कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

असहायका ‘इनी आमा’

समाजसेवामा पहिचान बनाएकी इन्दिरालाई संसद्को जिम्मेवारीले राजनीतिसँगै आफ्नो रुचिको क्षेत्रमा सन्तुलनको चुनौती  

काठमाडौँ — प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरको सिंहदरबारस्थित कार्यकक्ष । एक बालिका ‘आमा’ भन्दै भित्र छिरिन् । सरासर इन्दिराको कुर्सीतिर गइन् । अनि काखमा लुटुपुटु गर्न थालिन् । इन्दिराले पनि ती बालिकाको टाउको सुमसुम्याइन् । ती ३ वर्षीया बालिकाले तोते बोलीमा भनिन्, ‘आमा तपाईं ठूलो माननीय, म सानो माननीय ल ?’ उपसभामुखलाई सबैले माननीय भनेको सुनेर बोलीमा उतारेकी रहिछन् ।

असहायका ‘इनी आमा’

रानाले ‘हस’ भनेपछि उनी सँगैको सोफामा गएर बसिन् । उपसभामुखको कार्यकक्षमा आउने आगन्तुकलाई नमस्कार भन्दै ती बालिकाले खेलिरहिन् । उपसभामुखको कक्षमा लुटपुटिँदै खेलेको यो दृश्य धेरैका लागि नौलो थियो । कार्यकक्षमा पस्ने सबैको प्रश्न हुन्थ्यो– ‘यी नानीचाहिँ को हुन् ?’ उपसभामुख रानाले उनलाई सानैदेखि हुर्काएकी छोरी भनेर परिचय गराइन् । खासमा उनी ममता दिने आमा हुन् ।

उपसभामुख राना भने आफ्नो कार्यकक्षमा आउने व्यक्तिलाई आफैं चिया बनाएर ‘सर्भ’ गर्दै थिइन् । माननीयको कार्यकक्षमा आगन्तुकको आउजाउ चलिरह्यो । ती बालिका पनि कहिले एउटा कुनामा बस्थिन्, कहिले बाहिर जान्थिन् । एक्लै गुनगुन गरिरहन्थिन् ।

जेठ १५ मा बजेट भाषण भएपछि ६ दिन प्रतिनिधिसभाको बैठक चलेन । यहीबीचमा उपसभामुख राना कार्यालय आउन लाग्दा ३ वर्षीया अनामिकाले पछ्याएर बाटो नै छेक्ने गरी गाडी अगाडि लडीबुडी गरेपछि संसद् सचिवालयमा ल्याएकी थिइन् । अनामिका जन्मेकै दिनदेखि रानामगरको संरक्षणमा हुर्किएकी हुन् । उनी इन्दिरासँगै सुत्छिन्, खाना पनि उनले नै खुवाउनुपर्छ ।

***

प्रतिनिधिसभाको बैठक सुरु भएदेखि अन्तिमसम्म उनी संसद् भवनभित्रै हुन्छिन् । सभामुखलाई पालो दिएर बैठक चलाउँछिन् । पछिल्लो केही दिनयता बजेटमाथि छलफल जारी छ । बैठक साँझसम्म चल्ने गरेको छ । उनी बैठकमा बसिरहन्छन्, तर काठमाडौं म्हेपीस्थित कोठामा साना लालाबाला भने उनको पखाईमा हुन्छन् । रगतको नाता नभए पनि भावनाको नाताले आफ्नै सन्तान जसरी हुर्काएका ३ वर्षमुनिका चारजना ‘छोराछोरी’ उनी कहिले आउने भन्दै कुरिरहेका हुन्छन् । घर बाहिर गाडीको आवाज आउनेबित्तिकै खुसीले चिच्याउँदै हतारिएर झ्यालमा चिहाउन पुग्छन् ।

जब उनी गेटबाट भित्र छिर्छिन् नानीबाबु दौडिएर एक तला माथिबाट पार्किङमा झुम्मिन्छन् । कोही हात समाउँछन्, कोही लुगा समाउँदै अघिपछि लाग्छन् । दिनभरि साथमा नभेटेर नियास्रिएका उनीहरू तोतेबोलीमा आफ्ना कुरा सुनाउँछन् । स्कुल जानेले शिक्षकले गरेको गतिविधि इन्दिरालाई सुनाउँछन् । उपसभामुख रानाले पनि उनीहरूको कुरा चासो दिएर सुन्छिन् । सम्साँझै खाना पाए पनि ‘आमासँगै खाने’ भन्दै केही बालबालिकाले इन्दिरालाई कुरिरहेका हुन्छन् । जतिसुकै थकित भए पनि उनीहरूलाई खाना खुवाएर सँगै सुताउँछिन् ।

उपसभामुख हुनुअघिसम्म उनी आश्रममा रहेका बालबालिकासँगै एउटै कोठा सुत्थिन् । जब उनी उपसभामुख भइन्, उनलाई सुरक्षा दिन हतियारसहितका सुरक्षाकर्मी खटिए । बालबालिका बस्ने ठाउँमा हतियारसहितको सुरक्षाकर्मी राख्न नहुने भएपछि आश्रमनजिकै एक फ्ल्याट भाडामा लिइएको छ । जुन घरमा भाडामा बस्ने अरू परिवार पनि छन् । एक तला र सुरक्षाकर्मीलाई खाना पकाउने एउटा कोठासहित उनी मासिक ४४ हजार भाडा तिर्छिन् ।

आश्रमबाट डेरा बढीमा एक सय मिटर मात्रै टाढा छ । संसद्बाट जतिबेला आए पनि उनी एक पटक आश्रममा रहेका बालबालिका भेट्न जान्छिन् । सबैलाई सुताएर आफ्नै कोठामा फर्कन्छिन् । उनी सांसद भएपछि आश्रममा रहेका नानीबाबुलाई खासै समय दिन पाएकी छैनन् । त्यसैले उनीहरूले इन्दिरालाई भेट्यो कि छाड्नै मान्दैनन् । सुत्न पनि कोठामै जान खोज्छन् । अनामिका, आम्बुले र सामुलाई सँगै सुताउँछिन् । ‘उनीहरूलाई मेरो पाखुरालाई सिरानी बनाएर सुत्ने बानी परेको छ,’ इन्दिराले भनिन्, ‘म जुन बेला आए पनि सँगै सुताउनुपर्छ ।’ उपत्यका बाहिर जाँदा पनि प्रायःजसो सुत्न कोठामै आइपुग्नुपर्ने बाध्यता रहेको उनले बताइन् ।

***

संसद् पुगेकी अनामिका र इन्दिराबीचको हेलमेलले हामीलाई म्हेपीस्थित उनको डेरासम्म डोर्‍यायो । संवाददाता बिहानै उनको डेरामा पुग्दा इन्दिरा तरकारी काटिरहेकी थिइन् । कोठामा दुई बालबालिका खेलिरहेका थिए । एक बालिका उनकै खाटमा सुतिरहेकी थिइन् । नानीबाबुलाई खाजा खुवाइन् । आफूलाई र हामीलाई पनि ‘आफ्नै फ्लेबर’ भन्दै चिया बनाएर ल्याइन् ।

तीन महिनादेखि उनले हुर्काएकी आम्बुले तोतेबोलीमा आमा भन्दै काखमा आए । लुटुपुटु गर्न थाले । टेबलमा भएको अन्डा खान खोजे । सहयोगीले रानालाई ल्याइदिएको अन्डा छोडाएर आम्बुलेलाई टुक्रा बनाउँदै खुवाइन् । सहयोगीले उनलाई दुई वटा अन्डा ल्याइदिएकी थिइन् । एउटालाई खुवाइरहँदा २ वर्षीय सामु पनि आए । आम्बुलेले आमा भन्थे भने सामुले ‘इनी आमा’ भन्दै बोलाउँथे । अरूले इन्दिरा भनेको सुनेर सामुले भने ‘इनी आमा’ भनेका रहेछन् ।

इन्दिराले सामुलाई अर्को अन्डा छोडाएर खुवाइन् । ती बालकले एक वर्षयता इन्दिरालाई आमा नाता जोडेका छन् । आमाबुबाको पहिचान नभएका उनीहरूको स्याहार इन्दिरा संरक्षक रहेको बन्दी सहायता नेपालले गरिरहेको छ । जेलबाट उद्धार गरिएका उनीहरूलाई इन्दिराले आमाले झैं ममता दिएर हुर्काइरहेकी छन् । अन्डा खुवाउन एउटालाई काखमा लिँदा अर्कोले डाहा गर्थे । अनि दुवैलाई काखमा राख्न भन्दै झगडा गर्थे । आफ्नो भागमा आएको अन्डा दुवैलाई पालैपालो काखमा राख्दै खुवाइन् ।

जन्मेकै दिनदेखि छोरीको नाता जोडेकी अनामिका ढिलो ओछ्यान छाडेर इन्दिरासँगै आमा भन्दै आइन् । अब उनले तीन जनाको चित्त बुझाउनुपर्ने भयो । अनामिका ‘चिया बिस्कुट खाकै छैन’ भन्दै रुन थालिन् । संसद् आउन हतारिएकी उनले आश्रममा रहेका अरू नानीबाबुलाई भेटेकै थिइनन् ।

संसद् जानुअघि उनी सधैं आश्रम छिरेर नानीबाबु भेट्छिन् । खाना खाए नखाएको चासो राख्छिन् । शुक्रबार पनि सँगै सुत्ने तीन जना नानीबाबुलाई आश्रममा खाना खुवाउन अघिपछि लगाउँदै लागिन्, जहाँ साना केटाकेटी खेलिरहेका थिए । भान्सानजिकै पुगेपछि केटाकेटी इन्दिरा भएतिर दौडिएर आए । उनी सोफामा बसेकी थिइन् । केटाकेटी आएर कोही काखमा बसेर गाला मुसार्न थाले । कोही छेउमा आएर टुक्सुक्क बसे । भान्साबाट आश्रमको सहयोगीले उनलाई रातो कपमा कालो चिया ल्याइदिए । हातमा समाएकै मात्रै के थियो २ वर्षीय सामुले चियाको कप छुँदै भने, ‘आमा यो खाने ।’

इन्दिराले अर्को कप ल्याउन सहयोगीलाई अह्राइन् । अनामिका काखमा बसिरहेकी थिइन् । सामु पनि काखमै बसे । अर्का बालक रिहान पनि उनीतिरै अघि बढे । इन्दिराले चुम्बन गरिन् । आफ्ना लागि ल्याएको चिया तीनै जनालाई अलिअलि हाल्दिइन् । तातो भएकाले रिहान खानै सकेनन् । त्यही चिया अनामिकाले खाइन् । इन्दिराले चिया एक सुर्को पनि खान पाइनन् । सबै केटाकेटीलाई खुवाइन् । भान्साअघि केटाकेटी खेल्ने ठाउँ बनाएकी छन् । खेल्ने सामग्री भुइँभरि राखिएको छ । एउटाले जुन खेलौना खेलेको हुन्छ अर्कोले पनि त्यही खोज्दा बारम्बार झगडा हुन्थ्यो ।

इन्दिरा उठेर झगडा मिलाउन पुग्थिन् । भूकम्पका बेला फेला परेको आमाले छाडेकी खुसी (भुइँचम्पा) स्कुल जाने भएकी छन् । उनी आश्रममा जाँदा स्कुल जाने तयारीमा थिइन् । आश्रममै हुर्केकी दिदीले उनलाई स्कुल पठाउने तयारी गरिरहेकी थिइन् । इन्दिरा आश्रम गएपछि पछिपछि लाग्दै आइन् । काखे बालबालिका उनको अघिपछि गर्दै झुम्मिँदा उनी पनि मुस्कुराउँदै नजिकै आइन् । आमाको माया न हो टाउकोमा छोएर ‘खाना खान जाऊ छोरी’ भनेपछि भान्सातिर लागिन् । खान खाएर ‘आमा स्कुल जान्छु ल’ भन्दै गइन् ।

केटाकेटी स्कुल जान हतारमा थिए भने उनीलाई पनि अफिस (संसद् सचिवालय) जाने हतारो थियो । किनभने ११ बजे प्रतिनिधिसभा बैठक थियो । आश्रमबाट उनी कोठातिर जाने थाहा पाएर केटाकेटी पछ्याउन थाले । केहीले बोक्न आग्रह गर्दै अगाडि आए । केही औंला समाएर जाने भन्दै तान्न थाले । सबैभन्दा सानो रिहानलाई बोकिन् । आम्बुले औंलामा समाएर अघि बढे । अरू बच्चा पछि–पछि लागे । कोठामा खाना पाकिसकेको थियो । उनले पहिला अनामिकालाई फकाउँदै खाना खुवाइन् । इन्दिराले खुवाएपछि उनी खान थालिन् । हात धुने बेला अनामिकाको लुगाको बाहुलामा पानी परेछ । अनि उनलाई के निहुँ चाहिन्थ्यो र ? इन्दिराले दुई/चार गाँस मात्रै खाना के खाएकी थिइन् ।

अनामिकाको रुवाइले उनको मन पोल्यो । उनकै छोरी सिवानीको कोठामा छिरेर अनामिकालाई लुगा लगाइदिइन् । डाइनिङमा छाडेको खाना चिसो भइसकेको थियो । उनले खाना त्यत्तिकै छाडिन् । स्कुल जानुअघि अनामिकाको गनगन बाँकी नै थियो । जुत्ता पनि अरूले लगाएर नहुने, इन्दिरा नै चाहिने । जुत्ता लगाउँदा इन्दिरा सधैं ढिला घर फर्केको गुनासो अनामिकाले पोख्न भ्याइन् । उनले रुँदै भनिन्, ‘हजुर सधैं ढिला आउनुहुन्छ ।’ इन्दिराले आज चाँडै आउने सुनाइन् । तर, त्यो दिन बैठक सकिँदा साँझ पौने ७ बजिसकेको थियो ।

***

झापाको शनिश्चरे–६ मा विसं २०२७ सालमा जन्मेकी इन्दिरा रानामगर समाजसेवा समर्पित थिइन् । सन् २०१७ मा बीबीसीको १०० प्रेरणादायी महिलामा सूचीमा नेपालकी राना पनि परेकी हुन् । उनी बन्दी सहायता नेपालको संस्थापक अध्यक्ष पनि हुन् । समाजसेवामा आफ्नो पहिचान बनाएकी उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद बनायो । निर्वाचित भएपछि उनलाई सांसदसँगै उपसभामुखको जिम्मेवारी आयो । उक्त पदमा निर्वाचित भएपछि उनलाई राजनीति र समाजसेवामा समय सन्तुलन मिलाउन गाह्रो परेको छ । उपसभामुखको जिम्मेवारी सम्हालेपछि अपवादबाहेक बैठक पनि व्यवस्थित रूपमै चलाएकी छन् ।

बजेटमाथिको बहसमा अर्थमन्त्री नै अनुपस्थित भएपछि सदन बैठक गर्न नहुने भन्दै रास्वपाले संसद् अवरोध गर्दा भने १५ मिनेट स्थगित गर्ने घोषणा गरेर पनि बैठकलाई निरन्तरता दिएकी थिइन् । बैठक चलाउँदा उपसभामुखमा ‘कमान्डिङ’ क्षमता रहेको सांसदहरू पनि बताउँछन् । विशेष समय होस् वा कुनै विषयमा रोस्टममा बोल्दासमेत निर्धारित समयभन्दा बढी लिन खोजेमा उनले माइकको लाइन नै काटिदिन्छिन् । त्यसैले सभामुखको भूमिकामा रहँदा ‘समय सकियो माननीयज्यू’ भनेपछि सांसदहरूले बोल्न छाड्ने गर्छन् ।

सभामुखले बैठक सञ्चालन गर्दा सरकारका मन्त्रीहरू बस्ने लाइनको छेउमा बसिरहेकी हुन्छिन् । उनको छेउको कुर्सीमा मन्त्री आएमा कहिलेकाहीं कुरा गरेको देखिन्छ । उनको छेउमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ बस्छन् ।

बैठक जति लामो समय चले पनि बैठक कक्षमा बस्दा न मोबाइल चलाउँछिन्, न त वरपर गफ नै गर्छिन् । संसदीय नियमलाई पालना गरिरहेकी हुन्छिन् । जब उनी डेरामा फर्कन्छिन् फरक भूमिका र जिम्मेवारी हुन्छ । ‘घर आएपछि नानीबाबु सम्हाल्न थाल्छु । संसद् र उपसभामुखको जिम्मेवारी त बिर्सन्छु,’ उनले भनिन्, ‘संसदीय अभ्यास सिक्नका लागि पुस्तक पढ्नुपर्ने हुन्छ । नानीबाबु सुताएपछि अबेरसम्म पढ्ने गरेकी छु ।’

उपसभामुख भएपछि आश्रमका बालबालिकालाई उनले त्यति समय दिन सकेकी छैनन् । संस्थाको जिम्मेवारी इन्दिराले छोरी सिवानीलाई सुम्पिएकी छन् । आफूसँगै ११ जना बस्छन् । जसमा ३ जना बालक र ८ जना बालिका छन् ।

अभिभावक जेलमा भएका र बेवारिसे बालबालिकाको रेखदेख गर्ने बन्दी सहायता नेपाल (पीए नेपाल) को १० वटा बालगृहमा १ सय ८३ जनाले आश्रय पाएका छन् । यसमा बालिका सय जना छन् भने बालक ८३ जना छन् ।

काठमाडौंको साँखुमा सबैभन्दा बढी ८१ जना छन् । जेलमा रहेका बन्दी छुटेपछि पीए नेपालमा बसेका छोराछोरी लिन आउने भएकाले थपघट भइरहने संस्थाकी अध्यक्ष सिवानीले बताइन् । उनीहरूको लालनपालन र पढाउनका लागि स्वदेशी र विदेशी दाता रहेको उनले बताइन् । झापाको खुदुनाबारीमा खेती गरिएको छ । चामल र दाल आफ्नै उत्पादनले पुग्ने उनले बताइन् ।

प्रकाशित : जेष्ठ २७, २०८० ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?