ज्यान जोखिममा राखेर दर्जन सन्तान

सुदूरपश्चिममा बर्सेनि दर्जन वा सोभन्दा बढी सन्तान जन्माएका आमाहरूको बुढेसकाल पनि सुखपूर्ण देखिन्न, धेरै सन्तान जन्माउँदा बिग्रेको स्वास्थ्यले उनीहरूलाई अहिले पनि सताइरहन्छ
९ माना चामल पकाउँदा पनि अन्तमा मलाई खाना बच्दैनथ्यो, छोराछोरी पनि कहिल्यै अघाएनन्, सन्तान कसरी हुर्काएँ भन्ने सोचेर अहिले आफैं अचम्म मान्छ
मेनुका ढुंगाना

अछाम — कुल साक्षरता दर ६३.५ प्रतिशत सुदूरपश्चिमका ग्रामीण भेगमा अहिले पनि दर्जनौं सन्तान जन्माएका आमाहरू बग्रेल्ती भेटिन्छन् । ती आमाहरूको संघर्षपूर्ण प्रसूति यात्रा र त्यसक्रममा उनीहरूले भोगेको स्वास्थ्य जटिलताको कथा सुन्दा कस्तो भयावह समयबाट आमाहरू गुज्रिएका रहेछन् भन्ने थाहा हुन्छ ।

ज्यान जोखिममा राखेर दर्जन सन्तान

सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको प्रदेश स्वास्थ्य नीति २०७८ ले भन्छ, प्रदेशमा प्रजनन दर २.३ छ । तर, यो औसत प्रजनन दरको तथ्यांक बाहिर चिहाउने हो भने आमाहरूले गर्भवती र सुत्केरी समयमा गुजारेका कहालीलाग्दा दिनहरूको तस्बिर फेला पर्छ ।

सन् १९९४ मा नेपालसहित विश्वका १ सय ७९ राष्ट्रले अनुमोदन गरेको जनसंख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीपीडी) ले कहिले बच्चा जन्माउने, कति जन्माउने, जन्मान्तर कति राख्ने, जन्माउने वा नजन्माउने निर्णयका बारेमा स्वतन्त्रतासहित जिम्मेवार निर्णय लिन पाउने र यसका बारेमा सजिलै सूचना पाए महिला तथा किशोरी सशक्त हुन्छन् भनेको छ । तर, हामीले भेटेका केही प्रतिनिधि महिलाको कथा सुन्दा यस्तो लाग्छ, महिलाहरूले प्रजनन स्वास्थ्यको आधारभूत अधिकारको महसुस त गर्न पाएनन् नै, उनीहरू सन्तान जन्माउने मेसिन बनाउने सामाजिक बाध्यतालाई सिंगो समाजले स्वीकारी रह्यो । ७० वर्षकी अम्बी विक, ६३ वर्षीया बेलुदेवी ढुंगाना र ६५ वर्षीया पाटु विकको प्रसूति यात्राको कथा सुन्ने हो भने एक समय कस्तो समाज थियो र महिलाहरूको स्वास्थ्यमाथि कसरी खेलबाड भएको थियो भन्ने थाहा लाग्छ ।

मंगलसेन–५ का अम्बी, बेलु र पाटुको दुःखपूर्ण समयबाट समाज धेरै अघि बढिसकेको छ । तैपनि दुःखका ती अत्यासपूर्ण कथाको अन्त्य भइसकेको छैन । अछाममा अधिकांश महिलाले छोरा पाउनका लागि पटकपटक गर्भवती हुनेको संख्या अहिले पनि धेरै भएको जिल्ला अस्पताल अछामकी सूचना अधिकारी वरिष्ठ नर्सिङ अधिकृत गंगा बुढामगरले बताइन् । ‘स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलाको छोराछोरीको संख्या छुट्याएर राखेको त छैनौं । तर, धेरै महिला भने छोरा नजन्मिँदासम्म गर्भवती भइरहन्छन्,’ उनले भनिन्, ‘सदरमुकाम मंगलसेनका धेरै वडा र जिल्लाभरबाट ८/९ पटक छोरीलाई जन्म दिएका महिलाहरू अहिले पनि छोराकै लागि गर्भवती हुन्छन् ।’

धेरै छोरीहरू पाउँदा श्रीमान् र परिवारले वास्ता नगर्ने, छोरा पाए माया पाउनै लागि महिला जति पटक पनि गर्भवती हुन तयार भएको सुनाउने गरेको उनले बताइन् । ‘छोरी जन्मेको थाहा पाउनेबित्तिकै यसलाई मारिदिनुस् सिस्टर भनेको एउटा घटनाले म अहिले पनि झस्किन्छु,’ ४ वर्षअघिको एउटा घटना सम्झँदै उनले भनिन्, ‘कतिपय परिवारका सदस्यले धेरै छोरी जन्मेको भन्दै आमालाई दूध चुसाउनसमेत दिँदैनन् । यहाँका महिलाहरूलाई धेरै पीडा छ ।’

१८ वर्षदेखि जिल्ला अस्पताल अछाममा कार्यरत बुढामगरका अनुसार यताका महिलाको दुःख भनेको छोरी मात्रै जन्मेर वास्ता नगर्नु नै हो । ‘सुरुमा त विवाह दर्ता नगर्ने, छोरी मात्रै जन्मिए श्रीमान्लाई दोस्रो बिहे गर्न सजिलो हुन्छ भन्ने लाग्दो रहेछ । अहिले पनि छोरा अनिवार्य हो भन्ने व्यवहार पढेलेखेकाहरू नै देखाउँछन् । छोराछोरीबीचको विभेद हट्न सकेन,’ उनले भनिन्, ‘यो पीडा बाहिर देखिँदैन । तर, महिलाहरूले सबैभन्दा बढी तनाव र हिंसा भोगिरहेका छन् ।’

अम्बी विक (वर्ष ७०)

१४ वर्षमा बिहे गरेकी अम्बीले १७ वर्षमा पहिलो छोरालाई जन्म दिइन् । त्यसपछिका प्रत्येक वर्ष उनी गर्भवती भइन् । मेसिन जसरी उनले लगालग १७ सन्तान जन्माइन् । उनले सामाजिक मान्यता सुनाइन्, ‘एकाको एक्काइस होस्’ र ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भनेर दिएका आशीर्वाद लागेजस्तो भयो ।’

उनले जन्माएका १७ मध्ये ६ जना बिते ९ छोरा र २ छोरी मात्रै बाँचे । उनलाई स्पष्ट सम्झना छ, कोही जन्मेको ७ दिन बाँचे, कोही १० दिन बाँचे, कोही एक महिना मात्रै बाँचे । उनले एउटा छोरा भने पेटमै मरेपछि गाउँकै महिलाले पेटभित्र हात हालेर निकालेको कहालीलाग्दो कथा सुनाइन् । बग्रेल्ती सन्तान भएकाले निरक्षर अम्बीलाई सबैको नामसमेत सम्झना छैन । तर, तिनीहरूको अनुहार, तिनका सारा आनीबानी उनलाई प्रस्ट सम्झना छ ।

बर्सेनि सन्तान जन्माउनु स्वास्थ्यका निम्ति कति जोखिमपूर्ण हो भन्ने उनलाई थाहा छैन । बरु उनी लगालग सन्तान जन्माएकैले समाजले दिएको नाम सुनाउँदै फिस्स हाँस्छिन् । उनले भनिन्, ‘फल्ने कोठार (कोख) भएरै पो यति धेरै जन्मे ।’

अहिलेसम्म उनका ४ छोरा र दुई छोरीको मात्रै विवाह भइसकेको छ । जसबाट नातिनातिनाको संख्या २१ पुगेको छ । उनले भनिन्, ‘अहिले पो खुसी जस्तो देखिन्छु । पहिले मेरा बर्सेनिका जत्काल (गर्भवती) हुन्थे । एकातिर छोराछारी, अर्कोतिर घरको काम, पेटभरि खान नपाउनुको पीडा । ती दिन सम्झिँदा अहिले पनि म एक्लै रुन्छु ।’ उनले आफ्नो समुदायमा जत्काल भनिनुको अर्थ बताउँदै ‘जत्’ भनेको सन्तान सकुशल जन्मिनु र ‘काल’ भनेको हरेक पटक गर्भमा सन्तान आउँदा सहजै जन्माउन नसके काल आउनु रहेको बताउँदै आफू १७ पटक कालसँग लडेको बताइन् ।

आफर (हँसिया, बन्चरो, कुटो, कोदालो) बनाउने परम्परागत पेसाबाट गर्जो धानिरहेको परिवारकी सदस्य अम्बीले गर्भवती भएका बेला कहिल्यै पेटभरि खान पाइनन् । उनले भनिन्, ‘आफरमा ल्याएका औजार बनाइदिँदा पैसा दिने चलन थिएन । अन्न (गहुँ, धान, दाल) दिन्थे । त्यसले बिहानसाँझको चुलो बल्थ्यो ।’

बग्रेल्ती सन्तान भएकाले उनले तिनीहरूलाई धेरै पढाउन सकिनन् । कसैले ४ कक्षा पढेर छोडे, कसैले ५ कक्षा पढेर । उनले भनिन्, ‘९ माना चामल पकाउँदा पनि अन्तमा मलाई खाना बच्दैनथ्यो । छोराछोरी पनि कहिल्यै अघाएनन् । यतिका सन्तान कसरी हुर्काएँ भन्ने सोचेर अहिले म आफैं अचम्म मान्छु ।’

१३ सन्तान जन्माएपछि उनलाई आफ्नो स्वास्थ्य साह्रै कमजोर भएको महसुस भयो । उनले आँट बटुलेर श्रीमान्लाई स्थायी बन्ध्याकरणका निम्ति दबाब पनि दिइन् । तर, त्यस्तो सुविधा त्यतिबेला अछामको कुनै पनि स्वास्थ्य संस्थामा थिएन । उनकै जोडबलले उनका श्रीमान् बन्ध्याकरण गर्न कैलाली पनि पुगे । तर, स्वास्थ्यकर्मीले ‘गर्मीको मौसममा गर्न हुँदैन जाडो भएपछि आउनुस्’ भनेर फर्काइदिए । यसरी श्रीमान् फर्केपछिका वर्षमा उनले लगालग ४ सन्तान जन्माइन् । धेरै सन्तान जन्माएकाले उनले तल्लो पेट दुख्ने, सेतो पानी बग्ने समस्याले अनेकन दुःख खेपिन् । तैपनि आफ्नो समस्या कसैलाई भनिनन् । उनले सुनाइन, ‘यस्तो समस्या भयो भनेर अस्पताल जान पनि लाज लाग्थ्यो । पहिले लाज मानेर उपचार गर्न गइएन अहिले गाह्रो हुन थालेको छ ।’

पाटु विक (वर्ष ६५)

१३ वर्षमा बिहे गरेकी पाटुले १२ सन्तान जन्माइन् । तीमध्ये ३ छोरा र ३ छोरी मात्रै बाँचे । बाँकी ६ छोराछोरी जन्मँदै/मर्दै गए । ‘एक छोरा १ वर्षमा मर्‍यो, अर्को ६ दिनमा, अर्को १८ दिनमा, एक छोरी ३ दिनमा र २ छोरा एक/एक महिनामा मरे,’ पाटुले फेहरिस्त सुनाउँदै भनिन्, ‘अहिले ६ सन्तानबाट १६ नातिनातिना छन् ।’

प्रत्येक सन्तान जन्माउँदा उनले उस्तै खाले दुःख भोगिन् । ती दुःखमा पोषण, स्याहारको अभाव र जोखिमपूर्ण प्रसूतिको घटना समेटिएका छन् । उनले कान्छो छोरा जन्माउने दिन आफू राजा (स्थानीय ठूलाबडा) को घरमा काम गर्न गएको र त्यो दिनभर पेट दुख्ने र छटपटी हुने समस्या खेपेको बताइन् । ‘बच्चा जन्मनु अगाडि नै रगत बग्न थालेको थियो । राजाको घरमा घाँसदाउरा काटेर साँझ घर आएँ । धान कुटें, जाँतोमा गहुँ पिसें, ओखलमा मकै कुटें, त्यतिबेलासम्म पनि रगत बगेकै थियो,’ उनले भनिन्, ‘त्यही राति मैले बच्चा जन्माएँ । तर, धेरै रगत बगेर म बेहोस भएँ । सबैले मलाई मरिसकी भन्ने सोचेछन् । तर, काल नआई नमरिने रहेछ ।’

उनका धेरैजसो सन्तान बर्सेनि जन्मेका थिए । गर्भवती र सुत्केरी दुवै बेला पेटभरि खान नपाएकाले आफ्नो स्वास्थ्य बिग्रेको हो भन्नेमा उनी यतिबेला प्रस्ट छिन् । ‘६५ वर्षकै उमेरमा थला पर्ने अवस्था आएको कारण बर्सेनिका सन्तान, भोको पेट र कामको भारले हो,’ उनले थपिन्, ‘नत्र अहिले नै म यसरी बिरामी भएर ढल्ने बेला भएको थिएन ।’

जति सन्तान जन्माए पनि उनका दुःख घटेका छैनन् । बरु दुःखको जोड र गुणन भएको छ । उनको कुनै पनि सन्तानले पढेका छैनन् । अहिलेसम्म उनको जग्गाजमिन केही छैन । कमाएर गुजारा चलाउनुपर्ने दुःख उस्तै छ ।

अनौठो त के छ भने उनले जसरी धेरै सन्तान जन्माएर दुःख खेपिन् । त्यस्तै दुःख अहिले उनकी जेठी बुहारीले पनि खेपिरहेकी छन् । उनले भनिन्, ‘मेरो जेठी बुहारीले ४ छोरा र २ छोरी जन्माइसकी । ५ वटा त खेरै गए । बुहारीको अवस्था पनि मेरोभन्दा खासै फरक छैन ।’ अंश र वंश धान्न छोरा नै चाहिन्छ भन्ने मान्यताले गर्दा उनले आफ्नो टोल छिमेकका कैयन् बुहारीले अहिले पनि ७/८ सन्तान जन्माइरहेको बताइन् ।

बेलुदेवी ढुंगाना (वर्ष ६३)

११ वर्षको उमेरमा बिहे गरेर १७ वर्षको उमेरदेखि सन्तान जन्माउन थालेकी बेलुदेवीले ११ सन्तान जन्माइन् । दुई मृत जन्मिए भने २ गर्भमै खेर गए । अहिले उनका ४ छोरी र २ छोरा छन् । सन्तान जन्माउँदाको दुःख सम्झिँदा अहिले पनि उनको मनमा गाँठो पर्छ ।

उनले भनिन्, ‘सुत्केरी हुँदा नौ दिनसम्म गोठमा बस्नुपर्थ्यो । त्यो बेला मिठोमसिनो खाने कुरा त हाम्रा लागि के हो, के हो । कतिसम्म भने नुन खानसमेत पाइँदैनथ्यो ।’ छोरी जन्माउँदा खेप्नुपर्ने हेलाहोचो र अपमान त उनको मनमा झनै गढेको छ ।

सुत्केरीलाई स्याहार गर्नुपर्छ भन्नेसम्मको चेत परिवारमा थिएन । उनले सुत्केरी बेला गोठमा बसेको र श्रमयुक्त काम गर्न बाध्य भएको, एक दिन त रगत धेरै बगेर बेहोस भएको घटना सुनाइन् । ‘साइँली छोरी जन्मेका बेला म मरेर बाँचेकी हुँ । जन्मेको १० महिनासम्म रगत बग्ने र पखाला नरोकिने भयो । छोरी पाएको भन्दै घरका कसैले पनि उपचार गराउन चासो दिएनन् ।’

छोरा र छोरी पाउँदा परिवारले गर्ने व्यवहार पनि आकाश–जमिन फरक हुन्थ्यो । उनले भनिन्, ‘सुँगुरजस्ता छोरी पाउनेभन्दै गाली गर्थे । पानी माग्दा दिँदैनथे । शरीरमा पेटिकोट मात्रै थियो । रगत बगेको बग्यै हुन्थ्यो । तर, फेर्ने लुगा दिँदैनथे । मेरा जसाझाल (दुःख) त कसैले पाएन होला ।’

पाँचौं सन्तान छोरी जन्मेको रात धेरै रगत बगेर आफू बेहोस भएको उनले सुनाइन् । ‘श्रीमान् त्यो बेला पहाड (अछाम) गएका थिए । अगाडि भएका छोराछोरी सानै थिए । परिवारका अरूले मेरो वास्ता गरेनन् । बिहान जेठी छोरीले छिमेकीलाई बोलाइन् । छिमेकीले तीन लोटा पानी खन्याएपछि मेरो होस आएछ ।’

सुत्केरीमा बेलुले भोगेको कुरा सुन्दा कुनै कथा जस्तो लाग्छ । उनले कुनै पनि सुत्केरीमा पोषिलो खाना त परै जाओस् पेटभर खान पनि नपाएको बताइन् । भनिन्, ‘गोठमा अलग्गै थिए । घरबाट जे दिन्थे त्यही पकाएर खान्थें । नुन दिँदैनथे । भातमा काँचो तेल हालेर खान्थे । अनि त बान्ता भइहाल्थ्यो ।’

धेरै सन्तान जन्माएकाले र कुनै पनि सुत्केरीमा स्याहार नपाएकाले उनको स्वास्थ्य अहिले ठीक छैन । उनले भनिन्, ‘अहिले ढाड दुख्ने, हिँड्न नसक्ने, हातखुट्टा गल्ने भइरहन्छ । जसोतसो सबै छोराछोरीलाई पढायौं । तर, बिग्रेको मेरो स्वास्थ्य सप्रेन ।’

अहिले उनका २ छोरा र ४ छोरी छन् । तीन छोरीले बिहे गरिसके । अहिले उनी छोराबुहारी, छोरी र सासूसँग अछाममा बसिरहेकी छन् । छोराछोरी कसैले स्नातक र कसैले स्नातकोत्तरसम्मको पढेर जागिरे छन् । ‘सबै छोराछोरीले पढेलेखेका छन् । धेरै दुःख गरेर मात्रै अहिले सुखका दिन आए जस्तो लाग्छ ।’

प्रकाशित : चैत्र ८, २०७९ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?