हाटबजारमा ज्ञान भण्डार

दिल्ली आउनेका लागि दरियागन्जको साप्ताहिक पुस्तक बजार घुम्नुपर्ने ठाउँका रूपमा प्रचारित छ, अझ पुस्तकप्रेमीका लागि त यो ‘तीर्थस्थल’ नै हो
राजेश मिश्र

नयाँदिल्ली — हाटबजार भन्नेबित्तिकै त्यस्ता साप्ताहिक बजार बुझिन्छ, जहाँ सागसब्जी, खाद्यान्न, लत्ताकपडा, शृंगार सामग्रीलगायतका पसल राखिएको हुन्छ । तर, दिल्लीमा एउटा यस्तो ‘हाटबजार’ छ, जहाँ केवल पुस्तक पाइन्छ । अनेक थरीका पुस्तक । दिल्लीको दरियागन्जमा हरेक आइतबार पुस्तकको हाटबजार लाग्छ । पुस्तकप्रेमीहरूका तीर्थस्थल नै बन्न पुगेको छ उक्त स्थान ।

बजारभरि पाल र तथा भुइँमा पुस्तकका पसल खोलिन्छन् । स्कुल, कलेजका विद्यार्थीदेखि प्राध्यापक, पुस्तकप्रेमी सर्वसाधारणदेखि सरकारी जागिरको परीक्षाका तयारीमा बसेका युवाहरूको आउजाउ उक्त बजारमा देखिन्छ । नर्सरीदेखि पीएचडीसम्मका विद्यार्थीलाई काम लाग्ने पुस्तकहरू उक्त बजारमा भेटिन्छ । त्यसबाहेक अंग्रेजी र हिन्दी साहित्य, इतिहास, भूगोल, कानुन, संविधानका किताबहरू बजारमा जताततै देखिन्छन् ।

दिल्ली आउनेका लागि दरियागन्जको साप्ताहिक पुस्तक बजार घुम्नुपर्ने ठाउँका रूपमा प्रचारित छ । अझ पुस्तकप्रेमीहरू त आइतबार पारेरैसमेत दिल्ली आउँछन् । ६० वर्ष भइसकेको छ यो बजार लाग्न थालेको । त्यति नै उमेरका असर्फीलाल बर्मा उक्त बजारमा किताब बेच्न थालेको दशकौं बितेको छ । पुस्तक व्यापारीहरूको पुस्तानान्तरण हुँदै आएको छ । एउटै परिवारका बाजे, बाबु र छोरापछि नाति यस व्यवसायमा लागेका भेटिन्छन् ।

दरियागन्ज पटरी सन्डे बुक बजार वेलफेयर एसोसिएसनका उपाध्यक्ष रहेका उनले ‘बुक्स फर अल’ अर्थात् पुस्तक सबैका लागि भन्ने यो बजारको उद्देश्य भएको बताए । उनी २५ वर्षदेखि पुस्तक व्यवसायमा छन् । उनका छोरा प्रवीणले पनि यही बजारमा पुस्तक पसल थाप्न थालेको केही वर्ष हुँदै छ । हरेक तह तप्काका मानिस आउन र उनीहरूले सस्तो मूल्यमा आफूलाई चाहिने किताब लिन सकुन् भन्ने यसको उद्देश्य रहेको सुनाए । उनले भनेजस्तै बजार सस्तो पनि छ । बाहिर ५ सय/हजारमा पाइने किताबहरू यहाँ एक सय/दुई सयभित्रै पाइने गरेको छ । भारु २० देखि ३ सयभित्रको दाममा किताबहरू प्रशस्तै भेटिन्छन् । कतिपय किताबहरू किलोको भाउमा जोखेर पनि पाइन्छ ।

‘विद्यार्थीका लागि मात्रै होइन, विभिन्न पेसा व्यवसायका व्यक्तिका लागि सहयोगी हुने पुस्तकहरू पनि बेच्छौं,’ बर्माले सुनाए, ‘खाना कसरी पकाउनेदेखि, इलेक्ट्रोनिक सामान मर्मत, कापेन्ट्री गर्नेसम्मका किताबहरू पाइन्छ । ससाना पेसा व्यवसाय अँगाल्ने मानिसका लागि यो बजार उपयोगी हुन पुगेको छ ।’ इतिहास र पुरातत्त्वका धेरै पुराना किताबहरू जुन ठूला पुस्तक पसलहरूबाट हराइसकेका छन्, त्यस्ता पनि यहाँ पाइने भएपछि पुस्तकप्रेमीहरूका लागि आकर्षकको केन्द्र बन्न पुगेको छ ।

दिल्लीका मात्रै होइन, पूरै भारतका विभिन्न भागबाट किताब खोज्न ग्राहकहरू यहाँ आइपुग्छन् । इन्जिनियरिङ र मेडिकलका महँगा पुस्तकहरू पनि यहाँ सस्तो मूल्यमा पाइने भएपछि विद्यार्थीहरू आकर्षित छन् । इन्जिनियरङका छात्र मोहमद समीर इबरार आफूलाई पुस्तक वा कपीको आवश्यकता पर्दा ‘सन्डे मार्केट’ को प्रतीक्षा रहने गरेको बताउँछन् । ‘धेरै लेखकहरूका किताब पाइने र पुस्तकहरू बाहिरै ओछ्याएर राखेपछि छान्न पनि सजिलो हुन्छ,’ किताब छान्नैमा व्यस्त भेटिएका उनले भने, ‘यहाँ सबैभन्दा महत्त्वपूर्ण हो सस्तो मूल्य । बाहिरको मूल्यभन्दा आधाभन्दा पनि कम रेटमा पुस्तक पाइन्छ ।’

पुस्तक विक्रेतामध्येका तपनकुमार आफूहरूले सस्तो बेच्ने भएकैले बजार बाँचेको बताए । ‘पुस्तक त धेरैतिर पाइएला तर यहाँको मूल्यमा त कतै पाइँदैन । एकै स्थानमा धेरै पसल भेटिएपछि पुस्तक खोज्न ग्राहकलाई धेरैतिर दौडिनु पनि पर्दैन,’ बजारको विशेषता बताउँदै उनले भने, ‘हरेक किसिमको पुस्तक एकैथलोमा कतै पाइन्छ भने त्यो दरियागन्जको सन्डे मार्केट नै हो ।’

‘सन्डे बुक बजार’ सन् १९६४ बाट प्रारम्भ भएको हो । पहिला दरियागन्जको सडकपेटीमा लाग्थ्यो । तर, त्यसले ट्राफिक व्यवस्थापनमा समस्या भएपछि त्यसमाथि प्रशासनले कडाइ गर्दै लग्यो । र, पछि अदालतको आदेशबाट दरियागन्जमै व्यवस्थित रूपमा महिला हाटबजारमा पुस्तक बजारलाई पनि स्थान दिइएको छ । चार वर्ष भयो, अब सडकमा पुस्तक पसलहरू थापिँदैनन् ।

महिला हाटबजारमा आइतबारका दिन पुस्तक व्यापारीका लागि छुट्याइएको छ । बिहान ९ देखि बेलुका ६ बजेसम्म त्यहाँ पुस्तक विक्रेता र खरिदकर्ताको चहलपहल हुन्छ । बुक बजार वेलफेयर एसोसिएसनका अध्यक्ष बर्माका अनुसार २ सय ७६ बिक्रेता यो बजारका लागि दर्ता छन् । त्यही दर्तार्भित्रैका बिक्रेताले बजारमा पसल थाप्न पाउँछन् ।

यहाँका विक्रेताहरूले प्रकाशकसँग पुराना संस्करणहरू, त्यस्तै विभिन्न व्यक्तिले अध्ययन गरिसकेका पुराना किताबहरू वा कबाडीमा बेचिएका पुस्तकहरू पनि खरिद गरेर ल्याउने गर्छन् । त्यस्ता किताबहरू निकै सस्तो मूल्यमा यहाँ बिक्री हुन्छ । नयाँ संस्करणका पुस्तकहरू पनि बाहिरको पसलहरू भन्दा कम मूल्यमै बेच्ने गरेको बर्माले बताए । ‘पाइरेसी’ भएर पनि किताबहरू यहाँ आइपुगेका हुन्छन् । किताब किन्नेका लागि मात्रै होइन, पढिसकेपछि कता राख्ने भन्ने समस्या भएकाहरू पनि यहाँ बेच्न पुगेका हुन्छन् । ‘हामीले सस्तोमा बेच्नुपर्ने भएपछि पुराना किताबहरूको मूल्य धेरै दिन सक्दैनौं,’ उनले भने ‘तर, पुस्तक बेच्न खोज्नेहरू खुसी भएरै कम मूल्यमा दिन्छन् र हामीले पनि ग्राहकलाई सस्तोमा दिन सकेका छौं ।’

प्रविधिको विकासले भने यस बजारलाई चुनौती दिँदै गएको छ । इन्टरनेटमै धेरै विषयहरू भेटिने तथा किताबका पीडीएफ फाइलहरू पनि सस्तो मूल्यमा खरिद गर्न मिल्ने भएपछि त्यसको केही असर पुस्तक विक्रेताहरूले महसुस गरेका छन् । ‘पहिला सडकमै बजार लाग्दा सबैको नजरमा पर्थ्यो, बाटो हिँड्ने जो पनि पुस्तक हेर्न आइपुग्थे । अहिलेको बजार व्यवस्थित भए पनि आवश्यक नभइ मानिसहरू नछिर्ने भए,’ विक्रेता यशले भने, ‘अर्कोतिर अनलाइनको प्रभाव पनि परेको हुनुपर्छ । पछिल्ला दिनमा पहिलेको तुलनामा ग्राहक भने घट्दै गएका छन् ।’

एसोसिएसनका उपाध्यक्ष बर्मा भने घरमा पुस्तक संग्रह गरेर राख्न सौखिनहरू पनि घट्दै गएको आफूले अनुभव गरेको बताए । ‘पुस्तकप्रेमीहरूले व्यक्तिगत लाइब्रेरीकै लागि पनि यहाँबाट सस्तो मूल्यमा धेरै किताबहरू किनेर लैजान्थे,’ उनले भने, ‘त्यस्ता ग्राहकहरू पनि घटेका छन् । तर, स्कुल कलेजका विद्यार्थीहरूको आकर्षणमा भने कमी छैन ।’ यहाँ नियमित रूपमा आउने पुस्तक विक्रेताहरू साताको ६ दिन पुस्तक संकलनमा बिताउने गर्छन् । व्यक्ति–व्यक्तिको घरमा पुगेर पुस्तक संकलनदेखि पब्लिसर्सको गोदामबाट केही पुराना संस्करणहरू खोजेर ल्याउनेमा उनीहरूको व्यस्तता हुन्छ ।

बजार एसोसिएसनका अध्यक्ष कमर सइद दिल्लीको पुरानो कबाडी बजार नै पुस्तक बजारको स्रोत रहेको बताउँछन् । ‘जामा मस्जिदनिर पुरानो कबाडी बजार थियो, त्यहाँ ठूलठूला घरबाट आएका इलेक्ट्रोनिक सामानदेखि धेरै सामान भेटिन्थ्यो । पुराना किताबहरूको स्रोत पनि त्यही बन्न पुगेको हो,’ उनले भने ‘म १८ वर्षको हुँदा सन् १९७१ मा त्यहींबाट पुराना किताब ल्याएर दरियागन्जमा बेच्न थालेको हुँ । कुनै खास निर्णय वा व्यक्तिले यो बजार लगाउन सुरु गरेको होइन । ८/१० जना विक्रेताबाट सुरु हुँदै गएको हो ।’

बजारमाथि बेलाबेला संकट आएको उनको अनुभव छ । २५ वर्षदेखि एसोसिएसनको अध्यक्ष रहेका उनले प्रहरी प्रशासन र नगरपालिकासँग पटकपटक संघर्ष गर्दै बजारलाई बचाउँदै आएको बताए । सडकपेटीमा लगाइने बजार प्रहरी प्रशासनले बन्द गराएपछि व्यापारीहरू सर्वोच्च अदालत पुगेका थिए । सन् २००७ मा अदालतले बजारलाई जीवनदान दिएको उनले सुनाए । आइतबार सरकारी छुट्टी हुने, स्कुल र कलेजहरू पनि बन्द हुने साथै दरियागन्जको बजार पनि बन्द रहने भएकाले सजिलोका लागि पुस्तकको बजार त्यही दिन लाग्दै आएको छ ।

उक्त बजारमाथि नै पीएचडी गरेकी जिन्दल स्कुल अफ लङवेज एन्ड लिटरेचरका सहायक प्राध्यापक डा. कनुप्रिया डिंग्रा ‘सन्डे बुक बजार’ दिल्लीका महत्त्वपूर्ण पहिचानहरूमध्ये एउटा रहेको बताउँछिन् । उनका अनुसार धेरैतिरबाट सेकेन्ड ह्यान्ड किताबको संकलन भएर यस बजारमा आइपुग्ने गरेको छ । अंग्रेजी साहित्यका किताबहरू पनि कन्टेनरका कन्टेनर विदेशबाट समेत आउने गरेका छन् । यो बजारले प्रकाशक र पाठक दुवैलाई फाइदा पुर्‍याएको बताउँछिन् । ‘सस्तो मूल्यमा किताब किन्न पाउनु एउटा प्रमुख कारण भए पनि त्यसलाई मात्रै यस बजारको विशेषता मान्न सकिँदैन, कतै नपाइने किताबहरू पनि यहाँ भेटिने सम्भावना रहन्छ । त्यसको खोजीमा पनि मानिसहरू आएका हुन्छन्,’ उनले कान्तिपुरसँग भनिन्, ‘बजारमा भेटिने धेरै प्रकारका किताबले पनि ग्राहकलाई आकर्षित गरेको छ ।’

२०१९ मा प्रशासनले बन्द गराउँदा यहाँका बुद्धिजीवी, विद्यार्थी र पत्रकारहरूसमेत बजारको पक्षमा उभिएर समर्थन जनाएका थिए । त्यसले पनि पुस्तक बजारप्रति दिल्लीवासीको प्रेम झल्किएको उनले उल्लेख गरिन् । दिल्लीमा फरकफरक स्थानमा ‘स्पेसलाइज्ड मार्केट’ छन् । जस्तो कि सस्तोमा लुगा किन्नेको रोजाइमा सरोजिनीनगर बजार पर्छ । सस्तोमा किताब किन्नेको रोजाइ भनेकै सन्डे बुक बजार हो ।

प्रकाशित : जेष्ठ ११, २०८० ११:४४
प्रतिक्रिया
पठाउनुहोस्

सीपसँगै स्वदेश

दुई दशकअघि कामको खोजीमा बिदेसिएका आकाशले देश फर्केपछि काँकडभिट्टामा रेस्टुराँ खोलेर नेपालीलाई ‘शवर्मा’को स्वाद चखाइरहेका छन् । यो खान्की खासगरी लेबनान, इजिप्ट, कुवेत, इराक र साउदी अरबमा निकै लोकप्रिय छ । 
पर्वत पोर्तेल

झापा — दुई दशक भइसकेको छ, झापाका टीकाराम ढुंगाना (आकाश) कामको खोजीमा भौंतारिँदै भारतको मुम्बई पुगेको । त्यतिबेला माओवादी द्वन्द्व उत्कर्षमा थियो । विद्रोही र राज्य दुवै पक्षको कोपभाजनमा थिए, टीकाराम जस्ता तन्नेरीहरू । कोही दबाबमा परेर माओवादीमा पसे । अनि, कोही भागेर ज्यान जोगाउने क्रममा छिमेकी देशका बिरानो सहरमा पुगे ।

कैयौं अझै पनि उतै होलान्, कोहीले दुःख पाएर फर्किए पनि होलान् । तर, टीकारामका लागि देश छाडेको घटना एक अर्थमा उपलब्धिमूलक नै रह्यो । कारण, उनी सीप सिकेर आफ्नै देश फर्के ।

मुम्बई हानिएपछि दुई वर्ष जति एउटा होटलमा काम गरे । सहयोगीका रूपमा काम थालेका उनले पछि शवर्मा (अरबी खान्की) बनाउन सिक्न पनि भ्याए । त्यो बेला उनी मुम्बई नपुगेको भए सिमाञ्चलका पारखीले फरक स्वादको अरबी खान्की चाख्न पाउने थिएनन् । अनि सीमान्तवासीले घरमा बसीबसी यो स्वादिलो परिकार खाइसकेर जिब्रो पड्काउँदै भन्न पनि त पाउने थिएनन्, ‘आहा ! कति मिठो शवर्मा ।’

‘त्यतिबेला सिकेको सीप अहिले खुब काम लागेको छ,’ ग्राहकलाई शवर्मा दिँदै गर्दा उनले भने, ‘कम्तीमा आफ्नै देशमा काम गरेर आत्मनिर्भर हुन त पाइएको छ ।’ मुम्बई पुग्दा त उनी मात्र १६ वर्षका थिए । पहिलोपटक मुम्बई पुग्दा त उनी चकित परेका थिए, गगनचुम्बी महलहरू देखेर । खासमा उनका दाजु रमेश पहिलेदेखि नै मुम्बईमा थिए । तर उनी दाजु भए ठाउँमा भने पुग्न सकेनन् । विशाल सहर मुम्बईको पश्चिमी पाटो अन्धेरीमै अलमलिए त्यतिबेला । फोन थिएन । अहिलेजस्तो सञ्चारको सुविधा हुने कुरै भएन । दाजुको ठेगाना खुट्याउनै सकेनन् । धेरै प्रयत्न गर्दा पनि दाजु भए ठाउँमा पुग्न नसकेर टोलाइरहेका उनलाई नजिकैको एक रेस्टुराँका भान्सेले सोधे, ‘काम करेगा क्या ?’ उनले अन्योलका बीच टाउको हल्लाए ।

अनि नाम चलेको रेस्टुराँमा उनी भर्ती भए । त्यो रेस्टुराँ अरबी खान्की शवर्माका लागि चर्चित थियो । ‘त्यो रेस्टुराँ चौबिसै घण्टा व्यस्त,’ उनी सम्झिन्छन्, ‘बलिउडका हिरो हिरोइन पनि बाक्लै आउँथे ।’ त्यसताका उनले फिल्मी पर्दामा देखिने सलमान खानलाई पहिलो पटक प्रत्यक्ष देखेको बताउँछन् । गोरो अग्लो, बडिविल्डर हिरोलाई देखेर एकछिन त उनी हेरेको हेरै भएका थिए । कतिपय त हिरोइनहरू पनि आउँथे । तर, धेरैजसोलाई उनले खुट्याउन सक्दैनथे ।

मुम्बई नगरीमा दुई वर्ष शवर्मा बनाउने शिल्प सिकेपछि भने उनलाई घरले तान्यो । त्यतिन्जेल माओवादी पनि शान्ति प्रक्रियामा आउने तयारीमा थियो । देशमा शान्ति कायम हुने तरखर थियो । केही समय पढे । घरको आर्थिक अवस्थाले पढ्दापढ्दै बिदेसिनुपर्ने बाध्यता आइलाग्यो । अन्ततः उनी फेरि रोजगारीका लागि मलेसिया हानिए । करिब ८ वर्ष उतै बिताएर फर्किए । फेरि विदेश नै जाने कि स्वदेशमै केही इलम गर्ने ? उनको मस्तिष्कमा छाल आयो । विवाह पनि गरे । बिहेपछि भने पत्नीको मायाले तान्यो कि ? विदेश जान मनै मानेन ।

गत फागुनदेखि उनले करिब ३ लाख खर्चिएर काँकडभिट्टामा शवर्मा रेस्टुराँ सञ्चालनमा ल्याए । सुरुमा मुम्बईबाट फर्किएका दाजु रमेशले सघाए उनलाई । २० वर्षअघि सिकेको सीपलाई उनी घर–गाउँतिरै खर्चिरहेका छन् । ‘करिब ३ लाख लगानीमा दाजुभाइ मिलेर शवर्मा रेस्टुराँ सुरु गर्ने निधो गरेका थियौँ,’ उनले थपे, ‘तर, दाजु शवर्मा मेकरमै कुवेत जाने भएपछि एक्लै चलाइरहेको छु ।’

रेस्टुँरा अलि साँघुरो भए पनि शवर्माका पारखी खोजीखोजी आइपुग्छन् । यसअघि कहिल्यै नदेखेकी र नचाखेकी स्थानीय लिजा किस्कुले शवर्मा खाएपछि स्वादको बखान गरिन्, ‘स्वाद त जिब्रोमा अल्झिरहने रहेछ ।’ सहरमा नयाँ स्वादको खान्कीका पारखीहरू दिनदिनै बढिरहेको छन् । ‘नयाँ टेस्ट हो, लगानी डुब्ने पो हो कि भन्ने पनि लागेको थियो,’ उनले भने, ‘तर, अहिले पारखीहरूको भीडले अलि ढुक्क भएको छु ।’

स्वादिलो अनि अरबी खान्की खासमा कसरी बनाइन्छ त ? उनी भन्छन्, ‘सुरुमा चिकल व्रेस्ट बोनलेस गरिन्छ । मसला मिलाएर मेरिनेट गरिन्छ २/३ घण्टा ।’ त्यसपछि ग्यासबाट सञ्चालित सानो मेसिनमा राखेर चिकेन गिल्ड गरिन्छ । ‘दिनमा ६, ७ किलो मासुको शवर्मा बिक्न थालेको छ,’ उनले थपे, ‘नयाँ स्वादप्रति ग्राहकको रुचि देखेर उत्साही बनाएको छ ।’ शवर्माको आफ्नै मसला हुन्छ । त्यसमा पिक्कल, भेनेगर, माइनेस सस, लसुनको पेस्ट, गार्लिक स्पाइसलगायत प्रयोग हुन्छ । डेढ सय रुपैयाँ तिरेपछि एक जना मज्जाले अघाउँछ । शवर्मामा मसाला, जिरा, अलैंची, दालचिनी, बेसार, सिमला खुर्सानी पनि समावेश गरिन्छ । सामान्यतः मैदाको रोटीमा बेरेको चिकेन शवर्मामा लसुनकोचटनी, फ्राइज र अचारसँग सर्भ गरिन्छ ।

विकिपिडियाका अनुसार शवर्मा मध्यपूर्वी एसियाको लोकप्रिय परिकार हो । मासु पातलो टुक्राहरूमा काटिएको, उल्टो कोनमा राखिएको, र बिस्तारै घुम्ने ठाडो रोटिसेरीमा सेकाइएको मासुलाई पातलो आकारमा ताछेर बनाइन्छ यो परिकार । परम्परागत रूपमा भेडा वा खसीको मासुबाट बनाइन्थ्यो । खासगरी लेवनान, इजिप्ट, कुवेत, इराक र साउदी अरबमा भने यो निकै लोकप्रिय छ ।

प्रकाशित : जेष्ठ ११, २०८० ११:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×