ध्वंसपछि फेरिएको सन्धिखर्क

सशस्त्र द्वन्द्वकालका दुई पटक आक्रमणमा परेर ध्वस्त भएको नगर शान्ति प्रक्रियापछि व्यवस्थित सहरीकरणतर्फ
वीरेन्द्र केसी

अर्घाखाँची — जहाँ सरकारी अड्डाहरू एकै ठाउँ हुन्छन्, स्थानीयवासीलाई सेवा लिन सहज हुन्छ । यही अवधारणाले अर्घाखाँची सदरमुकाम सन्धिखर्कलाई दुई पटक ऐतिहासिक नोक्सानी भयो । ९ हेक्टर क्षेत्रफलको एकै ठाउँमा रहेका सरकारी कार्यालयहरू विद्रोहीको निसानामा परे । २०५९ र २०६१ सालमा तत्कालीन विद्रोही माओवादीले सदरमुकाम आक्रमण गरेको थियो, जसमा सबैजसो कार्यालय ध्वस्त भएका थिए । तर, बिस्तारै त्यो क्षतिबाट उकासियो सन्धिखर्क । 

अहिले लुम्बिनीका पहाडी जिल्लामध्येको व्यवस्थित सहरीकरण अघि बढेको पालिकामा पर्छ यो नगर । सन्धिखर्क जिल्ला सदरमुकाम बनेको आधा शताब्दी हुन लागेको छ । २०१८ सालसम्म अर्घाखाँची गुल्मी जिल्लाअन्तर्गत थियो । मुलुकलाई ७५ जिल्लामा विभाजनपछि यो छुट्टै जिल्ला स्थापित भयो । सुरुमा दुई वर्ष ठाडा र त्यसपछि नरपानीमा रहेको सदरमुकाम २०३२ सालमा सन्धिखर्कमा सरेको हो । सदरमुकाम सर्दाको समयलाई बुढापाका अझै सम्झन्छन् ।

‘नरपानीबाट डोकोमा बोकेर कागजपत्र, फर्निचर सन्धिखर्क ल्याइएको थियो,’ ७५ वर्षीय धर्मराज अधिकारी भन्छन्, ‘धमाधम घर बनाउँदै राख्दै गरियो । बिस्तारै घर बन्दै गए, अड्डा, अदालत र कार्यालय व्यवस्थित बन्दै गए ।’ त्यतिबेला ढुंगे छानाका घरहरू थिए । आँखै सामुन्नेको खेत र झाडी अहिले बजारमा परिणत भएको देखेर अचम्म लाग्ने उनले सुनाए । ‘यसरी बजार होला भन्ने सोचेकै थिइनँ,’ उनले भने ।

त्यतिबेला सदरमुकाम नक्सांकनमा अधिकारी पनि खटिएका थिए । ‘सुरुमै हामीले घर टाढा–टाढा र गल्ली ठूलो राखेर नक्सांकन गरेका थियौं,’ उनले भने, ‘उतिबेला गाडी आइपुगेका थिएनन् । अहिले ती गल्ली धेरै फराकिला छन्, बजार व्यवस्थित बन्यो ।’ हाल सरकारी कार्यालय र टुँडिखेल रहेको स्थानमा कुमाल समुदायको बसोबास थियो । जग्गा किनेर कार्यालयका भवन बनाउन सुरु गरिएको थियो । फाँटमा फराकिला खेत, झाडी, जंगल र चौर थिए । अग्ला ठाउँमा बस्ती थिए । सन्धिखर्क र चुत्राबेसी खेतीपाती गर्ने क्षेत्र थियो ।

अर्घा र खाँची बाइसे चौबिसेअन्तर्गतका राज्य थिए । एकीकरणका सिलसिलामा दुवै पाल्पा राज्यमा गाभिए, अर्घा र खाँचीका राजा मिलेर खर्कमा सन्धि गरे । त्यही ठाउँ कालान्तरमा सन्धिखर्क नामकरण भएको हो । अधिकारीका अनुसार गाउँलेले महिना दिन लगाएर नरपानीबाट सन्धिखर्कसम्म डोको र काँधमा अड्डाका सामान बोकेर ल्याएका थिए । झाडी, जंगलसहित फाँट, बीचमा फराकिलो बाँगी खोला । सन्धिखर्कको पारिपट्टि चुत्रा भनिने झाडी थियो । अर्घा, वाङ्लालगायतका गाउँलेको बेंसी र लेक दुई ठाउँ जग्गा थिए । लेकमा बस्ने र बेंसीमा खेती गर्थे । बेंसीमा औलो लाग्ने डरले बस्दैनथे । बाँगी खोलाको पूर्वपट्टिको भूभागलाई अर्घा र खाँचीका दुई राजाले सन्धि गरेकाले सन्धिखर्क र चुत्राको झाडीसँगै बेंसी भएकाले चुत्रावेशी नामकरण गरिएको बुढापाका बताउँछन् ।

नरपानीबाट सन्धिखर्कमा सदरमुकाम सरेपछि बजारलाई व्यवस्थित गर्न मित्रलाल भुसालको संयोजकत्वमा समिति बन्यो । समितिका सदस्य थिए धर्मराज अधिकारी । त्यतिबेलाका अड्डा बसाल्न ५० रुपैयाँ प्रतिहातमा खेत किनबेच भएको थियो । सदरमुकामलाई व्यवस्थित सहर बनाउन दुई लाइन बजार बनाउने योजनाअनुसार स्यालेदेखि रतहलेसम्म लामो दूरीको लाइन बनाइएको अधिकारीले बताए । त्यसैले त अहिले बजारका गल्ली फराकिला छन् ।

चेम्बर अफ कमर्सका अध्यक्ष अशोककुमार श्रेष्ठका अनुसार सदरमुकाम सन्धिखर्कमा सरेपछि खेतीयोग्य जमिन घट्दै र बजार विस्तार हुँदै गयो । अड्डा बसेपछि कामकाजका लागि गाउँबाट सेवाग्राही आउजाउ गर्न थाले । खाजा र खाना होटल खुल्न थाले । ‘सन्धिखर्कमा सदरमुकाम सरेपछि भगवतीबाट हामी पनि व्यापार गर्न यहाँ आएका हौं,’ उनले भने । सन्धिखर्क र चुत्राबेसी बजार विकासको नक्सा बनाउँदा सुरुमै फराकिला गल्ली, चोकचोकमा सार्वजनिक स्थल राखेकाले अहिले बजार बढ्दै जाँदा पनि सहर व्यवस्थित छ । सुन्दर सदरमुकाम कायमै रहेको उनको भनाइ छ । ढल, नाली पनि सफा छन् ।

सदरमुकाम बसेको केही वर्षपछि भगवतीबाट यमराज पाण्डे सन्धिखर्कमा व्यापार गर्न झरे । ‘सुरुमा खर र ढुंगाको छानो भएका व्यापारिक घर थिए,’ उनले भने, ‘बजार विस्तारसँगै पक्की घर बनेका हुन् ।’ जिल्लाको केन्द्र भएकाले पनि बजारीकरण बढ्दो भएको उनले बताए । सन्धिखर्कको मुख्य चोकमा शान्ति बगैंचा छ । २००६ सालमा झन्डै ५० रोपनी क्षेत्रफलमा थियो । त्यतिबेला कुर गाउँका पुनाराम नेपालीले धर्म कमाइने भन्दै १ सय गाईलाई नुन खुवाएर खेत सार्वजनिक भएको घोषणा गरेका थिए । त्यसपछि आँपका रूख रोपेर शान्ति बगैंचा बनाइयो । २०३२ सालपछि बगैंचा अतिक्रमण सुरु भयो । नेपालीले दानस्वरूप सार्वजनिक गरेको बगैंचा कसैको स्वामित्वमा नभएकाले सरकारीस्तरबाट भवन बनाउने काम भएको सन्धिखर्कका स्थानीय रामचन्द्र पोखरेलले बताए ।

बगैंचा अतिक्रमण गरी सिँचाइ, सन्धिखर्क नगरपालिका, प्रहरी, आयुर्वेद, भू–संरक्षण, शिक्षा, घरेलु, अदालत, सरकारी वकिलको कार्यालय, जिसस अतिथि गृह, उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघको कार्यालय र केही निजी घर बनिसकेका छन् । २०५० सालमा ६ वटा व्यापारिक सटर निर्माण र सन्धिखर्क–गोरुसिंगे सडकको ट्र्याक निर्माणपछि बगैंचाको क्षेत्रफल खुम्चिएर अहिले १८ रोपनी मात्रै छ । ‘बजारका दिनभर व्यापार व्यवसाय गर्ने र बजारमा सामान किनमेल गर्न आउने बगैंचाभित्र छिरेर केहीछिन बसेर आनन्द लिन्छन्,’ उनले भने ।

ध्वंसपछि पुनर्निर्माण

सशस्त्र द्वन्द्वकालमा दुई पटक माओवादीले आक्रमण गर्दा सन्धिखर्कमा मानवीय क्षतिसहित सबै सरकारी कार्यालय ध्वस्त भएका थिए । त्यसपछि कार्यालय भाडामा बसे । शान्ति प्रक्रियापछि सरकारी भवनको पुनर्निर्माणको काम भएको पुराना व्यापारी मित्रलाल आचार्यले बताए । ‘आक्रमणपछि त सदरमुकाममा अब बस्न पाइँदैन कि भन्ने लागेको थियो,’ उनले भने । शान्ति प्रक्रियापछि सहर फेरियो । आक्रमणअघि कार्यालय भवनहरू साँघुरा थिए । केहीका ढुंगे छाना थिए । सभाहल कच्ची थियो । अहिले ५ सयभन्दा बढी अट्ने सभा हल छ । पुनर्निर्माणका क्रममा सबै कार्यालयका भवन बनाइएको हो । अहिले व्यवस्थित भवन छन् ।

सबै सरकारी कार्यालय एकै ठाउँ भएकाले सेवाग्राहीलाई सहज छ । सन्धिखर्कको मिडियाचोकदेखि हललाइन हुँदै बसपार्कको बजार पनि व्यवस्थित छ । सबैका घरअगाडि व्यवस्थित नाली विस्तार भइरहेको छ । सरसफाइमा चिटिक्क छ । बसपार्क–पाणिनि चोक–सन्धिखर्क शान्ति बगैंचा चोक पनि व्यवस्थित छ । पछि बनेको गुन्टे खोलामा पनि बजार व्यवस्थित बनाइएको छ । प्रायः एउटै डिजाइनमा बनाइएका घर र व्यापारिक सटरले आकर्षण थपेको छ ।

उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष युवराज श्रेष्ठले पश्चिमपट्टि चुत्राबेसी व्यापारिक केन्द्र भएको र जहाँ दुई व्यापारिक रोड रहेको बताए । मुख्य बजारपछाडि जनज्योति माविदेखि तलपट्टि र मसाल बजारको क्षेत्र शान्ति प्रक्रियापछि विस्तार भएकाले यो बजार अव्यवस्थित छ । यता शंखेटारी, पुल्चोक क्षेत्रका खेतीयोग्य जमिनमा पछिल्लो समय बजारीकरण तीव्र छ । त्यहाँ पनि रोड फराकिला नै छन् । सन्धिखर्कको कुँडेले फाँटमा पछिल्लो समय घडेरी प्लटिङ भइरहेको छ । हटारी, स्याँले, गच्छे हुँदै फुदवाङसम्म छरिएर बजार विस्तार भइरहेको छ । धेरैजसो अर्घाखाँचीकै गाउँबाट बसाइँसराइ गरी झरेका छन् । छिटपुट गुल्मी, प्यूठानलगायतका छिमेकी जिल्लाबाट पनि यहाँ बसाइँ सरेका छन् ।

सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले नयाँ बन्ने बजारलाई मापदण्ड बनाएर व्यवस्थित गरिएको बताउँछन् । सन्धिखर्कलाई ग्रिन सिटीका रूपमा विकास गर्ने योजना उनी सुनाउँछन् । भित्री बजारका सडकलाई स्तरोन्नति गर्दै कालोपत्र गर्ने, सबै ठाउँमा सीसी क्यामरा राख्ने र भूउपयोग नीतिअनुसार थप विकास एवं व्यवस्थित गर्ने नगरको योजना छ । नगरपालिकाले व्यवस्थित सहरको अवधारणाअनुसार जग्गालाई १० प्रकारमा विभाजन गरेको छ । खाली जग्गालाई प्लाटिङ गर्दा मापदण्ड पालना गर्नुपर्ने नियम छ । ‘सन्धिखर्क देशकै व्यवस्थित, फराकिलो र सुन्दर सदरमुकाम हो,’ उनले भने, ‘सौन्दर्यलाई जोगाउँदै थप व्यवस्थित बनाउने काम पालिकाले योजनाबद्ध रूपमा गरिरहेको छ ।’

सडक सञ्जालको संगम

हिमाल, पहाड र तराई एकै दिन घुम्न सकिने सालझन्डी–सन्धिखर्क–ढोरपाटन सडक सदरमुकामको बीचबाट जान्छ । यो सडक निर्माण कार्य पूरा भएपछि हालको सन्धिखर्क–गोरुसिंगेबाट भन्दा ढोरपाटन सडकबाट आधा समयमै बुटवल आउजाउ गर्न सकिन्छ । मुलुकको एक मात्र सिकार आरक्ष ढोरपाटन पुग्न बाटो निर्माण पूरा भएपछि सहज हुनेछ । सदरमुकामको चहलपहल अझ बढ्ने अवस्था छ ।

पोखरा–रिडी–सुर्खेत सडकले पनि सन्धिखर्क नगरपालिकासँगै छत्रदेव र मालारानी गाउँपालिकालाई जोड्छ । लुम्बिनी प्रदेशको गौरवको आयोजना रामपुर–कपुरकोट सडक पनि निर्माणाधीन छ । सल्यानको कपुरकोटबाट रोल्पा, रुकुम, अर्घाखाँची, पाल्पा हुँदै तराई जोड्ने लक्ष्य छ । लुम्बिनी प्रदेशको राजधानी दाङ आउजाउ गर्न सदरमुकामको गच्छे–भालुवाङ सडक निर्माण जारी छ । गुल्मी र पाल्पाका स्थानीयलाई प्रदेश राजधानी आउजाउ गर्न यही बाटो उपयुक्त हुनेछ ।

सहरको जग ‘रेमिट्यान्स’

शान्ति प्रक्रियापछिका केही वर्षमा सदरमुकामका खेतीयोग्य जग्गा धमाधम प्लटिङ भए । बजारीकरण बढ्यो । द्वन्द्वको समयमा घरघडेरी किनबेच थिएन । स्वदेश तथा विदेशमा विभिन्न पेसा, व्यवसाय, रोजगारी, जागिरबाट आर्जन गरेको संकलित रकमले मुलुकमा शान्ति भएपछि धेरैले घरघडेरीमा लगानी गरे । सेवा सुविधा खोज्दै सहर झर्नेमध्ये तराई र काठमाडौं जानेमध्ये केही मान्छे सदरमुकाममै रोकिए । यहीँ घडेरी किनेर घर बनाए । घडेरी किनेपछि बैंकमा जग्गा धितो राखेर धेरैले घर बनाए । छोराछोरी निजी स्कुलमा पढाउन सहर झर्नेमध्ये केहीले सन्धिखर्कका बोर्डिङमा भर्ना गरेर पनि पढाए ।

रेमिट्यान्सका कारण घरघडेरीको मूल्य बढ्यो । २०७० सालतिर सदरमुकामका जग्गा रोपनीको २ करोड रुपैयाँसम्म थियो । ‘बजार विस्तार र जनसंख्या थपिएपछि आर्थिक कारोबार पनि उच्च भएको छ,’ उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप मिश्रले भन्छन्, ‘फराकिलो उपत्यका छ । अब बन्ने सहरीकरणका लागि सम्बन्धित निकायले राम्रोसँग व्यवस्थापन गरेर सुन्दरता बचाइराख्नुपर्छ ।’ शान्ति प्रक्रियापछि बढ्दो सहरीकरणका कारण निजी स्कुल, साना उद्योग, व्यवसाय धेरै खुलेको उनले बताए । सहरीकरणमा फराकिलो रोड, नाली, ढल, खानेपानीसहित सबै सुविधा हुनुपर्छ । अहिले खाली देखिएका जग्गा पनि घडेरी भएको उनले बताए ।

‘सबै राम्रो छ, अब ५० बेडको अस्पताल बनेमा तराईमा बसाइँसराइ कम हुन्थ्यो,’ युवा व्यवसायी बाबुराम भुसालले भने । शान्ति प्रक्रियापछि विदेशबाट फर्केर जग्गा प्लटिङमा लागेका भुसालले धेरै मान्छे शिक्षा र स्वास्थ्यकै कारण जिल्लाबाहिर गएको बताए । ‘राम्रो पढाइ हुने स्कुल भएमा छोराछोरी पढाउनकै लागि बुटवल र काठमाडौं जाने अभिभावक सन्धिखर्कमै रोकिने थिए,’ उनले भने, ‘तीनै तहका सरकार र जनप्रतिनिधिले यतातिर ध्यान दिनुपर्छ । युवालाई जिल्लामै टिकाउने कुरामा पनि सचेत हुनु जरुरी छ ।’

मौसम, भूगोल र बसोबासका दृष्टिले सहज भए पनि जनसंख्याको दृष्टिले अर्घाखाँची घनत्व बढेको छैन । यहाँका बासिन्दा रोजगारी र शिक्षाका लागि बाहिरिने क्रम चलिरहेको छ । स्थानीय विकास मन्त्रालयले २०७१ वैशाख २५ मा मुलुकका २ सय ८३ गाविसलाई गाभेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्दा साबिक सन्धिखर्क, नरपानी, खाँचीकोट, किमडाँडा, अर्घा, डिभर्ना र वाङ्ला गाउँ विकास समितिहरू समावेश गरि सन्धिखर्क नगरपालिका बनेको हो ।

पछि २०७३ मा स्थानीय तह घोषणा गर्दा पाली गाविस ९ नम्बर वडा पनि मिसाउँदा सन्धिखर्कमा १२ वटा वडा कायम भयो । १२९.४२ वर्गकिमि क्षेत्रफल रहेको यो नगरको जनसंख्यामा बढोत्तरी छैन । जनगणना २०६८ मा ४१ हजार ७१ रहेको जनसंख्या १० वर्षपछि २०७८ को गणनामा ४२ हजार ४ सय ९२ पुगेको छ । अर्घाखाँची जिल्लाकै जनसंख्यामा पनि अपेक्षित बढोत्तरी जनगणनाका तथ्यांकले देखाउँदैन । जनसंख्या घटेको तथ्यांकले देखाउँछ । २०५८ मा २ लाख ८ हजार ३ सय ९१ रहेको जनसंख्या २०६८ मा घटेर १ लाख ९७ हजार ६ सय ३२ भएको थियो । २०७८ मा अझ घटेर १ लाख ७७ हजार ८६ रहेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

प्रकाशित : जेष्ठ ४, २०८० ११:५५
प्रतिक्रिया
पठाउनुहोस्

भ्रष्टाचारका विरूद्ध ८५ वर्षीय पूर्वसांसद सडकमा

रमेशकुमार पौडेल

चितवन — भीमबहादुर श्रेष्ठ चितवनका चिरपरिचित राजनीतिक व्यक्तित्व हुन् । पछिल्ला वर्षहरूमा राजनीति कम सामाजिक अभियानमा बढी सक्रिय देखिएका श्रेष्ठ बिहीबार बिहान भ्रष्टाचार विरोधी प्रदर्शनको नेतृत्व गर्दै सडकमा उत्रिए ।

पञ्चायतकालमै 'जनपक्षीय' राजनीतिमा संलग्न ८५ वर्षका श्रेष्ठले प्रदर्शनको समापन गर्दै भने, 'अहिलेको सरकारलाई भ्रष्टाचारको जरा काट्ने ठूलो अवसर आएको छ । कथंकदापि यो कारबाही अभियान बिथोलिए हामी चितवनबाट दबाब स्वरूप ठूला प्रदर्शन गर्ने छौं ।'

पञ्चायतका बेला ४३ सालमा भएको राष्ट्रिय पञ्चायत सदस्य (रापस) निर्वाचनमा 'जनपक्षीय' उम्मेदवार अर्थात् पञ्चायत विरोधी अभियानमा लागेका व्यक्तिका रूपमा उठेर चितवनबाट विजयी भएका श्रेष्ठले ४६ सालको आन्दोलनको जिल्लामा नेतृत्व गरेका थिए । 'पञ्चायतमा कुशासन र भ्रष्टाचार थियो । त्यसैले हामीले आन्दोलन गरेर त्यो व्यवस्था फालेको हो । तर अहिलेसम्म पनि जनताले सुशासनयुक्त र भ्रष्टाचारमुक्त राजनीतिको अनुभव गर्न खासै पाएनन्,' श्रेष्ठको दुखेसो थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले अहिले देखाएको तदारूक्ताले आशा जगाएको उनले बताए । 'पुष्पकमल दाहालज्यूलाई अहिले अवसर आएको छ । त्यसको सदुपयोग होस् । त्यसो भएमा हामीले गरेका राजनैतिक अभियान र आन्दोलनको पनि औचित्य देखिन्छ,' श्रेष्ठले भने ।

श्रेष्ठ ४८ सालमा भएको संसदीय निर्वाचनमा पनि तत्कालीन चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । श्रेष्ठ ५२ सालदेखि ६ वर्ष राष्ट्रिय सभा सदस्य रहे । उनी २०२६ सालमै तत्कालीन चितवन जिल्ला पञ्चायतको सभापतिमा चुनिएका व्यक्ति हुन् । वाम राजनीति गरेका श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेर राष्ट्रिय सभा सदस्य भएका हुन् ।

'यो पार्टी, ऊ पार्टी हैन भ्रष्टाचारको सन्दर्भमा नेपालमा कुनै पनि पार्टी अछुतो रहेन । त्यसैले अब बेला आएको छ– सरकार तातेका बेला पार्टीलाई पनि भ्रष्टाचारका विरूद्ध लाग्न दबाब दिनुपर्छ,' श्रेष्ठले अपिल गरे ।

उनी 'भ्रष्टाचार विरूद्ध अभियान, चितवन' नामक संस्थाको नेतृत्वमा पनि छन् । उक्त संस्थाले बिहीबार बिहान भरतपुरमा प्रदर्शन र कोणसभा राखेको हो । नागरिक निगरानी समूहका सचिव रामकुमार श्रेष्ठ, मानव अधिकार तथा शान्ति समाजका राजेन्द्र पौडेल, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी लगायतले मन्तव्य राखेर भ्रष्टाचार विरोधी अभियानमा एक्यवद्धता रहेको बताएका थिए ।

प्रकाशित : जेष्ठ ४, २०८० ११:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×