कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

मकैका खोस्टाबाट आकर्षक फूल

फाल्गुनन्दले मकैका खोष्टा ब्रान्डिङ गर्दै
लक्ष्मी गौतम

पाँचथर — मकैका खोस्टा के–के मा प्रयोग हुन्छ ? सहजै उत्तर आँउछ गाईबस्तुलाई खुवाउन । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले भने मकैका खोस्टा प्रयोग गरेर आकर्षक फूल तयार गर्न थालेको छ ।

मकैका खोस्टाबाट आकर्षक फूल

खोस्टा काटेर रङ भर्दै घर तथा कार्यालयका टेबल र भित्ता सजाउनका साथै उपहार दिन प्रयोग गरिने गुच्छा र व्याचलगायत सामग्री निर्माण गरेर तिनको बजारीकरण गर्न गाउँपालिका अग्रसर भएको हो । गाउँपालिकाले पहिलो पटक १७ जना स्थानीय महिलालाई खोस्टाका फूल बनाउने तालिम दिएर उत्पादन सुरु गरेको छ । नौ दिनसम्म तालिम लिएका सहभागीले कलात्मक फूल तयार गर्न थालेका छन् ।

एकलाख पचास हजार रुपैयाँ खर्च गरेर गरेको खोस्टाको तालिममा सहभागीलाई खोस्टाका फूलसँगै फूल राख्ने बाँसका चोया काढेर गमला बनाउन सिकाइएको थियो । ‘सबै सहभागीले सहज रुपमा तालिम पूरा गर्दै सामग्री उत्पादन गर्न थाले, अब गाउँपालिकाले आयोजना गर्ने कार्यक्रममा तिनै सामग्री प्रयोग गर्छौ,’ पालिका अध्यक्ष बृजहाङ आङदेम्बेले भने ।

खोस्टाका फूल प्रयोग गर्दा खाँदा र ब्याच जस्ता आयातित सामग्री भन्दा सस्तो र वातावरण मैत्री हुने देखिएकाले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेट बनाँउदा यस्तो कार्यक्रम राखिएको आङदेम्बे बताँउछन् । उत्पादित फूल गाउँपालिकाले आफ्ना सबैखाले कार्यक्रममा प्रयोग गर्नका साथै पालिकाभित्र आयोजना हुने उत्सव, महोत्सव र सार्वजनिक कार्यक्रममा स्टल राखेर प्रबर्द्धन गर्ने र छिमेकी स्थानीय तह र व्यवसायीसँग समन्वय गर्दै बजारीकरण गर्ने लिएको उपाध्यक्ष ठाकुरसिंह नेम्वाङले बताए ।


खोस्टाबाट फूल बनाउन रङ र ब्याडिङ तारबाहेक अरु सामग्री आवश्यक पर्दैन । कैचीले काटेर चार कुना मिलाइएका खोस्टा नूनपानीमा भिजाएर रङ लगाएपछि फूल बनाउन तयार हुन्छन् । एक किलो खोस्टाबाट उपहार दिन मिल्ने ६ वटासम्म रोज तयार हुन्छन् । यसरी तयार गरिएका बुके प्रतिगोटा तीन सयदेखि एक हजार रुपैयाँसम्म बेच्न सकिने प्रशिक्षक सुमित्रा खतिवडा बताँउछिन् । ‘खोस्टाबाट फूल गुच्छासँगै ढाकी, पिरा, झोला र विवाह पार्टीमा प्रयोग गर्ने ब्याच पनि बनाउन सकिन्छ । यत्तिका रोज तयार गर्न पाँच रुपैयाँको रङ र ब्यान्डिङ टेप खरिद गरे पुग्छ, अरु अरु सबै हातकै सीप हो,’ खतिवडाले भनिन् ।

पहिलो पटक उत्पादन भएका फूलको बजार माग र प्रभावकारिता हेरेर आगामी वर्ष अन्य सामग्री उत्पदन गर्न स्थानीयलाई प्रेरित गरिने प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले बताए । ‘खोस्टाबाट बनेका झोला, ब्याच र फूलको प्रयोगले प्लाटिकका सामग्रीे उपयोगमा न्यूनीकरण सँगै वातावरण संरक्षणमा पनि टेवा पुग्छ,’ प्रशिक्षक खतिवडा भन्छिन् । गाउँपालिकाले चैत ५ गतेदेखि सुरु गरेको खोस्टाको फूल बनाउने तालिम १३ गते समापन गरेको छ ।

सहभागीहरुले तालिम सुरु भएदेखि नै धमाधम सामग्री उत्पादन गर्न थालेको बताए । ‘घरैमा बसेर आफैंले फलाएका मकैको खोस्टाबाट यत्तिका राम्रा फूल बनाउन सकिन्छ भन्ने लागेको थिएन, तालिम सुरु भएको दुईदिनमै आकर्षक सामग्री तयार गर्न सक्ने भयौं, फुर्सदको समय घरैमा सामग्री तयार पारेर बेच्ने हो,’ तालिममा सहभागी दिलकुमार चेम्जोङले भनिन् । तालिमकै सहभागी लक्ष्मी लिम्बूले फुर्सदको समयमा खोस्टाका सामग्री बनाएर विक्री गर्न थालेको सुनाइन् ।

प्रकाशित : चैत्र १९, २०८० ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x