कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘नढाक न मुहार शृंगारले’

'आफू जे छ त्यसमै खुसी हुनुपर्छ भन्ने सन्देशका रूपमा गीतलाई दर्शकले लिनुभएको छ । बाहिरी आवरण नै सौन्दर्य होइन, आफूभित्र जे छ त्यो वास्तविक सौन्दर्य हो भनेर गीतबाट भन्न खोजेको हुँ ।'
रीना मोक्तान

काठमाडौँ — गायक स्वप्न सुमन पत्नी(ज्योत्स्ना योगी)सँग कतै जाँदै थिए, अबेर भइसकेको थियो । निस्कने बेला ज्योत्स्ना झल्याँस्स भइन्, आँखामा गाजल नदेखेर । स्वप्नले 'मेकअप गर्नुपर्दैन, तिमी यतिकै राम्री छौ' भन्दै गर्दा ज्योत्स्ना गाँजल लगाउन कोठाभित्र दगुरिन् ।

‘नढाक न मुहार शृंगारले’

त्यही समयमा पल्लो कोठामा गीतार बजाउँदै गर्दा फुरेको गीत हो,'जे छौ तिमी' । युवा दर्शकको मुखैमा झुन्डिएको यो गीत अहिले स्वप्नलाई नसुन्ने दर्शकबीच पनि चर्चित छ । लामो समय युट्युब ट्रेन्डिङको पहिलो स्थान ओगटेको यो गीतको चर्चा टिकटकमै बढी देखिन्छ । 'नढाक न मुहार शृंगारले, चन्द्रमामा पनि दाग हुन्छ' भन्ने पंक्तिमा थुप्रैले फिल्टर र रियल भिडियोसहितको टिकटक बनाएका छन् । बजारको सौन्दर्य दृष्टिकोणलाई प्रहार गर्ने यो पंक्ति लेख्न स्वप्नलाई १५ मिनेट लाग्यो । 'जोजो (मायाले ज्योत्स्नालाई बोलाउने नाम) तयार हुँदै गर्दा गीतको आइडिया आयो । गाजल त्यो तिम्रो मेटाइदेउनदेखि चन्द्रमामा पनि दाग हुन्छ भन्ने लाइन त्यही समयमा लेखेर सुनाएँ । उनी भावुक भइन्, मलाई पनि राम्रै लेखेछु भन्ने भयो,' स्वप्न गीत लेख्दाका क्षण सम्झिन्छन् ।

गीतका यी शब्दले दर्शकमा यस्तो जादू चलाउलान् भन्ने चाहिँ सोचेका थिएनन्, स्वप्नले । ‘आफू जे छ त्यसमै खुसी हुनुपर्छ भन्ने जनचेतनाका रूपमा गीतलाई दर्शकले लिइदिनुभएको छ । गीतसँग आफूलाई अन्तरसम्बन्धित गरिदिँदा खुसी मिल्दो रहेछ,’ स्वप्न भन्छन्, ‘बाहिरी आवरण नै सौन्दर्य होइन, आफूभित्र जे छ त्यो वास्तविक सौन्दर्य हो भनेर गीतबाट भन्न खोजेको हुँ ।’

कपाल कस्तो देखियो ? सर्टको रंग मिल्यो/मिलेन, स्टेजमा चढ्दा कस्तो कपडा लगाउने ? यसअघि स्वप्नको ध्यान पनि बाहिरी आवरणमा पुगिहाल्थ्यो । अहिले बुझिसके, सौन्दर्यको फरक परिभाषा । धेरैले स्वप्नलाई लामो कपाल काट्न सुझाउँछन् । तर, उनी आफूलाई लामो कपालमै देख्न रुचाउँछन् । ‘जे छु म यस्तै छु भन्दैमा आफ्नो केयर नै नगर्ने भन्ने होइन । कपाल, शरीर र मानसिक स्वास्थ्यको त ख्याल राख्नैपर्छ । त्यही हो बनावटी देखिनु भएन ।’

स्वप्नले ‍‘जे छौ तिमी’ लाई युवा गायक समीर श्रेष्ठसँगको सहकार्यमा बजारमा ल्याए । खासमा यही गीत लेख्ने समयतिर समीरले स्वप्नसँग आफ्नो नयाँ गीतमा सहकार्य गर्ने चासो देखाएका रहेछन् । त्यतिबेला समीरले गीत पूरा लेखिसकेका थिएनन् । त्यसैले स्वप्नले आफूले लेख्दै गरेको यही गीतमा सहकार्यको प्रस्ताव राखे । गीत सुन्नेबित्तिकै समीरलाई मनपरे छ । गीतमा समीरले स्वर दिने पक्का भयो । त्यतिबेला विदेश यात्रा गर्ने तयारीमा थिए, समीर । छोटो समयमै गीत निर्माण गर्नुपर्‍यो । शाश्वत श्रेष्ठले निर्माण गरेको गीतको भिडियो एकै दिनमा वानसटमा खिचियो । स्वप्न भिडियोमा समीरलाई पनि राख्न चाहन्थें । भिडियो निर्माण टिम स्टेलर स्टुडियोलाई स्वप्नले आफैंले आइडिया सुनाए । त्यसपछि नै हो, वानसटमा खिच्ने तय भएको । गीतको भिडियो ५/६ टेकमै खिचिएको स्वप्न सुनाउँछन् । ‘समीरले गर्दा पनि गीतमा एउटा छुट्टै खालको मिठास भरिदिएको छ । यो गीतको भाव समीरले गर्दा पनि पूरा भइदिएको छ जस्तो लाग्छ,’ उनले भने ।

‘जे छौ तिमी’ लाई स्वप्नको कमब्याक भन्नेहरू पनि छन् । जब कि यसअघि ‘वाचा भयो’ बोलको गीत उत्तिकै रुचाइएको थियो । एक दशक यो क्षेत्रमा बिताएका स्वप्न ‘जे छौ तिमी’ लाई आफ्नो कमब्याक भने मान्दैनन् । ‘सक्रिय रूपले काम गर्दागर्दै त्यो क्षेत्र छोडेर कतै तपाईं जानुभयो । अनि पछि फर्केर त्यो क्षेत्रमा आउनुभयो भने त्यसलाई कमब्याक भन्न मिल्यो । तर म यो क्षेत्रमा काम गरेको १० वर्ष बढी भइसक्यो । यसबीच कति प्रयोगात्मक काम गरें, कति गीतहरू सोचेअनुसार सफल भए, कति चलेनन् । यसको मतलब मैले कहिल्यै यो यात्रालाई टुंग्याइन्,’ २७ वर्षीय स्वप्न भन्छन्, ‘जे छौ तिमीले मलाई सुन्ने नयाँ दर्शक थपिएको अनुभव भएको छ । तर, कमब्याक नै होइन । म यहीं नै थिएँ ।’

कभर गायनबाट सुरु भएको स्वप्नको संगीत करिअर ओरिजिनलबाट उकालो लागेको हो । धरानको सैनिक आवसीय विद्यालयमा पढ्दा स्वप्नले भजन गाउँथे । कक्षा ४ मा पढ्दा पहिलो पटक माइक समातेका स्वप्नलाई विद्यालयमा पाएको हौसलाले नै गायनमा केही गर्छु भन्ने थियो । स्कुले शिक्षा सकिएपछि गीतार बजाउन सिके । केजीसी (काठमाडौं ज्याज कन्जरभेटरी) मा छोटो समयको भोकल कक्षा लिएका उनी अनलाइनबाटै सिकेर संगीतमा लागेका हुन् । १२ पढ्दै गर्दा युट्युब र फेसबुकमा गाउँदै राखेका कभर गीतले चर्चामा ल्याए उनलाई । ‘सुन भनन’, ‘उकाली चढौंला’, ‘परेलीमा’ लगायतका पुराना गीतको कभर गायनले चिनिएका स्वप्नले पहिलो पटक स्टुडियोमा रोहित जोन क्षत्रीको ‘बिस्तारै–बिस्तारै’ को कभर रेकर्ड गरे । अब भने ओरिजिनल गीत गाउनुपर्छ भन्ने लागेपछि सार्वजनिक भयो स्वप्नको पहिलो गीत– ‘के सारो राम्री (२०१४)’ ।

कभर गाउनेहरूलाई त्यतिबेला अरूको गीतले चर्चामा आएको भन्ने आरोप लाग्ने गर्थ्यो । स्वप्नलाई कहिल्यै अर्काको गीत गाएर हिट हुन्छु भन्ने लोभ थिएन । ‘कति जनाले कभर सङ गरेको मन पराउनुहुन्छ । कतिले मन पराउनु हुन्न । मलाई कभर गर्दा नै थाहा थियो, म गीत गर्न सक्छु भनेर । आफ्ना दर्शक/श्रोता बनाउन मैले कभर सङहरू बनाएको थिएँ,’ उनले भने । स्वप्नलाई स्थापित गराउने गीत भने ‘कसरी भनुँ’ हो । तर त्यसपछिका गीत भने दर्शकले खासै मन पराइदिएनन् ।

आफूले मिहिनेत गरेको गीतलाई दर्शकले नरुचाइदिँदा भने स्वप्नलाई सिर्जना गर्नै गाह्रो हुन थाल्यो । त्यसपछि उनलाई लाग्यो, ‘आफूलाई जस्तो गीत सुन्न मनपर्छ, त्यस्तै गीत बनाउँछु ।’ त्यसपछि अपेक्षा नराखी आफूलाई मनपर्ने संगीत गर्न थाले । त्यसयता प्रयोग गर्न पनि डराएनन् । र्‍यापर मानस घलेसँग गरेको गीत खासै दर्शकले मन पराइदिएनन् । ‘फर्की आउनेछु’ लेख्दा उनी हङकङमा शो गर्न पुगेका थिए । शोमा आफ्नो पालो कुर्दै गर्दा लेखेका हुन् यो गीत । ‘त्यतिबेला मलाई हङकङमा आएको २/४ दिनमै घरको याद आइसक्यो । त्यहाँ आफ्नो परिवारका लागि काम गर्न आउनेहरूले कस्तो अनुभव गर्नुहुन्छ होला भनेर लेखेको गीत हो,’ उनी भन्छन् । गीतको भिडियोमा सिजोफ्रेनिया रोगको विषय देखाइएको थियो ।

स्वप्नका गीत सामान्य शब्दका हुन्छन्, तर प्रेमिल भाव मिसिएका । गीतमा प्रेम र बिछोडको भावना भेटिनुका पछाडि उनको आफ्नै तर्क छ । ‘मलाई आफ्नै अनुभवबाट गीत लेख्न मन लाग्छ । आफूलाई फिल नै नभएको कुरामाथि लेख्न मन लाग्दैन । टिनएजदेखि नै लेख्न थालेर होला लभ, स्याडनेस मेरो गीतमा आउन थालेको हो,’ उनले भने । तर समयसँगै प्रेम र बिछोडलाई फरक तरिकाले पनि हेर्न सकिने उनको बुझाइ छ । प्रेमका गीत लेखे पनि म्युजिक भिडियोमा नयाँ प्रयोग गरिरहेका हुन्छन् । ‘रातको माया’ उदाहरण हो । गीतमा एउटा यौन व्यवसायीको कथा समेटिएको थियो । पछिल्लो समय हरेक बिहेमा बज्ने गरेको ‘वाचा भयो’ बोलको गीत त पत्नी ज्योत्स्नासँग बिहे भएको जानकारी दिन सार्वजनिक गरेका थिए । गीतमा उनीहरूको बिहेको भिडियो, बिहेको प्रस्तावका क्लिप्सहरू समावेश थियो ।

एक दशक लामो सांगीतिक यात्रालाई फर्केर हेर्दा स्वप्नलाई आफ्नो सपना पूरा भएझैं लाग्छ । ‘पहिला मैले जे गर्छु भनेर सोच्थें ती सबै पूरा भएको छ । आफ्ना सपनाहरू बाँच्न पाएको छु,’ उनले दंग हुँदै भने, ‘यो क्षेत्रमा १० वर्ष कसरी बित्यो, पत्तो भएन । मेरो जर्नी खासमा ड्रिम कम ट्रू नै भयो ।’ यो यात्रामा स्वप्नले आफ्नो करिअरको ‘अप्स एन्ड डाउन’ देखे । कुनै समयमा त गीत नै लेख्न आउँदैन कि क्या हो भन्ने भयो । कतिपय समय फ्रस्टेट भएर कोठाको कुनामा गितार राखेर गीत लेख्दिनँ भनेर बसे । दर्शक रिझाउने गीत बनाउन खोज्दा कति पटक असफल भए । तर, सकारात्मक भएर लागिरहे । ‘सायद मेरो मात्र होइन, सबैको जीवनमा उतारचढाव भइरहन्छ । ‘भएन भने पनि त जिन्दगी रमाइलो हुँदैन,’ करिअरमा उतारचढाव भोगेका स्वप्न भन्छन्, ‘मानिस बाँच्नका लागि पनि धड्कन तलमाथि हुनुपर्छ । आखिर त्यस्तै कुरा न हो, करिअर पनि ।’

प्रकाशित : चैत्र २९, २०७९ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?