कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

होमस्टे चलाउँदै तन्नेरी

लमजुङ, तनहुँ र पर्वत — होमस्टे सञ्चालन देशमै पहिलो पटक २०५४ सालमा स्याङ्जाको सिरुबारीबाट सुरु भएको हो । त्यसपछि त स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै ग्रामीण भेगमा होमस्टे सञ्चालनको लहर नै चल्यो ।

होमस्टे चलाउँदै तन्नेरी

संघीय सरकारले पनि ग्रामीण पर्यटनअन्तर्गत होमस्टे प्रवर्द्धनको नीति र कार्यक्रम अघि सार्‍यो । कार्यविधि बनेर मापदण्ड पनि तोकियो । सामुदायिक वा निजी होमस्टे अहिले देशैभर सञ्चालनमा छन् ।

ग्रामीण पर्यटनअन्तर्गत होमस्टेले गाउँमै स्वरोजगार वृद्धि र स्थानीय संरक्षणमा उल्लेख्य भूमिका पनि खेल्यो । विशेष गरी युवा स्वरोजगार र रोजगारी, स्थानीय उत्पादनमा जोड दिएको होमस्टे एउटा अभियानका रूपमा अघि बढेर ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन सहायक बन्यो । विदेश छाडेर युवा होमस्टेमा लगानी गर्न थालेका छन् । होमस्टेले छुवाछूत प्रथाको अन्त्य गर्नसमेत सघाउ पुर्‍याएको छ ।

लमजुङको क्व्होलासोंथार गाउँपालिका–३ घलेगाउँका पदमराज गुरुङ ३४ वर्षका भए । गाउँमा नयाँ मान्छे आउँदा के गर्न आएका होलान् जस्तो लाग्थ्यो उनलाई ।

पाहुनालाई घरमा गाँस र बास दिएर अतिथि सत्कार गरेको उनकै आँखाले देखेर हुर्केका थिए । अहिले भने तिनै पाहुनालाई गाउँकै मीठो मसिनो खुवाउन र स्वागत सत्कार गर्न होमस्टे चलाएका छन् ।

कक्षा ९ सम्म पढेपछि उनी घरै बसे । बाबा विदेशमा, दिदीको विवाह भइसकेको र दाइ पोखरामा थिए । भाइहरू सानै । आमालाई घरायसी काममा सघाउँदा सघाउँदै उनले पढाइ छाडे । धन कमाउन विदेशिनुको विकल्प थिएन । गाउँमै बसेर कमाउने कुनै उपाय देखेनन् उनले । बिहे गरेपछि पारिवारिक जिम्मेवारी झन् थपियो । उनी कतार उडे । त्यहाँ पनि २ वर्षभन्दा बढी टिक्न सकेनन् र फर्के । फेरि साउदी अरब लागे । त्यहाँको कमाइले पनि आफैंलाई मात्र खान, बस्न ठिक्क थियो ।

गाउँमा पर्यटक आगमन बढ्दै गएको खबर श्रीमती ओमकुमारीले सुनाइन् । उनको घर र ससुराली दुवैमा होमस्टे चल्दै थियो । गाउँमा होमस्टे सञ्चालन सुरु भयो । ‘विदेशको जति पैसा त म मेरै माटोमा कमाउँछु भनी फर्किएँ । विदेशमा भन्दा होमस्टेमा बढी कमाइ छ । आनन्द पनि यहीं छ,’ उनले भने । उनको होमस्टेमा २ वटा कोठामा गरी ७ वटा ओछ्यान छन् । शौचालय, नुहाउने छुट्टै व्यवस्था छ ।

होमस्टे चलाउन उनले ठूलोबाबाको घर किने । घले गाउँका ४२ होमस्टेमध्ये उनको घर नम्बर ७ हो । आफ्नो होमस्टेमा आउने पाहुनालाई उनी अर्गानिक खाना खुवाउँछन् । बारीमा आलु, साग, लसुन, बोडी, काउली, बन्दालगायत तरकारी फलाएका छन् । लोकल कुखुरा र भेडाबाख्रा पालेका छन् । गाउँकै कोदो, चामलबाट बनेका परिकार खुवाउँछन् ।

कोरोना संक्रमणले थलिएको पर्यटक व्यवसाय हिजोआज भने बढेको छ । ‘मेरो घरमा पर्यटक आउन निकै रुचाउँछन् । फोन गरेर आउँछु भन्छन् । मैले जहाँ बसे पनि एउटै हो भन्छु,’ उनले भने । उनका ठूल्दाइ, काइँला दाइ र भाइले समेत होमस्टे चलाएका छन् । ‘बर्खायाममा कहिलेकाहीं पर्यटक आउँदा पनि मेरो आम्दानी महिनाको २० हजार घटेको छैन,’ पदमले भने । सामान्यतः ४० हजार रुपैयाँ र बढीमा १ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । उनले यही आम्दानीबाट छोराछोरी पढाउनेदेखि घर खर्च मज्जाले चलाइरहेको सुनाए ।

गाउँघरमै बसेर कमाउन सकिन्छ भनेर होमस्टेको अवधारणा अगुवाबाट पाएपछि युवाहरू अहिले गाउँमै बसेर होमस्टे चलाउन थालेको पदम बताउँछन् । उनलाई होमस्टेको कमाइमा मात्र होइन, पाहुनालाई स्वागत सत्कार गर्न पाउँदा पनि निकै आनन्द लाग्छ रे । गाउँमा पाहुना आउने वातावरण सधैं भइदिए हुन्थ्यो जस्तो लाग्छ पदमलाई । ‘मैले ६ वर्षमै विदेश चेतिसकेको छु । अब गाउँ छोडेर कतै जान नपरोस्,’ उनले भने ।

लमजुङको क्व्होलासोंथर–३ मा रहेको स्मार्ट भिलेज घलेगाउँ (माथि) र उक्त होमस्टेमा आएका विदेशी पाहुना । फाइल तस्बिर : आश/कान्तिपुर

तनहुँको व्यास नगरपालिका–१३ आँपस्वाँराका २५ वर्षीय मनोज विक अहिले होमस्टे सञ्चालनमा व्यस्त छन् । परिवार र देशभन्दा टाढा गएर कमाएको भन्दा आफ्नै गाउँठाउँमा परिवारसँगै बसेर गरिएको मिहिनेतबाट राम्रो प्रतिफल प्राप्त गर्ने मनोजको लक्ष्य छ ।

५ वर्षदेखि होमस्टे सञ्चालनमा जुटेका मनोजले अहिले गाउँको पहिचान मात्रै होइन, समाजले गर्ने व्यवहारमा समेत परिवर्तन ल्याउन सफल भएका छन् । उनले दलित समुदायको सहभागितामा आँपस्वाँरा दलित सामुदायिक होमस्टे सञ्चालन गरेका छन् । होमस्टेका सचिवसमेत रहेका मनोज भन्छन्, ‘समाजमा व्याप्त छुवाछूत र दलित समुदायलाई गरिने व्यवहार अन्त्य गर्न होमस्टे उदाहरणीय बन्दै गएको छ ।’

दलित समुदायका १८ घरधुरीमा सञ्चालन गरिएको होमस्टेमा अहिले विदेशी मात्र होइन, स्वदेशी पर्यटकको समेत आकर्षण बढ्दै गएको छ । २० वर्षको उमेरमा होमस्टे सञ्चालनमा लागेका मनोज समाज रूपान्तरण र ग्रामीण पर्यटनका माध्यमबाट आर्थिक उपार्जनको माध्यम होमस्टे बनेको बताउँछन् । ‘एसएलसीपछि कामको सिलसिलामा पोखरा गएको थिएँ । त्यहाँ करिब ३ वर्षसम्म टुरिस्ट गाइडका रूपमा काम गरें,’ उनले भने, ‘त्यसपछि फर्किएर होमस्टेमा आबद्ध भए । अहिले घरमै अतिथिको स्वागत सत्कारमै समय बिताउने गरेको छु ।’

उनले होमस्टे व्यवस्थापनमा आमाबुबा, दाजु, भाउजू र बहिनीको पनि सहयोग पाएका छन् । ‘होमस्टे सञ्चालनपछि राम्रै आम्दानी भएको थियो । वर्षमा एक लाखभन्दा बढी कमाउँथें,’ उनले भने, ‘कोरोना कहरपछि भने पर्यटक आउन कम भएको छ । आम्दानी पनि आधा नै घटेको छ । अब फेरि पर्यटक बढ्ने विश्वासमा छु ।’

विशेष गरी विदेशीहरू दलित समुदायको अध्ययन गर्न पनि होमस्टेमा आउने गर्छन् । उनको होमस्टेमा १८ मुलुकका पर्यटकले भ्रमण गरिसकेका छन् । १० प्रतिशत मात्र नेपाली पर्यटक रहेको मनोजले बताए । ‘५ वर्षमा करिब एक हजार एक सय जना पर्यटक होमस्टेमा आएका छन्,’ उनले भने, ‘दलित, गैरदलित सबै आएर एकै परिवारजसरी बस्नुहुन्छ । यसले गर्दा समाजमा केही परिवर्तन आएको छ ।’

पर्वतको मोदी गाउँपालिका–८ का २७ वर्षे कृष्ण गुरुङले ७ वर्ष विदेशी पर्यटकको पथप्रदर्शक (ट्रेकिङ गाइड) का रूपमा बिताए । कास्कीका विभिन्न पर्यटन व्यवसायीसँगको सहकार्यमा यस पेसामा लाग्दा कमाइ राम्रै थियो । थुप्रै जिल्ला घुम्ने अवसर पाए । कोभिड महामारीपछि उनको व्यवसाय टुट्यो, आम्दानी गुम्यो ।

सहरको बसाइ महँगो हुँदै गएपछि उनी गाउँ फर्किए । गाउँमै व्यवसाय सुरु गर्ने योजना बनाए । गुरुङ समुदायले २०६७ सालमा सुरु गरेको चित्रे ग्रामीण पर्यटन होमस्टे यति बेला गण्डकी प्रदेशमै चर्चित छ ।

कृष्णले २०७८ चैतदेखि गाउँमै होमस्टे सुरु गरे । सुरुमा १२ जना पाहुना राख्न मिल्ने गरी व्यवस्थापन गरे । अहिले भने १८ जनाको क्षमता पुर्‍याएका छन् । करिब १५ लाख रुपैयाँ लगानीमा सुरु गरेको होमस्टेमा हाल आन्तरिकसँगै विदेशी पर्यटक पनि आउन थालेका छन् ।

चित्रेकै निसान गुरुङ र जितबहादुर गुरुङले २०७८ चैतदेखि नै पथप्रदर्शक र होटल व्यवसाय छोडेर होमस्टेमै लगानी गरेका छन् । पोखरा र काठमाडौंमा करिब ९ वर्ष होटल व्यवसाय गर्दै आएका निसानले दुई वर्षअघि गाउँ फर्किएर होमस्टेमा लगानी गरेका हुन् । ‘विदेशी पर्यटनले धानेको पोखराको व्यवसाय चौपट भयो,’ निसानले भने, ‘आन्तरिक पर्यटक यहाँ धेरै आउने भएकाले गाउँमै लगानी सुरु गरें । केही समय आन्तरिक पर्यटककै बलमा धानियो । अहिले विदेशीको पनि चहलपहल सुरु भएको छ । राम्रै छ ।’ पर्यटकलाई स्थानीय गुरुङ समुदायको विभिन्न कलासंस्कृति झल्किने गीत, नृत्य र गुरुङ समुदायका मौलिक परिकारको स्वाद दिन्छन् । गुरुङ समुदायले होमस्टे सञ्चालन गरेको भए पनि अनेक जातजातिका पाहुनाहरू आउने भएकाले आफ्नो मौलिक संस्कार उनीहरूलाई जानकारी गराउन विविध कला, संस्कृति र स्थानीय परिकारको स्वाद दिइने होमस्टे सञ्चालक समितिकी अध्यक्ष सुशीलादेवी गुरुङले बताइन् । ‘हाम्रो मौलिक संस्कृति र स्वाद नदिए यहाँको प्रचार हुँदैन,’ उनले भनिन्, ‘यस्ता होमस्टे अन्त पनि छन् । तर, हामीले यहाँ आउनेलाई हरेक कुरामा फरक स्वाद दिने प्रयास गरेकै हुन्छौं ।’

चित्रे पुग्ने पाहुनालाई स्थानीयले सामूहिक रूपमा माला, ठाडो भाका, घाटु, सालैजोलगायतका गीतले स्वागत गर्छन् । साँझमा स्थानीय कोदो, फापरको परिकार, लोकल कुखुराको सुप र सिजनअनुसारका खानाका परिकारसँगै पञ्चेबाजाको मंगलधुन यहाँका मौलिक पहिचान हुन् । चित्रेमा हाल ११ घरमा होमस्टे सञ्चालनमा रहेको होमस्टे विकास समितिका संयोजक मधुसोधन अधिकारीले बताए ।

प्रकाशित : चैत्र १७, २०७९ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×