कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बर्मा : सम्झना–बिर्सना

दशकौंअघि पुर्खाको थातथलो खोज्दै नेपाल आएका बर्मेलीहरूको पाको पुस्ता अहिले पनि त्यहाँ बिताएका दिनहरूको सम्झनाले भावुक भइरहन्छन्
त्यो बेला ४/५ पाउन्डलाई नेपाली रुपैयाँ सटही गरेर बोक्न पाइन्थ्यो, अनि सुन बोकेर ल्याउन पाइन्थ्यो तर फलाम पाइन्थेन

झापा, लुम्बिनी — सन् १९६४ ताका तत्कालीन राजा महेन्द्र राजकीय भ्रमणमा बर्मा (म्यानमार) पुगेका थिए । त्यो बेला महेन्द्रले बर्मेली नेपालीहरूलाई पुर्ख्यौली थलो फर्किन आह्वान गरेका थिए । उनको आह्वानपछि करिब दुई लाख नेपालीभाषी बर्मा छाडेर फर्किए । इतिहासको यो घटना अहिले पनि सम्झनामा ताजै छ, नेपाल फर्केका बर्मेलीहरूसँग । 

बर्मा : सम्झना–बिर्सना

त्यतिबेला कतिपय नेपाली रहरले फर्किए । कतिपय बाध्यताले । झापाको मेचीनगर–६ काँकडभिट्टाका ८५ वर्षीय ऋषिराम काफ्ले भने बाध्यताले नेपाल फर्किनेमा परे । बर्माको मिचीना, नौनिखा गाउँमा जन्मेका काफ्ले परिवार सशस्त्र विद्रोही समूह ‘कचिन’ को आतंक सहन नसकेर भागे । कचिनहरूले काफ्लेको गाउँलाई सेल्टर बनाएका थिए । जसका कारण जतिबेलै मारिन सक्ने त्रास थियो । ‘मारिनुभन्दा भाग्दा नै ठीक हुन्छ भन्ने लाग्यो,’ ५५ वर्षअघिको घटना काफ्लेले सम्झिए, ‘अनि रेल चढेर रंगुनबाट कोलकाता हुँदै नेपाल पसियो ।’ काफ्लेका अनुसार गाउँबाट करिब ७ सयभन्दा बढी नेपालीभाषी एकै पटक विस्थापित भएका थिए ।

काँकडभिट्टाकै ८४ वर्षीय लोकनाथ बन्जाडे (बन्जारा) ले अहिले बर्मामा भएको जस्तै सैन्य शासन भोगेका थिए । २०१८ सालमा जनरल ने विनले सैनिक ‘कू’ मार्फत सत्ता हत्याउँदा उनी युवा थिए । बर्मामा के भइराख्या छ ? त्यसबेला उनले भेउ पाएनन् । जब सेनाले बर्माका जमिनदार, पुँजीपति र सामन्तहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने नीति सार्वजनिक गर्‍यो, घरबार, उद्योगधन्दा, राष्ट्रियकरण गर्ने भयो । त्यसको प्रत्यक्ष प्रभाव नेपालीभाषीमा पनि पर्‍यो । बन्जाडेले सुनाए, ‘सैन्य शासनकै कारण बर्माबाट नेपालीभाषीहरू पलायन हुन बाध्य भएका हुन् ।’

झापाको काँकडभिट्टास्थित हार्डवेयर पसलमा लोकनाथ बन्जाडे दम्पती  ।

एक पटक त्यहाँको एक राष्ट्रिय अखबारले ‘नेपालीलाई हाम्रा सहोदर दाजुभाइ हुन्, बुद्धका सन्तान हुन्’ भनी लेखेको थियो । रुविल्यान्ड मगोकमा जन्मिएर ७ कक्षासम्म उतै पढेका उनले त्यहाँ छँदा व्यापारदेखि खेती किसानसम्म सबै गरे । उतिबेलाको सम्झना गर्दा पनि भावुक देखिएको बन्जाडेले सुनाए, ‘बर्मा मेरो मातृभूमि हो । नेपाल पितृभूमि ।’ करिब सय वर्षअघि जीविकाका लागि अर्घाखाँचीबाट उनका बाआमा बर्मा पुगेका थिए । भारतको गोरखपुर हुँदै कोलकाता पुगेर पानीजहाजमार्फत रंगुन पुगेको कुरा आमाले सुनाएको मधुरो सम्झना उनीसँग छ । सुनाए, ‘३ दिन, ३ रात त पानीमा थियौं भन्नुहुन्थ्यो आमाले ।’

राजा महेन्द्रले भ्रमणका बेला नेपालीभाषीहरूलाई भनेको कुरा पनि उनको सम्झनामा छ । महेन्द्रले भनेका थिए, ‘तपाईंहरू यहाँ बस्नुहुन्छ भने पनि यो भूमि ठीकै छ, यहीँको भएर बस्नुस् । नेपाल फर्किने इच्छा छ भने पनि ठीकै छ भनेका थिए ।’ महेन्द्र भ्रमणको केही समयपछि उनी नेपाल फर्किनका लागि पहिलो पटक हवाईजहाज चढे । कोलकाता झरेर त्यहाँबाट गलगलिया हुँदै भद्रपुरतिर पसे । किनकि भद्रपुरमा उनका माइला दाजु थिए । केही समय उनले त्यतै बिताए । तत्कालीन सरकारले बर्मेली नेपालीका लागि जमिन उपलब्ध गराउने भएपछि उनीहरू काँकडभिट्टा आए । ‘जंगला मुलुक थियो, दिउँसै जंगली जनावर कराउँथे,’ उनले २३ सालतिरको झापा सम्झिए, ‘जंगल फँडानी गरेर हामी बस्यौं ।’

तत्कालीन राजा महेन्द्रले बर्मा भ्रमणका बेला पढेको भाषण ।

सरकारले २०२२ सालमा बर्माबाट आएका ३८ परिवारलाई जमिन दिएर काँकडभिट्टामा पुनर्वास गरेको थियो । बन्जाडेका अनुसार राजा महेन्द्रले बर्मा प्रवासी नेपालीका लागि भनेर यो क्षेत्रमा सयौं बिघा जमिन तोकेका थिए । परिवार संख्याका आधारमा सरकारले जमिन वितरण गरेको थियो । २ देखि ४ जनाको परिवारलाई दुई बिघा, ४ देखि ७ सम्म ३ बिघा र ७ देखि माथि चार बिघा जमिन दिएको थियो । राजा महेन्द्रबाट बर्मेली नेपालीलाई जमिन दिने ‘हुकुम’ पछि रंगुनस्थित नेपाली राजदूतावासले आवश्यक कागजात बनाएर बर्माका नेपालीलाई पठाएको उनी सुनाउँछन् । देशका ७ सीमावर्ती स्थानमा उनीहरूको बसोबासको व्यवस्थापन गरिएको थियो । काँकडभिट्टा र सुकुनाढिकी (झापा), चुनीमारी (मोरङ), भरतपुर (चितवन), धनेबा (नवलपरासी), छपिया (रूपन्देही) र महेन्द्रनगर (कञ्चनपुर) मा बर्माबाट आएका नेपालीहरूको व्यवस्थापन गरिएको थियो ।

काँकडभिट्टाकी उमादेवी बन्जारा उमेरले ८० लागिन् । बर्माबाट नेपाल आउँदा उनी १७ वर्षकी थिइन् । बिहे गरेको वर्ष दिनपछि उनी नेपाल आएकी थिइन् । सन्तानहरू सबै नेपालमै जन्मिए । ‘राम्रोसँग आइयो, राम्ररी नै बसियो, अहिले सुख छ,’ उनी भन्छिन् । बर्मामा अहिले एक जना दाजु र बहिनी मात्रै छन् । अरू सबै बितिसके । उनका हजुरबा बर्मा गएका थिए । सानामा विश्वयुद्धका कथाहरू उनले सुनेकी थिइन् । जापानी फौजले आक्रमण गरेर ध्वंस बनाएका कतिपय स्थानहरू उनले देखेकी थिइन् । बर्माका पुराना यादहरू उनलाई झलझल्ती सम्झना आउँछ । तर, सपनामा चाहिँ देख्न छाडिन् । ‘सुरु–सुरुमा सपनामा बर्मा नै पुग्थें,’ उनी थप्छिन्, ‘अहिले त देख्दिनँ ।’

देवीप्रसाद भेटवाल ।

मेचीनगर–६ का देवीप्रसाद भेटवाल ८० वर्ष भए । उनी २०२१ सालमा नेपाल आएका हुन् । बर्मा मचिनाको चारपाटेमा जन्मिएका उनीसँग ६ वर्षका छँदा घरमा डाँका लागेको, सबै गहना, पैसा लुटिएको, आमालाई गोली लागेको र बा घाइते भएको मधुरो सम्झना छ । त्यही घटनापछि आफुूहरूले त्यो ठाउँ छाडेको उनले सुनाए । उनले कचिन विद्रोहीको आतंकका कारण तीन, चार ठाउँ बसाइँ सरेको सुनाउँदै विषय मोडे, ‘बर्मा ठ्याक्कै नेपालजस्तै छ । हावापानी, राजनीति सबै उस्तै ।’

***

रूपन्देहीको सियारी गाउँपालिका–४ ओर्लहवाका ८५ वर्षीय वीरबहादुर थापालाई बर्माको सम्झनाले बेलाबखत नमज्जाले सताउँछ । बर्मामै बालापन बिताएका थापा २०२१ सालमा पुर्ख्यौली थलो फर्किए । त्यसयता उनी यतै रमाइरहेका छन् । बर्माको स्याङ प्रान्तमा जन्मिएका थापाले १३ वर्ष सैनिक भएर बर्माको सेवा पनि गरे । सानै उमेरमा मिचिनामा बाआमा गुमाएपछि उनलाई छिमेकी काका दशरथ ज्ञवालीले हुर्काए । दोस्रो विश्वयुद्धका समयमा बाआमा बितेको कुरा उनले तिनै काकाबाट थाहा पाए ।

वीरबहादुर थापा ।

९ कक्षामा पढ्दापढ्दै सेनामा भर्ती भएका उनले त्यो बेलाको समय सम्झिँदा पनि उत्साहित भएजसरी सुनाए, ‘त्यो बेला सेनामा भर्तीका लागि बर्मेली सेना गाउँ आएका थिए । मलाई पनि सेना बन्न मन लाग्यो । भर्ती पनि भइहालें ।’

सन् १९४८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि पछि, नेपाली/गोर्खाहरू बर्मा सेनामा भर्ती हुने क्रममा सुरु भएको थियो । उनिहरूमध्ये धेरैले बर्मामा गणतन्त्र स्थापना गर्न र जातीय विद्रोह कुमिन्ताङ आक्रमणका खिलाफ योगदान गरे । त्यसैले त १९५० को दशकमा गोर्खालीलाई बर्मेली सेनाको गहनाका रूपमा हेरिन्थ्यो । सेना भर्तीपछि उनी पहिलो पटक राजधानी रंगुन पुगे । रंगुन पुग्दा बेग्लै आत्मविश्वास, खुसी र उत्साह बढेको सम्झना उनको मानसपटलमा ताजै छ । बर्मेली महिलाहरूले नेपाली (गोर्खा) जाति सुरो र इमान्दार हुन्छ भन्थे । धेरै माया गर्थे । उनलाई पनि धेरै बर्मेली युवतीले मन पराए । उनले भने, ‘माया–पिरती धेरै साटियो, तर बिहे नै गर्नचाहिँ जुरेन ।’

युनियन अफ बर्माका प्रथम प्रधानमन्त्री युङ्यु (उनु) हुन् । उनी तेस्रो कार्यकालका लागि सन् १९६० अप्रिल ४ देखि १९६२ मार्च २ सम्म प्रधानमन्त्री भए । युङ्यु नेतृत्वको सरकारलाई अपदस्थ गरी सैन्य ‘कू’ लादिएको थियो । जसरी सन् २०२१ फेब्रुअरी १ मा प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरी बर्मामा सैनिक शासन जारी छ । त्यो अवधिमा थापा अन्य सैनिकझैं प्रधानमन्त्री निवासको सुरक्षार्थ खटेको दाबी गर्छन् । ‘अघिल्लो दिनसम्म स्थिति सामान्य थियो,’ थापा सम्झिन्छन्, ‘भोलिपल्ट त देश सेनाले कब्जाको पो गरेछ, पत्तै पाइएन ।’ सैन्य ‘कू’ पछि सैनिक सरकारले थापा आबद्ध बटालियनलाई राष्ट्रपति भवनबाट फिर्ता बोलाएर श्रम शिविरमा खटायो । सैनिक सरकार आएको वर्ष दिनपछि यी ‘लाहुरे’ ले मिचिनाकी रत्नकुमारीसँग मागी बिहे गरे । उनका दुई छोराछोरी छन् । उनले सन् १९६८ सम्म सेनामा काम गरेर पेन्सनपट्टा बिक्री गरी सन् १९७२ मा नेपाल फर्किएको सुनाए । ‘बर्मेली सैनिकको पेन्सन बोकेर नेपाल आउँदा मलाई फाइदा थिएन,’ उनले थपे, ‘पेन्सनपट्टा बेचेको पैसाले जहाज चढेर नेपाल फर्किएँ ।’

त्यतिबेला उनी रंगुनबाट सोझै काठमाडौं ओर्लिए । काठमाडौंबाट पनि उडेरै भैरहवा ओर्लिए । सेनामा छँदा उनको मासिक तलब थियो, १ सय ६४ च्याट (बर्मेली मुद्रा) । सेनाबाट अवकाशपछि उनी १९६८ देखि ७२ सम्म नेपाली दूतावासका जागिरे बने । ‘त्यही बेला नेपालका राजपरिवारलाई प्रत्यक्ष देख्ने मौका पाएको थिएँ,’ जोसिँदै उनी सुनाउँछन् ।

वीरबहादुरभन्दा वर्ष दिनअघि नै पुर्ख्यौली थलो आइपुगेका थिए, खिम ज्ञवाली । नेपाल आउँदा उनी १६ वर्षका लक्का जवान थिए । अहिले ७० छेउ पुगिसके । पुर्ख्यौली थलो पहाडी जिल्ला गुल्मी भएका खिमले सन् १९३९ सेप्टेम्बर १ बाट दोस्रो विश्वयुद्ध सुरु भएको र विश्वयुद्ध सुरु भएको वर्ष दिनपछि आफ्नो हजुरबा बर्मा पुगेको इतिहास सुनाए । त्यतिबेला उनी ३ वर्षका थिए । उनले बर्मा पुगेपछि आफ्नो परिवार टाउङ्गुबाट सरेर मगौ पुगेको सुनाउँदै भने, ‘त्यहाँ हाम्रो चिया बगान थियो । चियाको पात नै राखेर बिनाचिनी चिया पकाएर पिउँथिम् ।’

खिम ज्ञवाली ।

खिमले विद्यालय शिक्षा बर्मामै लिए । सुरुमा उनलाई बर्मेली र अंग्रेजी मात्रै आउँथ्यो । नेपाल आएपछि मात्रै उनले नेपाली बोल्न, लेख्न सिके । हिसाबकिताब त अझैसम्म बर्मेली भाषामै गर्छन् । उनको गणना सुन्नेहरू चकित बन्छन् । बर्मेलीहरूसँग खिम प्रायः बर्मेली भाषामा गफगाफ गर्छन् । नेपाली भाषाभन्दा बर्मेली भाषा नै उनलाई बोल्न सजिलो र प्यारो लाग्छ । ‘मलाई त्यहाँको भाषा औधी मन पर्छ,’ बर्मेली भाषाप्रति उनी प्रेम दर्शार्उँदै थप्छन्, ‘तर, नेपालमा बर्मेली बोल्ने साथी पाउनै मुस्किल ।’

सन् १९४० को दशकमा बर्मा गएका उनका हजुरबा २०२१ मा सियारी आएर बस्न थालेका थिए । हजुरबाभन्दा ७ बर्ष ढिलो आएर उनी सियारीमा बसे । त्यो बेला हुनेखाने बर्मेलीहरू जहाज चढेर फर्किए । सामान्य परिवारका पानी जहाजको कष्टपूर्ण यात्रा पार गरेर भारत हुदै नेपाल प्रवेश गरेका थिए । खिम हुने खाने वर्गकै थिए त्यही भएर उनी हवाई जहाज चढेरै आए । ‘पहिलो पटक आकाशमा उड्दाको क्षण अझै याद आउँछ,’ नोस्टाल्जिक बन्दै उनी सुनाउँछन्, ‘बर्माको यादले सताइरह्यो, जहाजभरि मैले रोएरै बिताएँ ।’

बर्माबाट आएपछि उनी ७ कक्षामा भर्ना भए । उनी बर्मामा जस्तै बर्मेली लुंगी बेरेर स्कुल जान्थे । उनलाई देखेर स्कुले साथीहरू भने हाँस्दै हिँड्थे । ‘लुंगी लगाउँदा साथीहरूले जिस्क्याउँथे,’ उनी सम्झिन्छन्, ‘शिक्षकले पनि पाइन्ट लाएर आउनु भनेर थर्काउँथे ।’ बर्मेली लुंगी लगाउने बानी त्याग्न उनलाई निकै समय लाग्यो । २०३३ सालमा भैरहवा माविबाट एसएलसी दिने बेलामा मात्रै उनले पूर्ण रूपमा लुंगी त्यागे । नेपालमा घरजम गरेका खिमबीचमा दुई पटक बर्मा पुगिसके । अघिल्लो पटक बर्मा पुग्दा उनी चकित खाए । गाउँमा आएको विकास, फेरिएका सडक, रंगिएका सहर बजार देख्दा उनी छक्क परे ।

पाका बर्मेली–नेपाली प्रेमप्रसाद पोख्रेल सियारीका पुराना शिक्षक हुन् । ३८ वर्ष शिक्षण पेसामा बिताएका उनी हिजोआज बर्माका पुराना दिनहरू सम्झिएर दिन काट्छन् । विसं २०१० मा बर्मामा जन्मिएका उनलाई स्वयेयाहुँ (सुन बेच्ने ठाउँ), लेबेई बस्तीहरूको याद धेरै आउँछ । पुरानो याद ताजा गर्छन्, ‘म रेलवे स्टेसनको छेउमा लामो समय बसें । रेलले मारेको बर्कुसी र आवाज सधैं झल्झली आउँछ ।’ उनको घरै अघिल्तिर एउटा बडेमानको रूख थियो । त्यो केको रूख हो, उनलाई थाहा छैन । त्यही रूखमा बसेर उनी रमिता हेर्थे । नेपाल जान रेल चढेको उनी सपना देख्थे । अनि उनी चिच्याउँदै भन्थे रे, ‘मलाई पनि नेपाल लैजाओ न हौ ।’

प्रेमप्रसाद पोख्रेल ।

२०२१ मा हवाईजहाज चढेर उनी रंगुनबाट कोलकाता ओर्लिए । उनीसँग केही लत्ताकपडा, भाँडा वर्तन, खानेकुरा, केही पैसा र सुन पनि थियो । उनले सुनाए, ‘त्यो बेला, ४/५ पाउन्डलाई नेपाली रुपैयाँ सटही गरेर बोक्न पाइन्थ्यो । अनि सुन बोकेर ल्याउन पाइन्थ्यो तर फलाम पाइन्थेन ।’ कोलकाताबाट बनारस हुँदै नौतनुवा आएपछि उनी भैरहवाको बर्मेली टोल सोझिएका थिए । उनले सुनाए, ‘नेपालमा टेक्दा तातो हावा, उराठ ठाउँले मन अशान्त बनाए पनि जन्मभूमि आएकामा खुसी मानेर बानी पारे ।’

वर्षौंदेखि भैरहवाको तातोमा अभ्यस्त भए पनि प्रेमको मनमा बर्मामा बिताएका प्रेमिल सम्झनाहरू आइरहन्छन् । नेपाल आएपछि एकपटक पनि बर्मा नफर्केका उनले सुनाए, ‘त्यो रेल्वे ट्र्याकको खुबै याद आउँछ । नेपालीले ठूला झोला बोकेर रेलमा चढेका ती दिनले बर्माको रहनसहन र त्यहाँको बालापनको याद ताजा गराइदिन्छ ।’

प्रकाशित : मंसिर १६, २०८० १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?