सन्तानले सम्पत्ति हडपेपछि बिचल्लीमा बाआमा

सम्पत्ति लिएर बाआमाको हेरचाह दायित्वबाट पन्छिने र घर निकाला गर्ने प्रवृत्ति
मन्त्रालयले ज्येष्ठ नागरिकको नीतिगत व्यवस्थामा काम गर्ने भयो, कानुनबमोजिम ज्येष्ठ नागरिकको अधिकार हनन भएको विषयमा छिमेकीले समेत उजुरी गर्न सक्छन् ।-सविता अर्याल-उपसचिव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
ज्येष्ठ नागरिकले सम्मानित जीवनयापन पाउनुपर्ने, उनीहरूको हेरचाह गर्नु हरेक सन्तान वा संरक्षकको दायित्व भनी राज्यले कानुन (ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३) मै तोकेको छ । 
विद्या राई

काठमाडौँ — जेठी छोरी–ज्वाइँ बाआमाको सबै सम्पत्ति आफ्नो नाममा पारेर उनीहरूको हेरचाह र औषधोपचार दायित्वबाट पन्छिएका छन् । अल्जाइमर रोगी कैलाली टीकापुरकी ७९ वर्षीया सुर्जा शाह र उनका बिरामी पति ८४ वर्षीय शेरबहादुर शाहको स्याहारसुसार र उपचारमा समस्या भएको छ ।

अल्जाइमर भएकी सुर्जालाई २४ सै घण्टा नर्सको निगरानीमा राख्नुपर्ने भएकाले धुम्बाराहीस्थित सेकेन्ड इनिङ स्याहार केन्द्रमा राखिएको छ । बिरामी शेरबहादुर कहिले स्याहार केन्द्र त कहिले कान्छी छोरी अर्चनाको घरमा बस्छन् ।

जेठी दिदी लक्ष्मी शाही र भिनाजु कलेन्द्रविक्रम शाहीले ११ वर्षअघि जालसाजी गरेर बाआमाको घरजग्गा हडपेको अर्चनाले बताइन् । लक्ष्मी दम्पती जापानमै व्यवसाय गरेर बस्छन् । ‘लक्ष्मी दिदीले बुबाआमाको सम्पत्ति खान खोजेको त पहिल्यैदेखि हो तर जब जेठो दाइको सम्बन्धविच्छेदको मौका छोपे,’ अर्चना भन्छिन्, ‘सम्बन्धविच्छेद गरुन्जेल मेरो नाममा पारिदिनू भनेर आमाबुवालाई फकाउनुभएछ सम्पत्ति जोगिन्छ भनेर, आमाबुबाले पनि बकसपत्र लेखेर दिनुभएछ, हामी त्यतिखेर नेपालमा थिएनौं धेरै पछि मात्रै थाहा पायौं ।’

जेठो दाइको सम्बन्धविच्छेद गर्ने भएपछि सम्पत्ति जोगिन्छ भनेर दिदीले बाआमा दुवैको नाममा रहेको जग्गा आफूलाई बकस लिइन् । सम्बन्धविच्छेदपछि भाउजूले यो थाहा पाएपछि उनले मुद्दा गरेर आफ्नो भागको सम्पत्ति लिइन् । यसपछि शेरबहादुरले सम्पत्ति फिर्ता गर्न छोरीलाई भनेका थिए । ‘मैसँग त छ नि दिइहाल्छु भनेर कन्भिन्स गर्नुभयो । दिन्नन् भनेर हामीले कल्पनै गरेका थिएनौं, जब उपचार गर्ने बेला खर्च जुटाउनुपर्ने भयो, यस्तो बेला पनि नदिएपछि नियत नै खराब रहेछ भन्नेमा पुग्यौं,’ कान्छा छोरा जीवनले भने । कैलाली टीकापुरमा आमाको नाममा रहेको कित्ता नं. ६७९ को ०,०२९१ क्षेत्रफल, कैलालीकै मनिकापुरमा रहेको कित्ता नं. २३७ को १—०—०, कित्ता नं. ४७९० को ०—९—९ र मनिकापुरमै बुबाको नाममा रहेको कित्ता नं. ३२८ को १—५—१५ र कित्ता नं. ३५७ को ०—४—५ क्षेत्रफलको जग्गा लक्ष्मीकै नाममा छ ।

७९ वर्षीया सुर्जाको तीन वर्षअघि मस्तिष्काघात भएपछि उपचारमा धेरै खर्च लाग्न थाल्यो । उनी अल्जाइमर ग्रसित छन् । रोगले च्यापेपछि जतिखेरै अस्पताल पुर्‍याउनुपर्छ । नियमित उपचार र स्याहार केन्द्रमा राखिरहनुपर्ने भएकाले खर्च धान्न धौधौ परिरहेको अर्चना र जीवनले सुनाए । ‘बुबालाई पनि उपचार गर्नुपर्ने, ‘डे केयर सेन्टर’ मा राख्नुपर्ने, आमाको उपचार र हेरचाहको खर्च गरेर महिनामा कम्तीमा पनि एक लाख खर्च हुन्छ,’ जीवनले भने, ‘हामीले सकेको खर्च गर्‍यौं धान्नै नसक्ने भएपछि दिदीले राखेको सम्पत्ति आमाबुबाकै हो, त्यसबाटै खर्च जुट्थ्यो कि भनेर हामीले तीन वर्षदेखि मागिरहेका छौं, नाइँ दिन्नँ नभन्ने तर कहिल्यै नदिने ।’

सन्तानले वृद्धावस्थाका अशक्त बाआमाको स्याहारसुसार तथा औषधोपचार गर्नुपर्नेमा जाल परिपञ्च र झुक्यान गरी बाआमाको पैतृक सम्पत्ति आफ्नो नाममा पास गरेको र बाआमाको सबै सम्पत्ति लिएर जेठी छोरी बिरामी बाआमाको हेरचाह र औषधोपचारको दायित्वबाट पन्छिएको भन्दै २०७९ चैत १३ मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग, टीकापुर नगरपालिकाको न्यायिक समितिमा, चैत २३ गते परराष्ट्र मन्त्रालयमा अर्चना र जीवनले उजुरी हाले ।

डोटी पुर्ख्यौली घर भएका दिदीभिनाजुको काठमाडौंको बानेश्वरमा पनि घर रहेकाले काठमाडौं महानगरको न्यायिक समितिमा उजुरी गरे । उजुरीपश्चात दिदीभिनाजुले आफूमाथि धाकधम्की, झैझगडा गर्ने मनसायले त्रसित बनाएको भन्दै जीवनले चैत १९ मा प्रहरी परिसर काठमाडौंमा शान्ति सुरक्षा पाउँ भनी निवेदन दिएका छन् । बुबा शेरबहादुरले पनि सम्पत्ति लिने तर दायित्व पूरा नगर्ने कार्य मानवीय तथा नैतिक रूपमा समेत अक्षम्य भएकाले कानुनबमोजिम दण्डित गर्न माग गर्दै वैशाख २४ मा परराष्ट्रको कन्सुलर सेवा विभागमा उजुरी दिएका छन् ।

***

काठमाडौंमा उच्च पदस्थ सरकारी कर्मचारीबाटै बाआमाको सम्पत्ति लिएर हेरचाह दायित्वबाट पन्छिने अथवा घर निकाला गरिएको बारे दुई वर्षअघि सार्वजानिक भएको घटना हेरौं । बाआमालाई पालनपोषण गर्ने भन्दै आफ्नै छोरी–ज्वाइँले चल/अचल सम्पत्ति मरणोपरान्त आफ्नो नाममा हुने गरी कागज बनाए । तर उनीहरूले आमाबुबाको मृत्यु हुनुअघि नै किर्ते गरेर बुबाको नाममा रहेको माछापुच्छ्रे बैंक, सिर्जना फाइनान्स र अरनिको सहकारीबाट ४ करोड ४४ लाख रुपैयाँ नगद र २२ तोला सुन आफ्नोमा नाममा नामसारी गरेपछि ८४ वर्षीया आमा र अपांगता भएकी आफ्नै दिदीलाई काठमाडौं बल्खुस्थित घरबाट निकाला गरे ।

सम्पत्ति हडप्ने माइली छोरी सुष्मा रिजाल रेग्मी राष्ट्र बैंकको निर्देशक र ज्वाइँ कमलप्रसाद जल उत्पन्न प्रकोप नियन्त्रण विभागका पूर्वमहानिर्देशक थिए । घर निकाला गरिएपछि आमाले छोरीविरुद्ध काठमाडौं प्रहरीमा उजुरी गरिन् । प्रहरीले यो घरायसी विवादलाई घरमै मिलाउन भन्यो । विवाद सुल्झाउनुको साटो माइली छोरी सुष्माले आमाविरुद्ध जिल्ला अदालत काठमाडौंमा ‘स्टे अर्डर’ माग गर्दै निवेदन हालिन् । अदालतले सुष्माको माग दाबी खारेज गरेर पक्राउ पुर्जी जारी गर्‍यो । प्रहरीले सुष्मालाई पक्राउ गरेको दुई हप्तापछि उनका पति कमलप्रसादसमेत पक्राउ परेका थिए । सुष्मा दम्पतीलाई ज्येष्ठ नागरिक ऐन–२०६३ विरुद्धको कसुर गरेको अभियोगमा मुद्दा दर्ता गरी कारबाही गरियो । यी प्रतिनिधिमूलक घटना मात्रै हुन् ।

ज्येष्ठ नागरिकले सम्मानित जीवनयापन पाउनुपर्ने, उनीहरूको हेरचाह गर्नु हरेक सन्तान वा संरक्षकको दायित्व भनी राज्यले कानुन (ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३) मै तोकेको छ । तर, आफ्नै सन्तानबाट उल्टै सम्पत्ति नै हडपिएपछि ज्येष्ठ नागरिकहरू बिचल्लीमा पर्ने गरेका छन् । आधुनिकीकरण र पश्चिमी संस्कृतिको बढ्दो प्रभाव, परिवारले बोझ महसुस गर्ने र वृद्धाश्रममा राख्ने परिपाटी बढ्दै गएको, सम्पत्ति नहुँदा अपहेलित, दुर्व्यवहार सहनुपर्ने र अन्त्यमा आफ्नो घरबाट निष्कासित हुनुपर्ने अवस्था देखिएको राष्ट्रिय मानवअधिकार आयोगले वार्षिक प्रतिवेदनमा जेष्ठ नागरिकको अधिकारबारे समीक्षा गर्दै उल्लेख गरेको छ । आफ्नै सन्तती वा हेरचाहकर्ताले सम्पत्ति हत्याउने मनसायले जालसाजी गरेर वा सम्पत्ति कागजातमा हस्ताक्षर गर्न बाध्य पारेर ज्येष्ठ नागरिकको चल/अचल सम्पत्ति सम्बन्धित आर्थिक दुरुपयोग गर्ने र ज्येष्ठ नागरिकहरू सबैभन्दा बढी उनीहरूकै सन्तान र हेरचाहकर्ताबाटै बेवास्ता गरिने पाइएको महिला मन्त्रालयको जर्नलमा उल्लेख छन् ।

***

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा ज्येष्ठ नागरिक संरक्षण शाखाकी उपसचिव सविता अर्यालले पैतृक सम्पत्ति हडपेर आफ्नै सन्तानले ज्येष्ठ नागरिक बाआमालाई घर निकाला गर्ने, स्याहारसुसार दायित्वबोध नगर्ने गरेको गुनासा बेलाबखत आइरहने गरेको बताइन् । ‘मन्त्रालयले ज्येष्ठ नागरिकको नीतिगत व्यवस्थामा काम गर्ने भयो, कानुनबमोजिम ज्येष्ठ नागरिकको अधिकार हनन भएको विषयमा छिमेकीले समेत उजुरी गर्न सक्छन्, तर कार्यान्वयनमा न्यायिक समिति र प्रहरीको जिम्मेवारी हुने गरेकाले हाम्रो हस्तक्षेपकारी भूमिका हुँदैन, गुनासो आएको सन्दर्भमा दुवै पक्ष आउनुभयो भने सम्झाइबुझाइ गरेर पठाउने गर्छौं,’ उपसचिव अर्यालले भनिन् । घरपरिवारमा कलहको विषय बनेको सम्पत्तिमा ज्येष्ठ नागरिकको मात्रै हक लाग्ने र फकाइफुलाइ लिएको सम्पत्ति उजुरी परेमा तत्कालै फिर्ता हुने कानुनी व्यवस्था गर्न सके ज्येष्ठ नागरिकलाई न्याय हुने गत असारमा प्रकाशित महिला मन्त्रालयको सशक्तीकरण जर्नलमा पूर्वसचिव कृष्णहरि बाँस्कोटाले भनेका छन् ।

***

ज्येष्ठ नागरिक ऐनअनुसार सन्तानले नस्याहारेमा आमाबुबाले सन्तानविरुद्ध स्थानीय तहको न्यायिक समिति वा वडाध्यक्षसमक्ष उजुरी गर्न मिल्छ । उजुरी गरिएको निकायमा आमाबाबु र छोराछोरी दुई पक्षबीच मेलमिलाप गराउने प्रयास गर्छन् । मेलमिलाप हुन नसकेको खण्डमा जिल्ला अदालतबाट कारबाही प्रक्रिया अघि बढाइन्छ । ऐनबमोजिम सन्तान वा परिवारका सदस्य वा हकवालाले पालनपोषण वा हेरचाह नगरेमा तीन लाख रुपैयाँसम्म जरिवाना र ज्येष्ठ नागरिकको इच्छाविपरीत अलग बस्न बाध्य पारेमा तीन महिनासम्म कैद वा १० हजारदेखि ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।

‘घरबाट निकाला गरेमा वा खान लाउन नदिएमा घरेलु हिंसासम्बन्धी ऐनअन्तर्गत मुद्दा हाल्न मिल्छ । यसअन्तर्गत ६ महिना कैद वा ३ हजारदेखि २५ हजारसम्म जरिवाना वा दुवै हुन सक्छ । तर ज्येष्ठ नागरिक ऐनअनुसार उजुरी हालेमा अदालतले आदेश गर्नुपर्छ,’ अधिवक्ता विष्णु बस्यालले भनिन्, ‘६० वर्षमाथिका बाआमालाई हेरचाह दायित्वबाट सन्तान पन्छियो भने ऊ विदेशमै बस्छ भने पनि बाआमाले उजुरी हाल्न मिल्छ । स्थानीय तहबाट नसुल्झिए, अदालतबाट न्याय दिलाइनुपर्छ ।’

प्रकाशित : जेष्ठ २५, २०८० १०:५७
प्रतिक्रिया
पठाउनुहोस्