कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

विरासत फर्काउँदै रंगेली

कुनै बेलाको पूर्वी मोरङको मुख्य व्यापारिक केन्द्र रंगेली बजार लामो समय रंगहीन रह्यो, संघीय सरकारबाट नयाा सहरको उपमा पाएको यो सहर अहिले तंग्रिने बाटोमा
विनोद भण्डारी

(विराटनगर) — दशकअघिसम्म झुरुप्प बस्तीमा पुराना जस्ताले छाएका टहरा थिए । साँघुरो गल्लीमा असरल्ल परेका कच्ची सडक । दशकअगाडि त्यहाँ पुग्ने जोकोहीलाई यसबेला पुग्दा पत्याउनै मुस्किल पर्छ । कुरो हो, मोरङको पुरानो सदरमुकाम रंगेली बजारको ।

विरासत फर्काउँदै रंगेली

पछिल्लो समय भौतिक पूर्वाधार निर्माणले यहाँको रौनक फेरिन थालेको छ । अहिले यहाँ फराकिला र पक्की सडक एवं आधुनिक घर निर्माण भइरहेका छन् । बजारले शिक्षा, स्वास्थ्य र भौतिक रूपमा नयाँ स्वरूप लिने प्रयास गरिरहेको छ ।

सीमावर्ती यो बजार करिब सय वर्षअघि पूर्वकै व्यापारिक केन्द्रका रूपमा परिचित थियो । वि.सं. १९७० ताका यहाँको चोप्राह नाकाबाट भारतसँग व्यापारिक कारोबार सुरु भएको थियो । भारतको फारबिसगन्जबाट बयलगाडामा व्यापारिक सामान आउँथे । सामान किन्न सीमावर्ती भारतलगायत मोरङ, सुनसरी र झापाका गाउँबाट उपभोक्ता र व्यापारी रंगेली आउँथे । १ सय १० वर्षअगाडि सदरमुकाम विराटनगर सारिएपछि रंगेली बजार विकास निर्माण र व्यापारिक क्षेत्रमा उपेक्षित बन्दै गयो । मोरङको सदरमुकाम रंगेली हुँदा चोप्राह नाकाबाट आयातनिर्यात हुन्थ्यो ।

त्यसबेला भारतको राजस्थान र हरियाणालगायतका विभिन्न स्थानबाट सयभन्दा बढी मारवाडी परिवार रंगेली आएर धान, चामल, तोरी, जुटको व्यापार गर्थे । कोही किराना पसल गर्थे । भारतको फरबिसगन्जबाट व्यापारिक सामान रंगेली आउँथ्यो । रंगेली सदरमुकाम हुँदा र २०३५ सालसम्म यहाँ सातवटा ठूला चामल मिल र तेल मिल थिए ।

अहिले तिनको अस्तित्वसमेत देख्न पाइँदैन । यहाँ अहिले चण्डीका डिस्ट्रिलरी र तीनवटा इँटा उद्योग छन् । तीन दशक पहिलासम्म रंगेलीमा व्यापार गर्दै आएका स्थानीय ७५ वर्षीय भीकमचन सरलले सदरमुकाम विराटनगरमा सरेपछि र महेन्द्र राजमार्ग खुलेपछि केही मिल बन्द भएको र केही विराटनगर, गौरीगन्ज र इटहरी सरेको बताए । ‘अनि, यहाँका मारवाडी परिवार २०३०–३५ सम्ममा विराटनगर, धरान, वीरगन्ज र काठमाडौंतिर सरे,’ उनले भने, ‘व्यापारीहरू यहाँबाट पलायन भएपछि रंगेली सुनसान भएको हो ।’


उसबेला लेटाङ, मधुमल्ला, सुंगा, राजघाट, मधुमल्ला, उर्लाबारी, गौरीगन्ज, दमक, गौरदहसहित भारतको वौकावारुद, रानीगन्ज, कुर्साकट्टा, अररिया र कुवाडीका मानिस सामान किन्न रंगेली बजार आउँथे । अहिले रंगेली स्थानीयका लागि आन्तरिक बजारमा सीमित भएको रंगेली व्यापार संघका अध्यक्ष सन्तोष साहले बताए । त्यसबेला रंगेलीमा फुसका र जस्ताले छाएका करिब २ हजार घर थिए । २०२५ सालदेखि ५३ वर्षसम्म रंगेलीको स्थानीय निकाय बसेर काम गरेका ७४ वर्षीय कृष्ण ओझाका अनुसार त्यसबेला करिब डेढ सय घर मारवाडी समुदायका थिए ।

थाना टोल र आदर्श टोलमा करिब ८ सय परिवार पहाडी समुदायको बसोबास थियो । बाँकी मधेशी समुदायका घर थिए । अहिले रंगेली नगरपालिकामा १३ हजार २ सय ६ परिवारको बसोबास रहेको नगरपालिकाको तथ्यांक छ । ‘रंगेली बजारका पुराना मारवाडी र पहाडी समुदायका परिवार विस्थापितजस्तै भएका छन्,’ ओझाले भने, ‘यहाँका अधिकांश घरमा वृद्धवृद्धामात्र छन् । यहाँका पुराना घर अहिले वृद्धाश्रमजस्तै छन् ।’

संघीय सरकारले २०७४ सालमा रंगेलीलाई नयाँ सहर घोषणा गर्‍यो । नयाँ सहरका लागि रंगेलीवासीले डेढ सय बिघा जमिनको व्यवस्था पनि गरे । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख गणेशबहादुर महर्जनका अनुसार संघीय सरकारको नयाँ सहर कार्यक्रमअन्तर्गत रंगेलीमा चालु वर्षमा ५० लाख बजेट विनियोजन भएको छ ।

उक्त रकमले वडा २ को मंगलबारे भलुवामा १३ सय मिटर नालासहितको पक्की सडक निर्माण भएको छ । विराटनगर–भद्रपुर हुलाकी सडक खण्डअन्तर्गत रंगेलीमा ६ किलोमिटर र भारतको लगानीमा सीमा नाका चोप्राहदेखि महेन्द्र राजमार्ग छुने कानेपोखरी सडक खण्डअन्तर्गत करिब १० किलोमिटर पक्की सडकले रंगेलीको सौन्दर्यलाई बढाएको छ । त्यसबाहेक संघीय सरकारको नगर एकीकृत पूर्वाधार निर्माण कार्यमक्रम अन्तर्गत ३२ करोडको लागतमा रंगेलीमा ८ किलोमिटर नाला सहितको सडक, दोभना पशु हटियाको स्तरोन्नति गरिएपछि रंगेलीको भौतिक विकासमा कोसेढुंगा साबित भएको महर्जनको भनाइ छ ।

रंगेली नगरपालिकामा दशक पहिला पक्की सडकको नामोनिसान नै थिएन । नगर एकीकृत पूर्वाधार निर्माण र नगरस्तरीय योजनाअन्तर्गत अहिले ८० किलोमिटर पक्की सडक निर्माण भएको र थप ७० किलोमिटर सडक कालोपत्र हुने क्रममा रहेको रंगेली नगर प्रमुख दिलीप बगोडियाले बताए । ‘त्यो नाकालाई व्यवस्थित गरेर आयात निर्यात खुलाउने हो भने रंगेली बजारका व्यापारी पलायन हुने क्रम रोकिने र बजार गुल्जार हुने नगरवासीको सपना छ,’ उनले भने ।

रंगेली बजारमा भौतिक पूर्वाधारको विकास भयो तर व्यापार र रोजगारीका अवसर भने छैनन् । ‘उद्योग, कलकारखाना शून्य छन् । रोजगारका अवसर छँदै छैनन्,’ नगर प्रमुख बगोडियाले भने, ‘रोजगारीका लागि यहाँका युवायुवती दिनहुँ खाडी मुलुक जाने क्रम रोकिएको छैन ।’ उनका अनुसार चोप्राह छोटी भन्सार नाकाबाट आयातनिर्यात ठप्प छ । व्यापार वृद्धि र बजारमा आर्थिक चहलपहल बढाउन चोप्राह भन्सार नाकालाई व्यवस्थित गर्ने प्रयास भइरहेको छ ।

सदरमुकाम रहँदा पूर्वकै मुख्य व्यापारिक र औद्योगिक केन्द्र थियो– रंगेली । वि.सं. १९७० मा सदरमुकाम २२ किलोमिटर पश्चिमको विराटनगरमा सर्‍यो अनि रंगेलीको उल्टो दिन सुरु भएको ८२ वर्षीय जागेश्वर मण्डलको बुझाइ छ ।

भारतको जोगवनीमा रेल सेवा सुरु भएपछि वि.सं. १९७० मा सदरमुकाम रंगेलीबाट विराटनगर सारिएको थियो । २०२५ देखि २०३४ सालसम्म रंगेलीका उपप्रधानपञ्चसमेत रहेका मण्डलका अनुसार उसबेला भारतको फरबिसगन्जबाट गोरुगाढामा व्यापारिक सामान आउँथ्यो । त्यसरी आएको सामान मधुमल्ला, लेटाङ, दमक, भद्रपुर, गौरीगन्ज, राजघाट, गौरदह, उर्लाबारीका व्यापारी आएर लैजान्थे । त्यही सामान किन्न सीमावर्ती भारतको आमगाछी, बौकावारुद, रानीगन्ज, कुर्साकट्टा, कुवाडीलगायतका स्थानबाट भारतीय नागरिक पनि आउँथे । उसबेला गोरुगाडा गुड्ने सडकलाई फारबिसगन्जमा अझै पनि रंगेली रोडका नामले चिनिन्छ । ‘यताबाट पहाडी क्षेत्रमा पाइने घिउ, फलफूल र रंगेलीमा उत्पादन हुने चामल, तोरीको तेल, जुट र हातले बुनेका खादीका कपडा भारत निकासी हुन्थ्यो,’ मण्डलले भने ।


त्यतिबेला बस, गाडी केही गुड्दैन थिए । कच्ची गोरेटो सडक थिए । गोरुगाडामा मालसामान आयात निर्यात हुन्थ्यो । रंगेलीको व्यापार भारतको फारबिसगन्जसँग सिधै हुन्थ्यो । ‘रंगेलीबाट सयौं गोरुगाडी लामबद्ध भएर धान, सनपाट फारबिसगन्ज जान्थे । उताबाट घरायसी प्रयोगका सामान आउँथ्यो,’ मण्डलले भने, ‘उसबेला गोरुगाडाको भीड नियन्त्रण गर्न रंगेलीमा सरकारी पहरेदार नै खटाउनु पर्थ्यो ।’ भारतीयहरू यहाँ कपडा र सुन किन्न आउँथे ।

झन्डै ५३ वर्ष रंगेली गाउँ पञ्चायत र गाविसमा काम गरेका ७५ वर्षीय कृष्ण ओझाका अनुसार कुनै बेला यहाँ रंगेली, वंशी, राधाकृष्ण, महालक्ष्मी र माडिकचनलगायत सातवटा ठूला राइस मिल थिए । ती मिलबाट उत्पादन भएको चामल बक्राह र चिसाङ खोलाबाट डुंगामा भारत निकासी हुन्थ्यो । ती मिलका लागि पूर्वी नेपालका सबै ठाउँबाट धान संकलन हुन्थ्यो । रंगेली राइस मिल सबैभन्दा ठूलो थियो । त्यो मिल एकपटक चलाउनुपर्दा कम्तीमा एक हजार मन धान आवश्यक पर्थ्यो ।

सदरमुकाम सरेपछि र महेन्द्र राजमार्ग खुलेपछि रंगेलीमा धान आउन छाड्दा यहाँका राइस मिल बन्द हुन थाले । मिलमा त्यसबेला सय जनाभन्दा बढीले मजदुरी पाएका थिए । रंगेली राइस मिलका मालिक काशीराम चेनवाला थिए । मण्डलका अनुसार उनका परिवारका कोही पनि सदस्य अहिले यहाँ छैनन् । भएका पनि भारत र काठमाडौंतिर सरे । धान अभावले ती मिल क्रमशः बन्द भए र केही विराटनगर, इटहरी र गौरीगन्ज, गौरादहतिर सरेको मण्डलले बताए ।

२०२५ सालसम्म रंगेलीमा फुस र जस्तापाताले छाएका करिब अढाई हजार घरधुरी थिए । तीमध्ये डेढ सय परिवार मारवाडी समुदायका थिए । ‘त्यसबेला भगतराम अग्रवाल, हरिराम अग्रवाल, भिखा अग्रवाल, शिवकुमार अग्रवाल र वालचन अग्रवाल मुख्य व्यापारी थिए,’ ओझाले भने, ‘रंगेलीमा दिनदयाल अग्रवाल र वंशी अग्रवालको खादीका कपडाको हेन्डलुम थिए । त्यसबाट उत्पादन हुने खादीका सारी, पछ्यौरा र झल्ला भारत निकासी हुन्थे ।’ मारवाडीहरूले भारतको राजस्थान र हरियाणाबाट आएर व्यापार सुरु गरेका थिए ।

सदरमुकाम सर्नु र महेन्द्र राजमार्ग खुलेसँगै अन्यत्र बजार स्थापना भएपछि रंगेलीमा व्यापार घट्दै जादा यहाँका मारवाडी परिवार विराटनगर, धरान, वीरगन्ज, भद्रपुर र काठमाडौंतिर पलायन भएको रंगेलीका उसबेलाका व्यापारी भीकमचन सरलको भनाइ छ । ‘त्यतिखेर रंगेलीलाई अन्नको भण्डार नै मानिन्थ्यो । यहाँ तोरी पनि प्रशस्त मात्रामा उत्पादन हुन्थ्यो,’ उनले भने, ‘तोरीको तेल यहाँबाट भारत निकासी हुन्थ्यो ।’ यहाँ संकलन भएको जुट भारत निकासी हुन्थ्यो ।

२०१९ सालमा राजा महेन्द्र रंगेलीमा छात्रावासको शिलान्यास गर्न आउँदा विराटनगरको हालको हुलाकी सडकको गोरेटो खोलिएको थियो । हुलाकी सडक त्यतिबेला चल्तीको बाटो थियो । २०२४ सालतिर हुलाकी राजमार्गको विकल्पमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग बनेपछि रंगेलीको उल्टो दिन सुरु भयो । सबैतिर बजार बन्न थाले, यहाँको व्यापार चौपट भयो ।

बिस्तारै यहाँको चहलपहल खस्किँदै गयो, ठूला व्यापारी पलायन भए । पञ्चायती व्यवस्थामा रंगेलीका अभिभावकका रूपमा दिनदयाल अग्रवाल थिए । २०२७ सालमा उनी राष्ट्रिय पञ्चायत सदस्य मनोनीत भएपछि उनकै पहलमा रंगेलीमा धर्मशाला र काली मन्दिर निर्माण, विद्यालय, अस्पताल र प्रहरी कार्यालयको स्थापनाका लागि पहल भएको थियो । उनको ६ वर्षअघि निधन भइसकेको छ । पुरानो रंगेलीमा भएका सामाजिक र विकासका काममा आफ्ना पिताको योगदान रहेको दिनदयालका छोरा कमलेशले बताए ।

पञ्चायतपछि गिरिजाप्रसाद कोइराला यो क्षेत्रका नेता भए । उनले पनि रंगेलीका लागि केही गर्न नसकेको स्थानीयको भनाइ छ । ‘बजारका पुराना र ठूला व्यापारी सबैले छाडेर गए । नयाँ मानिस कोही पनि नभित्रिँदा रंगेली उजाड बन्यो,’ अग्रवालले भने ।

रंगेली बजार नभएर पूर्वी मोरङको मुख्य केन्द्र पनि हो । धनपालथान र कानेपोखरी गाउँपालिकाको आधा क्षेत्रसहित सुनवर्षी र रतुवामाई नगरपालिकासहित सीमावर्ती भारतीय क्षेत्रको केन्द्रका रूपमा रहेको रंगेलीले पछिल्लो समय रंग फेर्दै जाँदा स्थानीयमा केही उत्साह बढेको स्थानीय व्यापार संघका अध्यक्ष सन्तोष साहको बुझाइ छ । भौतिक पूर्वाधारको क्रमिक रूपमा विकास हुँदै गएको छ । मुख्य समस्या व्यापार व्यवसायले गति लिन सकेको छैन । ‘उद्योग कलकारखाना स्थापना हुने र व्यापारले गति लिने हो भने रंगेलीको समृद्धि बढ्ने थियो,’ साहले भने ।

रंगविहीन बन्दै गएको रंगेलीमा रंग थपिँदै गएकामा आशाको किरण जागेको स्थानीय समाजसेवी मनोज अग्रवालको बुझाइ छ । दशक पहिलासम्म रंगेली बजारमा पूर्वाधार विकास हुन्छ भन्ने कल्पना पनि गरिएको थिएन । उनले यहाँको पूर्वाधार विकासले गति लिएको र व्यापार बढ्ने आशा गरेको बताए । यहाँ इलाका प्रशासन, मालपोत, नापी कार्यालय र जिल्ला अस्पताल छ । १५ बेडको यो अस्पतालमा रंगेली, सुनवर्षी, रतुवामाई, धनपालथान, कानेपोखरी र सीमावर्ती क्षेत्रका दैनिक चार सयभन्दा बढी बिरामी बहिरंग विभागमा उपचार गर्न आउने गरेको अस्पतालको तथ्यांक छ ।

सशस्त्र द्वन्द्वकालपछि २०६३ सालमा मधेश आन्दोलनका क्रममा तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताले इलाका प्रशासन कार्यालयसहित विभिन्न पाँचवटा सरकारी कार्यालयमा आगजनी गरेपछि ती कार्यालय विराटनगर विस्थापित भएर २०६४ साउनदेखि पुनःस्थापना गरिएको थियो । पूर्व–पश्चिम राजमार्गलाई जोड्ने रंगेली–कानेपोखरी सडक र विराटनगर–भद्रपुर हुलाकी सडक निर्माणले रंगेली बजारले नयाँ स्वरूप लिएको छ । रंगेली–टकुवा हुँदै डाइनिया–पथरी सडक सञ्जाल विस्तार भए रंगेलीको मुहार थप चम्किलो हुने अग्रवालको बुझाइ छ ।

मोरङको नामकरण १७ औं शताब्दीका लुम्बु राजा माउरोङ रोङ मुङ हङको शासनकालमा भएको इतिहास छ । त्यसबेला मोरङ राज्यको राजधानी किल्ला रंगेलीमा रहेको इलाका प्रहरी कार्यालय रंगेलीको अभिलेखमा उल्लेख छ । वंशीय हिसाबमा इङ वंशपछि शेन वंश र खेवाङ वंशीय र खेवाङ वंशका अन्तिम राजा बुद्ध कर्ण सेवाङलाई पृथ्वीनारायण शाहले युद्धमा पराजित गरी मोरङलाई नेपालमा गाभेको इतिहास छ ।

यसरी क्रमशः मोरडको सदरमुकाम रंगेली भएको बेलामा कोशीदेखि मेचीको भूभागलाई मोरङ भनिन्थ्यो । नेपाल एकीकरणपूर्व मोरङको सदरमुकाम चतरामा थियो, त्यसपछि वि.सं. १९४५ मा रंगेलीलाई मोरङको सदरमुकाम कायम गरिएको इतिहास छ । वि.सं. १९४६ मा प्रधानमन्त्री वीरशमशेरले कालीदास कोइरालालाई प्रथम बडाहाकिम बनाएर रंगेली पठाएपछि यो बजारमा प्रारम्भिक विकास सुरु भएको २०२५ देखि २०३४ सालसम्म रंगेलीका उपप्रधानपञ्चसमेत रहेका जागेश्वर मण्डलको भनाइ छ ।

वि.सं. १९७० मा प्रधानमन्त्री चन्द्रशमशेरले भारतको जोगवनी नाका व्यापारका लागि उपयुक्त मार्ग भएको ठहर गर्दै सम्पूर्ण सरकारी कार्यालय रंगेलीबाट गोग्राह (विराटनगर) सारेपछि रंगेली गाविसका रूपमा रहँदै आएको थियो । २०७१ मा यो गाविसलाई छिमेकी दर्वेशा, आमगाछी, टकुवा र बबियाबिर्ता गाभेर नगरपालिका नामकरण गरिएको हो । पूर्वमा डाइनिया, पश्चिममा सोराभाग, उत्तर दर्वेशा र दक्षिण भारतीय सीमा जोडिएको रंगेली नगरपालिका १११.७८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

यो नगरमा एक क्याम्पस र २९ वटा सामुदायिक विद्यालय छन् । नगरको भौतिक पूर्वाधार विकाससहित शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको छ । ‘बजारमा व्यापारिक कारोबार वृृद्धि गर्न र उद्योग स्थापना गरेर रोजगारीको अवसर सिर्जना गर्न सकिएको छैन,’ रंगेली नगर प्रमुख बगोडियाले भने, ‘अबको ध्यान त्यतातर्फ केन्द्रित हुनेछ ।’ त्यस क्षेत्रका निवर्तमान संघीय सांसद शिवकुमार मण्डलका अनुसार चोप्राह नाकाबाट आयातनिर्यातको ढोका खोलेर आर्थिक कारोबार बढाउने प्रयास भइरहेको छ ।


प्रकाशित : कार्तिक २२, २०८० ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?