अवरोध पन्छाउँदै उद्यम


पाँचथर — पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ फाक्तेपका ४५ वर्षीय दीपेन्द्र चेम्जोङको कम्मरमुनिको भाग चल्दैन । ह्विलचेयरकै सहारामा उनलाई चर्पी, भान्सा र आँगनसम्म पुर्याइन्छ । उनले रातो रङको अपांगतासम्बन्धी परिचयपत्र पाएका छन् । दीपेन्द्रसँग हस्तकला सीपको भने भण्डार छ ।


घरेलु औजारको सहयोगले बाँसका चोयाबाट शृंगार, वाद्यवादन र घरेलु उपयोगका सामग्री बनाउनु उनको दैनिकी हो । बाँसका चोयाबाट सारी पिन, चिम्टी, झुम्काजस्ता शृंगार सामग्री तयार गर्नमा उनी व्यस्त देखिन्छन् ।
धार्मिक र सांस्कृतिक कार्यमा प्रयोग हुने बिनायो, डमरु, चरिबाजा, एकतारे, यलम्बर बाजा, सारंगी, बाँसुरी, मुरली, तुलो र तोङ्बा खाने ढुङ्ग्रो पनि उनी बनाउँछन् । उनले यस्तो इलम गर्न थालेको १६ वर्ष भयो । ‘मैले बनाएका सामान हङकङ र सिंगापुरसम्म किनेर लैजान्छन्,’ उनले भने, ‘त्यसैले अर्डरका सामान बनाउन मलाई भ्याइनभ्याई छ ।’
चेम्जोङले बनाएका हस्तकलाका सामानमा धेरै बिक्नेमा तोङ्बा खाने ढुङ्ग्रो हो । ‘कलात्मक बुट्टा भरेर तयार पारेको ढुंग्रो गोटाकै ५ हजार रुपैयाँमा बेच्छु,’ उनले भने, ‘सारी पिन, चिम्टी र बुटी गाउँघरकै महिलाले पनि धेरै किन्छन् ।’ उनले बाँसका चोया काडेर बनाएका बुटी एक सय रुपैयाँमा र चिम्टी एवं सारी पिन प्रतिगोटा २ सय ५० रुपैयाँमा बिक्री गर्दै आएका छन् ।
सम्मानपूर्वक जीवन जिउने धोकोले उनलाई यतातिर डोर्याएको हो । एसएलसीसम्मको औपचारिक अध्ययन गरेका चेम्जोङले हस्तकलाका यी सामग्री बनाउन कतैबाट तालिम भने लिएका होइनन् । निरन्तरको मिहिनेतले आफूलाई अभ्यस्त बनाएको उनले बताए । २०६० सालमा बस दुर्घटनामा परेर मेरुदण्डमा समस्या आएपछि उनको कम्मरमुनिको भाग चल्न छोडेको हो । आफूलाई मानसिक रूपमा कमजोर नठानेकै कारण यत्तिको सफलता हात लागेको उनको विश्वास छ ।
एक सयदेखि सात हजार रुपैयाँ प्रतिगोटाका सामग्री बनाएर बेचिरहेका उनले डमरु, सारंगी, बिनायो र एकतारे ग्राहकको दोस्रो रोजाइमा पर्ने गरेको सुनाए । चेम्जोङ मुरली, बाँसुरी, बिनायो, मुचुङ्गा, डमरु र एकतारेजस्ता सामग्री बनाउनमात्रै होइन, बजाउन पनि उत्तिकै सिपालु छन् । चेम्जोङले श्रीमती दिलमाया र अन्य साथीभाइलाई बगानबाट बाँस काटेर ल्याउन अह्राउँछन् । दिलमाया वडा कार्यालयमा कार्यालय सहयोगी पदमा जागिरे छिन् । ‘मेरो तलबभन्दा धेरै उहाँ नै कमाउनु हुन्छ । बाँसका सामग्री बेचेर मासिक ३५ हजार रुपैयाँसम्म बचत गरेको मलाई सम्झना छ,’ दिलमाया भन्छिन् ।
कहाली लाग्दो विगत
०५२ मा एसएलसी पास गरेका दीपेन्द्रले ०५५ सालसम्म महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा आईए पढे । पढाइ नसकिँदै साथीभाइको लहडमा रोजगारीका लागि भारतको मेघालयसम्म पुगे । करिब १० महिना भारत बसेर फर्केपछि घुर्बिसे पञ्चमी बजारमा गेस्टहाउस खोले । उनको गेस्टहाउसमै फिल्म हल चल्थ्यो ।
०६० सालतिर माओवादी द्वन्द्व उत्कर्षमा थियो । माओवादीको ‘कि जन, कि धन’ अभियानले उनको व्यवसायमा पनि धक्का पुग्यो, दबाब थेग्न नसकेर उनले विदेश जाने योजना बनाए । उनी वैदेशिक रोजगारीका लागि बहराइन जाने चाँजोपाँजो मिलाउन बस चढेर झापा जाँदै थिए ।
‘झापाको चारआलीमा बस रोकियो । बसमा सुत्केरी व्यथा लागेकी महिला चढिन् । मैले ती महिलालाई सिट छोडिदिएर बसको हुटमा चढ्न खोजें,’ दीपेन्द्रले पुराना कुरा सम्झिए, ‘हुटमा चढ्दाचढ्दै म उछिट्टिएर भुइँमा बजारिएँ ।’ त्यही घटनापछि उनको कम्मरमुनिको भाग चल्न नसक्ने भयो । अहिलेको अवस्थामा फर्किन त्यतिबेला ६ महिना अस्पताल बस्नु परेको र ३ लाख रुपैयाँ हाराहारी खर्च भएको उनले सुनाए । ‘अस्पतालबाट फर्केपछि बाँच्नु नै व्यर्थ रहेछ जस्तो पनि लाग्यो,’ उनले भने, ‘तर, अन्ततः खुट्टा गुमे पनि आँखा र हात केही भएका छैनन्, इलम गरेर देखाउँछु भनेर बाँसका सामग्री बनाउन थालें ।’
चिकित्सकका भाषामा चेम्जोङलाई ‘स्पाइनल कड इन्जुरी’ भएको हो । विभिन्न समस्या चिर्दै उनी अहिले जिल्लामा सफल उद्यमीका रूपमा दरिएका छन् । राज्यले फरक क्षमता भएका नागरिकको हकमा विशेष नीति ल्याएर सरकारी कार्यालयमा सहज सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ । ‘कहिलेकाहीं अहिले पनि फलोअपमा अस्पताल जानुपर्छ,’ उनले भने, ‘त्यसबेला कसै न कसैको साथ लिन्छु । प्रायः अस्पताल अपांगमैत्री नहुँदा ज्यादै दुःख लाग्छ ।’
कम छैनन् चूडामणि पनि
फरक क्षमता भएका व्यक्तिलाई सरकारले उनीहरूको अवस्था हेरी वर्गीकरण गर्छ । अरूको सहारा लिएर पनि दैनिक जीवन सम्पादन गर्न नसक्नेलाई पूर्ण अशक्त भन्दै रातो, अति अशक्तलाई नीलो, मध्यम अपांगता भएकालाई पहेंलो र सामान्य अपांगता भएकालाई सेतो परिचयपत्र दिँदै आएको छ ।
फरक क्षमताका अर्का एक उदाहरणीय पात्र पाँचथरको फिदिम नगरपालिका–४ का ४० वर्षीय चूडामणि बाँस्कोटाले अति अशक्तले पाउने नीलो रङको परिचयपत्र पाएका छन् । कमजोर आर्थिक अवस्थाले गर्दा धेरै पैसा कमाउने सपना बोकेर ०६२ असार १५ मा उनी मलेसिया उडेका थिए । त्यहाँ गाडीको इन्जिन र पार्टपुर्जा बनाउने कम्पनीमा काम पाए । त्यही वर्षको असोज २७ मा कम्पनीको मेसिन पड्किँदा उनको बायाँ हातका सबै औंला चुँडिए । १० महिनासम्म त्यहाँ उपचार गरेपछि उनी ०६३ वैशाखमा घर फर्किए । अहिले उनै चूडामणि जिल्लामा सफल उद्यमीका रूपमा स्थापित छन् । करिब २० हजार रुपैयाँ लागतमा बाँस र फर्निचर बनाउने औजार किनेर ०६६ मा घरमै बाँसका फर्निचर बनाउन थाले । ०६९ मा घरेलु तथा साना उद्योग विकास समिति पाँचथरमा रचना बाँस फर्निचर उद्योग दर्ता गराएर काम गरिरहेका छन् । उद्योगमा उनीसहित श्रीमती र २ छोरी व्यस्त छन् ।
बाँस्कोटा बाँस काट्ने, टुक्य्राउने, फुटाउने, भाटा खिप्ने र बजारसम्म लगेर बेच्ने काममा आफैं खटिन्छन् । ‘सुरुमा औंला छिनेको हातले सामग्री बनाउन निकै कठिन थियो,’ उनले भने, ‘अभ्यस्त भएपछि गाह्रो अप्ठेरो सबै टरेको छ ।’ उनी बाँसका भाटा खिपेर आल्ना, र्याक, टेबल, कुर्सी, मुढा, पलङ, बेड, सोफा, रोस्टम जस्ता फर्निचर बनाएर बेच्छन् । निर्माण भएका सामग्री घरैबाट बिक्री गर्छन् । आफूले निर्माण गरेका सामग्रीको अर्डर गर्न उपभोक्ता घरैसम्म आउने उनले सुनाए ।
हात गुमाएर मलेसियाबाट फर्किएपछि करिब दुई वर्ष याक्थुङहाङ निर्माण सेवा नामक कम्पनीमा सर्भेयरका रूपमा काम गरेका उनले जागिरमा आत्मसन्तुष्टि नमिलेपछि र घरेलु तथा साना उद्योग विकास समितिको इखले उद्योग खोलेको बताए । ०६७ सालमा फर्निचर बनाउने तालिमका निम्ति आवेदन दिन घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय पुग्दा आफूलाई तिरष्कार गरेको उनले बताए । ‘हातका औंला नै नभएको मान्छेले कसरी काम गर्न सक्छ भन्दै हतोत्साहित गरे,’ उनले भने, ‘यसै घटनाले पनि केही गरेर देखाउनुपर्छ भन्ने इख जागेको हो ।’
०६७ मै उनी पाँचथरको फिदिममा आयोजित जिल्लास्तरीय कृषि तथा घरेलु उत्पादनको प्रदर्शनीमा पहिलो पुरस्कार जित्न सफल भए । त्यसपछि ०७० मा इलाममा आयोजित पूर्वाञ्चल स्तरीय पर्यटन तथा व्यापार महोत्सवमा ४२ जना प्रतिस्पर्धीमध्ये दोस्रो, ०७० सालमा १ सय ६८ जनाको सहभागितामा काठमाडौंको भृकुटीमण्डपमा आयोजित मेची महाकाली पर्यटन तथा व्यापार महोत्सवमा तेस्रो पुरस्कार जित्न सफल भए । उनी बाँस फर्निचरका सामग्री बनाउने तालिमहरूमा प्रशिक्षकको भूमिकामा पनि भेटिन्छन् । उनले हालसम्म ५७ वटा केन्द्रमा ५ हजार १ सय जनालाई तालिम दिइसकेका छन् । ‘तीमध्ये तीन प्रशिक्षक भएका छन् भने एक सय जना व्यावसायिक रूपमा सामान बनाउँछन्, उनीहरूले बनाएका सामग्रीको बजार प्रवर्द्धनमा पनि सहयोग गर्दै आएको छु,’ उनले भने ।
यही व्यवसायबाट आर्जन भएको रकमले परिवारको खर्च चलेको उनले सुनाए । ‘तीन छोरी स्कुल/क्याम्पस पढ्छन्,’ उनले भने, ‘महिनाको न्यूनतम ३० हजार रुपैयाँ बचत छ ।’ अपांगता भएका व्यक्तिले अवसर पाए रुचि र क्षमताअनुसारको काम गर्न सक्ने उनले सुनाए । ‘त्यसका लागि राज्यले अपांगमैत्री व्यवहारलाई प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने, ‘तालिम र अनुदानसँगै उद्योग सञ्चालन र नवीकरणका लागि सरकारी निकाय सहयोगी बनिदिनुपर्यो ।’ कर्मचारीको व्यवहार मात्रै परिवर्तन हुने हो भने पनि अपांगता भएका नागरिकको मनोबल बढ्ने उनको अनुभव छ ।
सयौंकी ड्राइभर बिनु
झापाको गौरादह नगरपालिका–६ निवासी ३० वर्षीया बिनु श्रेष्ठको पोलियोका कारण दायाँ हात र दुवै खुट्टा चल्दैनन् । तर, कोशी प्रदेशका विभिन्न जिल्लामा सीपमूलक तालिममा प्रशिक्षकको भूमिकामा उनी खटिएकी भेटिन्छिन् ।
बिनु तीन वर्षको उमेरसम्म राम्ररी हिँड्न सक्थिन् । त्यसपछि पोलियोका कारण खुट्टा टेक्नै छोडिन् । ‘स्कुल जाँदा पहिले घस्रिँदै जान्थें, अलि ठूली भएपछि बाँसको बैसाखी टेक्न थालें,’ उनले भनिन्, ‘त्यतिबेला सपनामै भए पनि उभिएर हिँड्न पाए कस्तो हुन्थ्यो जस्तो लाग्थ्यो ।’ ०७२ सालतिर बुवाले घरनजिकै घुम्ती पसल खोलिदिएपछि उनको धेरैजसो समय त्यहीं बित्न थाल्यो ।
‘पाँच वर्षअगाडि चक्रमारी सहकारी संस्थाले एकमहिने मोबाइल रिपेयर तालिम दिएपछि मेरो दैनिकी नै फेरियो,’ उनले भनिन्, ‘तालिमपछि मोबाइल मर्मत गर्ने काम गर्दै गुडिया, चप्पल र माला पनि बनाउन सिकें ।’ बिनुसँग कपडा, प्लास्टिक र धागोका पर्स, माला, मास्क, ब्याग, पोते, गुडियाजस्ता ४० भन्दा धेरै सामग्री बनाउने सीप छ । ‘प्रशिक्षकका रूपमा बोलावट भएका स्थानमा समय मिलेसम्म पुग्छु,’ उनले भनिन्, ‘आफैं उठेर हिँड्ने सामर्थ्य छैन । एक ठाउँबाट अर्को ठाउँ पुग्न अरूकै सहयोग लिन्छु ।’
आफूले बनाएका सामग्रीको बजार र मूल्यसँग सन्तुष्ट नै रहेको उनले सुनाइन् । ‘प्रायः फोनबाटै अर्डर आउँछ र घरैमा आएर सामग्री खरिद गर्छन्,’ उनले थपिन् । बिनुले झापा, मोरङ, सुनसरी, पाँचथर र इलाममा एक हजारभन्दा धेरै अपांगता भएकालाई तालिम दिइसकेकी छन् । अपांगता भएकालाई परिवारका सदस्य र अभिभावकको सहयोग अपरिहार्य हुने उनको अनुभव छ । अपांगता भएकाले गर्न सक्ने कामको वर्गीकरण गरेर तालिम दिने हो भने कोही खाली हात बस्नु नपर्ने उनको अनुभव छ ।
‘केही गर्न सक्दिन कि भनेर पछुतो लाग्थ्यो,’ उनले भनिन्, ‘एकाध तालिम लिएर व्यवसायलाई निरन्तरता दिन थालेपछि स्थानीय र प्रदेश सरकारका विभिन्न निकायले चिन्न थाले ।’ मासिक ४० हजार रुपैयाँसम्म आम्दानी गरेको उनले सुनाइन् । पारिवारिक वातावरण र उचित अवसर पाए अपांगता भएका नागरिक उद्यमी बन्न सक्ने उनी बताउँछिन् ।
आँखा नदेखे पनि अब्बल
पाँचथरको फिदिम नगरपालिका–५ का ३५ वर्षीय पृथ्वीराज तुम्बापोले आँखाको ज्योति गुमाएको ३० वर्ष भयो । उनी अहिले मुढा बुन्ने कारखाना नै चलाएर बसेका छन् ।
तुम्बापोसँग मुढा बुन्नेसँगै बिग्रेको रेडियो मर्मत गर्ने र सुरिलो आवाजमा बाँसुरी बजाउने कलाको भण्डार छ । सुरिलो स्वरमा बाँसुरी र मुरली बजाएर मन्त्रमुग्ध पार्छन् । तीन वर्षको उमेरमा बिरामी भएपछि अचानक दुवै आँखाको ज्योति गुमाएको तुम्बापोले बताए । तुम्बापोलाई मुढा बुन्न आवश्यक पर्ने बाँस ल्याइदिनेबाहेक अरू कुनै काममा सहयोग चाहिँदैन । बाँस गिँड्ने, भाटा खिप्ने, कप्टेरा बनाउने अनि आवश्यक सामग्री जुटाएर मुढा बुन्नु उनको दैनिकी हो । ‘मुढा बुन्न प्रयोग गरिने डोरी कुन रङको हो, छामेरै छुट्याउन सक्छु,’ उनले भने ।
तुम्बापोले मुढा बुन्नेबाहेक रेडियो मर्मत र बाँसुरी बजाउन भने कहींकतैबाट प्रशिक्षण नलिएको बताए । ‘स्वअभ्यासले सिकेको हुँ,’ उनले भने, ‘झन्डै २०–२५ जना युवालाई बाँसुरी बजाउने प्रशिक्षण नै दिइसकेको छु ।’ ५ वर्षको उमेरमा ज्वरोले थलिएसँगै दुवै आँखाको ज्योति गुमेको उनले बताए । ‘किशोर अवस्थासम्म विरक्तिएर बाँसुरी बजाउँदै समय बिताएँ,’ उनले भने, ‘उमेर पुगेपछि बिहे गरें । त्यसपछि इलम गर्न थालेको हुँ ।’ उनका श्रीमतीसहित तीन छोराछोरी छन् ।
०७५ सालमा उनलाई जिल्लामा क्रियाशील सामाजिक संस्था जनसेवा समाजले मुढा बुन्ने सामग्रीसँगै बस्ने टहरो व्यवस्था गरिदिएको हो । ‘वडा कार्यालयले थोरबहुत आर्थिक सहयोग गरेको छ,’ उनले भने । दुईदेखि तीन दिनमा एउटा मुढा तयार गर्ने पृथ्वीराज एउटा मुढा चार सय रुपैयाँमा बिक्री गर्छन् । महिनामा ३० वटासम्म मुढा बिक्री गर्ने उनले बताए । यद्यपि, उत्पादन गरेका सामग्रीको पहुँच बजारसम्म पुर्याउन कठिनाइ भइरहेको उनले सुनाए ।
‘कच्चा पदार्थ आयातसँगै उत्पादित वस्तु ढुवानीमा थोरै भए पनि अनुदान दिने नीति स्थानीय सरकारबाट अवलम्बन हुने हो भने अपांगता भएका नागरिक सहजै उद्यमी बन्न सक्छन्,’ उनले भने, ‘स्थानीय तह र उद्योग वाणिज्य संघजस्ता संघसंस्थाले यस्ता सामग्री बजारीकरणका निम्ति पहल गरिदिन जरुरी छ ।’
प्रकाशित : भाद्र २३, २०८० १०:५६