हेलम्बुमा ‘ग्रेट वाल’ को झल्को

चीनको ग्रेटवालको अनुसरण गर्दै ६० किलोमिटर लामो हेलम्बुमा ‘हिमालयन ग्रेट ट्रेल’ बनाउने योजनाअन्तर्गत तीन किमिको काम सकिएको छ
अनिश तिवारी

हेलम्बु, सिन्धुपाल्चोक — वरिपरि लोभलाग्दा हिमशृंखला, लेकाली जंगल । अग्ला डाँडामा ढुंगा कुदेर बनाइएका लयबद्ध सिँढीको पदमार्ग । ह्योल्मो बौद्ध परम्परा समेटेर बनाइएका पदमार्गबीचका विश्रामस्थल र कलात्मक मानेर्छ्योतेन ।

हेलम्बुमा ‘ग्रेट वाल’ को झल्को

गुम्बैगुम्बाको हेलम्बुको ‘हिमालयन गुरु रिन्पोछे ग्रेट ट्रेल’ हेर्न पुग्ने जोकोही दंग परेर एकैछिन झुक्किन्छन् पनि अनि भन्छन्, ‘यो त दुरुस्तै चीनको ग्रेटवालजस्तै पो छ, होइन र ?’ पर्यटकको जिज्ञासाबाट नथाकेका हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा घोप्टेघ्याङबाट सुरु गरिएको ‘ग्रेट ट्रेल’ को बृहत् योजनाबारे पूरा बताएर मात्रै पठाउँछन् ।

विश्वकै अग्लो चीनको ग्रेटवालको अनुसरण गर्दै ह्योल्मोभूमि हेलम्बु घेर्दै ६० किलोमिटर लामो ग्रेट ट्रेल बनाउने योजनाअन्तर्गत तीन किमिको काम भइसकेको अध्यक्ष शेर्पाले बताए । ‘६० किमिमध्ये ३ किमिको पदमार्ग बनाइसकेका छौं, यो निर्माणाधीन अवस्थामा पनि स्वदेशी र विदेशी पर्यटक ग्रेट ट्रेल हेर्न आउन थालेका छन् । यो एक प्रकारले सबैको चासोमा पर्न थालेको छ,’ उनले भने ।


हेलम्बुको ‘हिमालयन ग्रेट ट्रेल’ पुगेपछि वरिपरिको डाँडा र प्राकृतिक संरचनाले मनमोहक बनाइदिन्छ । लोभलाग्दा सेमिसिदाङ, दोर्जेलाक्पा, गाङछम्बो, युवा पिक, गौरीशंकरजस्ता दर्जनौं हिमाललाई लालीगुराँससहित अन्य लेकाली फूलबीच खेलिरहेका रेडपान्डा यी दृश्य आँखाबाट हट्दैनन् । दुई हजार ३ सय फिटको उचाइमा रहेको घोप्टेघ्याङबाट सुरु ट्रेलको काम नागिडाँडा–सेर्माथान र सेर्माथाङबाट रिन्पोछे डाँडासम्म सकिएको छ । दस किमिको सुरुवाती चरणमा हालै सिँढी, बिसौना, पेटीलगायत संरचनाको काम धमाधम हुँदै छ । अहिलेसम्म निर्माणमा १४ करोड खर्च भएकोमा पाँच वर्षभित्र ५० प्रतिशत काम सक्ने योजनासहित प्रदेश र संघमा बजेट माग गरेको हेलम्बु गापाले जनाएको छ ।


‘धर्मचक्र पर्खालको बृहत् कार्ययोजनासहित डीपीआर बनाएर चार वर्षअघि काम सुरु गरेका थियौं । यो हेलम्बु गापाको गौरवको योजनामध्ये महत्त्वपूर्ण एक हो,’ शेर्पाले भने । बुद्धपार्कबाट पर्यटकीय ट्रेल सेर्माथाङ–ज्योमथाङ हुँदै पाँचपोखरी थाङपाल गाउँपालिका र हेलम्बुको सीमाभेग प्रसिद्ध तीर्थस्थल आमायांग्री पर्वतसँग जोडिनेछ । डुपु–भेमाथाङ, पासाङसिरी–गुफुपोखरी–जलंसा–दवालाङ्गगुफा–सेमेसिदाङ क्षेत्र पुग्नेछ । ट्रेल घुमिसक्दा यहाँको अधिकांश धार्मिकस्थल परिक्रमा र हेलम्बुको सम्पूर्ण दृश्यको आनन्द उठाउन सकिने गरी भौतिक संरचना निर्माणमा ५० जना कामदार खटिएका छन् ।


हेलम्बुभरका धार्मिकस्थललाई जोडेर बन्ने यो ट्रेलको नौ दिनको ट्रेकिङ रुट बनाएर १५ वर्षमा सक्ने लक्ष्य राखिएकोमा झन्डै ३ अर्ब लागत अनुमान गरिएको छ । सबइन्जिनियर शेरबहादुर राईका अनुसार ट्रेलमा सिमेन्ट थोरै र स्थानीय ढुंगा अत्यधिक प्रयोगमा ल्याइएको छ । ‘जसमा स्थानीय ढुंगा कुँदेर बन्ने ट्रेलमा हिँड्ने पदमार्गमा आकर्षक स्लेट ढुंगाको सिँढी बनाइरहेका छौं,’ उनले भने । हेलम्बु ट्रेलको एक खण्डको संरचनामा दसवटा खुड्किला र सिँढी पदमार्ग टुंगिएपछि प्लाटफर्ममा आएलगत्तै टाढाटाढाका सुन्दरतम् दृश्य निकाल्न सकिने ‘भ्यु टावर’ राख्ने योजना बनाइएको उनले जनाए ।


रातमा पनि सही बाटो ट्रेल मार्गदर्शन गर्नका लागि सोलार प्यानल जस्ता अत्याधुनिक बत्ती जडान हुनेछ । भौगोलिक सुन्दरता नबिगारीकन निर्माण गर्न लागिएको हेलम्बु ट्र्लेमा रूख नहुने स्थानमा वृक्षरोपण गरिने अनिवार्य नियम बनाइएको छ । यो ट्रेलको चौडाइ ९ फिट र भित्र मान्छे हिँड्ने ७ फिट अग्लो सिँढी संरचना बन्नेछ । स्थानअनुसार अढाई फिटसम्मको पाराफिट संरचनाको बन्ने ट्रेलको जंगलबीच जंगली जनावर बच्न सुरक्षित व्यवस्थित पुल बनाइनेछ ।


चीनको ‘ग्रेट वाल’को झझल्को दिने ‘ग्रेट ट्रेल ’आधुनिक नभई बौद्ध धर्मको प्रसिद्ध बज्रयान सम्प्रदायका ग्रन्थअनुरूप ह्योल्मोभूमिसँग एकदमै पुरानो धार्मिक इतिहास जोडिएको बताउँछन् हेलम्बु गापा सेर्माथाङवासी ह्योल्मो सांस्कृतिक अनुसन्धानदाता टासी दोङ्बा हयोल्मो । ‘ग्रेट ट्रेल अर्थात् धर्मचक्र पर्खालको गहिरो सम्बन्ध बज्रयान सम्प्रदायका महान् गुरु तथा निङ्मा सम्प्रदायका प्रवर्तक गुरु रिन्पोछे (पद्मसम्भव) सँग जोडिएको छ, जसलाई हामी दोस्रो बुद्ध पनि भन्छौं,’ ह्योल्मोले भने ।


तिब्बत पुग्नुअघि नेपालमा गुरु पद्मसम्भवले धेरै स्थानमा ध्यान र साधना गर्दै आफ्नो शिक्षा विस्तार गरेका थिए । त्यहीबीच शताब्दीऔं पुराना ग्रन्थमा तिब्बती धर्मगुरु सूर्य सेंगेका छोरा रिग्जिन ठिन्ले दुझोम र हेलम्बुवासी मिलेर गुरु रिन्पोछे तपोभूमि वरिपरि पर्खाल लगाउनु भनेको प्राचीन कथन पाइन्छ । अनुसन्धानदाता ह्योल्मो भन्छन्, ‘धम्रचक्र पर्खाको अवधारणा त्यहाँबाट आएको हो ।’

यहाँका हिमाली गुफामा ध्यान, तपस्या गर्नुका साथै पद्मसम्भवाले भविष्यका निम्ति भनेर आफ्ना धार्मिक महत्त्वका महत्त्वपूर्ण पवित्र पुस्तकसाथै अमूल्य निधि (तेर) ह्योल्मो क्षेत्रमा लुकाएर राखेको बौद्घ धार्मिक कथन छ ।


रिन्पोछेको आशीर्वाद प्राप्त ह्योल्मो क्षेत्रलाई अमूल्य निधिहरू लुकाइएको पवित्रभूमिमा बेय्हुल ह्योल्मोका रूपमा पनि सम्पूर्ण बौद्घ मार्गीहरूमाझ चर्चित छ । आठौं शताब्दीमा तिब्बती राजा ठ्रिसोङ देहुचेनको निम्तोमा उनी नेपाल हुँदै तिब्बत जाँदा नेपालमा पनि उनले बौद्ध धर्मको प्रचारप्रसार गरेका थिए । गुरु पद्मसम्भव तिब्बत पुगेपछि नै बज्रयान बौद्धधर्मको व्यापक प्रचारप्रसार भएको उनले बताए ।

प्रकाशित : वैशाख १३, २०८० ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?