१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

तालतलैया मास्दै घरघडेरी र खेतीपाती

कैलाली जिल्लाभरि नै प्राकृतिक तालहरू मासिने क्रम तीव्र, अधिकांश ताल २० वर्षको बीचमै अतिक्रमित
वातावरणीय तथ्यांक नेपाल-२०१९ को अभिलेखअनुसार कैलालीमा अहिले पनि १ सय १४ वटा ताल छन्, तीमध्ये ४७ ठूला तालको अस्तित्व संकटमा
अर्जुन शाह

धनगढी — धनगढी उपमहानगरपालिका–६ को नजरिया ताल अतिक्रमण भएर खेतीपाती र पक्की घरहरू बनेका छन् । २०२१ सालको नापीनक्सा अनुसार ७० हजार ५ सय ९० वर्गमिटरमा फैलिएको उक्त तालको जमिनमा अहिले धनबहादुर घर्ती, नवीन थापामगर, चेतराज कुँवरलगायतका पाँचवटा त पक्की घर नै निर्माण भइसकेका छन् ।

तालतलैया मास्दै घरघडेरी र खेतीपाती

स्थानीय गंगाराम जोशीका अनुसार सरकारी जग्गामा रहेको नजरिया ताल २०४८ देखि २०५३ सालको बीचमा अतिक्रमण भएको हो । स्थानीयहरूका अनुसार यहाँका राना र थारु समुदायका परिवार माछा, घोगीका लागि यही तालमा आश्रित थिए । पछि तालनजिक बसोबास भएका परिवारले पानी घटेको सुक्खा समयमा अतिक्रमण गर्दै खेतीपातीयोग्य जमिन बनाए । २०५६ सालपछि त्यो ठाउँ घडेरी र खेतका रूपमा बेचबिखन सुरु भएको हो ।

ताल क्षेत्रमा अहिले पक्की घर तथा खेतीपाती गरिरहेकाहरूले तालनजिक बसोबास भएका दीपबहादुर शाहीबाट जग्गा किनेको बताएका छन् । चेतराज कुँवरले उनै शाहीबाट ताल क्षेत्रको ६ कठ्ठा जमिन किनेर घर बनाएको बताए । २०७३ मा पक्की घर बनाएर बसेका चेतराजका बुवा नन्दसिंह कुँवरले छोराले प्रतिकठ्ठा ३५ हजार रुपैयाँका दरले जमिन किनेको बताए । उनका अनुसार अहिले त्यस ठाउँमा प्रतिकठ्ठा १० देखि २५ लाखसम्ममा खरिदबिक्री भइरहेको छ । अर्का स्थानीय हर्क पुन मगरका अनुसार सुरुमा त्यो जग्गा बिक्री गर्ने दीपबहादुर शाहीको परिवार अहिले त्यहाँको जग्गाजमिन बेचेर अन्यत्र बसाइँ सरिसकेको छ । ‘अहिले त भागेश्वर सामुदायिक वन उपभोक्ता समितिले बाँध बनाएर ताललाई एक बिघा क्षेत्रमा सीमित गरेको छ,’ हर्कले भने ।

धनगढी–१ शिवनगरमा २०४० सालसम्म ५ बिघा ७ कठ्ठा क्षेत्रफलमा फैलिएको झागडा ताल थियो । मनमोहक भएकाले अवलोकन गर्न, जंगली हाँस हेर्न र माछा मार्न जानेको लर्को लाग्थ्यो । ‘हिउँदको समयमा विभिन्न जातका हाँस आउँथे, माछा त कति हुन्थे हुन्थे,’ शिवनगर नजिकको बस्ती जाली गाउँका ७० वर्षीय धनीराम चौधरीले भने, ‘अहिले त तालको नामोनिसान नै छैन ।’ त्यस ठाउँको जमिन किनबेच भएर ठूलठूला पक्की घर बनेका छन् ।

धनगढी उपमहानगरपालिकाको नापी शाखाका अनुसार २०२१ सालको नापीमा सरकारी जग्गामा रहेको झागडा ताल २०४० पछि अतिक्रमण सुरु भयो । किनारबाट ताल सुकाउँदै आवादी गर्न थालियो । त्यसरी निरन्तरको अतिक्रमणबाट ताल पूरै मासियो । सरकारी जमिन भए पनि २०४८/०५० सालपछि त त्यस ठाउँको जग्गा किनबेच सुरु भयो । स्थानीय बासिन्दाका अनुसार त्यस ठाउँमा क्रमशः पक्की घरहरू बने । उपमहानगरका नापी शाखा प्रमुख भुवन शाहीका अनुसार झागडा ताल रहेको ठाउँमा २५ भन्दा बढी पक्की घर बनेका छन् । ‘पहिला त्यस ठाउँमा ताल थियो भन्ने कमैले पत्याउँछन्,’ शाहीले भने, ‘नक्सा लिएर भदौको पहिलो साता उक्त ताल क्षेत्रमा पुग्दा त्यहाँ त ठूलठूला पक्की घर बनेको देख्यौं ।’

झागडा ताल मात्रै होइन, धनगढी उपमहानगरभित्र ८६ वटा तालको पहिचान भएको छ । तीमध्ये २४ ताल पूर्णरूपमा अतिक्रमण भएका छन् । २०२१ सालकै नापीलाई आधार मानेर उपमहानगरपालिकाको नापी शाखाले आफ्नो क्षेत्रभित्र रहेका तालहरूको अध्ययन गर्दा २४ वटा ताल अतिक्रमणमा परेको पहिचान गरेको हो । अतिक्रमण गरिएका अधिकांश तालमा घर बनेका छन् । केहीमा खेती गरिएको छ । धनगढीकै हसनपुर र शिवनगरको बीचमा पुरानो बोरिङ नजिक ३२ हजार ९ सय ८२ वर्गमिटर क्षेत्रफल रहेका चारवटा ताल अहिले अतिक्रमणमा परेर आबादी मात्र भएका छैनन्, घडेरीका रूपमा किनबेच भएर घरहरू निर्माण गरिएका छन् । स्थानीय बासिन्दाका अनुसार २०४८ सालसम्म अस्तित्वमै रहेका ती तालहरू क्रमशः अतिक्रमण भएर आवादी सुरु भएका हुन् ।

धनगढीकै जुगेडामा १३ बिघा क्षेत्रफलमा फैलिएको भग्हर ताल २०५५ सालसम्म अस्तित्वमै थियो । तर, अहिले हराएको छ । ताल क्षेत्र स्थानीयको भोगचलनमा छ । जेगडामै रहेका भष्मा ताल, चौकी ताल, कुमड ताल, सेता ताल, मर्छेहा ताल, जुति ताल, सनबोरा ताल, फुलनैया ताल, मटगहना ताल, नसिया ताल, मदेहर ताल पूर्ण रूपमा मासिएका छन् । कैलाली जिल्लाभर नै प्राकृतिक तालहरू मासिने क्रम तीव्र छ । खैलाडस्थित झन्डै ८० हेक्टरमा फैलिएको लौकाहा भौकाहा, ४० हेक्टरमा फैलिएको सोनिया, ६० हेक्टरमा फैलिएको घोडताल र रतनपुरस्थित ३५ हेक्टरमा फैलिएको खौरहवा ताल पनि अतिक्रमण भइरहेको स्थानीय बताउँछन् । यस्तै, भजनी–३ स्थित भगरहिया ताल र ५ स्थित पिप्रहवा तालसमेत सुकेर खेतीयोग्य जमिनमा परिणत भएको छ । भारतको दुदुवा राष्ट्रिय निकुञ्जसँग जोडिएको कैलालीको बसन्ता करिडोर क्षेत्रमा रहेका पाँचवटा ठूला तालको अस्तित्व पनि हराइसकेको छ ।

कैलालीकै भजनी–७ मा पर्ने पुरैना ताल हाल पूर्ण रूपमा अतिक्रमण भएर खेतीपाती गर्ने गरिएको छ । नगर प्रमुख केवल चौधरीका अनुसार उक्त तालको क्षेत्रफल पाँच सय बिघाभन्दा बढी थियो । अहिले तालको अस्तित्व नै छैन । ‘२०५७ सालसम्म ताल थियो । त्यसपछिको समयमा अतिक्रमण सुरु भएको हो । अतिक्रमणकारीले पानी सुकाउँदै आवादी गर्ने क्रम बढ्यो,’ नगरप्रमुख चौधरीले भने ‘त्यसबेला उक्त तालको एरिया वन क्षेत्रको नापनक्सामा थियो ।’ अहिले नगरपालिकाले ताल पुनःस्थापना गर्ने योजना अघि बढाएको उनी बताउँछन् । ‘विभिन्न निकायका प्रमुखहरू रहेको ताल संरक्षण समिति गठन गरेर डीपीआर पनि बनाइसकेका छौं,’ नगर प्रमुख चौधरीले भने, ‘अतिक्रमण गरेर खेतीपाती गरिरहेकाहरूले पनि नगरले भन्यो भने जग्गा छोड्दिन्छौं भनेका छन् ।’

धनगढी उपमहानगरपालिकाले पनि भदौ महिनामै आफ्नो क्षेत्रभित्र ८४ वटा ताल रहेको अभिलेख संकलन गरेको छ । ‘तीमध्ये २४ वटा ताल क्षेत्र नक्सामा मात्र सीमित छन्, अधिकांश ताल स्थानीयको भोगचलनमा छन्,’ धनगढी उपमहानगरका नापी शाखा प्रमुख शाहीले भने, ‘अधिकांश ताल २०४० देखि २०६० सालको बीचमा अतिक्रमण भएका देखिन्छन् ।’ कार्यालयमा तालको अवस्थाबारे प्रतिवेदन बुझाएको उनले बताए । ‘आगामी निर्णय गर्ने कुरा कार्यपालिकामा भर पर्छ,’ शाहीले भने, ‘केही ताल पानी सुकेर मासिएका छन् ।’

विश्व रामसार सूचीमा सूचीकृत कैलालीको सबैभन्दा ठूलो घोडाघोडी ताल यहाँको सबैभन्दा ठूलो सिमसार क्षेत्र हो । घोडाघोडी तालमा पनि पछिल्ला वर्षमा पानीको सतह घटेको स्थानीय बताउँछन् । घोडाघोडी ताल क्षेत्रमा ठूला–साना गरी २४ वटा ताल छन् । तीमध्ये २० वटा घोडाघोडी रामसार क्षेत्रमा पर्छन् । घोडाघोडी ताल क्षेत्रको क्षेत्रफल २ सय ४८ हेक्टर रहेको छ । १ सय ३८ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडीको मुख्य ताल चार मिटर गहिरो छ । पानीका स्रोत सुक्न थालेसँगै यहाँ पनि पानीको सतह घट्न थालेको छ । ‘घोडाघोडीको मुख्य तालको सतह घटेको पाइएको छ,’ घोडाघोडीकै स्थानीयसमेत रहेका चरा संरक्षणकर्मी हिरूलाल डगौराले भने, ‘पानी सुकेर त्यही छेउमा रहेको सत्पोखरी तालको अस्तित्व नै हराइसकेको अवस्था छ ।’ उनका अनुसार पनि मानवीय अतिक्रमण र पानी सुकेर तालतलैयाहरूको अस्तित्व हराएको छ ।

बाढीपहिरो, डढेलो, काठ चोरी निकासी जस्ता कारणले जंगल क्षेत्र पातलो हुनु (वन क्षेत्रको हैसियत बिग्रनु) वन क्षेत्रमा रहेका तालको संख्या र आकार घट्दै जानुको कारण रहेको प्राविधिकहरूको भनाइ छ । आन्तरिक पर्यटकका लागि यहाँका तालतलैया मुख्य गन्तव्य हुन् । प्राकृतिक सौन्दर्य भएका तालबाट पर्यटकीय विकासको सम्भावना छ । घोडाघोडी तालसँग धार्मिक क्षेत्र पनि जोडिएको छ । यहाँ रहेको मन्दिरको दर्शन गर्नकै लागि पनि ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

दसैं तिहारयता घोडाघोडी तालमा चहलपहल निकै बढेको छ । साउनदेखि असोजसम्मको तीन महिना अवधिमा १० हजार बढीले घोडाघोडी तालको अवलोकन गरेको तथ्यांक छ । ‘दसैंको समयमा त दैनिक उल्लेख्य संख्यामा अवलोकनकर्ता घोडाघोडी आएका थिए,’ घोडाघोडी संरक्षण तथा जनजागरण मञ्चका कर्मचारी दीपक शाहले भने । उनका अनुसार तीन महिनाको अवधिमा १२ जना विदेशी पर्यटकले यो ताल अवलोकन गरेका छन् । वार्षिक एक लाखभन्दा बढीको संख्यामा स्वदेशी र विदेशी पर्यटकले घोडाघोडी ताल अवलोकन गर्न पुग्छन् । घोडाघोडीमा रैथाने प्रजातिका दर्जनौं माछा, कछुवा र दुर्लभ गोहीको प्रजनन स्थल, दुर्लभ वनस्पति र चराहरू पाइने यो क्षेत्र संरक्षित छ ।

घोडाघोडीमा ३ सय ८० प्रजातिका पन्छी, ६ सय ४७ प्रजातिका वनस्पति, ३२ प्रजातिका माछा, ३४ प्रजातिका स्तनधारी, ३२ प्रजातिका पुतली, ११ प्रजातिका घोगी र ७ प्रजातिका घस्रिने जन्तु रहेको घोडाघोडी क्षेत्रको संरक्षण निकै महत्त्वपूर्ण हुने संरक्षणकर्मीहरू बताउँछन् । नेपाल पन्छी संरक्षण संघका चरासम्बन्धी जानकार हिरूलाल डगौरा तालतलैया नासिँदा चराको संख्या घटेको बताउँछन् । ‘भजनी नगरपालिकामा पुरैना तालको अस्तित्व रहँदासम्म विश्वकै दुर्लभ सारस चरा आउँथे । तर अहिले देखिनै छाड्यो,’ डगौराले भने, ‘यहाँको वसन्ता जैविक मार्ग क्षेत्रसँगै रहेको रखौला तालमा माछा मार्ने चलनले गर्दा चरा नआउने अवस्था भयो ।’ उनका अनुसार धेरैको बुझाइमा चराको आहारा माछा मात्र हो भन्ने छ तर त्यसो होइन । तालतलैयाको वनस्पति रुचाउने चराहरू पनि हुन्छन् । आहार लोप भएकाले चराहरू पनि आउन छाडे । उनीहरूको प्रजनन स्थल परिवर्तन भएका कारण यहाँ संख्या पनि घट्दै गएको छ ।

तालहरू धेरै भएका जिल्लामध्ये कैलालीको स्थान अग्रपंक्तिमा छ । धनगढी उपमहानगरमा मात्रै होइन, १३ वटा स्थानीय तह रहेको कैलालीको तराई क्षेत्रमा ताल नभएको कुनै पनि पालिका छैन । तर जिल्लाभर अहिले कतिवटा तालतलैया छन् भन्ने यकिन तथ्यांक सम्बन्धित निकायसँग अद्यावधिक छैन । डिभिजन वन कार्यालय कैलालीका वन अधिकृत डबल बोहरा भन्छन्, ‘जिल्ला तहबाट हामीले पनि तालहरूको पछिल्लो अवस्थाबारे विस्तृत अध्ययन गर्न सकेका छैनौं ।’

हरेक स्थानीय तहमा तालतलैयाहरू छन् । वातावरणीय तथ्यांक नेपाल २०१९ को अभिलेख अनुसार कैलालीमा अहिले पनि १ सय १४ वटा ताल छन् । इन्भेन्ट्री अफ लेक्स इन नेपाल सन् २०२१ को प्रतिवेदनलाई उल्लेख गर्दै कैलालीमा रहेका तालहरूमध्ये ४७ वटा ठूला तालको अस्तित्व संकटमा रहेको जिल्ला वन डिभिजन कार्यालय कैलालीका वन अधिकृत डबल बोहराले बताए ।

बुढापाकाहरूका अनुसार पानी केही कम हुने सुख्खायाममा स्थानीयले एउटा किनारबाट ताल अतिक्रमण गर्न सुरु गर्थे, केही वर्षपछि त पूरै ताल नै अतिक्रममा परिसक्थ्यो । ‘तालतलैयामा अतिक्रमण हुने र ताल मासिने कुरा कुनै व्यक्ति मात्रको दोषभन्दा पनि राज्य प्रणालीकै दोष हो,’ नजरिया तालसँगै जोडिएको भागेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लालबहादुर विष्टले भने, ‘तत्कालीन वन विभागका कर्मचारी र गाउँका अगुवाहरू मिलेर तालतलैया अतिक्रमण भएका हुन् । नजरिया ताल अतिक्रमणको चपेटामा पर्नुको कारण पनि त्यही हो ।’

तालतलैयाहरूको बहुआयामिक महत्त्व हुने गर्छ । तालतलैयाको पानीले सिंचाइमा सहयोग पुगिरहेको हुन्छ । अक्सर ठूला तालहरू नजिक मठमन्दिर हुने गर्छन् । त्यसको बेग्लै धार्मिक तथा सांस्कृतिक महत्त्व छ । अर्कोतिर स्थानीयको जीविकोपार्जनको सवाल पनि तालतलैयासँग जोडिएको छ । ‘थारु जातिमा विवाहमा घोघी, कमलको फूल, माछा अनिवार्य हुन्छ,’ संरक्षणकर्मी डगौराले भने, ‘वातावरणीय दृष्टिले हेर्दा पानी रिचार्ज गर्न सहयोग पुगिरहेको हुन्छ । पृथ्वीको स्वच्छता कायम गर्न योगदान गरिरहेको हुन्छ । कार्वन सोस्ने काम पानीले पनि गर्छ । विरुवाले मात्रै कार्बन सोस्ने भन्ने बुझाइ गलत हो ।’

धनगढी उपमहानगरले आफ्नो क्षेत्रभित्र विगतमा नापनक्सामा रहेका तालहरूको खोजी गर्ने, अभिलेख तयार गर्ने र संरक्षण गर्ने जनाएको छ । जोखर ताललाई संरक्षण गरेर सौन्दर्यकरणको प्रयास सुरु गरिसकेको उपमहानगरपालिकाको भनाइ छ । ‘पहिलो चरणमा नक्सा अनुसार ताल रहेको क्षेत्र यकिन गर्ने, त्यसपछि अतिक्रमण हटाउने र संरक्षणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउने तयारी गर्छौं,’ उपमहानगर प्रमुख गोपाल हमालले भने, ‘कुन ताललाई कसरी प्रयोग गर्ने भन्ने अध्ययनको चरणमा छौं । केही दातृ निकाय पनि सम्पर्कमा आएका छन् । विस्तृत अध्ययनपछि ताल पुनर्स्थापनाको योजना अघि बढाउँदैछौं । तत्काल दुईवटा ताल पुनःस्थापना गर्न सहयोगी निकायसँग कुरा भइसकेको छ ।’

प्रकाशित : मंसिर १२, २०८० ११:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?