कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

'सौन्दर्य केही होइन, तपाईंलाई जोगाउने कामले हो'

पशुपति राई अभिनयमा झण्डै २ दशक बिताइसकेपछि नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो'मा पहिलो पटक लिड रोलमा देखिँदैछिन् । विपिन कार्कीसहितका समकालीनहरू स्टार कहलिँदा पशुपतिको अभिनय यात्रा कता अलमलियो ?
रीना मोक्तान

काठमाडौँ — पशुपति राई 'खरीको घेरो'मा प्रमुख भूमिकामा देखिँदा विपिन कार्की ढोके बनेर छेवैमा उभिरहन्थे । नाटकमा विपिनको भूमिका थोरै । पशुपतिले गुरुकुलमा त्यस्ता थुप्रै नाटक गरिन्, जहाँ विपिन स-साना भूमिकामा देखिन्थे । दशकपछि स्टेजको त्यो दृश्य ठूलो पर्दामा आइपुग्दा ठ्याक्कै उल्टियो । अहिले विपिन लिडमा देखिन्छन्, पशुपति सहायक ।

'सौन्दर्य केही होइन, तपाईंलाई जोगाउने कामले हो'

विपिन चल्तीका स्टार भइसके, पारिश्रमिक लिन्छन् लाखौं । तर, पशुपति सहायक नै । उनी अभिनयमा अब्बल । तर, समकालीन साथी विपिन स्टार कहलिँदा अभिनयको यो यात्रामा पशुपति कहाँ छुटिन् ? स्टेजबाट पर्दासम्म आइपुग्दा त्यो स्थान कसरी गुमाइन् त ?

उत्तर सजिलो छ, पशुपति बजारको परम्परागत सौन्दर्यको दृष्टिकोणमा अटाइनन् । बजारले सधैँ कथित 'चिट्टिक्क अनुहार', 'मिलेको शरीर'लाई 'हिरोइन' मान्यो ।

'बजारले चिम्सो आँखा, थ्याप्चो नाकलाई कहिल्यै सौन्दर्य मानेन । कति फिल्मकर्मीले त तपाईंहरू सबै एउटै देखिनुहुन्छ पनि भनिदिन्छन् । खासमा सौन्दर्य मापदण्डमाथि बहस हुन जरुरी छ । महिलाहरूको हकमा अझै पनि सौन्दर्यको मापन हुन्छ । बजारले सधैँ अनुहारको बनोट र शरीरको संरचना हेर्छ,'पशुपति सुनाउँछिन्,'अहिले केही जनजाति कलाकार चलेका छन् । तर, ती फिल्ममेकर हेरौं? अझै पनि अन्य समुदायका फिल्मकर्मीलाई यो कुरा पचाउन गाह्रो छ । उहाँहरूमा जनजाति कलाकारले बक्स अफिस धान्दैन भन्ने नै छ । त्यो धान्न नसक्ने शब्द मलाई ठीक लाग्दैन, केचाहिँ धान्न पर्ने हो र ? कोही कलाकार राम्रो लाग्छ भने उहाँबाट काम निकाल्न सक्ने क्षमता तपाईंमा हुनुपर्‍यो ।'

धेरै फिल्मकर्मीले पशुपतिलाई भन्ने गर्छन्,'तिमी असाध्यै राम्रो अभिनय गर्छौ । दु:ख पनि गर्छौ ।' जब उनीहरू फिल्म निर्माणमा होमिन्छन् । तब एउटै कुरा दोहोर्‍याउँछन्,'सानो रोलमा पनि तिमीले बबाल गर्छौ ।' फिल्मकर्मीले अभिनयभन्दा पनि अनुहार नै हेर्ने गरेको पशुपतिको अनुभव छ । 'हामीलाई चान्स नपाएको देखेर दु:ख पनि लाग्छ रे । तर, जब चान्स दिने बेला आउँछ । निर्माताले सामान्य कलाकारले धान्दैन, स्टार नै चाहियो भन्छन् भनेर पन्छिन्छन् । उनीहरूले हाम्रो काम हेर्दैन, स्टार नै खोज्छ,'उनले भनिन्,'वर्षौंदेखि म यहाँ छु । तर, मैले यति काम गर्न सक्छु भनेर विश्वास पनि गरिदिँदैनन् । दु:ख त्यतिबेला लाग्छ ।'

अभिनयमा १८ वर्ष बिताइसकेपछि बल्ल पशुपति लिड रोलमा देखिँदैछिन्, नवीन सुब्बा निर्देशित 'गाउँ आएको बाटो'मा । हुन त यसबीच पशुपतिले थुप्रै फिल्म गरिन् । सबैमा सहायक । 'कब्बडी'बाट फिल्मप्रेमी दर्शकबीच पनि चिनिइन् । जनजाति समुदायबाट कथा भन्नेहरू जन्मिएकाले पनि पर्दामा स्थान पाउने गरेको सुनाउँछिन् । 'सौन्दर्यको मापदण्डमा म कतै पर्दिनँ । न हाइट, न अनुहार । अहिले पनि पर्दिनँ । हो, म १८ वर्षपछि लिडमा देखिँदैछु । तर, मलाई लिडमा लिने को हो त? हाम्रै समुदायका मानिसले हाम्रै कथा भन्दैछ र त म अटाएँ । यदि त्यो कथा अरु समुदायले बनाउँथ्यो भने म कतै अटाउँदिन थिएँ कि ! बजारले जसलाई सुन्दर मान्छ, उनीहरूलाई नै फिल्ममा लिन्छ,'पशुपति भन्छिन्,'सुरुमा दयाहाङ राई आउनुभयो । विस्तारै रामबाबु गुरुङका फिल्महरू हिट भइदिए । जब हाम्रा कथाहरू आउन थाल्यो तब हामीले स्थान पाउन थाल्यौं ।'

नवीन सुब्बा, रामबाबु गुरुङजस्ता फिल्ममेकर नआइदिएका भए पशुपतिले मुख्य भूमिका पाउन अझै २५-३० वर्ष नै कुर्नुपर्थ्यो होला । 'गाउँ आएको बाटो'मा पनि सुब्बाले विश्वास नगरिदिएका भए, सायदै उनी लिडमा देखिन्थिन् । पोस्ट प्रडक्सनमा रहेको यो फिल्मको उक्त भूमिकामा पनि धेरै अभिनेत्री खोजिएको रहेछ । निर्देशकले पशुपतिलाई विश्वास गरे, अनि पाइन् पर्दामा लिड भूमिका । 'अहिले चलेका अभिनेत्रीहरूलाई फिल्ममा खेलाउने कि भन्ने कुरा भएको रहेछ सुरुमा । जो राम्री हुनुहुन्छ, कम उमेरका हुनुहुन्छ । सुरुमा मेरो नाम आउँदा हुँदैन भन्ने खालका कुरा पनि चलेछ । तर, निर्देशकले यतिको चरित्र बुझ्ने पशुपति नै हो भनेर भन्नुभएको थियो रे ! त्यो सुन्दा खुसी लाग्यो,'पशुपति फिल्ममा जोडिँदाको क्षण सम्झिन्छिन् ।

'गाउँ आएको बाटो'मा जोडिँदाको रमाइलो प्रसंग पनि छ । 'फिल्म बनाउँदैछु' भनेर नवीन सुब्बा हरेक भेटमा पशुपतिलाई भनिरहन्थे । ठट्यौली शैलीमा सुब्बा भन्थे, 'फिल्म खेल्ने हो भने १०/१५ केजीचाहिँ घटाउनुपर्छ है! त्यतिबेला पशुपति थिइन् वजनदार । मध्यमवर्गीय परिवार, गाउँको पात्र । घरबारीको काम सम्हाल्ने महिलाको वजन पक्कै त्यति हुँदैन । तर, त्यतिञ्जेल फिल्म बन्ने पक्का पनि भइसकेको थिएन । तर, पशुपतिले घट्न सुरु गरिन् ।

मौखिक कुराकै आधारमा वजन घटाउँदा फिल्ममा लिँदैन कि भन्ने शंका लाग्यो । तर, निर्देशक सुब्बाले पशुपतिलाई लिने आँट गरे । पशुपतिले काम देखाउने मौका पाइन् । 'लामो समय भयो अभिनयमा लागेको । त्यो हेर्दा यो फिल्म कोशेढुंगा नै हो । राम्रो टिमसँग काम गर्न पाएकोमा भाग्यमानी छु । यो फिल्मपछि भयंकर के-के होला भनेर सोचेको छैन । तर, यतिका वर्षको अनुभवले के सिकायो भने एउटा फिल्मले रातारात माथि पुर्‍याउँदैन,' उनले भनिन्,'नोटिस भने गराउन सक्छ । यो फिल्मले पशुपति राई भन्ने कलाकार पनि यो उद्योगका लागि काम लाग्छ है भन्ने देखाउला । त्यसमा मैले काम देखाउन पाएकी छु ।'

आफूजस्ता कलाकारका लागि आफ्नो समुदायको कथा भन्नेहरू आवश्यक देख्छिन्, पशुपति । 'यतिका वर्षपछि बल्ल त हाम्रो कथा दर्शकले हेर्न पाउँदै हुनुहुन्छ । त्यसैले हाम्रो कथा लेख्ने, बनाउने मानिस धेरै आउनुपर्छ अनि मात्र हामीजस्ता कलाकारले कहीँ न कहीँ स्थान पाउँछौं र टिकिरहन सक्छौं,' मुसुक्क हाँस्दै सुनाइन्, 'काम पाइनँ, त्यसैले सौन्दर्यका बहानामा गुनासो गरिरहन्छिन् भन्ने लाग्न सक्छ ।' तर, यो पशुपतिजस्ता ती कलाकारको पनि पीडा हो जो अभिनयमा कौशल हुँदाहुँदा छोटो भूमिकामा खुम्चिए । सौन्दर्य मापदण्डमा रंगमञ्च अलि उदार छ । त्यसैले पशुपति रंगमञ्चमै रमाउँछिन् ।

व्यावसायिक फिल्मले सधैँ १८/१९ वर्षको उमेरको प्रेमकथा भनिरह्यो । त्यसैले उनीहरूले रोजे चिट्टिक्कका अनुहार । त्यही उमेर समूहका कलाकार । तर, पशुपतिको उमेर समूहको कथा कसले लेखिदिने ? त्यसैले लेखनमा महिला लेखक चाहिने पशुपति बताउँछिन् । 'यो सौन्दर्य मापदण्डका कुरा हट्न समय लाग्ला । तर, हाम्रो उमेर समुहको कथा लेखिदिने महिला लेखक चाहियो । अनि बल्ल हाम्रो पालो आउला,'उनी भन्छिन्,'काम गर्न हतार छैन । हो, १६/१७ वर्षको चरित्र नगरिएला । त्योभन्दा माथि उमेर समूहको कथा कति भनिन बाँकी छन् । २५/३०/४० को कथा लेखिन बाँकी छ । कस्सो त्यो चरित्रहरू नआउला, हेरौं कति दिन कुर्नुपर्छ।'

पछिल्लो समय फिल्म 'कब्बडी'देखि 'जारी', नाटकमा 'खुवालुङ', 'चोरको स्वर'ले बक्स अफिसमा तहल्का पिट्यो । त्यसैले 'अहिले जनजातिकै फिल्म मात्र चल्छ' भन्नेहरू निस्किए । तर, उनीहरूका लागि पशुपतिसँग जवाफ छ । 'तपाईंहरूको फिल्म दशकौं चल्यो । तर हाम्रो समुदायको २/४ वटा फिल्म चल्दा जनजातिको फिल्म कति चलेको भनेर दिक्क मान्नुहुन्छ । वर्षौं तपाईंहरूकै कथा भनिरहेपछि अब सिद्धियो होला कथा पनि । अब त हाम्रो कथा भन्ने पालो होला ।'

थिएटरका कलाकारलाई कलाकारभन्दा पनि कामदारका रूपमा व्यवहार गरिएको पशुपति सुनाउँछिन् । हालै, उनी एउटा प्रोजेक्टमा अनुबन्धित भइन । आफू 'म्याकबेथ म्यासकर'मा व्यस्त भएकाले समय मिलाउन टिमसँग कुरा गरिरहिन् । ग्रान्ड रिहर्सलको २ दिन अगाडि प्रोजेक्टको काम गर्ने योजना बन्यो । सम्झौता भएर पहिलो किस्ताको पारिश्रमिक लिइसकेकी थिइन् ।

तर, अन्तिममा आएर नाटक प्रिमियरकै दिन प्रजेक्ट गर्ने कुरा आयो । अब पशुपतिले समय निकाल्न सक्ने कुरै भएन, उनको ठाउँमै अर्कै कलाकार लिइयो । 'हामीजस्तो थिएटरको कलाकार जो राइजमा छ, उनीहरूमा यस्तो गर्ने प्रवृति छ । यस्तो काम स्टारहरूलाई त कमै गर्छन् । अहिले पनि कलाकारलाई कलाकार होइन कामदारका रूपमा व्यवहार गर्छन्,'पशुपतिले भनिन्,'त्यही माथि हाम्रो जमातले यो सौन्दर्य चेतसँग लडिरहनुपर्छ ।'

८ वर्षमा गुरुकुलमा ३० भन्दा बढी नाटक गरेकी पशुपति थिएटरमा स्थापित नाम हो । 'बाठी रानी','मायादेवीको सपना', 'बाघ भैरव', 'सपनाको साविति', 'नेपाली आमा', 'एल्ममुनिको तिर्खा'लगायत ३० भन्दा बढी नाटक गुरुकुल हुँदै गरिन् । पछिल्लो समय 'देउराली डाँडी', 'खुवालुङ', 'रमाइलो', 'एन्टिगोनी', 'म्याकबेथ म्यासकर', 'अर्जुनाज डिलेमा'लगायतमा अभिनय गरिन् । हालै प्रदर्शनमा आएको 'हल्कारा'मा छोटो भूमिकामा देखा परिन् । तर, त्यही छोटो भूमिकामा गरेको सशक्त अभिनयले फेरि पशुपतिले चर्चा बटुलिन् । उनी चरित्र निर्माणमा पात्रको आदर्शदेखि पृष्ठभूमि खोजेर अभिनय गरिरहेकी हुन्छिन् । 'एउटा चरित्रको ब्याकस्टोरी खोज्ने । मूल कथामा त्यो चरित्र कसरी जोडिन्छ भन्ने कुरा आउँछ । त्यति मात्र होइन, त्यो चरित्रको हाउभाउ, चालचलन बुझ्नुपर्छ । उसको आदर्श के हो भन्ने खोज्छु म,'चरित्र निर्माणका प्रक्रिया सुनाउँछिन्,'गाउँ आएको बाटो गरिसकेपछि भने चरित्र निर्माण स्क्रिप्टमै बसेर गर्नुपर्छ भन्ने सिकेँ ।'

अभिनयको यो यात्रालाई फर्केर हेर्दा जीवनका उकालीओरालीले पशुपतिलाई खुसी बनाउँछ । यसबीच सँगै अभिनय गरेका साथीहरू कता पुगे कता । तर, पशुपति अभिनय गरिरहेकै भेटिन्छिन् । यही यात्रामा एक जनाले मुखैमा भने,'तिमीले केही गर्न सक्दैनौ । न अनुहार परेको छ, न बोली शुद्ध ।' त्यो कुराले पशुपतिलाई धेरै दिनसम्म चिमोटिरह्यो । अहिले त्यही व्यक्तिसँग पशुपति ठोक्किरहन्छिन् । 'त्यो रात एकदम रोएँ । त्यहीबेला म यो क्षेत्रमा पछिसम्म रहन्छु भनेर कमिटमेन्ट गरेको थिएँ,'पशुपति त्यो क्षण सम्झँदै भन्छिन्,'त्यो मान्छेले रूपको वर्णन गरेकाहरू कहाँ गए ? तर म यहीँ छु । तपाईं केलाई राम्रो मान्नुहुन्छ ? सौन्दर्य दुई दिनको कुरा हो, तपाईंलाई जोगाउने कामले हो ।'

तस्बिर : केशव थापा/कान्तिपुर

प्रकाशित : जेष्ठ १७, २०८० १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?