१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

पहेँलो कछुवाको ‘रोमान्स’

गोविन्द पोखरेल

सालबारी(झापा) — झापाको सुखानी सहिद स्मृति उद्यान परिसरमा रहेको कछुवा उद्धार तथा संरक्षण केन्द्रमा वैशाखको पहिलो सातासँगै पहेँलो कछुवा वरिपरिका पोखरी नजिक देखा पर्छन् । कुनै स्थानमा कछुवाले कछुवालाई पछ्यारहेको देखिन्छ । विभिन्न ठाउँबाट उद्धार गरेर ल्याइएका 'पहेँलो कछुवा' यहाँ आधा दर्जनजति छन् ।

पहेँलो कछुवाको ‘रोमान्स’

केन्द्र परिसरको ठूलो क्षेत्रफलमा कछुवाका लागि चाहिने प्राकृतिक बासस्थान निर्माण गरिएको छ । उनीहरूका लागि चाहिने सबै किसिमको वातावरण तयार गरिएको छ । अरुबेला पात तथा झाडीमुनि लुकेर बस्ने यी पहेँलो कछुवा वैशाखपछि ‘रोमान्टिक’ बन्छन् । जाडो छल्न लुकेर बस्ने यो सर्वहारी जीव मनसुन सुरु भएसँगै प्रजनन्‌का लागि सक्रिय हुन्छ ।

कछुवामा विद्यावारिधि गरिरहेका अनुसन्धनकर्ता तपिल प्रकाश राईका अनुसार यो कछुवालाई 'इलंगेटेड टर्टोराइज' अर्थात् 'इन्डोटेस्टुडो इलोंगेटा' पनि भनिन्छ । मध्यम आकार हुने यो कछुवाको तौल साढे ३ केजीसम्म हुन्छ ।

साईटिसको अनुसूची-२ मा सूचिकृत यो जीव अति संकटापन्न प्रजातिमा पर्छ । यो कछुवा बाघभन्दा पनि संकटमा रहेको छ । नेपालमा यो जीव सालका जंगलमा पाइन्छ । यो पूर्ण रुपमा जमिन बस्ने सरिसृप हो । नेपालबाहेक भुटान, बंगलादेश भारतका उत्तरी क्षेत्रमा पाइने गर्छ । आईयूसीएनका अनुसार यो जीव अधिकतम् एक हजार मिटरको उचाइसम्म पाइएको उल्लेख छ । धेरै नै आद्रता भएको खोला तथा पानीको छेउछाउमा यो कछुवा पाइने गर्छ ।

मेची क्याम्पसमा प्राध्यापनसमेत गराइरहेका राई भन्छन्,‘ यो प्रजातिको कछुवा मनसुन सुरु भएसँगै सक्रिय हुन थाल्छन् । केन्द्रमा चाही भाले र पोथी कछुवाको समागम मे महिनादेखि जुलाईसम्म रहको पाइएको छ । ’

अनुसन्धानकर्ता राई । तस्बिरः गोविन्द पोखरेल/कान्तिपुर

भोलेको तुलनामा पोथी अलिक गोलाकारका हुन्छन् । प्रजननको समयमा आँखा र नाकको छेवैमा विशेष गरेर गुलाबी रंग देखिन्छ । प्रजननको बेला भाले निकै नै आक्रामक हुन्छ । पोथी कछुवालाई भालेले पछ्याउने, सताउन खोजे जस्तो अगाडिको नाक जुधाउने,खबटामा मुख लगेर रगट्न खोज्छ । पोथीलाई आर्कषण गर्न यसरी भालेले करिब ८ दिनसम्म लगाउने अध्ययनहरूले देखाएका छन् । प्रजनन्‍को समय चाहिँ ५ देखि ८ मिनेटसम्म्म हुने अध्ययनहरूले देखाएका छन् ।

प्रजननको समयमा पहे‌ँलो कछुवाको आँखा र नाकको केही भाग गुलाबी हुने गर्छ ।

एक पटकमा यो प्रजातिको कछुवाले ३ देखि १० वटासम्म फूल पारेको पाइएको छ । पोथीले खाल्डो खनेर फूल पार्ने र पुर्ने गर्छ । त्यसरी फूल छोपेको ७ देखि ९ महिनापछि कछुवाको बच्चा जमिन खोस्रेर निस्कने गर्छ । प्राकृतिक अवस्थाबाहेक नियन्त्रण गरेर संरक्षण गरेर राखिएको स्थानमा वर्षभरी नै फूल पार्ने अध्ययनहरुले देखाएका छन् ।

पहेँलो कछुवाले हरहरे सर्पलाई खाएको पाइएको छ । उद्धार केन्द्रमा रहेको पहेंलो कछुवाले ४ वर्षअघि हरहरे सर्प खाएको पाइएको थियो । यो प्रजाति विशेष गरेर धार्मिक र घरमा पाल्नका लागि चोरीशिकार हुँदै आएको छ । कछुवा उद्धार केन्द्र झापामा ललितपुरस्थित एक मन्दिरमा राखिएको यही प्रजातिको कछुवा पनि राखिएको छ । हाल राईले यसको बासस्थान,खानपिन,रहनसहन, प्रजननलगायतका विषयमा अध्ययन गरिरहेका छन्।

उद्धार केन्द्रमा रहेको कछुवा बच्चा । यो कछुवा करिब ३ वर्षको छ ।

कुछवाको संरक्षणका लागि सबैको सहयोग आवश्यक रहेको बताउँदै तपिलले स्थानीय स्तरममा कछुवा भेटिए नजिकैको वन कार्यालय तथा उद्धार केन्द्रमा खबर गर्न आग्रह गरेका छन् । कछुवाको संकलन,शिकार बिक्री तथा ओसारपसार गर्ने काम कानुनी रुपमा दण्डनीय छ भन्ने जानकारी सबैमा नपुग्दा अझै पनि कछुवा धेरैको घरमा प्रयोग हुने गर्छ ।

प्रकाशित : जेष्ठ २१, २०८० १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?