कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

अन्धविश्वासी भर, ज्यानलाई अभर

परम्परादेखि धामीझाँक्रीको भर परेका गाउँले बिरामीलाई स्वास्थ्य चौकी पुर्‍याउन हतार गर्दैनन्, सिकिस्त भएपछि पुर्‍याउँदा अस्पतालले पनि निको पार्न गाह्रो हुन्छ 
इमर्जेन्सीबाट बिरामी खोसेर धामीको शरणमा
वसन्तप्रताप सिंह

बझाङ — उनलाई खोकी लागिरहेको थियो । ज्वरो पनि आएपछि साइपाल–२ धलौनकी १५ वर्षीया रोशनी विक वैशाख दोस्रो साता धलौन स्वास्थ्य चौकीमा पुगिन् । स्वास्थ्य चौकी इन्चार्ज रवीन्द्र बोहराले सिटामोल र खोकीको औषधि दिएर पठाए । वैशाख १६ मा उनी चैनपुरबाट फर्किंदै गरेका एक आफन्तको झोला लिन पाँच घण्टा हिँडेर तलकोट गाउँपालिकाको सुनपानी (जहाँसम्म जिप आइपुग्छ) पुगिन् । झोला लिएर सोही बाटो घर फर्किन् । 

अन्धविश्वासी भर, ज्यानलाई अभर

त्यो दिनसम्म स्वास्थ्य ठीकै थियो । भोलिपल्ट दिउँसो आँगनमा कुर्सीमा बसिरहेका बेला एक्कासि बेहोस भएर ढलिन् । परिवारका सदस्यले भूतप्रेत लागेको हुन सक्ने भन्दै झारफुक गरे । रोशनी बिरामी भएको खबर पाएका स्वास्थ्य चौकी इन्चार्ज रवीन्द्र बुझ्न उनकै घर पुगे । ८ कक्षामा पढ्ने रोशनी यतिन्जेल बोल्न सक्ने अवस्थामा थिइन् । ज्वरो आउने, सास फेर्न गाह्रो हुने र राति पसिना आउने लक्षण थियो । टाइफाइट र निमोनिया हुन सक्छ भनेर त्यहीअनुसारको इन्जेक्सन लगाइदिएका थिए ।

‘धेरै गाह्रो भयो भने स्वास्थ्य चौकी ल्याउनु, सकेसम्म छिटो सदरमुकाम लैजानुपर्छ’ भनेर सम्झाएर फर्किएको रवीन्द्र बताउँछन् । पछिल्लो दिन पानी परेकाले उनी हेर्न जान पाएनन् । ‘उनीहरू पनि बिरामीलाई स्वास्थ्य चौकी ल्याउनभन्दा धामीझाँक्रीतिरै लागेछन् । १८ गते राति त बितिसकिछन्,’ उनले भने, ‘धामीझाँक्रीको भरमा नपरेको भए उनको अकालमै ज्यान जाने थिएन ।’

सोही गाउँकी १६ वर्षीया अञ्जली विक पनि झन्डै रोशनीकै नियतिमा पुगिसकेकी थिइन् । साता दिनदेखि रिँगटा लाग्ने, खानेबित्तिकै पेट दुख्ने समस्या भएकी उनलाई पनि भूत लागेको भन्दै आफन्तले स्वास्थ्य चौकी नलगेर झारफुक गरिरहेको थाहा पाएपछि धलौन चौकीका स्वास्थ्यकर्मीले उद्धार गरेका छन । ‘रोशनी बितेको दुई–चार दिनपछि अञ्जलीका बारेमा थाहा भयो,’ अनमी कविता बोहराले भनिन्, ‘म आफैं उनको घरमा गएर औषधि खानुपर्छ भनेर निकै सम्झाएँ । धेरै कोसिस गरेपछि परिवारले पनि माने । नभए उनको हालत पनि रोशनीको जस्तै हुने थियो ।’ यहाँका गाउँलेमा अझै पनि बिरामी भएपछि भूत लागेको, देउता रिसाएको भनेर धामीझाँक्रीमा विश्वास गर्ने गरेका कारण बर्सेनि धेरैले अकालमा ज्यान गुमाउनुपरेको उनले बताइन् ।

साइपाल–१ र २ वडामा पर्ने धलौन बझाङ सदरमुकाम चैनपुरबाट सबैभन्दा नजिकको गाउँ हो । अहिले तलकोट गाउँपालिकाको सुनपानीसम्म सडक पुगेपछि यहाँबाट गाडी भेट्टाउन पाँच घण्टा पैदल हिँड्नुपर्छ । धलौन अरू गाउँको तुलनामा शिक्षित र चेतनशीलको बस्तीका रूपमा चिनिन्छ । धलौनबाट उत्तरी क्षेत्रका गाउँहरूमा यस्तो अन्धविश्वास अझ सघन छ । गत वर्षमात्रै वडा नम्बर ४ को धुलीको जगेरा गाउँकी १६ वर्षीया काली रोकायाले यस्तै अन्धविश्वासका कारण ज्यान गएको थियो ।

गाउँपालिकाले आयोजना गरेको चेतनामूलक कार्यक्रममा सहभागी साइपालको धुली गाउँका महिला । तस्बिर : वसन्तप्रताप/कान्तिपुर

तीन वर्षयता यहाँका काँडा, धुली, न्युना बलौडी गाउँका पाँच जना किशोरकिशोरीको अन्धविश्वासकै कारण ज्यान गएको धुली स्वास्थ्य चौकी इन्चार्ज अनिल रोकायाले बताए । स्वास्थ्यकर्मी हुनुको नाताले धामीझाँक्रीमा विश्वास गर्न मिल्दैन । तैपनि कतिपय अवस्थामा औषधिले ठीक नभएका बिरामी झारफुकबाट ठीक भएको बताउँदै उनी भन्छन्, ‘यस्तो कुरामा विश्वास त नगर्नुपर्ने हो । कहिलेकाहीं हामीले जति कोसिस गर्दा पनि ठीक नभएका बिरामीहरू झारफुक गरेकै भरमा निको भइदिन्छन् । हामी पनि अन्योलमा छौं ।’ यहाँका बासिन्दाको देउतामा विश्वास रहेकाले स्वास्थ्यकर्मीहरू पनि अन्धविश्वासका विरुद्ध खुलेर बोल्न नसकेको उनले बताए ।

‘कोही बिरामी भइहाल्यो भने सबैभन्दा पहिला पुकार्ने भनेको देउतालाई नै हो । स्वास्थ्य चौकीको औषधि खाइहाले पनि औषधि लाग्ने बनाइदेऊ भनेर देउतालाई बाँदो हाल्छन् (भाकल गर्छन्),’ साइपाल–५ की वडासचिव सुम्निमा गिरी भन्छिन्, ‘देउतामा आस्था हुनु त नराम्रो होइन । तर, यहाँ त अन्धविश्वासको चरम अवस्था छ ।’ अन्धविश्वासका कारण समयमै उपचारमा नजाँदा बिरामीले ज्यान गुमाउने मात्रै नभई अरू स्वास्थ्य समस्या पनि थपिने गरेको, त्यसैले महिलाहरूको स्वास्थ्य अवस्था दयनीय रहेको उनले बताइन् । साइपाल मुलुककै दुर्गममध्येको विकट गाउँपालिकाको हो । बझाङ जिल्लाका सुगम र शिक्षित गाउँहरूमा पनि अहिलेसम्म धामीझाँक्रीमा विश्वास गरेर बिरामीलाई अस्पताल लैजान ढिला गर्दा ज्यान गुमाएका घटना हुने क्रम रोकिएको छैन ।

वैशाख २६ मा मात्रै सदरमुकाम जयपृथ्वी नगरपालिकाभित्रै एक जना चार वर्षीया बालिका अन्धविश्वासको सिकार भइन् । जयपृथ्वी–३ की स्वस्तिका खड्कालाई सोमबार दिउँसो ३ बजेतिर जिल्ला अस्पतालको इमर्जेन्सी वार्डमा पुर्‍याइएको थियो । झाडापखाला र मस्तिष्कमा संक्रमण भएको कारण बेहोस भएपछि पुर्‍याइएकी उनको तत्कालै उपचार सुरु भयो । स्वास्थ्यकर्मीले स्लाइनमार्फत औषधि दिएको केही घण्टापछि उनी चलमलाउन थालिसकेकी थिइन् ।

आवश्यक अन्य परीक्षण पनि गरिएको थियो । ‘यहाँ ठीक नभए डडेल्धुरा वा धनगढी लैजानुपर्ने हुन सक्छ,’ स्वास्थ्यकर्मीले उनका आफन्तलाई भनेका थिए । ‘राति ८ बजे यहाँ ठीक हुँदैन अब धामीकहाँ लैजान्छौं भनेर आफन्तले बालिकालाई इमर्जेन्सी वार्डबाटै जबर्जस्ती उठाएर लगे,’ जिल्ला अस्पतालका डा. मिलनखड्काले भने, ‘हामी उपचार गरिराखेका छौं । अरू रिपोर्टहरू आउन बाँकी छ, आजको रात त राख्नुहोस् भनेर कति अनुरोध गर्दा पनि मान्दै माननेन् । घर लगेको केही घण्टामै बालिकाको मृत्यु भएछ ।’

केही दिनअघि मात्रै आन्द्रा र पिसाब नलीमा संक्रमण भएकी जयपृथ्वी–७ छयाला गाउँकी ११ वर्षीया बालिकालाई अस्पताल अगाडिकै बाटो भएर धामीकहाँ लैजान लागेको थाहा पाएपछि जोरजुलुम गरेर अस्पताल भर्ना गर्नुपरेको घटना उनले सुनाए । ‘अस्पताल अगाडिकै बाटो साता दिनदेखि धामीको घर आउनेजाने गरिरहेका रहेछन् । हामीले थाहा पाएपछि रोकेर जाँच गराउन अनुरोध गर्‍यौं । आन्द्रा र पिसाबमा संक्रमण देखिएपछि भर्ना गर्न भन्यौं तर आफन्त मान्दै माननेन्,’ डा. खड्काले भने, ‘भर्ना नगरे बालिकाको ज्यान जान सक्ने र उनलाई तलमाथि भए आमाको नाममा प्रहरीमा मुद्दा हाल्छौं भनेपछि डरले भर्ना गरे । दुई दिन उपचार गरेपछि बालिका निको भएकी थिइन् ।’ जयपृथ्वी नगरमा मात्रै नभएर जिल्ला अन्य पालिकामा पनि अन्धविश्वासका कारण अहिले पनि धेरैले ज्यान गुमाइरहेको उनले बताए । धेरैजसो बिरामी सुरुमा धामीझाँक्रीकहाँ जाने र निको नभएर अन्तिम अवस्थामा मात्र स्वास्थ्य संस्थामा ल्याइने भएकाले असमयमै मृत्युको मुखमा पुग्ने गरेको उनको भनाइ छ ।

स्वास्थ्यसम्बन्धी शिक्षा र साक्षरताको अभावमा जिल्लाभरि नै यस्तो खालको अन्धविश्वास रहेको जिल्ला अस्पतालका प्रमुख डा. नवराज जोशीले बताए । ‘अहिले पनि यस्ता अन्धविश्वासलाई मान्ने चलन अचाक्ली नै छ । हाम्रो हाम्रो सम्पर्कमा आएर पछि धामीझाँक्रीकहाँ गएका तीन जनाले यसै वर्ष ज्यान गुमाइसकेका छन् । हाम्रो जानकारीमा नआएका त कति होलान्,’ उनले भने, ‘अहिलेको युगमा पनि स्वास्थ्य सचेतना अवस्था अत्यन्तै कमजोर छ ।’ सदरमुकाम चैनपुरमै पनि अन्धविश्वासले स्वास्थ्यमा जोखिमका घटनाहरू आउने गरेको उनले बताए । ‘कतिपयले मान्दै मानेनन् भने धामीकहाँ जाने भए पनि जानुहोस् तर हाम्रो औषधि पनि नछोड्नुहोला भन्नुपर्ने अवस्था छ,’ उनले भने । कुपोषित बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरू बढी जोखिममा रहेकाले पालिकाहरूले अन्धविश्वासविरुद्ध अभियान चलाउनुपर्ने उनको सुझाव छ ।

पालिकाका जनप्रतिनिधिहरू पनि यसबारे जानकार छन् । तर, बस्तीबाट स्वास्थ्य चौकी र अस्पताल निकै टाढा छन् । परम्परादेखि अन्धविश्वासले जरो गाडेको छ । स्वास्थ्य सचेतनाका लागि कोसिस गरिरहेको भए पनि अन्धविश्वास नराम्ररी गडेका कारण सुधार हुन नसकेको साइपाल गाउँपालिका अध्यक्ष मानवीर बोहरा बताउँछन् । ‘साइपालमा सबै रोगको उपचार गर्ने खालको स्वास्थ्य संस्था पनि छैनन् । त्यही कारण पनि यहाँका मानिसहरूमा डाक्टरी औषधिभन्दा धामीले बिरामी निको पार्छ भन्ने विश्वास बढी छ,’ उनले भने, ‘पालिकाले विभिन्न खालका चेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि केही हदसम्म कम त भएको छ, तर अपेक्षित परिवर्तन अझै आइसकेको छैन ।’

जिल्लाका कतिपय पालिकाले धामीझाँक्रीहरूलाई नै तालिम दिएर उनीहरूकहाँ आएका बिरामीहरूलाई स्वास्थ्य संस्थामा पठाउन सुझाउने गरेका छन् । ‘धामीको भर पर्दा मान्छेको ज्यानै जान थालेपछि हामीले धामीझाँक्रीलाई तालिम दिएर बिरामीलाई स्वास्थ्य संस्थामा पठाउन भनेका छौं,’ थलारा गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले भने, ‘अब केही सुधार हुन्छ कि भन्ने आशा छ ।’ गत वर्ष साउनमा मात्रै थलारा–१ की २० वर्षीया एक सुत्केरी महिलाको धामीझाँक्रीका भरमा उपचार गर्दा मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ ६, २०८० ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारलाई थाहै नदिई एनसेल बिक्री हुनुलाई के भन्नुहुन्छ ?