१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

सकसमा  ‘इन्डिया’  गठबन्धन

सन् २०२४ मेमा हुने लोकसभा चुनावको तयारीमा जुटिरहेका मोदीले आगामी कार्यकालमा भारतलाई विश्वका तीन ठूला अर्थतन्त्रमा ल्याउने ‘ग्यारेन्टी’ बारम्बार दोहोर्‍याउँदै आएका छन् । राजस्थान, मध्य प्रदेश, छत्तिसगढ र तेलंगानाको विधानसभा चुनावको नतिजाले ‘मोदीको ग्यारेन्टी’ आगामी चुनावमा पनि सहजै सफल हुने देखाएको छ ।
बुद्धिसागर मरासिनी

काठमाडौँ — ‘यो मोदीको ग्यारेन्टी हो,’ तेस्रो कार्यकाल ताकिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भाषणका क्रममा निकै दोहोर्‍याउने वाक्य हो यो । २०२४ मेमा हुने लोकसभा चुनावको तयारीमा जुटिरहेका मोदीले आगामी कार्यकालमा भारतलाई विश्वका तीन ठूला अर्थतन्त्रमा ल्याउने ‘ग्यारेन्टी’ बारम्बार दोहोर्‍याउँदै आएका छन् ।

सकसमा  ‘इन्डिया’  गठबन्धन

सबैका लागि पक्की घरको सपना देखाउन होस् वा हरेक नागरिकलाई लखपति बनाउने कुरा । गरिबलाई निःशुल्क रासनको व्यवस्था वा पाँच लाखसम्म निःशुल्क उपचारको कुरा गर्दा नै किन नहोस्, मोदीले आफ्नो भाषणमा जोडतोडका साथ उच्चारण गर्ने शब्द हो, ‘मोदीको ग्यारेन्टी’ ।

खासमा पछिल्ला दुई वर्षयता विपक्षी दल कंग्रेसले निकै प्रयोगमा ल्याएको शब्द हो यो । खासगरी, कर्नाटक र हिमाचल राज्यको चुनावी अभियानमा ‘ग्यारेन्टी’ को प्रयोग सफल पनि देखियो । त्यसैले पनि होला मोदीले ‘मिसन–२०२४’ का लागि नयाँ रणनीति अघि सारेका छन् । त्यो हो, प्रतिपक्षलाई उनीहरूकै हतियारले प्रहार गर्ने ।

विधानसभामा भाजपाको दबदबा

राजस्थान, मध्य प्रदेश, छत्तिसगढ र तेलंगाना विधानसभा चुनावको परिणामले भने भारतीय प्रधामन्त्री मोदीको चुनावी हतियार आगामी लोकसभा चुनावसम्मै कामयाब हुने देखिएको छ ।

राजस्थान, मध्य प्रदेश र छत्तिसगढमा भाजपाले कंग्रेसलाई सहजै पराजित गरेको छ । तेलंगानामा भने कंग्रेसले सरकार बनाउने भएको छ । मतगणना एक दिनका लागि पछि सारिएको मिजोरममा भने कंग्रेस र भाजपासँग गठबन्धन गरेको मिजो नेसनल फ्रन्टबीच तीव्र प्रतिस्पर्धा रहेको एक्जिट पोलहरूले देखाएका छन् ।

राजस्थान, मध्यप्रदेश र छत्तिसगढ राज्यको विधानसभा चुनावको नतिजापछि राजस्थानको जयपुरमा खुसी मनाउँदै भाजपा समर्थकहरू । तस्बिर : एपी

निकै प्रतिस्पर्धात्मक भनिएको राजस्थानमा भाजपाले ११५ जित्दा कंग्रेस ६९ सिटमै रोकिएको छ । बीएसपीले २ र अन्य दलले १३ सिट जितेका छन् । त्यस्तै, मध्य प्रदेशमा पनि भाजपाले अप्रत्याशित नतिजा ल्याएको छ । भाजपा १६३ सिटमा विजयी हुँदा कंग्रेसले मात्र ६६ सिटमा जित हासिल गरेको छ ।

छत्तिसगढमा ३५ सिट ल्याएको कंग्रेसभन्दा भाजपाको १९ सिट बढी छ । तेलंगानामा कंग्रेस ६४, बीआरएस ३९ र भाजपा ८ सिटमा विजयी भएका छन् । हाल राजस्थान र छत्तिसगढमा कंग्रेस र मध्य प्रदेशमा भाजपा सरकार छ । आइतबार आएको चार राज्यको नतिजाले भने २०२४ मा हुने लोकसभा चुनावमा भाजपाको दबदबा कायम हुने देखिएको छ ।

लोकसभामा ८३ सिट रहेका यी पाँच राज्यको चुनावी नतिजाले दलहरूप्रति मतदाताको पछिल्लो मनस्थिति बिम्बित गरेको विश्लेषकहरूको भनाइ छ । वरिष्ठ भाजपा नेता तथा छत्तिसगढका पूर्वमुख्यमन्त्री रमन सिंहले जनताले मोदी नेतृत्वको स्थिर सरकारलाई विश्वास गरेको दाबी गरेका छन् ।

राजस्थानमा २०१८ मा भएको विधानसभा चुनावमा भाजपाको भन्दा कंग्रेसको मत ०.६ प्रतिशत बढी थियो । तर त्यसले नतिजामा भने निकै ठूलो फरक पारेको थियो । कंग्रेसले १०० सिट जित्दा भाजपा ७३ मै रोकिएको थियो । छत्तिसगढमा कंग्रेसले ९० मध्ये ६८ सिट जितेको थियो ।

छत्तिसगढमा कंग्रेस राम्रो मतसहित विजयी हुने अनुमानविपरीत यस पटकको नतिजा भाजपाले आफ्नो पक्षमा पारेको छ । त्यस्तै अवस्था मध्य प्रदेशमा पनि देखिएको छ । ज्योतिरादित्य माधवराव सिन्धियालाई आफ्नो दलमा भित्र्याएर ११४ सिटको कंग्रेसलाई सत्ताबाट हटाएको भाजपाले मध्य प्रदेशमा अप्रत्याशित नतिजा ल्याएको हो ।

तेलंगानामा भने भारत राष्ट्र समिति (बीआरएस) का चन्द्रशेखर राव तेस्रो कार्यकाल मुख्यमन्त्री हुने ठानिएको भए पनि नतिजा फरक देखिएको छ । एक्जिट पोलको नतिजाविपरीत कंग्रेस पहिलो पार्टी बनेको छ ।

करिब १६ करोड मतदाता रहेका यी राज्यमा देखिएको भाजपा लहरले मोदी तेस्रो कार्यकाल सत्तामा रहिरहने लगभग निश्चित देखिएको छ । ‘यी राज्यको नतिजाले लोकसभा चुनावको बाटो तय गर्ने निश्चित छ,’ लोकनीति सीएसडीएसका सहनिर्देशक प्राध्यापक सञ्जय कुमार भन्छन् । उनका अनुसार चुनावी नतिजाले भाजपाको मनोबल थप उच्च बनेको छ । पछिल्लो चुनावी नतिजाले भारतमा मोदीको लोकप्रियता अझै कायमै रहेको सन्देश देशभर पुगेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । त्यसैगरी, पछिल्लो चुनावी नतिजाले अर्को सन्देश पनि दिएको छ । त्यो हो, कम्तीमा एक कार्यकालका भाजपाका लागि कंग्रेस गठबन्धन र मोदीका लागि राहुल गान्धीको चुनौतीले खासै काम गर्नेवाला छैन ।

चुनावी नतिजासँगै हौसिएका भारतीय प्रधानमन्त्री मोदीले विपक्षी कंग्रेससहितको गठबन्धनलाई ‘घमण्डीय गठबन्धन’ को संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘चुनावी नतिजाले केही परिवारका सदस्यहरू सँगसँगै स्टेजमा आएको भरमा राष्ट्र र जनताको विश्वास जित्न सम्भव छैन भन्ने पाठ सिकाएको छ ।’ मध्य प्रदेशमा त झन् भाजपाको विकल्प नै नभएको उनको दाबी छ ।

उत्तर प्रदेशले मोदीलाई थप सहज

पहिलो र दोस्रो कार्यकालको तुलनामा यस पटक विपक्षीबाट निकै चुनौतीको सामना गरिरहेका मोदीको अन्तिम प्रयास भने उत्तर प्रदेशमै रहने निश्चित छ । लोकसभामा सबैभन्दा धेरै सदस्य रहेको राज्यको चुनावी नतिजा आफ्नो पक्षमा पार्न नसके तेस्रो कार्यकालको सपना पूरा हुने सम्भावना छैन । त्यसैले मोदी आफ्ना राजनीतिक सारथि तथा राज्यका मुख्यमन्त्री योगी आदित्यनाथको भरमा देखिन्छन् ।

पछिल्लो समय जनतामा योगीको लोकप्रियता खस्कँदै गएसँगै उत्तर प्रदेशमा भाजपा (भारतीय जनता पार्टी) ले आफ्नो मत जोगाउन केही चुनौतीपूर्ण भने देखिएको छ । यद्यपि, भारतमा मोदीपछिको लोकप्रिय नेता भने योगी नै छन् । उनले हालै मात्र राज्यमा ‘हलाल प्रमाणित’ खाद्य पदार्थको उत्पादन, भण्डारण, वितरण र बिक्री गर्नसमेत बन्देज लगाइदिएका छन् । उनको उक्त कदम हिन्दु मतलाई एकबद्ध राख्ने प्रयासका रूपमा हेरिएको छ ।

त्यसका साथै, भाजपाले आवश्यकताअनुसार कंग्रेसविरुद्ध धार्मिक कार्डसमेत प्रयोग गर्दै आएको छ । उसले लामो समयदेखि कंग्रेसलाई ‘हिन्दुविरोधी’ पार्टीका रूपमा चित्रित गर्दै आइरहेको छ । सोनिया गान्धीले पार्टीको नेतृत्व लिएपछि त यसमा भाजपा केही सफल भएको स्वीडेनस्थित उप्सला विश्वविद्यालयका प्राध्यापक अशोक स्वाइन बताउँछन् । यद्यपि, यो धारणा परिवर्तन गर्न राहुल केही हदसम्म सफल भएका उनको बुझाइ छ । ‘सोनियालाई जस्तै राहुललाई हिन्दु विरोधीका रूपमा चित्रित गर्न भाजपालाई त्यति सहज छैन,’ उनले भने ।

‘मुड अफ द नेसन’ सर्वेक्षणले भने उत्तर प्रदेशमा भाजपाले २०१४ को नतिजा दोहोर्‍याउने देखाएको छ । २०१४ मा भाजपा ४९ प्रतिशत मतसहित उत्तर प्रदेशका ८० मध्ये ७२ सिटमा विजयी भएको थियो । २०१९ को लोकसभामा भने भाजपाले ६२ सिट ल्याएको थियो ।

बेरोजगारी दर र मुद्रास्फीतिको चिन्ता कायमै

गत जुलाईमा दिल्लीस्थित प्रगति मैदानमा आईईसीसी कम्प्लेक्सको उद्घाटनका क्रममा त मोदीले ‘ग्यारेन्टी’ शब्दको प्रयोग गर्दै विपक्षीमाथि निकै हाबी भए । त्यसक्रममा मोदीले आफ्नो नेतृत्वको सरकारले पाँच वर्षको अवधिमा १३ करोड ५० लाख मानिसलाई गरिबीबाट माथि उठाएको दाबी गरे । ‘अन्तर्राष्ट्रिय संस्थाहरूले समेत भनेका छन्, भारतमा गरिबी अन्त्य हुने अवस्थामा छ,’ मोदीको भनाइ छ, ‘९ वर्षको अवधिमा हामीले लिएका निर्णय र हाम्रा नीतिले देशलाई सही दिशातर्फ अघि बढाइरहेको यसले प्रमाणित गर्छ ।’

सन् २०१४ मा मोदीले प्रधानमन्त्रीको पद सम्हाल्दा १० औं स्थानमा रहेको भारतको अर्थतन्त्र हाल पाँचौं स्थानमा छ । हाल अमेरिका, चीन, जर्मनी र जापान भारतभन्दा ठूला अर्थतन्त्र भएका मुलुक हुन् । मोदीको नेतृत्वमा भारतले गत सेप्टेम्बरमा ‘जी–२०’ सम्मेलनको आयोजना गरेको थियो । विश्वको दुई तिहाइ जनसंख्या र ८५ प्रतिशत कुल गार्हस्थ्य उत्पादन समेट्ने ‘जी–२०’ देशले विश्वभर हुने व्यापारको ७५ प्रतिशत हिस्सा ओगट्छन् । उक्त सम्मेलनसँगै भारतमा ‘सम्मेलन पर्यटन’ को विकास सुरु भएको र आगामी दिनमा अझै तीव्र हुने मोदीको दाबी छ ।

तर भारतको पछिल्लो आर्थिक अवस्था भने मोदीको दाबीभन्दा भिन्न रहेको तथ्यांकहरूले देखाएका छन् । बढ्दो बेरोजगारी र मुद्रास्फीतिका कारण पछिल्लो समय अधिकांश भारतीय मोदी नेतृत्वको सरकारसँग असन्तुष्ट देखिएका छन् । बेरोजगारीको समस्यासँगै नरेन्द्र मोदी नेतृत्वको सरकारले भ्रष्टाचार अन्त्य गर्न नसकेको मुद्दा राहुल गान्धीसहितका कंग्रेस नेताहरूले पछिल्लो समय निकै चर्कोसँग उठाउँदै आएका छन् । भारतमा गत जुलाईमा मुद्रास्फीति ७.४४ प्रतिशत पुगेको थियो । जसका कारण खाद्यान्नको मूल्य साढे तीन वर्षयताकै उच्च बिन्दुमा पुगेको जनाइएको छ ।

भारतमा हाल बेरोजगारी दर करिब ८ प्रतिशत हाराहारीमा रहेको रोयटर्सले जनाएको छ । भारतमा आगामी १० वर्षमा कम्तीमा ७ करोड रोजगारी सिर्जना गर्नुपर्ने अर्थशास्त्रीहरू बताउँछन् । तर उक्त अवधिमा करिब २ करोड ४० लाख मात्रै नयाँ जागिर सिर्जना हुने तथ्यांकहरूले देखाएका छन् । प्रधानमन्त्री मोदी भने तेस्रो कार्यकालमै पर्यटन क्षेत्रले मात्रै त्यसको दोब्बर अर्थात् १३ देखि १४ करोड रोजगारी सिर्जना गर्ने दाबी गर्छन् । ‘जब मैले यस्तो ग्यारेन्टी दिन्छु, मैले पूर्ण जिम्मेवारीसहित काम गर्छु,’ मोदी भन्छन् ।

‘इन्डिया’ गठनबन्धन पर्याप्त नहुने संकेत

सन् २०१९ को आमनिर्वाचनदेखि नै कंग्रेसलाई सत्तामा फर्काउन क्रियाशील राहुल गान्धीको मुख्य उद्देश्य नै मोदीलाई तेस्रो कार्यकाल प्रधानमन्त्री हुनबाट रोक्नु हो । त्यसका लागि आगामी लोकसभा चुनावमा भाजपालाई कडा चुनौती दिन क्षेत्रीय पार्टीसहितको ‘इन्डियन नेसनल डेमोक्रेटिक इन्क्लुसिभ अलायन्स (इन्डिया) गठबन्धन बनाएका छन् ।

‘इन्डिया’ गठबन्धनमा हालसम्म डीएमके, एआईटीसी, जनता दल (युनाइटेड), शिव सेना, एनसीपी, एसपीलगायतका २८ वटा पार्टीहरू समावेश भइसकेका छन् । खासगरी भाजपा कमजोर रहेका दक्षिण र पूर्वी भारतका क्षेत्रीय पार्टीहरू ‘इन्डिया’ गठबन्धनमा आबद्ध भएका छन् ।

त्यसका साथै राहुलको अगुवाइमा गरिएको ‘भारत जोडो यात्रा’ का कारण पनि कंग्रेसको जनमत र राहुलको छवि केही सुधारिएको बताइन्छ । भारतलाई एकजुट राख्ने उद्देश्यसहित कंग्रेस नेता तथा कार्यकर्ताले ४ हजार ८० किलोमिटर पदयात्रा गरेका थिए । १ सय ३६ दिन लामो यात्रा तमिलनाडुको कन्याकुमारीबाट सुरु भई जम्मुकश्मीर पुगेर सकिएको थियो ।

इन्डिया टुडे म्यागेजिनले गरेको सर्वेक्षणले राहुलको लोकप्रियता पछिल्लो समय बढ्दै गएको र गठबन्धन ‘इन्डिया’ ले निकै राम्रो नतिजा ल्याउने देखाएको छ । तर पनि त्यो सरकार गठनका लागि पर्याप्त नहुने देखिएको ‘मुड अफ द नेसन’ सर्वेक्षणले देखाएको हो । सर्वेक्षणले तल्लो सदनका ५ सय ४२ सिटमध्ये भाजपाले कम्तीमा २ सय ८७ सिट जित्ने देखाएको छ ।

कंग्रेस गठबन्धले भाजपाको भन्दा ३६ सिट कम ल्याउने देखिएको छ । जसको अर्थ प्रस्टै छ, अझै कम्तीमा एक कार्यकाल मोदी नै भारतको प्रधानमन्त्री हुनेछन् ।

-एजेन्सीहरूको सहयोगमा

प्रकाशित : मंसिर १८, २०८० ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?