कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

नाच जगेर्नाको हुटहुटी

हरेक वर्ष आयोजना गरिने नवदुर्गा नाच १२ वर्षमा विशेष किसिमले मनाइन्छ । नवदुर्गा नाच एक ठाउाबाट अर्को ठाउँ पुर्‍याउँदा, नाच प्रदर्शन गर्दा चिराग अनिवार्य बाल्नुपर्ने परम्परा छ । यस्तो नाच जोगाउन युवा पुस्ता सक्रिय छन् ।
प्रशान्त माली

काठमाडौँ — ललितपुर थेच्वका रोशन माली र हिरोज माली हस्तकलाकर्मी हुन् । नवदुर्गा नाच लोप हुनबाट बचाउन दुवै जना अहिले गुठीमा सक्रिय छन् । कुमारी र ब्रह्मायणी देवता बनाइएका व्यक्तिको सहयोगीको भूमिका निर्वाह गर्न गएको वर्षदेखि आफूहरू सक्रिय भएको १९ वर्षीय यी युवाले बताए ।

नाच जगेर्नाको हुटहुटी

रमेश माली र रत्नमान माली १७ वर्षदेखि गुठीमा आबद्ध छन् । रमेश पुजावारी र रत्नमान कुमारी देवगणको भूमिका निर्वाह गरिरहेका छन् । नवदुर्गा गुठीमा करिब २० वर्षदेखि पूजावारीको पद रिक्त थियो । केही वर्षदेखि कुमारी देवगण र देवता समाउने गुठियारको पद सम्हाल्ने व्यक्ति पनि कोही थिएनन् ।

धार्मिक परम्पराअनुसार गुठीमा आबद्ध कसैको मृत्यु भएमा त्यस पदमा बस्ने पहिलो अधिकार गुठियारका छोरा र आफन्तलाई हुन्छ । तर, देवगण भइसकेपछि नवदुर्गाका विशेष पर्वहरूमा रात बस्ने गरी अन्यत्र जान मिल्दैन । अझ पुजारी भइसकेपछि दैनिक नवदुर्गा मन्दिरमा नित्य पूजा र बेलुका आरती गर्नुपर्छ । नवदुर्गा नाचमा वर्षभरि पर्वपूजा चलाउनुपर्छ । कठोर नियममा बस्नुपर्ने भएकाले कोही पनि व्यक्ति हत्तपत्त गुठीमा प्रवेश गर्न मान्दैन । गुठीमा माली, मालाकारबाहेक अन्य जातिको प्रवेश निषेध गरिएको छ । संस्कृति संरक्षण गर्न थेच्वकै सूर्जमान माली र महेन्द्र मालीले अहिले चिराग समाएका छन् । सुजन र किरण माली वाद्यवादक हुन् । नवदुर्गा गुठीमा १० वर्षदेखि चिराग समाउने र वाद्यवादक बन्न कोही तयार थिएन ।

नवदुर्गा नाच एक ठाउँबाट अर्को ठाउँ पुर्‍याउँदा, नाच प्रदर्शन गर्दा चिराग अनिवार्य बाल्नुपर्ने परम्परा छ । यस्तो नाच जोगाउन अमृत माली, बुद्धिबहादुर, मनोज, राजन, विशाल माली अहिले सक्रिय छन् । उनीहरू यही कामका लागि २०७९ सालमा गुठीमा प्रवेश गरेका हुन् । गुठीमा बघिनी, सिंघिनी, बाराही, महालक्ष्मी, काली देवगण समात्ने गुठियार पाउन नसक्दा वर्षौंदेखि यी पद पनि खाली नै थिए ।

हरेक वर्ष आयोजना गरिने नवदुर्गा नाच १२ वर्षमा विशेष किसिमले मनाइन्छ । गत वर्ष यस नाचका लागि गोदावरी नगरपालिकाले ५० लाख रुपैयाँ सहयोग गरेको थियो । ललितपुर महानगरपालिकाले नवदुर्गा नाच सञ्चालनार्थ अक्षयकोष स्थापनाका लागि २५ लाख रुपैयाँ र गुठी संस्थानले मन्दिरमा चढाउन उपयुक्त मानिएका राँगा र भेडा दिएको थियो । यसअघि ‘बेचोखो’ अर्थात् कम तौल र चढाउन उपयुक्त नमानिएका राँगा र भेडा दिएकाले गुठी संस्थानको आलोचना हुँदै आएको थियो । पाटन संग्रहालयका कार्यकारी अधिकृत सुरेश लाखेले नाच सञ्चालनार्थ संग्रहालयबाट खड्गका लागि बजेट व्यवस्थापन गरिएको बताए । यसले नवदुर्गा गुठियारमा हौसला थपेको गुठियारहरूले बताए ।

नवदुर्गा नाच प्रत्येक वर्ष दसैंका अवसरमा पाटन दरबार क्षेत्रमा निकालिने लिच्छविकालीन पायो (खड्ग) जात्रा, मल्लकालीन तलेजु देवी पूजाविधि पर्वसँग सम्बन्धित छ । यसबाहेक नाच सुनाकोठी, चापागाउँ, थेच्वमा देखाउने प्रचलन छ । १२ वर्षे नवदुर्गा जात्रामा विभिन्न २८ वटा पर्व सञ्चालन गर्नुपर्छ ।

काठमाडौंको पचली भैरवको १२ वर्षे खड्ग सिद्धि नाच चलाउन पनि युवाहरू अहिले कस्सिएका छन् । १२ वर्षमा हुने यस नाचमा पनि माली, मालाकारबाहेक अन्य जातिलाई प्रवेश निषेध छ । यस नाचमा देवगण बनिसकेपछि वर्षभरि नै भोजभतेरमा सहभागी हुन, जुठोपुरो खान, शक्तिपीठहरूमा देवताको दर्शन गर्न, घरबाट कतै पूजा सामग्री पठाउन, हनुमान र नाथगुरुबाहेक अन्य देवता मान्न एवं विदेश भ्रमणमा जान मनाही हुने चलन छ ।

पुस्तौंदेखि चल्दै आएको यस किसिमको परम्परालाई निरन्तरता दिन अहिले भैरव, अजिमा, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, रुद्रायणी, वैष्णवी, महालक्ष्मी, सिंघिनी, बघिनीको भूमिकामा राकेश, डिगम्बर, मुकेश, रविन, सनिस, सुमन, सरोज, सुजित, सम्य्क, कुशल, मःल मालाकारले भूमिका निर्वाह गर्दै आएका छन् । पचली भैरवको १२ वर्षे जात्रा पनि यस वर्ष धुमधामका साथ सञ्चालन भइरहेको छ ।

नवदुर्गा गुठियार रत्नबहादुर मालीले पुर्खाले जगेर्ना गर्दै आइरहेको नाचको संरक्षण र प्रवर्द्धन गर्ने दायित्व अब युवा पुस्तामा आएको बताए । ‘युवाले नगरे कसले गर्ने ?’ उनले भने, ‘वृद्धवृद्धाले मात्रै कहिलेसम्म थेग्ने ? हामीले नगरे कसले गर्ने त ?’ २१ औं शताब्दीमा यस किसिमका नाच संरक्षण गर्न गुठीयारले मात्रै सम्भव नहुने उनले सुनाए । यसमा सरकारको मात्रै मुख ताक्ने होइन तर उसको समन्वयकारी भूमिका भने जरुरी रहने उनको तर्क छ । अर्का गुठीयार सूर्जमान मालीले भने राज्यले गुठीको सबै सम्पत्ति हड्पेको आरोप लगाए । ‘धार्मिक परम्परा संरक्षण गर्नेतर्फ केन्द्र सरकारले बेवास्ता गरेको छ,’ उनले भने, ‘स्थानीय सरकारले यिनको संरक्षण गर्नेतर्फ सामान्य पहल लिए पनि त्यो पनि पर्याप्त भने छैन ।’

काठमाडौं, ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न डबलीमा वर्षभरिमा ३३ पटक यस्ता नृत्य देखाउनुपर्ने पचली भैरव नाचका गुरु भरत मालाकार बताउँछन् । ‘यस्ता नाचमा संलग्न युवाहरू कोही जागिरे त कोही विद्यार्थी छन्,’ उनले भने, ‘तैपनि, पुर्खाको नासो सम्झेर यसलाई जोगाउन सबै लागिपरेका छन् ।’ थेच्वको नवदुर्गा र पचली भैरव लिच्छविकालीन नाच हो । अहिले पनि पचलीको नाच सञ्चालन गर्नुअघि हनुमान ढोका दरबार क्षेत्रस्थित लिच्छवि राजा गुणकामदेवको खड्गमा सुपारी र दाम चढाउने चलन छ । थेच्वको नाचबारे भाषा वंशावलीमा उल्लेख भएअनुसार पाटन दरबार क्षेत्र केन्द्रित लिच्छविकालीन खड्ग जात्रा सञ्चालन गर्ने श्रेय लिच्छवि राजा गुणकामदेवलाई दिइएको पाइन्छ । वंशावलीमा यिनै राजाका पालामा मनमानेश्वरी देवीको प्रसादले मागल देशमा खड्गी टोल बनाई मुःस्वाँ नामक पुष्पका निमित्त माली जात प्रख्यात रहेको उल्लेख छ । राजा मानदेवको पालामा मू छेँ आँगम घर स्थापना गरी खड्ग जात्रा चलाएको कुरा वंशावलीमा उल्लेख छ । पचली भैरव नाच नेपाल सम्वत् ६१६ मा अमर मल्लले थप व्यवस्थित गरेका हुन् ।

नवदुर्गा नाचमा भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिंहिनी, बघिनी, इन्द्रायणी र श्वेत भैरव गरी १३ देवगण रहन्छन् । नाचमा गणेश बन्ने देवगणले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढेको विश्वास गरिन्छ । तिलक लगाइसकेपछि जुठो खान, महिलाले छुन, मुख धुन, घरमा सुत्न नहुने धार्मिक मान्यता छ । देवगणको तान्त्रिक र यान्त्रिक तवरबाट छुट्टाछुट्टै नृत्य हुन्छ । इन्द्रायणी देवीको भने नृत्य गराइँदैन । १२ वर्षमा एक पटक मात्रै श्वेतभैरवको नृत्य गराइन्छ । नाच प्रदर्शन गर्न नवदुर्गा देवगणहरूलाई मन्दिरबाट मू द्यः (मुख्य देवता), मुकुन्डो, कलेवर पोसाक, गरगहना खर्पनमा बोकेर गन्तव्यसम्म पुर्‍याउने गरिन्छ ।

तस्बिरहरू : दीपक केसी/संजोग मानन्धर

प्रकाशित : कार्तिक २६, २०८० १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?