कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४

सहारा बनेका साहसी छोरीहरू

पौरखी छोरीहरू जो बुढेसकालमा बाआमाको सारथि र सहारा बनेका छन् 
सन्जु पौडेल, तृप्ति शाही, रूपा गहतराज, पर्वत पोर्तेल

लुम्बिनी, सुर्खेत, नेपालगन्ज र झापा — छोरीमात्रै हुने अभिभावकलाई बुढेसकालमा कसले पाल्छ भन्दै त्रास देखाउने क्रम नेपाली समाजमा आजपर्यन्त छ । तर, समाजमा कैयन् यस्ता पौरखी छोरीहरू पनि छन्, जो बुढेसकालमा बाआमाको साथी बनेका छन् । रूपन्देही, सुर्खेत, बाँके र झापास्थित कान्तिपुर संवाददाताले केही प्रतिनिधि बाआमा भेटेका छन्, जसले बुढ्यौली जीवनमा छोरीको माया र साथ पाएका छन् ।

सहारा बनेका साहसी छोरीहरू

छोरीको साथमा बिताएको सुखी जीवनले उनीहरूलाई विगतको दुःख भुलाउन सहयोग गरेको छ ।

रूपन्देहीको तिलोत्तमा–५ नयाँमिलकी हीरादेवी पौडेललाई दुई छोरीमात्रै जन्माएपछि धेरैले भनेका थिए, बुढेसकालमा कसले पाल्छ ? आफन्ती र समाजले छोरा नहुनेको बुढेसकाल दुःखमा बित्छ भनेझैं गरेर उनलाई तर्साएका थिए । तर, उनका छोरीहरू चित्रकला र विष्णुमायाले समाजले गरेको प्रश्नमा गतिलो उत्तर दिए, बाआमाको बुढेसकालको साथी बनेर । ‘छोरा नजन्माएर पनि मलाई कुनै पीर परेन,’ हीराले सुनाइन्, ‘हामीलाई त छोरीले नै पाल्छन् भन्ने लाग्थ्यो, आखिर भयो पनि त्यही ।’

प्रमाणपत्र तह अध्ययन पूरा गरेपछि चित्रकला शिक्षक भइन् । यो कमाइले उनलाई आफ्नै खुट्टामा उभिन सक्ने मात्रै बनाएन, आत्मविश्वासी पनि बनायो । ‘जागिरले गर्दा नै मैले बाआमालाई सहयोग गर्न सक्ने भएँ,’ उनले सुनाइन्, आफ्नै कमाइले बिहे पनि गरें ।’ २०६३ सालमा उनले बिहे गरेकी थिइन् ।

स्याङ्जाको मूलघरबाट २०५२ सालमा पश्चिम नवलपरासी बसाइँ सरेर आएपछि वर्षौंसम्म छोरीहरूकै साथ आमाबुबाको बुढ्यौली जीवन बितिरहेको थियो । जेठी छोरी विष्णुमाया बिहे गरेर चितवन र कान्छी चित्रकला बिहेपश्चात् बुटवलमा बस्न थालेपछि बुबाआमा सहाराविहीन बनेका थिए । २०७० सालमा बाबु कृष्णप्रसादमा नसाको रोग देखिएपछि दुवै छोरी पालैपालो पश्चिम नवलपरासी पुग्थे । बाआमाको स्वास्थ्यमा अलिक सुधार भएपछि फर्किन्थे । २०७२ पछि बाको स्वास्थ्य खस्कियो । चित्रकला दम्पती पढाउने, उनका दिदी र भिनाजु निजामती कर्मचारी थिए । यस्तो व्यस्तताबीच कसरी बुवाआमाको स्याहार गर्ने भनेर चित्रकला र विष्णुमायाले सल्लाह गरे ।

‘केही नसोची हामी दुई बहिनीले आलोपालो गरेर आफ्नै घरमा बुबाआमा राख्न थाल्यौं,’ चित्रकलाले भनिन्, ‘जीवनको अन्तिम कालखण्डमै भए पनि बुवाको सेवा गर्न पाएकामा खुसी छु ।’ कोठा भाडामा लिएर भए पनि ६ महिनासम्म बाको थेरापी जारी राखेको समय सम्झिँदा मन भरिएर आउने उनले सुनाइन् । २०७७ सालमा बुवालाई गुमाउनुपरेको उनले बताइन् । त्यसपछिका केही वर्ष आमा हीरादेवी कहिले जेठी छोरीकहाँ त कहिले कान्छीकहाँ बस्दै आएकी छन् । गत फागुनयता भने कान्छी छोरीसँगै बस्दै आएको उनले बताइन् । चित्रकलाले आमा र बुबाबाट छोरीहरूमात्रै हुने दम्पतीले भोग्नुपर्ने सामाजिक अवगाल र यस्ता दम्पतीको मनोभावलाई नजिकबाट बुझ्न पाएको बताइन् । ‘श्रीमान् बितेर जानुभयो,’ हीरादेवीले भनिन्, ‘अहिले यिनै छोरीले हेरेका छन् । सुखैसाथ राखेका छन् ।’

...

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ की विष्णा शाहीले १८ वर्षको उमेरमा स्थानीय धनबहादुर शाहीसँग विवाह गरिन् । ७१ वर्षीया विष्णा दुई छोरीकी आमा हुन् । जेठी छोरी नन्दा ३४ वर्षकी छन् भने कान्छी लीला ३२ वर्षकी भइन् ।

बिहे भएको ८ वर्षपछि उनी गर्भवती भइन् । धेरैको चाहना थियो, छोरा नै होस् । तर, उनले छोरीलाई जन्म दिइन् । त्यसपछि सुरु भयो समाजको अवगाल र हेलाहोचो । पहिलो छोरी जन्मेको १८ महिनापछि अर्की छोरी जन्मेपछि उनका अरू सन्तान भएनन् । उनी र उनका श्रीमान्ले अनेकन देवी–देवता भाकल गरे । मन्दिर धाए । दुई छोरी जन्मेपछि अरू सन्तान भएनन् । त्यसपछि बल्ल उनले आफ्नो चित्त बुझाउन थालिन् । ‘केही उपाय नलागेपछि परिवारले पनि ठीकै छ भन्यो तर समाजको मुख कसले थुन्ने ?,’ विष्णाले भनिन्, ‘समाजले हाम्राबारे नानाथरी कुरा काट्थे । छोरा भएनन् भनेर अपहेलनाको दृष्टिले हेर्थे । अब कसले सम्पत्ति खान्छ भन्नसम्म भ्याए ।’ तर, कसैको कुरा नसुनी विष्णाले दुई छोरी हुर्काइन्, शिक्षादीक्षा दिएर आत्मनिर्भर बन्न प्रेरित गरिरहिन् ।

२०६४ सालमा दुवै छोरीले सशस्त्र प्रहरीको जवान पदबाट जागिरको सुरुवात गरे । दुवै छोरी जागिरे भएपछि समाजले गर्ने व्यवहार पनि बिस्तारै फेरिन थाल्यो । ‘हामीलाई धेरैले दाजुभाइ छैनन् भनेर नराम्रो नजरले हेर्थे,’ कान्छी छोरी लीलाले भनिन्, ‘आफन्तका तिनै कटु वचनले गर्दा मिहिनेत गरेर हामी दिदीबहिनीले पढ्दै जागिर खाएका हौं ।’

जागिर सुरु गरेको केही वर्षपछि दुवै छोरीको बिहे भयो । ६ वर्षयता जेठी छोरी नन्दा श्रीमान्लाई डीभी परेपछि अमेरिकामा बस्दै आएकी छन् । बाबु धनबहादुरको ३ वर्षअघि मृत्यु भएपछि कान्छी छोरी लीला भने आमासँगै बस्दै आएकी छन् । लीला विवाहपछि एक वर्ष मात्रै श्रीमान्को घरमा बसिन् । त्यसपछि बूढा भएका बाआमालाई रेखदेख गर्न उनी आमाबुवासँगै बस्न थालेकी हुन् । ६ वर्ष सशस्त्र प्रहरीको जागिर खाएपछि उक्त काम छाडेर बाआमासँग बस्न थालेको उनले बताइन् । दुई छोरी मिलेर बाआमालाई तीनतले पक्की घर बनाइदिएका छन् । ‘दिदी अमेरिका जाने भएपछि सबैको सल्लाहमा बुबाआमाको रेखदेखका लागि मैले जागिर छोडेकी हुँ,’ लीलाले भनिन्, ‘श्रीमान्ले पनि बुबाआमाको हेरविचार गर भनेर माइतीमा बस्न सहजीकरण गरिदिनुभएको छ ।’

छोरीको सहाराले बुढेसकालमा दिन बिताउन सहज भएको विष्णाले सुनाइन् । ‘यही समाज हो, पहिले छोरा भएनन् भनेर घोचपेच गर्थ्यो,’ उनले भनिन्, ‘अहिले बहादुर छोरीले राम्रोसँग हेरविचार गरेका छन् भन्दै प्रशंसा पनि गर्दै छ ।’ केही समयअघि मात्र उनलाई जेठी छोरीले अमेरिका घुम्न बोलाएकी थिइन् । अहिले उनी अमेरिका घुमेर फर्किसकेकी छन् । ‘कुनै दिन यिनै छोरी देखेर समाजले नाक खुम्च्याउँथ्यो,’ उनले भनिन्, ‘मलाई छोरीहरूले नै संसार देखाए ।’

...

झापाको मेचीनगर–६ काँकडभिट्टाकी शान्ति शर्मा ७६ वर्षकी भइन् । ३ छोरा र २ छोरीकी आमा शान्तिको अहिले बुढेसकालका साथी बनेका छन् दुई छोरी पुष्पा र मुन्नी । तीन छोरामध्ये

एक बिते, दुई जना परिवारको सम्पर्कदेखि टाढा छन् । ‘कुनै बेला छोरा भनेर मरिहत्ते गरियो तर छोराले नै हेरेनन्,’ २० वर्षभन्दा लामो समयदेखि छोरीको आड भरोसामा बस्दै आएकी शान्तिले भनिन्, ‘बुढ्यौलीमा छोरीकै साथ नभई भएन ।’

शान्तिसँग टाढिएका छोराहरूबारे सम्झना मात्रै छ । उनले माइला छोरा बिहेपछि दार्जिलिङ बस्न थालेको र त्यसपछि परिवारको सम्पर्कबाहिर रहेको सुनाइन् । ‘बिरामी भएर मर्न लाग्दा पनि छोरा आएन,’ शान्तिले थपिन्, ‘छोरा हुनुको अर्थै रहेन ।’

शान्ति अहिले कान्छी छोरी मुन्नीसँगै बस्छिन् । मुन्नीको सानो किराना पसल छ । पसलमै डेरा पनि छ । शान्तिले पसलमा छोरीलाई सघाउँछिन् । पसलबाट जुटेको आम्दानीबाट आमा–छोरी गर्जो टार्छन् । जेठी छोरी बिहे गरेर झिलझिलेमा बस्छिन् । तर, धेरैजसो समय उनी माइतीमै हुन्छिन् । ‘आमालाई समस्या होला भनेर धेरैजसो समय म आमासँगै हुन्छु,’ जेठी छोरी पुष्पाले सुनाइन्, ‘छोराले हेरेनन् भनेर आमालाई बेवास्ता गर्न त मिलेन नि !’

कान्छी मुन्नीले आमाकै कारण अझै बिहे गरेकी छैनन् । बिहेपछि आमा एक्लिएलिन् भन्ने चिन्ताले आफूले बिहे नगरेको उनले बताइन् । ‘बिहेको लगन पनि आएको छैन,’ उनले भनिन्, ‘फेरि आमालाई अलपत्र पारेर बिहे गर्ने सोच पनि बनाएकी छैन ।’ उनका अनुसार बिहे गरेर पराइको घर गएपछि आमालाई समस्या हुने ठानेर आमा हुन्जेल बिहे नगर्ने उनले बताइन् । ‘बिहे गरेपछि आमाको बिजोग हुन्छ,’ उनले सुनाइन्, ‘आमालाई बिजोग छाडेर कसरी बिहे गर्नू ?’

...

चार छोरी जन्मिएपछि कपिलवस्तुका श्रीनिवास पाण्डे र राधा पाण्डेले समाजमा अनेकन प्रश्नको सामना गर्नुपरेको थियो । ६१ वर्षीया राधालाई स्पष्ट सम्झना छ, त्यतिबेलाको समाजमा छोरी जन्माउने आमाहरूले अनेकन वचन सुन्नु

पर्थ्यो । यस्तो वचन समाज र आफन्तबाट धेरै सुनिन्थ्यो । कतिसम्म भने आफ्ना श्रीमान्लाई दोस्रो बिहे गर्नका लागि समेत धेरैले उक्साएको राधाले सुनाइन् ।

श्रीनिवास र राधाको बुढ्यौली जीवनको साथी बनेकी छन्, उनकी जेठी छोरी मञ्जु । कपिलवस्तु मूल घर भएका श्रीनिवास सुर्खेतमा स्वास्थ्य क्षेत्रमा जागिरे थिए । जागिर सकिएपछि २०७२ सालमा उनी बाँकेमा बसाइँ सरे । कोहलपुर चपरगौडी–१२ जानकी टोलस्थित बुबाआमाको घरमा बस्दै आएकी छन्, मञ्जु । नेपालगन्ज उपमहानगरमा महिला बालबालिका शाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेकी मञ्जुलाई बाआमासँग बस्न पाउनु आफ्नो भाग्य हो जस्तो लाग्छ । ‘मैले बाआमालाई हेरेकी होइन,’ उनले भनिन्, ‘बुबाआमाले मलाई हेरिरहनुभएको छ जस्तो लाग्छ ।’

दम्पतीका चारै छोरीले स्नातकोत्तरसम्म पढ्ने अवसर पाए । अहिले माइली छोरी अञ्जु आफ्नै व्यवसाय सम्हालेर बसेकी छन् भने साइँली छोरी अनिता कर्णाली प्रदेश लोकसेवा आयोगमा काम गर्छिन् । कान्छी सुजाता भने स्नातकोत्तर तह सकेर लोकसेवाको तयारी गर्दै छन् । मञ्जुका पतिको घर महेन्द्रनगर हो । उनी अहिले वैदेशिक रोजगारीमा छन् । दुई छोराछोरीसँगै उनले बाआमाको हेरविचार गरिरहेकी छन् । ‘बुढेसकाल भनेको केटाकेटीजस्तै स्वभाव हुने उमेर रहेछ,’ मञ्जुले सुनाइन्, ‘बढी माया र हेरचाह चाहिने उमेर नै यही रहेछ । सकेको गर्दै छु ।’ मञ्जुका पति १२ वर्षदेखि विदेशमा छन् ।

छोरीको माया र हेरचाहले बुढेसकालको जीवन सुखमय भएको अनुभव आमा राधाको छ । बुढेसकालमा उनलाई बेलाबखत पुराना दिनको सम्झना अनायासै आउँछ । छोरा नभएपछि समाजले गर्ने फरक व्यवहार सम्झिँदा अहिले पनि उनको चित्त कुँडिन्छ । ‘समाजले छोरा नपाएको भनेर अपराध गरेजस्तै व्यवहार गरेको थियो,’ उनले सुनाइन्, ‘चौथो सन्तान जन्मिँदा बूढालाई पनि छोरा जन्मिएला भन्ने आशा थियो । तर, मलाई त्यस्तो कुनै आस थिएन ।’ राधाले समाजले जे भने पनि आफूलाई छोराको अभाव कहिल्यै महसुस नभएको सुनाइन् । ‘म दुनियाँलाई देखाउँछु । मेरा छोरीहरू पढाउँछु । लायक बनाउँछु भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘जब छोरीहरू लायक बने । अब कुनै गुनासो छैन ।’

...
इलामको फिक्कलकी ७३ वर्षीया टीकादेवी पौडेल पहाड नउक्लिएको १५ वर्षभन्दा बढी भइसक्यो । २०६५ सालमा झापा झरेकी उनी त्यसयता पहाड घर इलामको फिक्कल उक्लेकी छैनन् । किनकि, अब उनलाई पहाड जान खासै रुचि पनि छैन । ‘मेरो बुढेसकालकी सहारा बनेकी छे छोरी,’ बुद्धशान्ति–१ झापामा छोरी विनिता पौडेलसँगै रमाइरहेकी टीकादेवीले भनिन्, ‘आमाबाका लागि छोरीहरू छोराभन्दा बढी जिम्मेवार हुने रैछन् ।’

टीकादेवी ७ सन्तानकी आमा हुन् । एक छोरा र ६ छोरी जन्माई–हुर्काई लेखपढ गराएकी उनी जीवनको उत्तरार्द्धमा कान्छी छोरी विनिताको आडभरोसामा छन् । ‘पहाडमा बस्न मन मानेन,’ टीकादेवीले सुस्तरी भनिन्, ‘छोराबुहारीलाई धेरै दुःख दिन पनि मन लागेन ।’

जीवनको आधाभन्दा बढी समय पहाडमा मेलापात, घाँसदाउरा गरेर गुजारेकी उनले पारिवारिक समस्याका कारण केही समयअघि झन्डै मानसिक रोगको सिकार हुनुपरेको छोरी विनिताले सुनाइन् । ‘आमालाई झन्डै डिप्रेसन भइसकेको रहेछ,’ उनले सुनाइन्, ‘उपचारपछि अहिले ठीक हुँदै गएको छ ।’

२० वर्षअघि पतिको साथ गुमाएकी उनी छोरासँग बस्दै आएकी थिइन् । तर, विचार र व्यवहार नमिलेपछि उनले छोराको साथ पनि छाड्नु पर्‍यो । बुढेसकालमा आमाको दुःख देखेर विनिताको मन थामिएन अनि झापा ल्याएर स्याहारसुसार गर्न थालिन् । ‘पहाडबाट आमा डिप्रेसन भएर झर्नुभएको थियो,’ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वनर्स विनिताले सुनाइन्, ‘लामो समय अस्पताल राखेर आमालाई निको पारेर घर ल्याएकी हुँ ।’

बुद्धशान्ति गाउँपालिकाका पूर्वअध्यक्ष रमेश भुजेल र विनिता विगतमा व्यापारिक पार्टनर मात्रै थिए । तर, बिस्तारै उनीहरू जीवनकै पार्टनर बन्न पुगे । ‘उहाँले सहयोग नगर्नु भएको भए हामी आमाछोरीलाई यहाँ टिक्नै गाह्रो हुने थियो जस्तो लाग्छ,’ विनिताले सुनाइन्, ‘उहाँले पनि आमालाई धेरै माया गर्नु हुन्छ ।’

प्रकाशित : कार्तिक २३, २०८० १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?