पुरानालाई बिर्सिएको नयाँ सहर

झापा — बिर्तामोड पहाडी मूलका मान्छेको प्रभाव रहेको पूर्वी तराईको एक चलायमान सहर हो । इतिहासविद्हरूका अनुसार बिर्तामोडको बिर्ता कुलीनहरूको भए पनि औलो उन्मूलन हुनुअघि यस भेगमा राजवंशी, धिमाल, मुस्लिम र सन्थालहरू मात्रै थिए । यद्यपि, आमरूपमा बिर्तामोडको इतिहास सम्झनेले बस्नेत, गिरी, पोखरेलजस्ता केही परिवारको पौरख मात्र सम्झने गरेका छन् ।

बिर्तामोडको इतिहाससँग जोडिएका ‘कालोकुत्ता मियाँ’ नेपालको औपचारिक इतिहासको कुनै पानामा भेटिँदैनन् । आखिर किन त ?
मियाहरू बिर्सिइनुको कारण २०१९ सालबाटै खोज्न थाले केही संकेत पाइन्छ । यसै साल पूर्व–पश्चिम राजमार्गको रेखाङ्कन भयो । सुरुमा पूर्व–पश्चिम राजमार्गलाई नकलबन्दा–शनिश्चरे हुँदै पश्चिमतिर जोड्ने योजना थियो तत्कालीन सरकारको । सर्भे पनि भइसकेको थियो । तर, पछि किन हो त्यो रुट अनुपयुक्त ठहर भयो । अन्ततः नकलबन्दाभन्दा २ किलोमिटर दक्षिण काँकडभिट्टातिर योजना सारियो ।
राजमार्गका लागि बाटो खन्न थालेपछि मात्रै हालको बिर्तामोडमा टहराहरू बन्न थालेका हुन् । राजमार्ग निर्माणपछि ०२७ साल आसपाससम्म पनि बिर्तामोड सुनसान नै रहेको यहाँका पुराना बासिन्दा एवं राष्ट्रिय सभा सांसद गोपालकुमार बस्नेतले बताए । ‘बरु नकलबन्दा, भद्रपुर, बिर्ताबजार, शनिश्चरेलगायत गुल्जार थिए,’ उनले भने, ‘बिर्तामोड त भर्खरै सहर बन्दै गरेको पो हो त ।’ बस्नेतका अनुसार खासमा बिर्तामोड अप्रत्याशित रूपमा बनेको सहर हो । ‘यो कसैको इच्छा या चाहनाले बनेको हैन,’ उनले थपे, ‘नचाहँदा नचाहँदै सहर जन्मियो ।’
००७ सालअघि झापामा औलाको महामारी व्यापक थियो । औलो र बिफरको उन्मूलनपछि ०२०–०३० भित्र पहाडबाट तराई झर्नेहरूको लर्को लाग्यो । खासगरी ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, भोजपुर, तेह्रथुम, खोटाङलगायत जिल्लाका मान्छे बसाइँ सरेर यहाँ आउन थाले । औलोअघि भने पहाडीहरू तराई (मधेश) झर्नै डराउँथे । त्यसबेला ‘ऊ मधेश’ भनेर इङ्गित गर्दा औंला नै कुहिएर झर्छ भन्ने बुझाइ थियो । ‘त्यसबेला मधेशमा औलोको प्रकोप भयावह नै थियो,’ बस्नेतले सुनाए, ‘०३०/३५ सालपछि फाट्टफुट्ट गाडी गुड्न थाले । व्यापार व्यवसाय पनि बढ्दै गयो ।’
खासमा पूर्व–पश्चिम राजमार्ग बनेको निकै समयपछिसम्म पनि बिर्तामोड बिर्ताबजार प्रवेश गर्ने एउटा ‘मोड’ का रूपमा मात्रै थियो । त्यो मोड सुनसान रहन्थ्यो । १२ वर्षे माओवादी जनयुद्धको समयमा बिस्तारै बिर्तामोड गुलजार बन्न थाल्यो । पहाडी जिल्लाका द्वन्द्वपीडितहरू सुरक्षाका लागि धमाधम तराई झर्न थाले । जमिन किने, यतै बस्न थाले । एक दशकयता बिर्तामोड झापाको सबैभन्दा चलायमान सहर बन्यो । ०५८ को जनगणनाअनुसार तत्कालीन अनारमनी गाविसको जनसंख्या २७ हजार ७ सय ६२ मात्रै थियो । पछिल्लो समय पूर्वकै व्यापारिक केन्द्रको पहिचान बनाएको बिर्तामोडमा सहरीकरण यसरी तीव्रतर गतिमा बढ्यो कि झन्डै तीन दशकमा यो सानो सहरको जनसंख्या डेढ लाख नाघेको छ ।
०७१ वैशाख २५ मा साविक अनारमनी गाविस र चारपाने गाविसलाई समावेश गरी नगरपालिका बन्यो । नेपालको संविधानको भाग ५ मा भएको व्यवस्थाबमोजिम ०७३ फागुन २७ मा बिर्तामोड नगरपालिकामा गरामनी गाविसलाई गाभेर दोस्रो पटक बिर्तामोड नगरपालिका घोषणा गरियो । तीव्रतर जनसंख्याको वृद्धिको दरले बिर्तामोडको आकर्षण कति छ भन्ने दर्शाउँछ । यहाँ बर्सेनि जनसंख्या थपिएको थपियै छ । चारै दिशामा पर्याप्त मात्रामा खुला जमिन रहेको र त्यही जमिनलाई घडेरीका रूपमा बिक्री वितरण गरेसँगै सहरीकरण तीव्र भएको नगरका उपप्रमुख नगेन्द्र संग्रौलाले जनाए । सहरीकरणसँगै ठूल्ठूला पक्की घर र बिल्डिङ ठडिने क्रम बढ्यो । यहाँ वार्षिक ३ सय पक्की घर थपिने गरेको बिर्तामोड नगरपालिकाको तथ्यांकमा उल्लेख छ ।
सहरमा पाइने प्रायः सुविधा बिर्तामोडमा पुगेको छ । अस्पताल, स्कुल–कलेज, मिडिया हाउस, बैंक तथा वित्तीय संस्था, ओभरसिज, होटल, यातायात, पर्यटन व्यवसाय, साना तथा मझौला उद्योगको स्थानीय केन्द्र नै बनेको छ । पहाडबाट ल्याइने अलैंची, अम्लिसो, अदुवाजस्ता कृषि उपजको मुख्य व्यापारिक केन्द्र पनि बिर्तामोड नै हो । नाम चलेका चेन सुपरमार्केटको स्थापनाले बिर्तामोडको आकर्षण थप बढाएको छ । ‘मूलतः राजमार्गको निर्माणपछि नै बिर्तामोड बिस्तारै सहर बन्ने प्रक्रियामा अघि बढेको छ,’ अध्येता तीर्थ सिग्देलले भने, ‘माओवादी जनयुद्धजस्ता कतिपय राजनीतिक घटनाक्रमले पनि बिर्तामोडलाई सहर बनाउन मद्दत पुगेको छ ।’
इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादन हुने अलैंची, अम्रिसो, अदुवालगायत कृषि उत्पादनको कारोबार स्थल बिर्तामोड बनेको छ । पूर्वका पहाडी जिल्लाको संगमथलो बिर्तामोड भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष जलकुमार गुरुङले सुनाए । बितेको डेढ दशकमा लगानीकर्ताहरूले शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रमा गरेको ठूलो परिमाणको लगानीले सुविधा मात्रै उपलब्ध गराएन, सँगसँगै रोजगारीको अवसर पनि सिर्जना गरेको छ । कुनै बेला व्यापार क्षेत्रमा मात्रै २० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको यो सहर कोभिडको महामारीपछिभने खस्किएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी बताउँछन् । उनका अनुसार विगतमा बढ्दो आकर्षण र व्यावसायिक कारोबारका कारण पूर्वकै ठूलो व्यापारिक केन्द्रका रूपमा स्थापित हुँदै गएको बिर्तामोडको समग्र व्यापारमा पछिल्लो समय गिरावट आएको छ । ‘कृषि उत्पादन, खाद्यान्न, सवारी साधनलगायतमै मासिक ५ अर्बभन्दा बढीकोकारोबार हुन्थ्यो,’ उनले भने, ‘अहिले आर्थिक मन्दीले प्रभाव पारेको छ ।’
०२५/२६ सालताका झापामा धान, चामल, जुट, तोरीलगायतको कृषिजन्य उत्पादन व्यापक थियो । खासगरी ती मिल र साना तथा मझौला उद्योगहरू सीमावर्ती क्षेत्रमा केन्द्रित थिए । ‘नकलबन्दा र भद्रपुर नाकाको प्रयोग गरेर गोरुगाडामा राखेर धान, चामल भारत निकासी गरिन्थ्यो,’ झापा विद्रोहबारे हालै मात्र पुस्तक प्रकाशित गरेका निरोज कट्टेलले भने, ‘त्यतिबेला बिर्तामोड कुनै पनि मानेमा व्यापार व्यवसायसँग जोडिने नाम थिएन ।’ उनका अनुसार बिर्तामोडको अहिलेको व्यापारिक विस्तार रोचक अध्ययनको विषय हो । ‘सहरीकरणसँगैसँगै खेतीयोग्य जमिन घट्दै गएको बिर्तामोड मूलतः घरघडेरी बेचबिखन, होटल र ओभरसिज व्यवसायले धानेको छ ।’
आदिवासीकै उठीबास
राणाकालीन समयका मालअड्डा प्रमुख भूपालमानसिंह कार्कीले ‘मेरो जीवनयात्रा’ नामक आत्मकथामा चन्द्रशमशेरले सन्तानका नाममा बिर्ता दिएको जमिन भएकाले अनारमनी कालान्तरमा बिर्ता हुँदै बिर्तामोड हुन पुगेको उल्लेख छ । बिर्तामोडवासी अधिवक्ता लीला उदासीका अनुसार बिर्तामोडमा पहिला सन्थाल, राजवंशी, धिमाल, चौधरी र केही मुस्लिम परिवारको मात्रै बसोबास थियो । औलो उन्मूलनपछि पूर्वी पहाडबाट पहाडीहरू तराई झर्ने क्रमसँगै प्रसाईं, पोखरेल, बस्नेत र गिरी परिवार जोडिन पुगे । ‘औलो उन्मूलनअघि यहाँ पहाडीहरू आएर बस्ने अवस्था नै थिएन,’ अधिवक्ता उदासीले भने, ‘अनेक खाले प्राकृतिक प्रकोप सहेर आदिवासी बसेका थिए ।’
३० वर्षअघि बिर्तामोड मुक्ति चोक । तस्बिर सौजन्य : चैतन्य पाठक
राष्ट्रिय सभा सांसद बस्नेतले ६० को दशकमा प्रकाशित गरेको ‘झापाको सेरोफेरो’ पुस्तकमा कालोकुत्ता मियाँ, धर्मे, छोटु र मधुरा सन्थालजस्ता आदिवासीलाई तत्कालीन सत्ताले जालझेल गरी जमिनबाट बेदखल गरेको उल्लेख गरेका छन् । हालको चर्चित गिरीबन्धु चिया बगान र बिर्तामोड आसपासका सयौं बिघा जमिनबाट धेरै आदिवासीलाई षड्यन्त्रपूर्वक ढंगले विस्थापित गरिएको बस्नेतले बताए ।
अनारमनी गाउँ पञ्चायत ०१९ सालमै गठन भएको थियो । ०२१ सालमा भूमिसुधार लागू भएपछि धेरै आदिवासीले जमिन गुमाउनुपर्यो । कतिपय भूमिसुधार लागू हुनुअघि बेदखल भइसकेका थिए । धिमाल समुदायका अध्येता पात्र धिमालका अनुसार बिर्तामोडमा बस्ती बसाउने धेरै आदिवासीमध्ये धिमालहरू पनि मुख्य हुन् । बिर्तामोडमा मुख्यतः धिमालका पाँच गाउँ थिए । अहिले ती सबै हराए । ‘तीव्र सहरीकरणसँगै धिमालहरू यहाँबाट बेदखल हुँदै गए,’ अध्येता धिमालले भने, ‘अहिले यहाँ धिमालहरू भेटिनै मुस्किल छ ।’
'होहल्ला गरेर जिमदार भगाइए'
गोपालकुमार बस्नेत, राष्ट्रिय सभा सदस्य
२००० सालतिर झापामा सबैभन्दा ठूला र धनीमानी मानिस थिए– कालोकुत्ता मियाँ । अहिलेको अनारमनीको बुट्टाबारी, खोपबारीको सारा जमिन उनको आफ्नो नम्बरी जग्गा थियो । एउटै प्लट, झापाभर सबैभन्दा राम्रो मिलेको, सिँचाइ सुविधा भएको साढे पाँच सय बिघा जग्गा उनैको थियो । डेढ सय घरभन्दा बढी उनका अधियारहरू थिए । उनका बारेमा मैले ‘झापाको सेरोफेरो’ पुस्तकमा विस्तारमा उल्लेख गरेको छु ।
मालपोत तिर्न उनी पैसा बोरामा लिएर गाडीमा जान्थे र पाथीले पैसा भरेर मालपोत बुझाउँथे । तर, उनको यस्तो स्थिति सधैं रहेन । झापाका नयाँ हाकिमहरूका आँखामा उनी धेरै दिन रहन सकेनन् । कसैले कालोकुत्ता मियाँ डाँकासँग मिलेको र आफैं डकैतीमा संलग्न भएको भनी झोसपोल गरे । मुद्दा चलाइयो र उनको सारा जग्गाजमिन हडप गरियो । त्यसबेला माल अड्डाका सुब्बा भैरवप्रसाद आचार्यको सबैभन्दा बढी बोलवाला थियो । बिचरा कालोकुत्ता मियाँ जेल परे । शारीरिक पीडा र मानसिक ग्लानिले एक–डेढ वर्षभित्रमै उनी जेलमै बिते । उनको जग्गाजमिन मालपोत नतिरेको आधारमा भैरवप्रसाद आचार्यले लिए । पछि सो जग्गा शमशेर गिरीलाई र अरूहरूलाई बिक्री गरिदिए ।
अहिलेको गिरीबन्धु टी इस्टेट भएको सारा जमिन मथुरा सतार र छोटु सतारका नाममा थियो । यो सबै मौजाको जिमदार थिए धर्मे भन्ने सतार । मथुरा सतारको पनि सयौं बिघा जमिन थियो । कालोकुत्ता मियाँलाई झोसपोल गरी मुद्दा लगाई जेल हालेपछि मथुरा सतारलाई पनि पोलिएको छ भनी होहल्ला चलाइयो । यसरी मथुरा सतारलाई पनि भाग्न बाध्य गराइयो ।
मथुरा सतार, छोटु सतार, धर्मे सतारलाई डाँका मुद्दा लागेको छ भनी होहल्ला चलेपछि कालोकुत्ताको गति हुने डर देखाएर सुराकीमार्फत सुटुक्क भाग्न लगाइयो । बिचरा सतारहरू कतै न्याय पाउने ठाउँ पनि नदेखेपछि गाउँ नै छोडेर हिँडे । सबै सतारले डाँडा काटेपछि बाघेडाँगीबाट शमशेर गिरी, टेकबहादुर गिरी झिकाइ सो जमिन भैरवप्रसादले गिरीहरूलाई बिक्री गरेका थिए ।
