८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

सिमानाले छेक्यो माइती गाउँ

चीन सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै बन्द गरेको टिप्ताला भञ्ज्याङ नाका नखोल्दा विहेवारी गरी नेपालमा बस्नेहरू पाँचवर्षदेखि आफन्त भेट्न जान पाएका छैनन्
आनन्द गौतम

मौवाटार, ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका तेम्बा र पटेन शेर्पा दम्पत्तीको ४७ सय मिटर उचाईको सिजेंमाताल छेउमा गोठ छ । चौरी र याक पालेर बसेका उनीहरुले ताल घुम्न आउनेकालागि बस्ने खाने प्रबन्धपनि मिलाउँछन् । तीन सन्तानलाई सहर पढ्न पठाएर एकान्तस्थलमा बसेका उनीहरुको गोठबाट नेपाल र चीनको सिमाना टिप्ताला भञ्ज्याङ नजिकै छ ।

सिमानाले छेक्यो माइती गाउँ

सिमाना माथीको डाँडाबाट हेर्दा पारी माइती गाउँ देखिन्छ । पटेलको माइती गाउँ चीनको स्वशासित क्षेत्र तिब्बतको डिङजे काउण्टीको रिउ हो । सिमानादेखि रिउ ३५ किलोमिटर दूरीमा छ । गोठदेखि सिमाना ५ घण्टा र सिमानादेखि गाडीमा जाँदा एकाध घण्टामा पुगिन्छ । तर माइती नपुगेको पाँच वर्ष बित्यो । नत उनका श्रीमान् ससुराली नै जान पाएका छन् ।

ओलाङचुङगोलाकै मौवाटारमा गोठ राखेर बसेका भोमो र भुजुङ शेर्पाको पनि माइती र ससुरालीसँगको सम्बन्ध तेम्बा र पटेनको जस्तै छ । संखुवासभाको भोटखोला गाउँपालिका घर भएका भुजुङसँग विवाह गरेर नेपाल आएकी भोमोले साथ छोडेकी छैनन् । नेपाल आएपछि तीन सन्तानलाई जन्मदिएकी उनी श्रीमानसँगै बसाइँ सरेर ताप्लेजुङ आएकी हुन् । खर्कभरी चौरी र याक पालेर आफ्नो जीवनयापन र छोराछोरीको शिक्षामा खर्च गर्दै आएका यी दम्पत्तीलाई पनि माइतीसँगको सम्बन्धमा भने सिमाना बाधक बनेको छ ।

तिब्बतसँग ब्यापार गर्ने क्रममा खल्तीभरी पैसा बोकेर जाने र याकलाई सामान बोकाएर ल्याउने तेम्वा र भुजुङले जिवनसाथी पनि उतै (तिब्बत) बाट ल्याए । अहिलेजस्तो सञ्चारको विकास नभएको त्योबेला भौतिक रुपमै भेटेर मनाउनुपर्थ्यो । आफ्नै देशका युवालाई छोडेर नेपाल आएका उनीहरुलाई सिमानाले माइतीगाउँ छेक्ला जस्तोपनि कहिल्यै लागेको थिएन । कोरोना संक्रमणदेखि भने माइती जानबाट बञ्चित छन् ।

चीनले द्विदेशीय सिमाना छेउमै आफ्नो देशको टेलिफोन टावर राखेको छ । तर त्यो नेपालीका लागि उपयोगी छैन । सिमानाकै छेउमा बस्ने नेपालीले भने टेलिफोनबाट कुरा गर्न ओलाङचुङगोलाको बस्ती झर्नुपर्छ । ओलाङचुङगोलामा नेपाल टेलिकमको टावर छ । फोनमा कुरा गर्न मिलेपनि अनलाईन कुराकारी भने कठिन छ । यहाँ टुजी मात्रै छ । टेलिफोनमै कुरा गर्नकालागि पनि गोठवाट पाँचदेखि सातघण्टाको पैदल हिँड्नुपर्छ ।

‘फोन गर्न तल गोला गइञ्जेलमा त माइती नै पुग्थ्यो नी,’ पटेनले थपिन, ‘हामीलाई त सिमानाले छेक्यो ।’ ४०/४५ वर्षको उमेर समूहका यी दम्पत्ती मात्रै नभएर ७० कटेका ओलाङचुङगोलाका छिरिङकिपा र डण्डु शेर्पालाई पनि माइती गाउँको याद आउँछ । जीवनको उत्तरार्द्धमा किपाले राखेको माइती देश पुगेर आफन्त भेट्ने चाहनामा श्रीमान डण्डु पनि साथ दिन चाहन्छन् । तर चीन सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न भन्दै बन्द गरेको टिप्ताला भञ्ज्याङ नाका नखोल्दा उनीहरुको चाहना पूरा हुन सकेको छैन । नेपाली युवकसँग घरजम गर्ने दर्जनौं तिब्बती चेलीहरुकालागि यो साझा समस्या बनेको छ ।

फक्ताङलुङ गाउँपालिका-७ का वडाध्यक्ष छेतेन शेर्पा लामाका अनुसार तिब्बत माइती भएका कम्तीमा १८ जना महिला ओलाङचुङगोला र याङमामा छन् । लेलेपको घुन्सा, फले र मिक्वाखोला गाउँपालिका ५ तिब्बतमापनि थोरैको संख्यामा भएको उनले बताए । जन्मस्थलको याद र आफन्तको माया औधी भएका महिलाहरुलाई भेटाउने प्रयासमा अनवरत लागेको छेतेन बताउँछन् । यो नाकाबाट चार वर्षदेखि व्यापारिक सम्बन्धसमेत अवरुद्ध छ ।

तिब्बतको डिङजे काउण्टीका प्रमुखले वडाध्यक्ष छेतेनलाई गत सेप्टेम्बर महिनामा फोन गरेरै नाका खोल्ने सूचना दिएका थिए । ताप्लेजुङका तत्कालीन प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले आफ्नो सिमावर्ती क्षेत्रका नागरिकलाई सीमा परिचय पत्रपनि गाउँमै गएर वितरण गरिन् । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमा पनि यो नाका खोल्ने विषयमा कुरा भयो । तर, अहिलेसम्म कार्यान्वयनमा आएको छैन । ‘हामी त्यहाँको जिल्लाको मान्छेसँग कुरा गछौं, उनीहरू सबं तयारी भएको छ माथी (केन्द्र) बाट आदेश आउने बित्तिकै खोल्छौं भन्छन,’ छेतेनले थपे, ‘अव नेपालको केन्द्र सरकारलेनै माथील्लो तहमा कुरा गर्नुपर्छ ।’

नाका खोल्ने पहलका लागि प्रतिनिधिसभाका सांसद योगेश भट्टराई नेपालमा रहेको चिनियाँ दूतावास सम्मपनि पुगे । फक्ताङलुङ गाउँपालिकाले सरकारलाई पहलकालागि अनुरोध पत्र पठायो । ओलाङचुङगोलाका हरेक नागरिक गोला पुग्नेलाई सीमाको विषयमा पहल गर्न अनुरोध गर्छन् । तर माइतीसँग भेटेर भलाकुसारी गर्ने तिब्बती चेलीको आशा पुरा भएको छैन भने व्यापार व्यवसाय पनि ठप्प रहेको वडासदस्य टाँसी शेर्पा बताउँछन् ।

प्रकाशित : माघ २९, २०८० १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

महासमिति बैठकमा नागरिकका मुद्दा छाडी सत्ताबारे मात्रै बहस गर्ने कांग्रेसी नेताबारे तपाईंको के टिप्पणी छ ?