शिक्षा र समाज सुधार्ने हुटहुटी बोकेका हेडसर


चितवन — पदमबहादुर प्रजा चेपाङलाई आफ्नो समुदायको हित शिक्षा बेगर हुँदैन भन्ने हेक्का राम्रोसँग छ । त्यसैले उनले भएभरको समय स्कुललाई दिने गर्दछन् । सात पालिका रहेको चितवनको एक मात्र गाउँपालिकाको हो इच्छाकामना गाउँपालिका । यो गाउँपालिकाको अधिकांश भूभाग पहाडले ओगटेको छ । यही गाउँपालिकाको वडा नम्बर २ मा पर्ने मायाटारको एउटा पहाडी थुम्कोमा छ राष्ट्रिय आधारभूत विद्यालय । कक्षा ८ सम्म पढाइ हुने यही विद्यालयका प्रधानाध्यापक हुन् पदमबहादुर प्रजा चेपाङ ।


चेपाङहरु सिमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय हुन् । चितवन, मकवानपुर, धादिङ र गोरखाको पहाडी भूभागमा मुख्य बसोबास भएका चेपाङहरु शिक्षाको क्षेत्रमा सहर र सुगम ठाउँमा बस्नेहरु भन्दा पछाडि परेका छन् । त्यसैले पदमले स्कुल सुधार गरेर चेपाङ समुदायलाई शिक्षित बनाउने अभियानमा होमिए ।
मायाटार स्कुलमा दुई सय जना जति विद्यार्थी छन् । ८० प्रतिशतभन्दा धेरै विद्यार्थी चेपाङ समुदायका बालबालिकाहरु छन् । त्यो पहाडी भेगमा चेपाङहरुकै बाक्लो बसोबास छ । त्यसैले उनैका बालबच्चाहरु पढ्न आउँदा अरुभन्दा धेरै हुने नै भए । विद्यालय क्षेत्रभित्र ठाउँठाउँमा गुजुप्प परेको गुरुङ समुदायको बस्ती पनि छ । १५/२० प्रतिशत बालबालिका गुरुङ र अन्य समुदायका छन् ।
छेबर अर्थात छोरा जन्मेपछि पहिलो पटक कपाल काट्ने चलन चेपाङको हैन भन्छन् पदम । तर गाउँ वरपर बस्ने गुरुङ समुदायको देखासिखीमा लागेर चेपाङहरुले पनि छेबर गर्न थाले भन्छन् उनी । ‘तीन लाख रुपैयाँ ऋण गरेर छेबर राख्छन् । दान दक्षिणामा एक लाख जति उठाउँछन् । दुई लाख त ऋण नै रहने गर्दछ,’ पदमले सुनाए । देखासिखीमा यो मात्रै हैन अन्य चलन पनि आयो, खर्च बढ्यो भन्छन् उनी ।
आमा बुबाको मुख हेर्ने चलन पनि गाउँ आएको छ । ‘आफ्नो आमा बुबालाई मिठो खुवाउनु बेठिक हैन होला रे । तर अचेल यो पनि भड्किलो भयो । डिउ, कोकाकोलाको ठूलो जम्बो बोत्तल ल्याउँछन् । एउटा दुईवटा हो र टन्नै ल्याउँछन् । यसले के फाइदा भयो ?,’ पदमले प्रश्न गरे । चेपाङले बहुराष्ट्रिय कम्पनीलाई सपार्ने काम गरेको उनले बताए । निकै विपन्न चेपाङ समुदायको यो भूमिका उनलाई पटक्कै मन परेको छैन ।
बिहेमा भोज भतेर बढी हुने गरेको र दाइजो प्रथा बिउतिने खतरा उनले देखेका छन् । ‘चेपाङ समुदायहरु एक दिन भतेर राख्छन् । अर्को दिन जन्ती जान्छन् र तेस्रो दिन पैतला खप्ट्याउन जाने भन्ने चलन छ । यसरी बिहेको रित तीन तीन दिन लम्ब्याउँदा त खर्च मात्रै बढ्ने हो,’ पदमले भने । भाँडाकुँडा दाइजो दिने गरेको देख्दा उनले यसलाई रोक्नै पर्ने बताउँछन् । नभए चेपाङहरुले कतै पुरानो प्रथा जगाउने हुन् कि भन्ने डर उनलाई छ ।
‘पहिला पञ्चायतकालतिर या त्योभन्दा पनि पहिला हुनेखाने चेपाङहरुले छोरीलाई बिहेमा २२ सय रोटी, २२ सय बोत्तल रक्सी, २२ धार्नीको सुँगुर र २२ घरी केरा दिएर पठाउँथे रे । यसो गर्नेहरु २२ नाले खन्दानी भनेर प्रचलित थिए । कतै फेरि त्यही चलन पो ब्युतिने हो कि ? अचेल भाँडाबर्तन दाइजोमा दिन थालेका छन्,’ पदमले भने । आर्थिक रुपमा पछाडि परेको चेपाङ समुदाय सांस्कृतिक रुपमा भड्किलो हुन थालेकोमा उनी चिन्तित छन् ।
विद्यालय खुलेका दिन बिहानदेखि साँझसम्म स्कुलमै बिताउने प्रधानाध्यापक पदम शनिबार र बिदाको दिन यी समस्यामा छलफल गर्न गाउँ डुल्ने गरेका छन् । ‘विद्यालयको सेवा क्षेत्रभित्रका चेपाङ गाउँहरु हेप्चे, दुम्किम, मायाटार, हुर्केस, डाडाँ गाउँ, तेस्रे ल्यानदार र थापथलीमा यो हिउँदभरि अभिभावक भेला राखेर हामीले यही विषयमा कुरा गर्यौं,’ पदमले भने । शिक्षा र आधुनिक कृषिले मात्रै चेपाङ समुदायको भलो हुने उनले बताउने गर्दछन् ।
उनको गाउँमा एक जना अगुवा भीमबहादुर चेपाङका माइला छोराले गाउँमा तरकारी खेती गरेर अरुले भन्दा राम्रो आम्दानी लिएका छन् । उनी अरु गाउँलेलाई पनि यसै गर्न आग्रह गर्दछन् । मायाटार गाउँको वरपर रिग्दी खोला बेरिएर बगेको छ । ‘यही खोलामा माछा हुर्काउँ, यहीकै माछा बिहेमा उपयोग गरौं । यसो गर्दा पो राम्रो होला र भन्छु । माछा पनि जोगिने, स्वादिलो कोसेली पनि हुने’ पदमलाई मनमा लागेको कुरो यस्तो रहेछ ।
मायाटारमा अहिले कालोपत्रे भएको साँघुरो साँघुरो सडक पुगेको छ । पूर्व पश्चिम महेन्द्रराजमार्गको रत्ननगरबाट झन्डै १२/१५ किलो मिटर उत्तरमा छ स–सानो पहाडी बजार शक्तिखोर । त्यहाँबाट घुमाउरो उकाली ओराली १७ किलोमिटर पहाडि बाटो हिँडेपछि मायाटार पुगिन्छ । अहिले भरतपुर मायाटारको दुरी गाडीमा डेढ घन्टा जति हो । तर पहिला यो कल्पनाभन्दा बाहिरको कुरा थियो । शक्तिखोर झर्न नै चारदेखि ६ घन्टा लाग्थ्यो ।
शक्तिखोर आएपछि बल्ल गाडी चढ्न पाइन्थ्यो । गाउँमा मोटरसाइकल चलाउन मिल्ने बाटो गएको नौ १० वर्ष न भयो । सडक कालोपत्रे भएको वर्ष दिन पनि पुगेको छैन । तर अझै पनि गाडीहरु फाट्टफुट्ट मात्रै जान थालेका छन् । बिजुलीको पोल बल्ल पुगेको छ, बत्ती खै कहिले बल्छ ? यस्तो ठाउँमा २८ सालमा स्कुल खुलेको हो ।
सो स्कुलमा कक्षा ५ सम्म पढेपछि पदम ६ कक्षा पढ्न दुई अढाई घन्टा परको काउले गाउँमा रहेको जनप्रिय स्कुल गए । जंगलको बाटो जानु पर्दथ्यो । बिहानी स्कुल हुँदा कक्षा भेटाउन चारै बजे घरबाट दगुर्नु पर्दथ्यो । जंगलै जंगल रातबिरात हिँड्दा डरै डर थियो । पदमले आफू पढेर गाउँमै मास्टर हुने र मावि स्कुल चलाउने सपना बुने । तत्कालीन एसएलसी परीक्षा दिएर उत्तीर्ण भएपछि भरतपुर गएर आईएड पढ्न थाले ।
भरतपुरको सप्तगण्डकी क्याम्पसमा पढ्ने उनी कोठा लिएर बस्थे । ६ महिना नभइ घर जाँदैन थिए । ‘म घर गएर फर्केको चाल पाएपछि कोठा भाडा माग्दै घरबेटी आउँथे । उधारो खाएको पैसा चाहियो भनेर पसलेले अत्याउँथे । त्यसैले घर नगइ बस्थे । घर जान्छु र ल्याएर तिर्छु भन्दै टार्नु पर्ने बाध्याता थियो,’ पदमले भने । घरमा आम्दानी हुने मेसो केही थिएन । बाबाले एक सयको तीन रुपैयाँका दरले ऋण खोज्थे ।
'विद्यालयको भवनमा आमूल परिवर्तन भएको छ । तर शिक्षाको गुणस्तर सुधार्न बाँकी नै छ,' भन्छन् उनी । त्यसैले पढाइमा कमजोर विद्यार्थीलाई विद्यालय समयभन्दा थप एक घन्टा निःशुल्क पढाउँछन् । कम्युटरमा विभिन्न कामहरु गर्दछन् । त्यसैले चार बजे हैन झमक्क साँझ परेपछि मात्रै उनी विद्यालयबाट बाहिर निस्कन्छन् ।
ऋण पाउन समय लाग्थ्यो । त्यसैले उनी कम्तिमा ६ महिना बिराएर घर जान्थे र ऋण खोजेको पैसा ल्याएर फि, घर भाडा र उधारो उम्काउँथे । आईएड उत्तीर्ण हुँदा उनलाई ४५ हजार रुपैयाँ ऋण लागेको रहेछ । आईएड पास भएपछि ६४ सालमा गाउँमा आएर पढाउन सुरु गरे । दुई चार महिना स्वयंसेवी भएर काम गरे । पछि दसैं पेश्की र अन्य सुविधा केही नपाउने पढाएबापत १२ महिनाको तलब मात्र लिने शर्तमा निजी स्रोतमा बसे ।
सो स्कुल ६४ सालसम्म कक्षा ५ सम्म मात्रै पढाइ हुन्थ्यो । ६९ सालबाट कक्षा ८ पनि सुरु भयो । पदमले ६८ सालमै अस्थायी दरबन्दीमा नियुक्ति पाए । त्यसको एक महिनापछि विद्यालयको प्रधानाध्यापक भए । स्वीकृति पाए पनि सो अनुसारको दरबन्दी थिएन । धेरै शिक्षक निजी स्रोतमा थिए । उनीहरुको तलबको व्यवस्था गर्नका लागि नै धेरै समय खर्च हुन्थ्यो । ७४ सालमा स्थनीय पालिकाले निजी स्रोतका शिक्षकको तलब जिम्मा लियो ।
तस्बिरहरू : रमेशकुमार पौडेल/कान्तिपुर
त्यसपछि पदमले विद्यालयको भवन बनाउन पहल सुरु गरे । स्कुलको भवन निकै पुरानो र ढुंगा माटोको जडान भएको थियो । ७२ सालको भूकम्पले भताभुंग पारेको थियो । पुनर्निर्माण प्राधिकरणले विद्यालय भवन बनाउने कुरा गरेपछि उनले सम्पर्क बढाए । चारकोठे पक्की भवन पहिलो पटक तयार भयो । उनले स्कुलमा पुस्तकालय र कम्प्युटर कक्षा राख्न खोजेका थिए । धेरै ठाउँ यस बारेमा कुरा गरे ।
एक जना सहयोगी भेट भएर पुस्तकालय राख्न स्कुल पुगे । स्कुलमा भवन नै नभएको देखेपछि सहयोग गर्ने बचन दिएकाले विचार बदले । पहिला पुस्तकालय हैन थप भवन नै बन्ने भयो । यसरी बनेको ६ कोठे अर्को पक्की भवनको गत कात्तिकमा उद्घाटन भयो । पहाडी टाकुरामा राम्रा दुईवटा भवन, अलि पर जस्ताले छाएको एउटा दुई कोठे भवन, हेर्दाहेर्दै स्कुल कहाँबाट कहाँ पुग्यो भन्ने लाग्छ ।
बिजुली नपुगेको गाउँमा निकै धाएर उनले एक किलोवाटको सोलार प्लान्ट राखेका छन् । यसबाट कम्प्युटर, प्रिन्टर र प्रोजेक्टरहरु पनि चल्छ । इन्टरनेटबाट विद्यालयका धेरै काम कोठाबाटै गर्न थालेका छन् । धाएर भरतपुर जानु पर्ने बाध्यता छैन । कुनै बेला हिँडेर शक्तिखोर गएर बास बसेर भोलिपल्ट भरतपुर पुग्नु परेको र फर्कदा पनि शक्तिखोरमा बास बसेर बिहान झिसमिसेमा टर्च बालेर हिँडेको अब कथा भएको छ ।
'विद्यालयको भवनमा आमूल परिवर्तन भएको छ । तर शिक्षाको गुणस्तर सुधार्न बाँकी नै छ,' भन्छन् उनी । त्यसैले पढाइमा कमजोर विद्यार्थीलाई विद्यालय समयभन्दा थप एक घन्टा निःशुल्क पढाउँछन् । कम्युटरमा विभिन्न कामहरु गर्दछन् । त्यसैले चार बजे हैन झमक्क साँझ परेपछि मात्रै उनी विद्यालयबाट बाहिर निस्कन्छन् । विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन र सकेसम्म मावि सुरु गर्ने उनको योजना छ ।
बिदाको दिन गाउँ गाउँ जाने गरेका उनले समाजमा परिवर्तन ल्याउने कसरी भनेर घोत्लिरहन्छन् । ‘चेपाङ गाउँमा पहिलाको भन्दा अलि चमक छ । त्यो अरु कारणले भएको हैन । भूकम्पले घर भत्काएपछि पुनर्निर्माण प्राधिकरणको सहयोगले राम्रो गाहारो लगाए । रंगिन जस्ता राखेर घर बनाए । यो त्यसैका कारण आएको रंगिचंगी हो । ‘साँच्चिकै परिवर्तन ल्याउन धेरै काम गर्न बाँकी छ,’ पदमले भने ।
प्रकाशित : जेष्ठ २६, २०८० १२:०५