९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०६

‘एम्बुस’ बन्दै ग्यारेजका हावा भर्ने ट्यांकी

ग्यारेज र टायर मर्मत स्थलमा रहेका हावा भर्ने ट्यांकीहरू विस्फोट हुँदा हरेक वर्ष ज्यान गुमाउने र घाइते हुनेको संख्या बढिरहेको छ । तर यसलाई न्यूनीकरण गर्न न ग्यारेज सञ्चालकले सुरक्षाका उपाय अपनाएका छन्, न त सरकारी संयन्त्र नै क्रियाशील देखिन्छन् ।
कल्पना नै नगरेको घटना भयो, जीवनको सहारा नै खोसियो । -नेशा खातुन
शिव पुरी

रौतहट — रौतहटको गरुडा–९ गम्हरियाका १७ वर्षीय विधिकुमार साहलाई सानैदेखि सूचना प्रविधि (आईटी) इन्जिनियर बन्ने हुटहुटी थियो । गत वर्ष एसईई उत्तीर्ण गरेपछि उनी देबाहीगोनाहीस्थित धरहरी क्याम्पसमा त्यही विषय पढ्दै थिए । सामान्य परिवारका विधि पढाइ सकेर परिवारलाई गरिबीबाट उकास्ने सपना देख्दै थिए । तर, एउटा दुर्घटनाले उनको सारा सपना उडाइदियो । 

‘एम्बुस’ बन्दै ग्यारेजका हावा भर्ने ट्यांकी

गत असोज १ गतेको कुरा हो, विश्वकर्मा पूजाको दिन थियो । उनी गरुडा बजारमा कापी किन्न मोटरसाइकल लिएर निस्केका थिए । बाटोमै मोटरसाइकल बिग्रेपछि गरुडा–४ समनपुर रोडस्थित ग्यारेजमा पुगे । त्यही बेला चर्को आवाज आयो । एकैछिन त उनी होस गुमाएजस्तो अवस्थामा पुगे । स्थिति सामान्य भएपछि मात्रै थाहा पाए, हावा भर्ने ट्यांकी विस्फोट भएको रहेछ । उक्त घटनामा विस्फोट भएको ट्यांकीको फलाम उछिट्टिएर लाग्दा उनको दाहिने हातका चारवटै औंला गुमे । घटनापछि उनले उपचारमा मात्रै ५ लाखभन्दा बढी रकम खर्च गरिसके । खर्च जुटाउँदा ऋणको ब्याजले उनको पूरै परिवारलाई दुःखमा धकेलेको छ । विधिले सुनाए, ‘क्षणभरमै हावा भर्ने ट्यांकीले मेरो सपना उडाइदियो ।’

त्यो दुर्घटना न विधिका कारण भएको थियो, न त उनको मोटरसाइकलमा हावा भर्दा नै ट्यांकी पड्किएको थियो । बनिसकेको मोटरसाइकलको शुल्क तिरेर निस्कने बेला ट्यांकी विस्फोट हुँदा उनी दुर्घटनामा परेका हुन् । ग्यारेज सञ्चालकका अनुसार ट्यांकीमा पम्पसेटद्वारा हावा भर्ने क्रममा क्षमताभन्दा बढी भरिएकाले विस्फोट भएको थियो । घटनामा ग्यारेज सञ्चालक धर्मेन्द्र साहको पनि हातमा चोट लाग्यो । घाइते धर्मेन्द्रको अहिले पनि काठमाडौंस्थित वीर अस्पतालमा उपचार भइरहेको छ । विधिका बाबु मदनले ग्यारेज सञ्चालकको लापरबाहीले घटना भएको बताए । ‘ट्यांकीमा क्षमताभन्दा बढी हावा राखिएपछि मिटरको सुईले काम गरेन,’ उनले भने, ‘यही कारणले गर्दा विस्फोट भयो र छोरा घाइते हुन पुग्यो ।’

हावा भर्ने ट्यांकी विस्फोट हुँदा आफ्नो दायाँ हातका औंला गुमाएका गरुडा–९ गम्हरियाका १७ वर्षीय विधिकुमार साह । तस्बिर : शिव/कान्तिपुर

घटनापछि विधिले ग्यारेज सञ्चालकका नाममा इलाका प्रहरी कार्यालय गरुडामा निवेदनसमेत दिए । सञ्चालकसमेत घाइते भएकाले उपचार खर्च कसले व्यहोर्ने भन्नेमा प्रहरीले समेत निर्क्योल गरेको छैन । घटनापछि घाइते विधि दिन बिराएर घाउ ड्रेसिङका लागि वीरगन्ज पुग्छन् । प्रत्येक पटक अस्पताल जाँदा र आउँदा उनको चार हजार रुपैयाँ खर्च हुन्छ ।

मधेशमा हावा भर्ने ट्यांकी विस्फोट हुँदा ग्यारेजमा काम गर्ने मिस्त्री र सेवाग्राही घाइते भएका घटना प्रत्येक महिनाजसो दोहोरिरहेका छन् । यस्ता घटनाका अधिकांश घाइतेले ग्यारेज सञ्चालकबाट राहत र क्षतिपूर्ति पाएको देखिँदैन । आकस्मिक हुने यस्ता दुर्घटनाको जिम्मेवार को हुने र यस्ता घटना कसरी कम गर्ने भन्ने विषयमा सरकारी पक्ष पनि मौनजस्तै देखिन्छ ।

कटहरिया नगरपालिका–५ स्थित बहादुरटोलकी ६५ वर्षीया हलिमा खातुन घरमै झोक्राइरहेको अवस्थामा भेट्टिइन् । घर नजिकैको मोटरसाइकल ग्यारेजको हावा भर्ने ट्यांकी विस्फोट हुँदा उनले २१ वर्षीय छोरा समसुल मियाँलाई गुमाइन् । त्यो घटना सम्झिँदा अहिले पनि मुटु भतभती पोल्ने गरेको उनले सुनाइन् । परिवारमा सबैका प्रिय समसुल २०७८ मंसिर ३ मा सधैंझैं खाना खाएपछि घर नजिकैको मोटरसाइकल ग्यारेज पुगेका थिए । उनी मोटरसाइकलको ट्युब टालेर हावा भर्दैर् थिए । त्यही बेला ठूलो आवाजसहित ट्यांकी पड्कियो । उछिट्टिएको ट्यांकीको फलाम सोझै टाउकोमा बज्रिँदा घटनास्थलमै उनको मृत्यु भयो । विस्फोटको चर्को आवाज परपरसम्म फैलिएको थियो । तर, स्थानीयले भने बम विस्फोट भएको लख काटिरहेका थिए । विस्फोटमा फलामको टुक्राले लागेर ग्यारेजमा बसिरहेका स्थानीय २५ वर्षीय जैसी यादवको दाहिने हातमा पनि सामान्य चोट लाग्यो ।

समसुलको मृत्युको खबर छिनभरमै गाउँमा फैलियो । छोराको मृत्युको खबर पाउनासाथ आमा हलिमा बेहोस् भइन् । परिवारका सदस्यहरू सबै दौडेर ग्यारेज पुगे । रगताम्मे अवस्थामा श्रीमान्लाई देखेपछि समसुलकी गर्भवती श्रीमती नेशा त्यहीं ढलिन् । उनलाई गाउँलेले उठाएर घर लगे । झन्डै २ घण्टापछि उनी होसमा आइन् । ‘जीवनको यात्रा कतिखेर समाप्त भएछ, थाहै पाइनँ,’ नेशाले भनिन्, ‘कल्पना नै नगरेको घटना भयो, जीवनको सहारा खोसियो ।’

गाउँघरमै गरी खाने बाटो खोज्न समसुलले तीन वर्षअघि मोटरसाइकल ग्यारेज खोलेका थिए । ग्यारेज राम्रै चलेको थियो । समसुल मासिक ३५/४० हजार रुपैयाँ कमाउँथे । कमाइले घरको जोहो चलेकै थियो । समसुलका भतिज महम्मद मन्सुरीले ग्यारेजमा जडान गरिएको हावा भर्ने ट्यांकी वर्षौं पुरानो भएको बताए । उनले घटना हुनु सात महिनाअघि पनि सामान्य विस्फोट भएको तर त्यतिबेला ठूलो क्षति केही नभएको बताए । ‘पहिले पनि एकपटक ट्यांकी पड्किएर वेल्डिङ गरिएको थियो, थोत्रो ट्यांकी टालेर चलाउँदाको परिणाम गम्भीर भयो,’ उनले भने, ‘हावाको प्रेसरमा चलाइने ट्यांकी सुरक्षित राख्नुपर्छ भन्ने हेक्का भएन, अन्त्यमा मृत्युको घटना व्यहोर्नुपर्‍यो ।’

घटनापछि आर्थिक सहयोगका लागि खातुन परिवारले कटहरिया नगरपालिकामा कागजपत्र पेस गरे । तत्कालीन नगर प्रमुख सियाराम कुशवाहले केही रकम सहयोग गर्ने प्रतिबद्धता जनाए । तर, सहयोग मिलेन । श्रीमान्को मृत्युपछि बेसहारा बनेकी नेशा अहिले छिमेकीका लुगा सिलाएर ४ वर्ष, ३ वर्ष र डेढ वर्षका तीन छोरी हुर्काइरहेकी छन् । नेशाले सुनाइन्, ‘हावाको ट्यांकी पड्किन्छ भन्ने थाहै भएन, आज यसैका कारण सहाराविहीन बनेकी छु ।’

चन्द्रनिगाहपुरका टायर मर्मत केन्द्रका पुराना मिस्त्रीहरू रौतहटमा मात्रै एक सय बढी हावा भर्ने ट्यांकी सञ्चालनमा रहेको बताउँछन् । पुराना डिजाइनका हावा भर्ने मेसिनहरू दुर्घटना पर्खेर बसिरहेको र यस्ता ट्यांकीको अनुगमन नहुँदा दुर्घटना बढिरहेको उनीहरूले बताए । पूर्व–पश्चिम राजमार्गमा लामो समयदेखि टायर मर्मत केन्द्र सञ्चालन गर्दै आएका मिस्त्री शेख कलिमले हावा भर्ने ट्यांकीहरू लिक भएमा फलामको पाता ल्याई स्थानीय वर्कसपमा लगेर वेल्डिङ गरेर चलाउने हुँदा पड्किरहेको बताए । ‘हावा भर्ने ट्यांकीहरू लोकल र नक्कली राख्ने हुँदा समस्या भएको हो, बाहिरबाट राम्रो र बलियो ल्याइएन भने जुनसुकै बेला ट्यांकी विस्फोट हुने खतरा रहन्छ,’ उनले भने, ‘यस्तो संवेदनशील क्षेत्रमा सामान राख्दा गुणस्तरलाई ध्यान दिनुपर्छ, सस्तो सामान राखेर समस्या निम्त्याउने होइन ।’

उनले भारतको पुणेबाट एक लाख २५ हजार रुपैयाँ तिरेर नयाँ हावा भर्ने मेसिन जडान गरेका छन् । मिस्त्री कलिमका अनुसार हावाको क्षमता १ सय ५० देखि १ हजार प्वाइन्टसम्मका ट्यांकी पाइन्छन् । हावाको क्षमता हेर्न घडी प्रकृतिको मिटर राखिएको हुन्छ । मिटरले काम गरेन भने हावा बढी भई पड्किन सक्छन् । उनले गरुडा र कटहरियामा भएको घटना त्यसैको उपज भएको बताउँदै हावा भर्ने ट्यांकीलाई दुई महिनामा एकपटक सफा गर्नुपर्ने बताए ।

कटहरिया नगरपालिका–५ स्थित बहादुरटोलकी ६५ वर्षीया हलिमा खातुन बुहारी समसुल नेशा र नातिहरूका साथ । तस्बिर : शिव/कान्तिपुर

गाडीको टायरमा हावा भर्दा मिस्त्रीको ध्यान ट्यांकीको हावाको अवस्था हेर्ने मिटरतिर हुनुपर्ने भए पनि त्यस्तो नभएको उनले बताए । यस्तो अवस्थामा हावाको मात्रा बढी भई पड्किने गरेको मिस्त्री कलिमको भनाइ छ । ‘लापरबाहीबाहेक यो हतपत पड्किँदैन,’ उनले थपे, ‘पुरानो, थोत्रो र मिटर बिग्रिएको खण्डमा मात्रै यो पड्किन सक्छ ।’ ग्यारेजमा राखिएका हावा भर्ने ट्यांकीहरू बिमा नगरिएका कारण पनि विस्फोट भएर हुने दुर्घटनाका पीडितहरूले क्षतिपूर्ति नपाउने अवस्था छ । त्यसो त यससम्बन्धी कुनै स्पष्ट सरकारी मापदण्ड पनि देखिँदैन । जसका कारण प्रहरीमा पुगेका यस्ता घटना पनि निष्कर्षमा पुग्न सकेको देखिँदैन ।

गरुडा घटनामा दुवै पक्ष घाइते भएकाले इलाका प्रहरी गरुडालाई टाउको दुखाइको विषय बनेको छ । गरुडाका डीएसपी ओम खनालले व्यावहारिक पक्षलाई हेरेर दुवै पक्ष बसेर ग्यारेज सञ्चालकले उपचार खर्चको व्यवस्थापन गरे राम्रो हुने बताए । ‘भवितव्य घटनामा जिल्ला प्रशासनमा उजुरी दियो भने त्यहीअनुसारको अनुसन्धान र कारबाही हुन्छ,’ उनले भने, ‘अहिले दुवै पक्ष घाइते भएकाले कसरी जाने भन्ने विषयमा छलफल हुन पाएको छैन ।’

उद्योग वाणिज्य संघ चन्द्रनिगाहपुर शाखाका महासचिव जनकराज भारतीले ग्यारेजमा हावा भर्ने ट्यांकीहरू विस्फोट हुँदा मिस्त्री मात्रै नभएर अन्य सेवाग्राहीसमेत घाइते र मृत्यु हुन सक्ने जोखिम भएकाले यससम्बन्धी स्पष्ट मापदण्डको अभाव रहेको बताए । ‘देशभरि हावा भर्ने ट्यांकी पड्किएर मानिसको मृत्यु र अंगभंग भएका घटना हामीले सुनिरहेका छौं,’ उनले भने, ‘अहिलेसम्म टायर मर्मत गर्ने ग्यारेजहरूको अनुगमन र त्यहाँ जडान गरिएका हावा भर्ने ट्यांकीको अवस्था बुझ्ने काम कुनै निकायबाट भएको छैन ।’

सबैतिर उस्तै

बाराको कोल्हबी–६ स्थित अधन्वा बजारमा रहेको उमाशंकर चौधरीको मोटरसाइकल ग्यारेजको हावा भर्ने ट्यांकी गत वैशाख २८ मा विस्फोट भयो । स्कुल बसमा हावा भर्ने क्रममा भएको दुर्घटनामा बसका चालक मुना चौधरी, सहचालक प्रदीप चौधरी घाइते भए भने ग्यारेज भएको घरमा पनि क्षति पुग्यो । घटनापछि घाइतेको सम्पूर्ण उपचार खर्च ६५ हजार रुपैयाँ ग्यारेज सञ्चालकले बेहोर्ने गरी मिलापत्र भएर घटना सामसुम भयो । तर, सबै यस्ता घटनामा पीडितले क्षतिपूर्ति पाएको देखिँदैन ।

२०७६ भदौ १३ गते टीकापुरस्थित सुन्दर मोटर वर्कसपको हावा भर्ने ट्यांकी पड्किँदा बाँकेको राप्तीसोनारी गाउँपालिका घर भएका टिपर चालक गणेश चौधरीको मृत्यु भयो । घटनामा वर्कसपका प्रोप्राइटर सुन्दर चौधरी पनि घाइते भए । यस्तै घटना २०७३ माघ २९ गते सल्यानको त्रिवेणी–७ लुहाममा पनि भएको थियो । हावा भर्ने ट्यांकी पड्किँदा कामदार हीरालाल श्रीस र उनका छोरा गम्भीर घाइते भए भने अन्य दुई सामान्य घाइते भए । ट्यांकी पड्किँदा एउटा घर पूर्ण रूपमा क्षति भयो भने अर्को घरमा सामान्य क्षति पुग्यो ।

२०६० वैशाख ७ गते सर्लाहीको हरिऔन–११ स्थित पूर्वपश्चिम राजमार्गमा रहेको टायर मर्मत केन्द्रको हावा भर्ने ट्यांकी विस्फोट हुँदा बाटो हिँड्दै गरेका स्थानीय युवराज कार्कीको मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले गरुडा घटनापछि धेरैले हावा भर्ने ट्यांकीबारे गुनासो गरेको बताए । ‘सबैभन्दा पहिले जिल्लाभरि कति हावा भर्ने ट्यांकी सञ्चालनमा छन् भन्नेबारे हामी तथ्यांक निकाल्दै छौं,’ उनले भने, ‘त्यसपछि अनुगमन गरेर थोत्रा र कामै नलाग्ने ट्यांकी प्रयोग गरिएको पाइए तिनलाई तत्कालै हटाउन भन्छौं ।’

पूर्व–पश्चिम राजमार्गमा सहरैपिच्छे टायर मर्मत गर्ने ग्यारेज खोलिएका छन् । तिनको संख्या कति छ भन्ने कुनै निकायसँग तथ्यांक छैन । मर्मत केन्द्रमा राखिएका हावा भर्ने ट्यांकीको अवस्था कस्तो छ भन्ने कुनै निकायले अनुगमन गरेको छैन । मर्मत केन्द्रका सञ्चालकहरू पनि अहिलेसम्म कुनै निकाय सोधपुछ गर्न नआएको सुनाउँछन् । चन्द्रपुर–४ स्थित जियाउल टायर मर्मत केन्द्रका सञ्चालक जियाउल अन्सारीले कुनै पनि निकायले टायर मर्मत गरिएको स्थानमा आएर सोधपुछ र अनुगमन नगरेको सुनाए । ‘अहिलेसम्म टायर मर्मत गर्नेहरूसँग कसैले संवाद गरेका छैनन्,’ उनले भने, ‘हेर्नसमेत आएका छैनन् ।’

टायर मर्मत केन्द्र र ग्यारेजका कर्मचारीका अनुसार हावा भर्ने कम जोखिमयुक्त आधुनिक मेसिन महँगो पर्ने र भारतबाटै किनेर ल्याउनुपर्ने भएकाले पनि धेरैले सस्ता मेसिन प्रयोग गरिरहेका छन् । भित्री मधेशका बजारहरूमा हावा भर्ने मेसिन झन् धेरै जोखिमपूर्ण रहेको टायर मर्मत केन्द्रका सञ्चालक एवं मिस्त्री शेख कलिमले बताए । आधुनिक मेसिनहरू विद्युत्बाट चल्ने भए पनि परम्परागत मेसिनहरू पम्पसेटबाट चलाइन्छ । ‘केही सञ्चालकहरूले फलामको पाता खरिद गरी वेल्डिङ गरेर हावा भर्ने ट्यांकी बनाउँछन्,’ उनले भने, ‘यो निकै खतराजनक हुन्छ ।’

प्रकाशित : मंसिर ९, २०८० १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निषेधित क्षेत्र तोडेर संसद् भवनभित्रै आन्दोलनकारी प्रवेश गरी नाराबाजी गरेको घटनालाई कसरी लिनुहुन्छ ?