कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुरुङ निर्माणमा कामदार कति सुरक्षित ?

सुरुङ निर्माणका क्रममा ठूलो दुर्घटना भए तुरुन्त उद्धार गर्न उच्च प्रविधिका आपत्कालीन उद्धार मेसिन छैनन्, त्यसैले भत्किन नदिने गरी काम गर्नुको विकल्प छैन : विज्ञ
विमल खतिवडा

काठमाडौँ — भारतको उत्तराखण्डस्थित एक निर्माणाधीन सुरुङमा फसेका मजदुरलाई उद्धार गर्न त्यहाँको सरकारलाई हम्मेहम्मे पर्‍यो । कात्तिक २६ मा सुरुङमा फसेका ४१ मजदुरलाई १७ दिनको प्रयासपछि मंगलबार सकुशल निकालिएको छ । सुरुङको एक भाग भत्किएपछि निरन्तर खसेको भग्नावशेषका कारण उनीहरूको उद्धारमा कठिनाइ भएको थियो ।

सुरुङ निर्माणमा कामदार कति सुरक्षित ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्धारका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताए पनि मजदुरहरूलाई तुरुन्त निकाल्न सकिएन । सोमबारदेखि म्यानुअल ड्रिलिङ गरेर उनीहरूको उद्धार गरिएको थियो ।

उत्तराखण्डको सुरुङमा फसेका ४१ कामदारको १७ दिनपछि सकुशल उद्धार

नेपालमा पनि पछिल्लो समय विभिन्न स्थानमा सुरुङहरू निर्माण भइरहेको छ । तर, भारतको जस्तै समस्या नेपालका निर्माणाधीन जलविद्युत् आयोजना र सडकका सुरुङमा आइपरे के गर्ने भन्नेबारे सरकारसँग कुनै विकल्प छैन । नेपालका जलविद्युत् आयोजनाका लागि निर्माण गरिने सुरुङमा यस्ता समस्या बेलाबेलामा देखिने गरेको छ । सुरुङभित्र काम गर्ने मजदुरहरूको समयमै उद्धार हुन नसक्दा र अक्सिजनको कमी भई ज्यानै जाने गरेको घटना पनि छन् ।

२०७१ वैशाख १२ मा कास्कीस्थित माथिल्लो मादीखोला जलविद्युत् आयोजनामा पहिरो खसेर सुरुङमार्गको इन्टेक छेक्दा १६ जना भित्रै फसे, जसमध्ये १३ जनाको १५ घण्टापछि सकुशल उद्धार भयो । एक जनाको शव भोलिपल्ट फेला पर्‍यो । अन्य दुई जना कामदार बेपत्ता भए । प्रवेशद्वार नजिकै कामदार फसेकाले उनीहरूको उद्धार सम्भव भएको थियो । फसेकाहरूलाई पहिरो खसेकै नजिकबाट सुरुङ खोपेर प्वाल बनाई उद्धार गरिएको थियो । सुरुङ प्रवेशद्वारमा करिब एक सय मिटरमाथिबाट पहिरो खसेको थियो ।

उत्तराखण्डको सिलक्यारा सुरुङमा फसेका मजदुरको उद्धारका क्रममा ढाडस दिन पुगेका मुख्यमन्त्री पुष्करसिंह धामीलगायत । तस्बिर : मुख्यमन्त्री धामीको कार्यालय

०७६ कात्तिक १७ मा बझाङको कालंगागाड जलविद्युत् आयोजनाको सुरुङमा फसेका चार जना कामदारको मृत्यु भएको थियो । ट्याक्टरमा सुरुङभित्र बत्ती र अक्सिजन पुर्‍याउने ग्यास पाइपको अवस्था बुझ्न गएका मजदुरहरूको अक्सिजनकै कमी भएर ज्यान गएको थियो । सुरुङमा फसेकाहरूको शव २४ घण्टापछि बाहिर निकालिएको थियो ।

२०७९ माघ १७ मा संखुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा एक जनाको मृत्यु भएको थियो । अन्य दुईजना घाइते भएका थिए । सुरुङभित्र काम गर्ने क्रममा सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङको मृत्यु भएको थियो ।

नेपालमा जलविद्युत् आयोजना निर्माणको क्रममा सुरुङभित्र मजदुरहरू फस्दा वा सुरुङ भत्किँदा ज्यानै गएको केही घटना हुन् यी । नेपालका अधिकांशजसो जलविद्युत् आयोजना निर्माणका क्रममा सुरुङ बनाउनु अनिवार्य जस्तै छ । मेलम्ची खानेपानी आयोजनामा पनि सुरुङ निर्माण गरेरै काठमाडौंमा पानी ल्याइएको थियो । तर सुरुङ निर्माणको क्रममा ठूलो जोखिम आइपरे त्यसलाई समाधान गर्न सरकारी निकायसँग कुनै संयन्त्र छैन, प्रविधि छैन । पछिल्लो समय जोखिमको अनुमानै नगरी हचुवाका भरमा सुरुङ निर्माणका लागि अध्ययन गराउने होड चलेको छ । विशेषतः नेताहरूले आआफ्ना जिल्लामा सडकको दूरी घटाउने नाममा सुरुङको अध्ययन र निर्माण गर्न भन्दै बजेट छुट्याउनुपर्ने माग राख्दै आएका छन् ।

पाँच वर्षयता राजनीतिक दबाबमा नयाँ–नयाँ ठाउँमा अध्ययन गर्ने भन्दै प्रत्येक बजेटमा नाम थपेर सुरुङको संख्या मात्र २७ पुर्‍याइएको छ । निर्माण भने दुईवटाको मात्र अघि बढाइएको छ । नागढुंगा–सिस्नेखोला र पाल्पाको सिद्धबाबा सुरुङको निर्माण जारी छ । समयभित्रै निर्माण सक्ने भन्दै अघि बढाइएको नागढुंगा–सिस्नेखोला सुरुङको काम अझै सकिएको छैन । मुख्य सुरुङ २.६८८ किमिमध्ये २ सय मिटर खन्न बाँकी छ । गत साउन २२ मा आपत्कालीन उद्धार सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो । २.५५७ किमि दूरी रहेको उक्त आपत्कालीन सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै अहिले फिनिसिङको काम भइरहेको छ । यो सुरुङमा यातायात चल्न भने अझै एक वर्ष लाग्नेछ । यातायात सञ्चालनकै लागि भनेर निर्माण गरिएको यो पहिलो सुरुङ हो ।

अर्को ठेक्का सम्झौता भएको सिद्धबाबा सुरुङमा पोर्टल (प्रवेशद्वार) बनाएर काम अघि बढाइएको छ । यसको डिजाइनको काम थालेको एक वर्षभन्दा बढी भयो । डिजाइनका लागि ठेक्का सम्झौताअनुसार ९ महिना समय दिइएको हो । तर निर्माण सम्पन्न गर्नुपर्ने समय भने ठेक्का सम्झौता भएको मितिबाट ५ वर्ष रहेको छ । यो इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत ठेक्का भएकाले यसको डिजाइनको काम ठेक्का लिने कम्पनीले नै गरेको हो । यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । १.१ किमि लम्बाइ रहेको सुरुङमार्गको ठेक्का रकम ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ छ । त्यस्तै ३ सय मिटर आपत्कालीन सुरुङ निर्माण गरिनेछ । अन्य सुरुङ अध्ययनका क्रममा छन् । धरान–लेउती सुरुङमार्गको अध्ययन गर्न भन्दै सरकारले तीन आर्थिक वर्षदेखि बजेटमा राख्दै आएको छ । यसको सम्भाव्यता अध्ययनबाहेक केही काम भएको छैन ।

काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने टोखा–छहरे सुरुङमार्गलाई चालु आर्थिक वर्षको बजेटमा राखिए पनि काममा प्रगति छैन । निर्माणका लागि पहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नुपर्छ । हालसम्म प्रारम्भिक अध्ययनबाहेक केही काम भएको छैन । तर अर्थमन्त्री प्रकाशशरण महतले यही वर्ष निर्माण थाल्ने भन्दै १ अर्ब २५ करोड रुपैयाँ बजेटमा छुट्याएका छन् । उनकै दबाबमा सुरुङ निर्माणको काम अघि बढाउन लागिएको हो ।

मन्त्रिपरिषद्ले ०८० साउन ३० मा डीपीआर संशोधन गर्न स्वीकृति दिएसँगै काठमाडौं/तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को ललितपुर खोकनादेखि बाराको निजगढसम्मको दूरी ७०.९७७ किमि कायम भएको छ । डीपीआर संशोधनपछि कुल दूरीमा १.५२३ किमि घटेको हो । डीपीआर संशोधन गरेर ३ सुरुङबाट ६ वटा बनाइएको छ । उक्त मार्गको महादेवटारमा ३.३५५ किमि, धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किमिका ३ वटा सुरुङ निर्माणाधीन छन् । डीपीआर संशोधनपछि थपिएका सुरुङ निर्माण गर्ने स्थानमा देवीचौर १, सिसौटार ०.३९ र चन्द्राम भीर २.२५ किमि छन् । यी सुरुङ फास्ट ट्र्याक निर्माणभित्र पर्ने हुन् ।

सुरक्षा अपनाएर काम नगर्दा सुरुङ निर्माणको क्रममा ठूलो दुर्घटना हुने गरेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रमुख नरेशमान शाक्यले बताए । ‘सुरुङ खनिसकेपछि माथिको जमिनका कारण माटो तल झर्छ । एक महिनासम्म माटो झर्छ झर्दैन भनेर हेर्नुपर्छ,’ उनले भने, ‘यदी यो अवधिभित्र समस्या भए त्यसको समाधानको उपाय निकाल्नुपर्छ ।’ समस्या भइरहे सुरक्षाका विधिहरू अपनाएर मात्र काम अघि बढाइने उनको भनाइ छ । ‘निर्माणाधीन नागढुंगा–सिस्नेखोला सुरुङमा समस्या छैन,’ उनले भने, ‘जलविद्युत् आयोजनामा निर्माण गरिने सुरुङमा बेलाबेला समस्या देखिने गरेको छ, जहाँ पछि व्यक्तिले सुरुङ प्रयोग गर्न नपर्ने भएकाले सडक सुरुङको जस्तो सुरक्षा अपनाइँदैन ।’ निर्माणका क्रममा आइपर्न सक्ने समस्या र दुर्घटनाको जोखिम पहिल्यै पहिल्याएर काम गर्दा ठूलो दुर्घटनाबाट जोगिन सकिने उनको सुझाव छ ।

‘निर्माणका क्रममा सुरक्षा अपनाएर गुणस्तरलाई ख्याल गर्दै काम गर्नुपर्छ,’ उनले भने, ‘तर ठूलै दुर्घटना भए तुरुन्त उद्धार गर्ने उच्च प्रविधिका आपत्कालीन उद्धार गर्ने मेसिन हामीसँग छैन, त्यसैले भत्किन नदिने गरी काम गर्नुपर्छ ।’ नागढुंगा–सिस्नेखोला सुरुङ जापानिज कम्पनी हाज्मा एन्डो कर्पोरेसनले निर्माण गरिरहेको छ । जापानकै मापदण्डअनुसार सुरक्षा अपनाएर यो सुरुङमा काम भइरहेको पूर्वसचिव अर्जुनजंग थापाले बताए । ‘यो सुरुङमा आवश्यक सबै सुरक्षा अपनाएर काम गरिएको छ,’ सडक विभागको महानिर्देशकका रूपमा समेत काम गरिसकेका थापाले भने, ‘तर चिनियाँहरूले ठेक्का लिएको काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को सुरुङ निर्माणमा केही जोखिम छ ।’ सुरुङ खन्न ड्रिल गर्ने जम्बो मेसिन चाहिन्छ । त्यो मेसिन नल्याई सामान्य मेसिनले काम गरेको पाइएकाले त्यो सुरक्षित नहुने उनको भनाइ छ ।

‘अनुगमनका क्रममा प्रश्न उठाएपछि थप मेसिन मगाएर काम गरेको पाइएको छ,’ उनले भने, ‘नागढुंगामा जापानिजहरूले जम्बो मेसिन नै ल्याएर काम गरेका छन् । जम्बो मेसिनले टाढै बसेर ड्रिल गर्न मिल्छ, जसले काम गर्न सुरक्षित हुन्छ ।’ यो मेसिनबाट ५/७ मिटर पर बसेर ड्रिल गर्न मिल्ने उनले बताए । ‘चिनियाँहरूले निर्माणको जिम्मा लिएका सुरुङमा दुर्घटना त भएको छैन, अहिलेसम्म भगवान् भरोसामै काम भएको छ,’ उनले भने, ‘यस्तै अवस्था रहे र आवश्यक सुरक्षित मेसिन प्रयोग नगरे भोलि ठूलै दुर्घटना नहोला भन्न सकिँदैन ।’

राम्रोसँग अध्ययन नगरी सुरुङ निर्माण गर्दा दुर्घटनाको जोखिम बढी हुने गरेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाले बताए । ‘जलविद्युत् आयोजना निर्माणका क्रममा केही दुर्घटना भए, ती आयोजनामा सुरुङ निर्माणका क्रममा दुर्घटनाका जोखिमहरू बढी आउने गरेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा जहाँ सुरुङ बनाइँदै छ, त्यहाँको भौगर्भिक अध्ययन राम्रोसँग गरेर सुरक्षाका सबै उपायहरू अपनाएर काम गर्नुको विकल्प छैन ।’

प्रकाशित : मंसिर १४, २०८० ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविका विभागहरू घटाएर स्कुल मोडलमा चलाउने नवनियुक्त उपकुलपतिको घोषणा कस्तो लाग्यो ?