकत्व बढाउन र कृषिलाई आधुनिकीकरण गरी प्रविधिमा किसानलाई आत्मनिर्भर बनाउन ५७ वर्षअघि यस बैंकको स्थापना भएको हो । बैंकले कृषिलाई सधैं उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको छ, जसले गर्दा अहिले पनि बैंकको कुल कर्जामध्ये ३३ प्रतिशतभन्दा बढी लगानी कृषि क्षेत्रमै छ ।

आफ्नो उद्देश्य छाडेर एकाएक अरू वाणिज्य बैंकले जस्तै व्यावसायिक क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने अवस्था कसरी आयो त ?

बैंकले आफ्नो प्राथमिकता क्षेत्रलाई पूर्णतः छाडेको छैन । बैंकको उद्देश्य नै कृषिलाई नछोड्ने र अरूलाई जोड्ने भन्ने रहेको छ । अहिले पनि बैंकको प्राथमिकता कृषि क्षेत्रकै कर्जा लगानीमा छ । वाणिज्य बैंक भएपछि सबै क्षेत्रमा सेवा प्रदान गर्नुपर्ने भएकाले सोहीअनुसार आफ्नो कर्जाको पोर्टफोलियो व्यवस्थापन गरी लगानीकर्तालाई प्रतिस्पर्धी प्रतिफल प्रदान गर्नुपर्ने भएकाले सबै क्षेत्रमा सबै किसिमको बैंकिङ कारोबार गरिरहेको मात्र हो ।

पछिल्ला वर्षमा बैंकको कुल कर्जा प्रवाहमा कृषिको हिस्सा निरन्तर घट्दो छ, अब कृषि क्षेत्र कम प्राथमिकतामा परेको हो ?

बैंकको मूल उद्देश्य नै कृषि क्षेत्रको समग्र विकासका लागि वित्तीय सेवा प्रदान गर्ने भएकाले कृषि कर्जाको लगानी वृद्धि गर्ने नै मुख्य उद्देश्य छ । यद्यपि, पछिल्ला केही वर्षमा व्यावसायिक कृषि परियोजना वृद्धि हुन नसकेका कारण अपेक्षित रूपमा वृद्धि नदेखिए पनि कुल कृषि कर्जा परिमाणमा यथेष्ट लगानी गरेका छौं ।

परम्परागत रूपमा मात्रै कृषि कर्जा प्रवाह भइरहेको छ । नवीनतम् सोचका साथ लगानी गर्न नसकेकै हो त ?

पछिल्ला वर्षमा व्यावसायिक कृषिमा नवीनतम् प्रविधिको प्रयोग गरिरहेका छौं । बैंकले पनि कृषिलाई आधुनिकीकरण गर्ने तथा प्रविधियुक्त गर्ने सन्दर्भमा आवश्यक पर्ने लगानीतर्फ कर्जा प्रवाह वृद्धि गरिरहेको छ । साथै कृषकलाई व्यावसायिक रूपमा डिजिटल प्रविधिसँग जोड्न बैंकले किसान कार्ड तथा किसान एप पनि सञ्चालनमा ल्याएको छ ।

पछिल्ला त्रैमासहरूमा बैंकको कार्यसम्पादन उपलब्धिमूलक देखिँदैन । खराब कर्जा बढेको छ । खुद नाफा ऋणात्मक छ । यस्तो अवस्था किन आयो त ?

अहिले समग्र बैंकिङ क्षेत्रमै खराब कर्जा वृद्धि भएको छ । तर, हाम्रो बैंकको दोस्रो त्रैमासमा खराब कर्जा समग्र बैंकिङ क्षेत्रको औसतभन्दा कम नै छ । अर्थात् ३.०२ प्रतिशत मात्रै खराब कर्जा रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा ऋणात्मक देखिए पनि दोस्रो त्रैमासको वित्तीय विवरणमा बैंक १ अर्ब ८६ करोड नाफामा रहेको छ ।

बैंकलाई फेरि पुरानै शैली अर्थात् कृषि क्षेत्रमा मात्रै कर्जा प्रवाह गर्नेतर्फ लैजाने सम्भावना कत्तिको छ ?

हिजो र आजको परिस्थिति फरक छ । कम्पनीका रूपमा गएपछि बैंकको पुँजी संरचनाअनुसार ४९ प्रतिशत सर्वसाधारण लगानीकर्ताको सेयर छ । यसकारण सेयरधनीलाई प्रतिस्पर्धी प्रतिफलको अपेक्षा पनि हुन्छ । त्यसका लागि सम्पूर्ण बैंकिङ अर्थात् सबै क्षेत्रमा रहेका अवसरमा व्यवसाय गर्नुपर्ने हुन्छ । अब एकै किसिमको व्यवसायमा मात्रै लगानी गर्ने छुट हामीलाई छैन । तसर्थ, नेपाल सरकारले प्राथमिकतामा राखेका अन्य क्षेत्रमा पनि हामीले कर्जा लगानी गरिरहेका छौं । तर, बैंकले सुरुवातदेखि गरिरहेको कृषि क्षेत्रमा कर्जा वृद्धिको अभियानलाई हामीले रोकेका भने छैनौं ।

बैंकले पञ्चवर्षीय रणनीतिक योजना पनि बनाउँदै छ । मुख्य योजना के के छन् त ?

आगामी पाँच वर्षका लागि पञ्चवर्षीय रणनीतिक योजना निर्माण गर्ने क्रममा छौं । खास गरी बैंकिङ क्षेत्रमा देखिएका चुनौतीलाई मध्यनजर गरी बैंकिङ प्रविधिमा भइरहेको विकासलाई आत्मसात् गर्दै ग्राहकलाई नवीनतम् प्रविधिको प्रयोगबाट छिटोछरितो बैंकिङ सेवा प्रदान गर्न लागि परेका छौं । मानव संशाधन, बैंकिङ प्रविधि, व्यावसायिकता, ग्राहक सेवा तथा कम्प्ल्यान्सको पालनामा समयसापेक्ष रूपान्तरण गरी व्यावसायिक लक्ष्य हासिल गर्ने योजनामा पनि रहेका छौं ।

प्रकाशित : चैत्र २५, २०८० ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?