कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

जाँतो बनाउने सीप लोप हुँदै

न सीप जोगाउन पहल, न त सीप हस्तान्तरणप्रति नै चासो
काशीराम डाँगी

रोल्पा — रोल्पाको जेलबाङ, गाम, जंकोट र होमा गाउँमा बनाइने चाँखी अर्थात् जाँतो निकै प्रसिद्ध छन् । स्थानीयले कडा मिहिनेत गर्दै ढुंगा कुँदेर जाँतो तयार पार्छन् । यो चलन निकै पुरानो हो । यद्यपि, अहिले पनि गाउँमा यही चलन पछ्याइएको छ । हातले कुँदेको जाँतो लोकप्रिय मानिन्छ ।
यी गाउँहरूमा जाँतो बनाउने पुर्खादेखिको सीप अहिले हराउने क्रममा छ ।

जाँतो बनाउने सीप लोप हुँदै

स्थानीय तह र सरकारले चासो नदेखाउने हो भने छिटो नै ढुंगा कुँदेर जाँतो बनाउने पेसा पनि हराउने स्थानीय बताउँछन् । ‘यो पेसा लोपोन्मुख अवस्थामा पुगिसकेको छ,’ पूर्वी रोल्पास्थित सुनछहरी गाउँपालिका–५ जैमाकसला थनबाङ निवासी जुनिसकुमार विष्टले भने, ‘हामीले देख्दादेख्दै यो चलन हराउन लाग्यो । बचाउन नसके अवश्य लोप हुनेछ ।’ यो सीप पुर्खादेखि सिक्ने र पेसाका रूपमा पछ्याउने गरिएको थियो । लामो समय यहाँ अन्न पिस्ने माध्यमका रूपमा जाँतोको विकल्प नै थिएन ।

स्थानीयका अनुसार २०१३ साततिर गाउँमा जाँतो बनाएर बुदे विष्ट, लोन्द्रे विष्ट र प्रमाण खत्री लगायतका मानिसले यो चलन भित्र्याएका हुन् । गाउँमा राम्रो पक्की ढुंगा पाइने भएकाले कृषि र पशुपालन जत्तिकै जाँतो बनाउने पेसालाई स्थानीयले मान्दै आएका हुन् । यो क्रम निरन्तर छ । सुनछहरीमा मगर समुदायको बाक्लो बसोबास भए पनि थनबाङका विष्ट, खत्री र केही दलित समुदायले मात्रै जाँतो बनाउने पेसा अँगालेका छन् । स्थानीय रिमु खत्री भन्छन्, ‘यो पेसा हाम्रा पुर्खाले गर्दै आएका हुन् । निकै दुःख गरेर पनि कमाइ र सीपका लागि यो काम गर्ने गरिएको छ ।’ राम्रोसँग बिक्री भए जाँतोबाट प्रशस्त आम्दानी हुने स्थानीयको भनाइ छ ।

तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा यो पेसा गर्नेहरू विस्थापित भए । राज्य र माओवादी पक्षबाट अप्ठ्यारो आइपरेपछि केही वर्ष यो पेसा बन्द नै गर्नुपरेको रिमुले बताए । शान्ति प्रक्रिया थालेपछि भने स्थानीय पुनः यस पेसामा फर्किन थालेको उनले सुनाए । तत्कालीन जिल्ला विकास समितिका सदस्य रहेका रिमु पनि माओवादी सशस्त्र द्वन्द्वका कारण सदरमुकाममा विस्थापित भएका थिए । उनका अनुसार जाँतो बनाउने सीप भएकालाई माओवादीले हतियार बनाउन र यस्तै अन्य सामरिक कार्यमा लगाउने गरेपछि जाँतो बनाउने काम नै बन्द गर्नु परेको थियो ।

जाँतो बनाउन बलियो र कडा प्रकारको ढुंगाको प्रयोग हुन्छ । गाउँमा यस प्रकारको ढुंगालाई चाँखी बनाउने ढुंगा पनि भन्छन् । एउटा जाँतोको मूल्य अहिले २ हजार ५ सयदेखि ४ हजार रुपैयाँसम्म पर्छ । स्थानीयले ५० वर्षअघि जाँतोको मूल्य ५० रुपैयाँ मात्रै रहेको बताए । स्थानीय मिस्त्रीका रूपमा चिनिएका जिते विटालुले समयसँगै जाँतोको मूल्य पनि बढेको सुनाए । पहिले पहिले जाँतो बेच्न रोल्पा सदरमुकाम लिबाङसहित रुकुम, दाङ, प्यूठान र सल्यानसम्म पुग्नु पर्थ्यो भने अहिले यातायातको साधन पुगेकाले गाउँमै बिक्री हुने गरेको छ । तर, स्थानीय वृद्ध कर्णबहादुर विष्टले २०२८ सालमा जाँतो बेच्न रुकुम पुर्‍याउँदा १ सय रुपैयाँ परेको स्मरण गरे । ‘बोकेर हिंड्नु पर्ने र रोल्पादेखि त्यहाँसम्म पुर्‍याउँदा मूल्य पनि बढी पाइन्थ्यो,’ उनले भने ।

जाँतोको प्रयोग कम हुनुमा आधुनिक विकास र नयाँ प्रविधिको प्रयोग भएको स्थानीयको बुझाइ छ । अचेल गाउँघरमा बिजुलीबाट चल्ने मिल जडान गरिएको छ । त्यसैमा स्थानीयले अन्न पिस्ने काम गर्छन् । आधुनिकतासँगै परम्परागत जाँतोको प्रयोग कम भएपछि माग पनि घटेको हो । जाँतो बनाउने मिस्त्री निमै विष्टका अनुसार आधुनिकताले हाम्रो सीपप्रति नकारात्मक असर पारेको छ । अर्कातिर नयाँ पिंढीले यो सीप सिक्ने जाँगर गरेको पाइँदैन ।

जाँतो बनाउने ढुंगाबाट अचेल मिस्त्रीहरूले पानीघट्ट, गमला, सिलौटो र भगवान्का मूर्ति पनि बनाउने गरेका छन् । यसतर्फ भने सबैको ध्यान जाने गरेको छ । जाँतोको प्रयोग कम भएपछि परम्परागत सीपको संरक्षणमा समस्या आएको अर्का मिस्त्री जसमन विष्टले सुनाए । उनका अनुसार आधुनिकताको प्रभाव र सजिलो जीवन भोगाइका कारण मानिसहरूले परम्परागत सीप सिक्न र प्रयोग गर्न समेत छाड्ने गरेका छन् । समयमै परम्परागत सीप जोगाउन नसके पछुताउनु पर्ने उनले बताए ।




प्रकाशित : फाल्गुन ५, २०८० १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?