कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३८

हात्ती पाल्नेका कथा

कुनै बेला अथाह जमिन भएका राजवंशीहरू अहिले सुकुम्बासीजस्ता बनेका छन्, हात्ती पाल्ने उनीहरू अहिले गाई पालेर जीवन निर्वाह गरिरहेको बताउँछन्
पर्वत पोर्तेल

झापा — वि.सं.२०२१ मा जब पूर्व–पश्चिम महेन्द्र राजमार्गको रेखांकन सुरु भयो, झापामा झल्याकझुलुक सवारीसाधनका रूपमा गाडी देखिन थाले । २०२० सालअघिसम्म झापामा सवारीका प्रमुख साधन हात्ती–घोडा मात्रै थिए । अहिले जसरी महँगा गाडी सम्पन्नताको मापक बनेका छन्, त्यसबेला हात्ती–घोडाका मालिकहरू समाजमा धनी कहलिन्थे । त्यसबेला हात्ती सान र सौकतको वस्तु थियो । 

हात्ती पाल्नेका कथा

त्यसैमध्येमा एक थिए, जमिन्दार रघुवीर बुढाथोकी । उनले २०१० सालतिर भारत बिहारमा लाग्ने खगडा मेलाबाट हात्ती जितेर ल्याएको बताइन्छ । खासमा उनले जुवामा हात्ती जितेर ल्याएको उनका आफन्त र नातेदारको दाबी छ । ‘जुवा खेल्न माहिर हुनुहुन्थ्यो, त्यही क्रममा हात्ती नै जितेर ल्याएको भन्ने कुरा हामीले सानैमा सुनेका हौं,’ रघुवीरका नातेदार पूर्वशिक्षक ७१ वर्षीय पदम बुढाथोकीले सुनाए, ‘उहाँले ल्याएको अजंगको हात्तीको नाम ज्ञानकली थियो । आँखा देख्दैनथ्यो । तर, सुँडको सहायतामा बाटो पहिल्याएर मज्जाले हिँड्थ्यो ।’

त्यसबेला रघुवीर माहुते रामचरण दनुवारलाई अघि लगाएर हात्ती चढेर पुग्थे– नकलबन्दा, शनिश्चरे, भद्रपुर, इलामसँगै भारतको गलगलिया र नक्सलबारीसम्म । करिब १६ सय बिघा जमिनका मालिक रघुवीर २० वर्षसम्म सानका साथ ज्ञानकली हात्ती चढे । २०३१ सालमा उनी बिते । रामचरणले पनि काम छोडे । त्यसपछि छोटो समयमै दुई–तीन जना माउते फेरिए । रैथाने मुस्लिम माउते गुल मोहम्मदले झन्डै ९ वर्ष ज्ञानकलीको स्याहार गरे । २०४० सालमा हात्ती मर्‍यो । ‘खान नपाएरै हात्ती मर्‍यो भन्ने लाग्छ,’ गुलले सुनाए, ‘अलि मज्जाले स्याहार पुगेको भए त्यो हात्ती अझै केही वर्ष बाँच्थ्यो होला ।’ हात्ती मरेपछि गुल दुःखी भएनन् । किनकि, उनलाई त्यो हात्तीबाट छुट्कारा पाउनु थियो । ‘मालिकले हात्ती मरेपछि मात्रै तैंले छुट्कारा पाउँछस् भन्नु भाथ्यो,’ गुलले हाँस्दै थपे, ‘हात्ती मरेको दिन साह्रै खुसी लागेको थियो ।’

हामीले हात्ती पालेको प्रमाण अब फलामे साङ्लो मात्रै बाँकी छ । - धनेश्वर राजवंशी

हात्तीको मुख्य खान्की कुची अर्थात् परालमा धान, मकै, गहुँ मिसाएर बनाइएको वस्तु हुन्थ्यो । त्यसका अलावा केरा, धान, सिमल र पीपल उसले मन पराउँथ्यो । ‘हात्तीको खान्की पुर्‍याउनै गाह्रो हुन्थ्यो,’ गुलले हात्ती पाल्दाका दुःख साटे, ‘बिहान–बेलुका १० किलो त धानै खान्थ्यो । अरू झार, घाँस, फलफूल त कति हो कति !’

हात्ती स्याहारेबापत गुलले मासिक ५ रुपैयाँ तलब पाउँथे । त्यही तलबबाट परिवार धान्थे । उनी हात्तीलाई चरिचरनमा मात्रै होइन, बिहेबारीमा पनि लिएर जान्थे । ’४० को दशकमा हुनेखानेहरू हात्ती चढेर बेहुली लिन जान्थे । हात्ती भाडामा लगाइन्थ्यो । एउटा बिहेको ५ हजार भाडा असुलिन्थ्यो ।

सन् १९६७ मा शनिश्चरे बजारनजिकै जन्तीसहित हात्तीमा सवार बेहुला–बेहुली । तस्बिर : रिच फाउ (अमेरिका)

तिनताका झापामा करिब दर्जनजति परिवारले हात्ती पालेका थिए । धुलाबारीमा रघुवीरसँगै नरेन्द्र खनाल र गिबीलाल धिमालले हात्ती पालेका थिए । बिर्तामोड, भद्रपुर, राजगढलगायत क्षेत्रमा राजवंशी समुदायका जमिन्दार (देउनिया) हरूसँग पनि हात्ती हुन्थ्यो । पदम बुढाथोकीका अनुसार त्यसबेला हात्ती दौड प्रतियोगिता पनि हुन्थ्यो । जिल्लाभरिका हात्ती भेला गरेर दौडमा सहभागी गराइन्थ्यो । एक पटक रघुवीरको अन्धो हात्तीले दौड जितेको उनलाई सम्झना छ ।

धुलाबारीका जमिन्दार एवं उद्योगपति नरेन्द्र खनालको दन्तर नामको हात्ती थियो । लामो दाह्रा भएको त्यो हात्ती चढ्न माउते आफैं डराउँथे । धान मिल सञ्चालन गरेर बसेका खनालले हात्तीलाई ढुवानीको मुख्य साधन बनाएका थिए । उनी हात्तीलाई धान–चामल बोकाएर भारतको नक्सलबारी गइरहन्थे । झापामा धान–चामलको व्यापार व्यापक रूपमा फस्टाएको थियो ।

हात्ती पाल्दाका दुःख बयान गरिसाध्यै छैन । एउटै हात्तीले बिहान–बेलुका १० किलो त धानै खान्थ्यो। अरू झार, घाँस, फलफूल त कति हो कति ! -गुल मोहम्मद, माउत

धुलाबारीका पात्र धिमाल पनि हात्ती पाल्ने परिवारमा पर्छन् । धिमाल परिवारले राणाकालदेखि नै हात्ती पालेका रहेछन् । उनका हजुरबा झागुई धिमाल र बुबा गिबीलालले हात्ती पालेका थिए । पात्र धिमालका अनुसार राणाहरू सिकार खेल्न झापा आइरहन्थे । सिकारमा उनकै हजुरबाले पालेको हात्ती राणाले प्रयोग गर्न मागिरहन्थे । ‘राणाहरूले मागेर हैरान पारेपछि हजुरबाले सस्तोमै हात्ती बेचिदिनु भएछ,’ पात्रले सुनाए, ‘त्यसपछि केही समय हात्ती पाल्न छोडियो ।’

धिमाल परिवार २०२२ सालतिर फेरि हात्ती पाल्न बाध्य बनेको पात्रले बताए । ‘नरेन्द्र खनालसँग १२ सय मन धानको पैसा लिनु थियो,’ उनले भने, ‘त्यसको बदला उनले एउटा हात्ती र ९ कट्ठा जमिन दिए ।’ हात्ती त ल्याए तर यसबेला पाल्न औधी सकस भएको उनले अनुभव सुनाए । ‘हात्तीको खान्कीलाई थेग्नै गाह्रो भयो,’ उनले भने, ‘केही समयपछि चारआली जंगलमा लगेर हात्ती छाडेर आयौं ।’

बिर्तामोड नगरपालिका–९ का भीमप्रसाद राजवंशीलाई आफ्नो बिलासी बाल्यकाल सम्झिँदा अचेल सपनाजस्तो लाग्छ । कहिलेकाहीं उनी विगत सम्झिएर चकित बन्छन् । ‘हाम्रा घरमा हात्ती पनि पालिएको थियो भनेर सम्झँदा होइन कि जस्तो लागेर आउँछ,’ उनले सुनाए, ‘कहाँ गए ती दिनहरू ?’ त्यसबेला झापामा राजवंशी समुदायका सीमित मान्छेले साह्रै बिलासीपूर्ण जीवन बिताएका थिए । हात्ती–घोडा पाल्नेहरू हैसियतमा थिए । तिनैमध्ये थिए, सतालसिंह राजवंशी ।

सन् १९६६ मा अमेरिकी शिक्षा कार्यक्रमअन्तर्गत भद्रपुर हाईस्कुलमा आएका दुई विदेशी स्वयंसेवक । तस्बिर : बेथ प्रेन्टस (अमेरिका)

सतालसिंह ‘देउनिया’ थिए । उनका दुई हात्ती थिए । दुई हात्ती स्याहार्न चार माउते खटाएका थिए । सतालसिंहले आफ्नो पहिलो हात्ती तत्कालीन मन्त्री भूपालमानसिंह कार्कीलाई बेचेको कुरा उनका आफन्तहरूले जनाएका छन् । दोस्रो हात्ती उनले आफैं पाले । पञ्चायतको उत्तरार्द्धसम्म उनी हात्ती चढेर हिँड्थे । खगडा मेलाबाट ४ हजार भारुमा किनेको हात्ती बहुदलपछि मर्‍यो । खगडामा हात्ती, घोडाको बजार नै लाग्थ्यो । यस भेगका धेरैजसोले त्यहींबाट हात्ती किनेर ल्याएको सुनाउँछन् ।

त्यस बेलाका महाजन राजवंशीहरूसँग अथाह जमिन थियो । अहिले त धेरैजसो सुकुम्बासी भइसकेका छन् । हात्ती पाल्ने उनीहरू अहिले गाई पालेर जीवन निर्वाह गरिरहेका छन् । ‘पहिला आँखाले हेर्न भ्याएसम्मको जमिन थियो हाम्रो,’ सतालसिंहका साइँला छोरा विजयकुमार राजवंशीले भने, ‘अहिले त्यत्रो जमिन कहाँ पुग्यो होला, सम्झिँदा पनि सपनाझैं लाग्छ ।’

राजगढका रपतलाल राजवंशी, छविलाल राजवंशी, डाँगीबारीका सामा राजवंशी, घेरावारीका विष्णुपथ राजवंशी, भद्रपुरका सुन्दरलाल राजवंशी, कुमरखोदका चतुरसिंह राजवंशी, महेशपुरका गोपाल चन्द्रसिंह राजवंशीजस्ता सीमित देउनियाहरू हात्ती मालिक थिए । हात्ती पाल्ने राजवंशीका सन्तान डाँगीबारी–१ का तारानाथ राजवंशीको पारिवारिक स्थिति अहिले सुकुम्बासीको जस्तै छ । बुबा सामा राजवंशी बितेपछि पहिलाको त्यो सान सौकत अहिले छैन उनीहरूसँग । जेनतेन जिन्दगी चलेको छ ।

सामाले २०१८ देखि हात्ती पालेका थिए । पर्याप्त जमिन भएकाले धान पनि मनग्य फल्थ्यो । त्यसका अलावा पाटा र सुर्तीको उत्पादन पनि मनग्य थियो । ‘हात्तीका लागि मात्रै ५ बिघा जमिनमा केरा खेती लगाइएको थियो,’ तारानाथले सुनाए, ‘हजारौं मन धान फल्थ्यो ।’ धान बेच्न सामा हात्ती चढेर पुग्थे, शनिश्चरेदेखि भद्रपुरसम्म र नकलबन्दादेखि नक्सलबारीसम्म ।

तत्कालीन राजगढ गाविसका पूर्वअध्यक्ष मोतीलाल राजवंशीका बाजे बस्ती राजवंशी र बुबा रपतलालले निरन्तर हात्ती पाले । उनले भने पाल्न सकेनन् । ५ सय बिघाभन्दा बढी जमिनका मालिक मोतीलाल गतिलो घरमा पनि बस्न सकेनन् । उनी गत वर्ष बिते । मोतीलालका बाबुसँग जमिन मात्रै होइन, सम्पत्ति पनि पर्याप्त थियो । सयौं तोला त सुन मात्रै थियो । चाँदी त कति हो कति !

राजगढका देउनिया छविलाल राजवंशी खासमा घोडा किन्ने योजना बुनेर किसनगन्जको खगडा बजार पुगेका थिए । तर, त्यहाँ पुगेपछि उनलाई कसैले उकासेपछि हात्ती किनेर फर्किएछन् । ‘हात्ती हुनु त राम्रै हो तर पाल्नै गाह्रो थियो,’ छविलालकी पत्नी केशववतीले सुनाइन्, ‘पाँच/सात वर्ष पाल्यौं, थेग्न नसकेपछि बिक्री गर्‍यौं ।’ केशववतीको घरमा तिनताका हात्ती पालेको प्रमाण पनि सुरक्षित छ । हात्तीलाई बाँध्न बनाइएको फलामको साङ्लो अझै छ । छोरा धनेश्वरले हात्ती बाँध्ने फलामे साङ्लो देखाउँदै भने, ‘हामीले हात्ती पालेको प्रमाण यही मात्रै बाँकी छ अब !’

प्रकाशित : मंसिर १, २०८० ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्रको गति कस्तो लागिरहेको छ ?