कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४४
सम्झनामा कलिन फिलिप स्मिथ

रोकियो ‘पुतली बाजे’को उडान

नेपालमा पाइने ६ सय ६० प्रजातिका पुतलीमध्ये उनले करिब ५ सय ५० प्रजाति भेट्टाए, हरेकलाई नामकरण गरी संग्रहालयलाई हस्तान्तरण गरे
दीपक परियार

पोखरा — नेपालमा रहेर पुतलीको अध्ययन, संकलन र संरक्षणमा योगदान गरेका कलिन फिलिप स्मिथ ‘पुतली बाजे’ को ८७ वर्षको उमेरमा निधन भएको छ । पोखरा हरियोखर्क अस्पतालमा उपचारका क्रममा शनिबार उनको निधन भएको हो । जन्मले बेलायती नागरिक उनी नेपाली नागरिक भएर यहींको भूमिमा अस्ताएका छन् ।

रोकियो ‘पुतली बाजे’को उडान

नेपालमा पाइने पुतलीहरूको अभिलेखीकरण गर्नेमा उनको नाम पहिलो नम्बरमा आउँछ । उनले पुतलीको खोजीमा ५० वर्ष बिताए । २०२२ सालमा बेलायतबाट नेपाल आएका थिए । युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर त्यहींको विश्वविद्यालय अध्यापन गराउने क्रममा उनी युनाइटेड मिसन टु नेपालमार्फत पढाउनका लागि भनेर आएका थिए । फोटो संकलनकर्ता सुनिल उलकका अनुसार २०२२ को माघमा पोखरा आएपछि उनले केही महिना विद्यालय स्थापनाको तयारीमा सहयोग गरे । तत्कालीन नेपाली आदर्श विद्यालय (हालको गण्डकी बोर्डिङ) लामाचौरमा खुल्यो ।

पछि उनको भेट पिसकर्प्स भोलेन्टियर डोरोथी मिरोसँग भयो । डोरोथी म्युजियम बनाउने धुनमा थिए, दुई जनाको कुरा मिल्यो । कलिनले डोरोथीको म्युजियममा पुतली संग्रह गरी राखिदिने भए । २०२३ मा हालको पृथ्वीनारायण क्याम्पस परिसरमा खुल्यो अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियम । त्रिभुवन विश्वविद्यालयसँग ६ वर्षे सम्झौतापछि उनले ४० जिल्लाको भ्रमण गरी करिब २५ हजार पुतली संग्रह गरे । यसलाई छुट्याए, हरेकलाई नामकरण गरे । नेपालमा पाइने ६ सय ६० प्रजातिका पुतलीमध्ये उनले करिब ५ सय ५० प्रजाति भेट्टाए, प्राकृतिक विज्ञान संग्रहालयलाई हस्तान्तरण गरे ।

विश्वमा पाइने १७ हजार ५ सय प्रजातिका पुतलीमध्ये ६ सय ६० प्रजातिका भेटिएका छन् । ‘नेपालका पुतलीसम्बन्धी जति जानकारी कलिन सरलाई छ, सायद कसैलाई पनि छैन,’ उलक भन्छन् । उनका अनुसार अर्का कीटविज्ञानी एवं पुतली बाजेका मित्र पियन भ्यान डेर पोयल कलिन स्मिथको जीवनी लेख्दै छन् । पछिल्लो समय मीनबहादुर परियारले उनको स्याहारसुसार गरिरहेका थिए ।

‘एक वर्षयता झन् गाह्रो हुन थालेको थियो । सधैंलाई ओछ्यानमै बस्नुपर्ने बाध्यता थियो,’ परियारले भने । उनले साढे २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरको उपचार गराइरहेका थिए । पछिल्लो समय उनको स्मरण शक्तिसमेत घट्दै गएको थियो । पुतली खोज्दै जीवन बिताएका कलिनले नेपालमै बिहे गरे पनि सफल भएन ।

जीवनको ऊर्जाशील समय नेपालमा खर्चेका स्मिथ नेपाली नागरिकता चाहन्थे । योगदानको कदर गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले २०७६ मंसिर १६ मा मानार्थ नेपाली नागरिकता प्रदान गर्दा उनी औधी खुसी भएका थिए । पुतली संग्रहालयका वरिष्ठ संग्रहालय सहायक सुरेन्द्र परियारका अनुसार पुतली बाजे आफ्नो सौखका लागि संसार बिर्सने स्वभावका थिए ।

‘निकै लामो प्रयासमा उनलाई नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता दिलाउन सक्षम भएका थियौं । नागरिकताले भिसाको समस्या हट्यो,’ उनले भने, ‘नेपाल सरकारले दिने वृद्धभत्ता र बेलायत सरकारबाट पाउने पेन्सन मासिक १२५ पाउन्डले उनको जीवन राम्ररी चलिरहेको थियो । अचानक अस्पतालमा थलिए ।’ उनको अन्त्येष्टि सोमबार पोखरा गाईघाटमा क्रिस्चियन परम्पराअनुसार गरिने उनले बताए ।

प्रकाशित : कार्तिक २०, २०८० ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?